शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९७० - ज्यान मारी लाश वेपत्ता पार्यो.

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९७०   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको फौ.पु.नं. ३००

मुद्दा : ज्यान मारी लाश वेपत्ता पार्‍यो

पुनरावेदक/वादी : वलदेव वरैको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि. सप्तरी रा.वि.न.पं. वडा नं. ६ बस्ने बलराम राउत वरै

ऐ ऐ बस्ने रामेश्वर राउत वरै

ऐ ऐ बस्ने सावित्री देवी वरै

फैसला भएको मिति :   २०४१।३।२२।५ मा

§  अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइने । अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिने।

(प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

उल्लेखित मुद्दा : x

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह

          १.   पूर्वाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

          २.  २०३७।४।१२ देखि छोरा राजकुमार वेपत्ता भई खोज तलास गर्दा वलरामले पूर्वतर्फ लिई गएको थाहा पाई निजलाई सोद्धा भारतमा छ चिठी लेखी दिन्छु लिई आउनु भनेकाले निजको चिठी लिई जाँदा छोरा फेला नपरेको र पत्ता लाउँदा बलराम, रामेश्वर, सावित्रीदेवी ३ जनाले राजकुमारलाई मारी लाश समेत बेपत्ता पारेको यकीन हुनआएकोले कानूनबमोजिम गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

          ३.  ०३७।४।१२ गते काका राजकुमारलाई साथ लिई भाण्टावारी भिमनगर हुँदै मधेपुरा बजारमा उत्रिई नदीको डिलमा पुगी राजकुमारलाई नदीमा धकेली म मावलीमा गई बसेको हुँ भन्ने समेत वलराम राउतले प्रहरीमा गरेको कागज ।

          ४.  ०३७।४।१२ मा बलराम र राजकुमार सँगै बसमा चढेको देखेका हौं र राजकुमार आजसम्म नफर्केको र वलराम नदीमा धकेली मारेमा सावित भएकोले ज्यान मारी लाश वेपत्ता पारेमा शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।

          ५.  बलराम राउत वरै, रामेश्वर राउत वरै र सावित्रीदेवी समेतले राजकुमारको ज्यान मारी लाश बेपत्ता पारेकोले निजहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ६.  राजकुमारलाई मारी लाश वेपत्ता पारेको छैन होइन प्रहरीले कुटपिट गरी सावित गराएको हो । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत प्र.बलराम राउत वरैले अदालतमा गरेको बयान ।

          ७.  ०३७।४।१२ गते राजकुमार कहाँ थिए थाहा छैन निजको ज्यान मारी लाश बेपत्ता पारेको होइन म उपरको पोल अभियोग झुठ्ठा हो भन्ने समेत प्र.रामेश्वर राउत वरैले अदालतमा गरेको बयान ।

          ८.  मैले राजकुमारलाई मारी लाश बेपत्ता पारेको होइन रिसइवीले झुठ्ठा पोल गरेको हुन भन्ने समेत प्र.सावित्रीदेवीले अदालतमा गरेको बयान ।

          ९.  मुद्दाको वारदात भारतमा भएको देखिएकोले प्रस्तुत मुद्दा यस अदालतबाट हेर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत सप्तरी जि. अ.को फैसला ।

          १०.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

          ११.  प्रस्तुत मुद्दामा अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गरेको शुरूको ईन्साफ मनासिब छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।

          १२.  उक्त ईन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन परेकोमा अ.बं.२९ को देहाय २ को (२) बमोजिम स.जि. अ.लाई प्रस्तुत मुद्दाको अपराध भएको इलाका अदालतमा भन्न मिल्ने भई कारवाई गर्न सक्ने नै हुँदा पू.क्षे.अ.समेतले वादीको जिकिर पुग्न नसक्ने भनी खारेज गरेको ईन्साफ मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम प्रतिवादीहरूलाई झिकाई नियम बमोजिम गरी पेशगर्नु भन्नेसमेत यस अदालत डिभिजन बेञ्चको २०४०।१२।१० को आदेश रहेछ ।

          १३.  श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुन भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले राजकुमारलाई नदीमा धकेली मारेमा बलराम प्रहरीमा सावित भएको सरजमीनले शंका गरेको विदेश भारतमा वारदात भएको कारणले मुद्दा खारेज गरेको देखिन्छ । मार्ने उद्देश्य लिई नेपालबाट भारत गएको हुँदा वारदात कतिपय कुरा यही घटित भएको मान्नु पर्ने हुँदा अ.बं.२९ को देहाय २(१) अन्तर्गत यहीँ मुद्दा चल्न सक्ने तसर्थ खारेज गरेको मिलेन ईन्साफ हुनु पर्ने भनी र विपक्षी प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्माले मुलुकी ऐन भाग १ को २ नं. मा मुलुकी ऐन नेपाल अधिराज्य भर मात्र लागू हुने व्यवस्था छ ज्यानसम्बन्धी मुद्दा वारदात भएको ईलाकाको अदालतले मात्र हेर्न सक्ने हो ज्यानसम्बन्धीको महल अन्तर्गतको वारदात विदेशमा भएको भए यहाँको अदालतमा मुद्दा चल्न सक्ने होइन । यस मुद्दामा वारदात भारतमा भएकोले त्यहाँ तथ्यको अनुसन्धान हुन सक्ने होइन साथै भारतमा वारदात भएको मुद्दा नेपाल अधिराज्यमा चल्न सक्ने होइन भनी बहस प्रस्तुत गर्नुभयो ।

          १४. दुवैतर्फको बहस सुनी पू.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के हो निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुनआएको छ ।

          १५. यसमा भारतीय भूमिमा ज्यान मार्ने कसूर गरी लाश बेपत्ता पार्‍यो भन्ने जाहेरी दर्खास्तको आधारबाट प्रस्तुत मुद्दामा कारवाई चलाई प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन भएकोमा भारतमा वारदात भएकोले नेपाल सरहदको अदालतबाट हेर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी पू.क्षे.अ.ले फैसला गरेको देखिन्छ । पू.क्षे.अ.को उक्त फैसला मिले नमिलेको के हो भनी त्यसतर्फ हेर्दा मुलुकी ऐन अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिन्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । श्री ५ को सरकारको पुनरावेदन परेको हुँदा केही गरिरहनु परेन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ २२ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु