शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९६६ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९६६    ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०३९ सालको रिट नं. ११८१

विषय : उत्प्रेषण

निवेदक : काठमाडौं जिल्ला का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीराम बास्कोटा

विरूद्ध

विपक्षी   : सञ्चालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम

कार्यकारणी अध्यक्ष महाप्रवन्धक जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम

नायव महा प्रबन्धक भव सागर शर्मा जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम

सचिव, संचालक समिति जनकपुर चुरोट कारखाना लि. जनकपुरधाम

आदेश भएको मिति :   २०४१।३।१९ मा

§  नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण नगरी रिट निवेदकलाई बढुवा गर्ने गरेको सञ्चालक समितिको निर्णय र त्यस उपर परेको पुनरावेदन सुनी सोही निर्णयलाई सदर गरेको सञ्चालक समितिको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान व.अ.श्री बासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिबक्ता श्री राधेश्याम अधिकारी

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अनुसार उक्त सञ्चालक समितिको ०३९।४।१ को निर्णय र सोही निर्णयलाई सदर गर्ने गरेको मिति ०३९।६।२५ गतेको निर्णय बदर गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.  सातौं तह अधिकृत पदमा स्थायी नियुक्ति पाई ०३२ साल देखि काम गर्दै आएकोमा ०३८ सालमा कारखानाको काठमाडौं शाखाको शाखा प्रबन्धक भई काम गर्दागर्दै काठमाडौं डिपोबाट अनियमित तरिकाले चुरोटको बील बनाई हिनामिना गरेको सम्बन्धमा मलाई सस्पेण्डमा राखी छानविन गर्दा विशेष प्रहरी विभागले म बाहेक अन्य कर्मचारीले भ्रष्टाचार गरेको ठहर गरी बागमती विशेष अदालतमा मुद्दा दायर गरेको थियो । म निवेदकले मेरा विरूद्ध गरिएको सस्पेण्ड अवैध छ भनी कारखानाको सञ्चालक समिति समक्ष दिइरहेको बीच मलाई कर्मचारी प्रशासन नियम, ०३६ को नियम १२.१ को देहाय (घ) र १२(४)(क) बमोजिम छैठौं तहको पदमा सो पदको शुरू तलब स्केल खान पाउने गरी ०३९।४।१ देखि घटुवा गर्ने भनी मलाई ०३९।४।२४ को पत्रबाट सूचित गरेकोले त्यस उपर मैले पुनरावेदन गरेकोमा ०३९।६।२५ मा पुनरावेदन जिकिर मनासिब नदेखी ०३९।४।१ को निर्णय सदर गर्ने भनी कारखानाको सञ्चालक समितिबाट निर्णय भएको ०३९।८।११ को पत्रद्वारा थाहा पाएँ ।

          ३.  कुनै पनि सजाय दिन पाउने अख्तियारवाला अधिकारीले कारखानाको कुनै पनि कर्मचारीलाई सजायका आदेश दिनु भन्दा अगाडि सफाई पेश गर्ने मौका दिनु पर्ने बाध्यता नियमावलीको नियम १२(८) १ ले स्पष्ट गरेको छ । म अधिकृत श्रेणीको कर्मचारीको हकमा ऐ कै नियम १२ (२) २ ले सञ्चालक समितिले मात्र सजाय तोक्ने अधिकार प्राप्त गरेको छ । मलाई सञ्चालक समितिले मेरो साविक पदबाट घटुवा गर्नु अघि कुनै पनि स्पष्टीकरण सोधिएको छैन । सञ्चालक समितिले स्पष्टीकरण नसोधी एवं मलाई सफाई पेश गर्ने मौका नदिई पदबाट घटुवा गर्ने उल्लिखित नियमहरूले सकिने हैन । मिति ०३८।११।१० मा श्रीमान नायव महाप्रबन्धकद्वारा दस्तखत गरी सोधिएको स्पष्टीकरणले कारखाना सञ्चालक समितिद्वारा सजाय गर्नु अघि सोध्नु पर्ने स्पष्टीकरणको ठाउँ लिन सक्ने होइन । यसरी स्पष्टीकरणको मौका नदिई साविक पदबाट घटुवा गर्ने सञ्चालक समितिको ०३९।४।१ को निर्णय नियमावलीको नियम १२(८) १ एवं १२ (२) को प्रत्यक्षत त्रुटि गरी प्राकृतिक न्याय समेतको प्रतिकूल भएकोबाट म निवेदकको हकमा नेपालको संविधानको धारा १०(१) ११(२)ङ र धारा १५ द्वारा प्रदत्त मौलिक हकमा आघात पुर्‍याएकोले ऐ को धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी मिति ०३९।४।१ एवं ०३९।६।२५ को निर्णयहरु बदर गरी साविक झै कारखानाको सातौ तहमा रही काम गर्न दिनु भन्ने समेत आदेश दिई हक प्रचलन गरिपाउँ भन्ने व्यहोराको रिट निवेदकको निवेदन जिकिर रहेछ ।

          ४.  यस कारखानामा लागू रहेको कर्मचारी प्रशासन नियम, २०३६ को नियम १२.८ को १ को व्यवस्था अनुसार नै विपक्षीलाई सफाईको मौका दिइएको छ र विपक्षी अधिकृत श्रेणीको कर्मचारी भएकोले नै संचालक समितिले विपक्षीलाई घटुवाको सजाय गर्ने निर्णय गरेको छ । विपक्षी समेतको गफलतबाट यस कारखानाको रु.१,४६,९४०। हिनामिना भयो भन्ने प्रतिवेदन प्राप्त भएपछि नै प्रबन्धकले कारखानाको मुख्य बिक्री अधिकृत, मुख्य प्रशासकीय अधिकृत तथा आन्तरिक लेखापरीक्षक समेतको एउटा कमिटी गठन गरी सोही कमिटी मार्फत पनि छानविन भएको अवस्थामा विपक्षीसँग विभिन्न प्रश्नहरू सोधिएको देखिन्छ र निजले आरोपित कसूरको सम्बन्धमा स्पष्टीकरण दिएकै देखिन्छ । अन्तमा निजको सम्पूर्ण स्पष्टीकरणहरूको अध्ययन गरी हेर्दा सन्तोषजनक नदेखिएकोले नै निजलाई कसूरको मात्रा अनुसार सजाय गरिएको हो । उपरोक्त अभियोगमा विभागीय छानविन स्वतन्त्र रूपले सम्पूर्ण सबूत प्रमाण र विषयवस्तुको मूल्याङ्कन गरी औचित्यको आधारमा विपक्षीलाई घटुवा गर्ने निर्णय लिइएको छ । विपक्षीले आफ्नो निर्दोषिताको लागि विशेष प्रहरी विभागले निज माथि मुद्दा नचलाउने निर्णयलाई आधार मानेको गलत छ किनभने विशेष प्रहरी विभागले चलाउने मुद्दा सजाय गराउने उद्देश्य कुनै फौजदारी मुद्दाको र विपक्षीको लापरवाहीबाट अपराध घटित भएको भन्ने कुरा स्पष्ट शब्दमा वि.प्र.वि.ले अभिव्यक्त गरेकै कुरालाई विपक्षीले ईन्कार गर्न सक्नुभएको छैन त्यस अवस्थामा विपक्षी बिक्री शाखाको शाखा प्रबन्धक शाखाको सम्पूर्ण काम कारबाहीको लागि सम्पूर्ण र अन्तिम रूपमा जवाफदेही हुनु पर्ने कुरा निर्विवाद छ । यसरी लापरवाही साथ गरिएको काम कारबाहीबाट रिट निवेदकलाई सञ्चालक समितिले विपक्षी प्रति कुनै पूर्वाग्रह नराखी सम्पूर्ण सबूत प्रमाण र विपक्षीको स्पष्टीकरणबाट समेत गम्भीरतापूर्वक न्यायिक रूपले विचार गरी गरिएको निर्णय र उक्त निर्णय सदर गर्ने गरेको निर्णयबाट निवेदकको कुनै पनि संवैधानिक तथा कानूनी हकहरूमा आघात नपुर्‍याएकोले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोरा भएको सञ्चालक समिति जनकपुर चुरोट का.लि.र महाप्रबन्धक जनकपुर चुरोट का.लि.नायब महाप्रबन्धक जनकपुर चुरोट का.लि.र सञ्चालक समितिका सचिव समेतको छुट्टाछुट्टै लिखितजवाफ पेश भएको रहेछ ।

          ५.  रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले रिट निवेदक अधिकृत तहको कर्मचारी हो । निज उपर कारबाही गर्न सञ्चालक समितिलाई मात्र अधिकार छ । नायव महाप्रबन्धकले स्पष्टीकरण लिई त्यसको आधारमा निवेदकलाई घटुवा गरेको निर्णयमा कारबाही सम्बन्धी त्रुटि हुँदा सो निर्णय बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कारखानातर्फबाट बहस गर्न उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले रिट निवेदकसँग स्पष्टीकरण माग गर्ने सञ्चालक समितिबाट निर्णय भइराखेको छ । कानूनको रीत पुर्‍याई तल्लो पदमा घटुवा गरेको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो ।

          ६.  प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

          ७.  यसमा निर्णयतर्फ हेर्दा जनकपुर चुरोट कारखाना लि.का कर्मचारी प्रशासन नियम, २०३६ बमोजिम सजाय दिनु भन्दा अघि निवेदकका हकमा सञ्चालक समितिले स्पष्टीकरण माग गरी सफाइको मौका दिनु पर्नेमा सो बमोजिम नगरी नायव महाप्रबन्धकले स्पष्टीकरण माग गरेबाट नियम विपरीत हुनुको साथ सफाई पेश गर्ने नियमबमोजिमको मौका नदिई सञ्चालक समितिले छैठौं तहमा घटुवा गर्ने निर्णय गरेको त्रुटिपूर्ण छ भन्ने रिट निवेदकको जिकिर देखिन्छ।

          ८.  जनकपुर चुरोट कारखाना लि.को कर्मचारी प्रशासन नियम, २०३६ को नियम १२.२ (२) मा अधिकृत श्रेणीका कर्मचारीका हकमा नियम १२.१ को खण्ड (घ) र (ङ) मा उल्लिखित सजाय समितिले तोक्ने छ भन्ने र उक्त नियमको नियम १२.८(१) मा सजाय दिन पाउने अख्तियारवाला अधिकारीले कारखानाको कुनै कर्मचारीलाई सजायको आदेश दिनु भन्दा अघि सजायको कारबाही गर्न लागिएको कारण उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्न मौका दिनु पर्दछ । यस्तो सूचना दिँदा निजमाथि लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनुपर्दछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु पर्दछ । निज कर्मचारीसँग आरोपका सूचनाको सफाई बारेमा स्पष्टीकरण तोकिएका अवधिभित्र पेश गर्नुपर्ने गरी माानिनेछ भन्ने लेखिएको देखिन्छ । यसबाट नियम १२.१ को खण्ड (घ) बमोजिम निवेदकलाई तल्लो तहको पदमा घटुवा गर्ने अधिकार सञ्चालक समितिलाई भएको पाइन्छ र नियम १२.८(१) बमोजिमको कार्यविधि पनि सञ्चालक समितिले अपनाउनु पर्ने कुरा प्रष्ट छ ।

          ९.  सञ्चालक समितिको लिखितजवाफमा नायब महाप्रबन्धकले सञ्चालक समितिको निर्णय बमोजिम नै स्पष्टीकरण सोधेको हो भनी उल्लिखित गरेको देखिन्छ । प्रत्यर्थी सञ्चालक समितिको लिखितजवाफ साथ पेश गरेको ०३८।११।१३ को सञ्चालक समितिको निर्णयको प्रतिलिपि हेर्दा निवेदकबाट स्पष्टीकरण माग गर्ने गरी ०३८।११।१३ मा निर्णय गरेको देखिन्छ । तर नायव महाप्रबन्धकले ०३८।११।१० मा रिट निवेदकसँग स्पष्टीकरण माग गरेको पाइन्छ । सञ्चालक समितिको तर्फबाट स्पष्टीकरण माग गर्ने नायव महाप्रबन्धकलाई कसले अधिकार दियो सो कुरा लिखितजवाफबाट पनि देखिँदैन । मुख्य सञ्चालक समितिले नै निवेदकसँग स्पष्टीकरण माग गर्ने गरी २०३८।११।१३ मा मात्र निर्णय गर्छ भने सो मितिभन्दा ३ दिन अगाडि ०३८।११।१० मा नै नायव महाप्रबन्धकले रिट निवेदकसँग स्पष्टीकरण माग गरेकोलाई सञ्चालक समितिको निर्णय अनुसार स्पष्टीकरण माग गरेको हो भन्न सकिने स्थिति रहेन ।

          १०.  रिट निवेदकले सञ्चालक समितिमा पुनरावेदन गरेकोमा पनि स्पष्ट शब्दमा नियमबमोजिम सञ्चालक समितिले स्पष्टीकरण माग नगरेकोबाट नियम विपरीत हुन गएको छ भन्ने जिकिर लिएको देखिन्छ । यसबाट नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण गरी रिट निवेदकलाई तल्लो पदमा घटुवा गर्ने निर्णय गरेको देखिँदैन । त्यसरी नियमले स्पष्ट व्यवस्था गरेको सजाय सम्बन्धी कार्यविधिको अनुशरण नगरी रिट निवेदकलाई सातौं तहबाट छैठौं तहमा घटुवा गर्ने गरेको सञ्चालक समिति जनकपुर चुरोट कारखानाको मिति ०३९।४।१ को निर्णय र त्यस उपर परेको पुनरावेदन सुनी सोही निर्णयलाई सदर गरेको सञ्चालक समिति जनकपुर चुरोट कारखानाको ०३९।६।२५ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

          ११.  अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी सञ्चालक समिति जनकपुर चुरोट कारखाना लि.को मिति ०३९।४।१ र ०३०।९।२५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल आषाढ १९ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु