निर्णय नं. १९६७ - लागु औषधी

निर्णय नं. १९६७ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.पु.नं. ४६४
मुद्दा : लागू औषधी
पुनरावेदक/प्रतिवादी : रुपन्देही जिल्ला बुटवल खस्यौली न.पं. वार्ड नं. ६ खस्यौली बस्ने मानबहादुर भट्टचन
विरूद्ध
विपक्षी/वादी : क. रामबहादुरको प्रतिवेदनले वादी श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।२।१६।३ मा
§ प्रहरी उपरीक्षक कार्यालयले खानतलासीको कारबाही गर्दा आफ्नो अन्तर्गतका कुनै कार्यालयको कर्मचारीबाट गराउन पाउनेमा कुनै प्रतिवन्ध लागेको नदेखिने ।
(प्रकरण नं. १८)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. ०३५।२।२९ गते मुन्ना मुसलामान भारततर्फ जान लागेको शंका लागि चेक गर्दा निजको कम्मरमा बाँधी ल्याएको १ किलो ३०० ग्राम चरेस फेला परेकोले कारबाही गरिपाउँ भन्ने समेत रामबहादुरको प्रतिवेदन ।
३. गाउँको सुखलाल अहिरले भने अनुसार बुटवलको साहुको घरबाट भा.रू.५२५। मा सवा के.जि. चरेस किनी कम्मरमा बाँधी लुकाई नेपालबाट निकासी गरी भारत नौतनवातर्फ जान लाग्दा प्रहरीले पक्राउ गरी दाखिल गरेका हुन मैले किनेको ठाउँमा अझै चरेश छ भन्ने मुन्ना मुसलमानले प्रहरीमा गरेको कागज ।
४. मानबहादुर भट्टचनको घर खानतलासी गर्दा २२ के.जि. चरेश बरामद भई पक्राउ भई दाखिल हुनआएको मेरै घरमा भारतको सुखलाल आई बस्ने गरेको कोठामा निजले ल्याइराखेको हुनुपर्छ मुन्नालाई मैले चरेश बिक्री गरेको होइन भने समेत मानबहादुरले प्रहरीमा गरेको कागज ।
५. जेष्ठ २९ गते साँझ ७ बजे मुन्ना मुसलमानले कम्मरमा चरेशको पोको लुकाई भारततर्फ निकासी गर्न लाग्दा प्रहरीले पक्राउ गरी बरामद गरेका हुन भन्ने समेतको सरजमीन मुचुल्का ।
६. २२ के.जि. चरेश मेरै घरबाट बरामद भएको भनी मानबहादुर सावित भएको र निजको घरबाट किनी निकासी गर्न लागेको चरेश सहित पक्राउ परेका मुन्ना मुसलमान सावित हुँदा भारत उन्नाव बस्ने मुन्ना मुसलामानले लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा ४(ङ) को विपरीत कार्य गरेको र मानबहादुरले सोही ऐनको दफा १४(ख) र (ग) अनुसार हुने कसूर गरेको तर (ग) भन्दा बढी (ख) बढी सजाय हुने भएकाले निज उपर ऐनको दफा १४(ख) बमोजिम सजाय हुन र सो ऐनको दफा १४ को (ख) बमोजिम मुन्ना मुसलमानलाई सजाय हुन समेत माग दावी भएको ०३५।३।८ को प्रहरी प्रतिवेदन ।
७. जुनको १० तारिख शनिवारको दिन गाउँकै सुखलाल अहिरले मलाई भा.रू.५५०। दिई बुटवलबाट चरेश खरीद गरी ल्याउन भनी पठाएकोले सोही दिन हिँडी नौतनवामा आई भोलिपल्ट बुटवल पुगी सुखलालले भने अनुसार ५२५। को सवा किलो चरेश खरीद गरी भारततर्फ जाँदा बेलहियामा ६ बजे पुलिसले पक्राउ गरी दाखिल गरेको हुन मैले चरेश खरीद गरेको होइन सुखलालको चरेश खरीद गरी दिएको हुँ । चरेश दिने साहुको नाम बिर्सीं, घर देखेको छु चरेश खरीद गरेको साहु पक्राउ गरेको २ दिनपछि पक्राउ भई आउनुभएको छ भन्ने समेत ०३५।३।८ को मुन्नी दर्जी मुसलमानको अदालतमा गरेको बयान ।
८. ०३५ साल जेष्ठ ३१ गते बुटवत खस्यौलीको घरबाट २२ के.जि. चरेश प्रहरीले बरामद गरी मलाई समेत पक्राउ गरी ल्याएका हुन मेरो घर स्याङजा जि. ताहु गा.पं. वार्ड नं. ६ तिवाङ गाउँ भएको ०३४।१२।१८ गते पहाड घरमा गएको थिएँ ०३५।२।२९ गते बिहान ७।८ बजे घर आई पुगको हुँ मेरो घरमा भारत उनाव बस्ने सुखलाल भन्नेले ८।९ महीना अघि देखि मेरो घरमा आउने जाने गरेको थियो । यो बरामद भएको चरेश म कहाँ आई बस्ने सुखलाल अहिरको कोठामा भेटाएकोले निज सुखलालले नै राखेको हुनुपर्छ मैले आफैंले ल्याई राखेको होइन चरेश खरीद बिक्री कसैबाट गरेको छैन मुन्ना मुसलमानसँग मेरो कुनै रिसइवी छैन भन्ने समेत मानबहादुर भट्टचनले ०३५।३।८ मा गरेको बयान ।
९. प्र.मुन्ना दर्जी मुसलामानले लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा ४(ङ) को कसूर अपराध गरेको ठहर्छ । प्र.मानबहादुर भट्टचन चरेश संचय बिक्री गरेमा इन्कारी भए पनि निज चरेश व्यापार गर्ने मानिस होइन भन्ने सम्मको कुनै साक्षी सबूत प्रमाण गुजार्न सकेको नदेखिएकोबाट सोही ऐनको दफा ४(घ) र (च) को अपराध गरेको ठहर्छ भन्ने समेत रूपन्देही जल्ला अदालतको ०३५।६।६ को फैसला ।
१०. शुरू जि. अ.को फैसला नमिलेको सो फैसला बदर गरी सफाई पाउँ भन्ने समेत जिकिर भएको प्र.मानबहादुर भट्टचनको मिति ०३५।१२।२९ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र रहेछ ।
११. यसमा उक्त चरेश सुखलालकै हो भन्ने सबूत पुनरावेदकले गुजार्न सकेको नदेखिनुको साथै मुन्ना मुसलमानको पोल र बरामदी मुचुल्काको प्रमाणको आधारमा अभियोग बमोजिमको कसूर पनुरावेदकले गरेको प्रमाणित हुनआएकोबाट रूपन्देही जि. अ.ले कसूर गरेको ठहर्याई फैसला गरेको मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३७।२।५ को फैसला रहेछ ।
१२. प.क्षे.अ.को फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)ख बमोजिम पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत जिकिर भएको पुनरावेदक प्रतिवादी मानबहादुर भट्टचनको यस अदालतमा परेको निवेदन ।
१३. यसमा शुरू मिसिल संलग्न ०३५।२।३१।३ को खानतलासी मुचुल्का हेर्दा सो मुचुल्कामा औषधि नियन्त्रण अधिकारीको सहिछाप गरेको देखिएन । प्रस्तुत मुद्दा सम्बन्धी औषधी नियन्त्रण ऐन, ०३३ को दफा ८ र ९ मा व्यवस्था गरे बमोजिमका कार्यविधिहरू पूरा गरेको नदेखिएकोले प.क्षे.अ.ले ०३७।२।५ मा निवेदक प्रतिवादी मानबहादुर भट्टचनलाई कसूरदार ठहर्याएको फैसला त्रुटिपूर्ण देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोरा भएको यस अदालतको डिभिजन बेञ्चको ०३९।३।४ को आदेश ।
१४. पुनरावेदकलाई नियमबमोजिम नाम पुकार गराउँदा उपस्थित हुन नआएको निजतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शुम्भुप्रसाद ज्ञवालीले लागू औषधी नियन्त्रण ऐन, २०३३ बमोजिमको कसूर गरेको छ वा गर्न लागेको छ भन्ने विश्वास गर्ने कारण भएमा त्यस्तो व्यक्तिको गिरफ्तारी र खानतलासीको निमित्त औषधी नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्ने व्यवस्था ऐनको दफा ७ मा र विना वारेण्ट प्रवेश खानतलासी कब्जा र गिरफ्तार गर्नु परेमा अधिकारीले सो कुराको पर्चा खडा गरी गर्नुपर्ने बाध्यात्मक व्यवस्था ऐ ऐनको दफा ८ मा लेखिएको पाइन्छ तर सो बमोजिम कार्यविधि यस मुद्दामा प्रयोग नगरिएकोले शुरूको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने र प्रत्यर्थी श्री ५ को सरकारको तर्फबाट खटी आउनुभएको विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले औषधि नियन्त्रण ऐन, ०३३ ले दिएको अधिकार प्रयोग गरी गरिएको कार्यलाई सो ऐनको दफा ७ र ८ बमोजिम भएन भनी भन्न मिल्दैन । क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१५. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१६. यसमा निर्णयतर्फ हेर्दा ०३५।२।३१ को खानतलासी मुचुल्कामा औषधी नियन्त्रण अधिकारीको सहिछाप परेको देखिएन । प्रस्तुत मुद्दामा सम्बन्धित औषधी नियन्त्रण ऐन, ०३३ को दफा ८ र ९ मा व्यवस्था गरे बमोजिम कार्यविधिहरू पूरा गरेको नदेखिएकोले प.क्षे.अ.ले निवेदक मानबहादुरलाई कसूरदार ठहर्याएको फैसला त्रुटिपूर्ण देखिएको भनी पुनरावेदनको अनुमति भएको देखिन्छ ।
१७. लागू औषधी (नियन्त्रण) ऐन, ०३३ को दफा ७ र ८ मा औषधी नियन्त्रण अधिकारीले खानतलासी गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । श्री ५ को सरकारले लागू औषधी (नियन्त्रण) ऐन, ०३३ को दफा ७ र ८ समेतको प्रयोजनको लागि अर्को व्यवस्था नभएसम्म सबै जिल्लाका स्थानीय प्रमुख जिल्ला अधिकारीहरूलाई लागू औषधि नियन्त्रण अधिकारीको काम समेत हेर्ने गरी नियुक्त गरेको छ भन्ने गृह पञ्चायत मन्त्रालयको सूचना मिति ०३३।६।२४ को नेपाल राजपत्रमा प्रकाशित भएको देखिन्छ ।
१८. प्रस्तुत मुद्दामा जिल्ला कार्यालय रूपन्देही भैरहवाले जिल्ला प्रहरी नायव उपरीक्षक कार्यालयलाई घर खानतलासी गर्न भनी ०३५।२।३१ मा लेखेको पत्रमा लागू औष्ािध (नियन्त्रण) ऐन, ०३३ को दफा ८ को उल्लेख भएको पाइँदैन । तर उक्त ऐनको दफा ७ अनुसार खानतलासी गर्ने अनुरोध गरेको भन्ने लेखाई व्यहोराबाट देखिन्छ । त्यसरी लागू औषधि (नियन्त्रण) अधिकारी नियुक्त भएका प्र.जि. अ.जिल्ला कार्यालय रूपन्देही भैरहवाले प्रहरी उपरीक्षक कार्यालयलाई खानतलासी गर्न पत्र लेखिएकोबाट उक्त लागू औषधि (नियन्त्रण) ऐन, ०३३ को दफा ८ अन्तर्गत कारबाही नभएको भन्न सकिने अवस्था देखिदैन । तसर्थ उक्त दफा ८ को रीत पुर्याउन पर्ने अवस्था देखिएन । दफा ७ अन्तर्गत प्रहरी उपरीक्षक कार्यालयले खानतलासीको कारबाही गर्दा आफ्नो अन्तर्गतका कुनै कार्यालयका कर्मचारीबाट गराउन पाउनेमा कुनै प्रतिबन्ध लागेका देखिँदैन । तसर्थ खानतलासी अधिकृत कर्मचारीबाट गरेको भन्ने अर्थ गर्न मिल्दैन । उक्त ऐनको दफा ७ अनुसार खानतालसीको कारबाही गरी उक्त औषधि (नियन्त्रण) ऐन, ०३३ को दफा ९ अनुसार प्रतिवेदन पनि उस दिन अर्थात् ०३५।२।३१।३ मा गरेको देखिन्छ अतः खानतलासीको कारबाही गैरकानूनी भयो भन्ने र सो आधारमा पुनरावेदक प्रतिवादीले सफाई पाउनु पर्छ भन्ने जिकिर मनासिब देखिएन । तसर्थ पुनरावेदकले लागू औषधि (नियन्त्रण) ऐन, ०३३ को दफा ४(घ) र (च) को अपराध गरेको ठहर्याएको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन गरे वापत पुनरावेदक प्र.मानबहादुर भट्टचनके शुरू कैद वर्ष ५। जरिवाना रु.१३,५००। को अ.बं.२०३ नं. ले सो कैद जरिवानाको सयकडा ५ ले कैद महीना ३ तीन र ज.रू.६७५। छसय पचहत्तर थप सजाय हुन्छ । निजले यस अदालतमा पुनरावेदन गर्दा प.क्षे.अ.का फैसलाले गर्ने गरेको कैद महीना ।६ को रु.२७०। मिति ०३७।५।१ मा काठमाडौं जि. अ.मा धरौट राखेको रसिदबाट देखिँदा थप जरिवाना रु.६७५। मध्ये धरौट रहेको रु.२७०। सदर स्याहा गरी नपुग ज.रू.४०५। र थप कैदमा निज बेरूजू हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि. अ.मा लगत दिई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल जेष्ठ १६ गते रोज ३ शुभम् ।