शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९७१ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९७१   ने.का.प. २०४१           अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको फौ.पु.नं. ६२२, ३२७

फौ.सा.नं. १८८

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/प्रतिवादी : जि. सिरहा गा.पं. लक्ष्मीपुर वडा नं. १ घर भै हाल जि.का.कारागार शाखा सिरहामा कैदमा बसेको जहुरी मलाह

विरूद्ध

विपक्षी/वादी : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार

पुनरावेदक : शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि. सिरहा गा.पं.लक्ष्मीपुर वडा नं. १ बस्ने गनपत सिंह दनुवार

ऐ ऐ वडा नं. २ बस्ने बनवाली भन्ने विहारी मलाहा

ऐ ऐ वडा नं. १ बस्ने जदुरी मलाहा

ऐ ऐ बस्ने दरवारी मलाहा

ऐ ऐ बस्ने गिराधारी मलाहा

ऐ ऐ बस्ने भुला अमात

फैसला भएको मिति :   २०४१।३।६।३ मा

§  तपसील खण्डमा ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन ।

(प्रकरण नं. २२)

प्रतिवादी, पुनरावेदक तर्फबाट : विद्वान अधिबक्ता श्री सुवास नेम्वाङ

विपक्षी, वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे

उल्लेखित मुद्दा : x

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

          २.  २०३५।१।१३ गते हाल खबर बुझ्न जि. सिराहा गा.पं.मझौरा अन्तर्गत गोविन्दपुर आई पुग्दा ऐ वडा नं. ९ बस्ने हरिनारायणलाई कसले मारी महेशपुर गा.पं. वडा नं. २ बहुरीयाको खेतमा मारी लाश फालेको खबर पाएको हुँदा गई हेर्दा मारिएको लाश फेला परेको सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने प्र.जिवनाथ उपाध्यायको जाहेरी दर्खास्त ।

          ३.  बहुरी धानुकको खेत पूर्वपट्टि आली देखि ५ गज दक्षिणमा हरिनारायणको लाश रहेको लाश देखि उत्तर केही पश्चिम लक्ष्मीपुर गा.पं वडा नं. २ सम्म बाटोमा रगत थोपाहरू भएको जहुरी मलाहा गिरीधारी मलाह दरवारी मलाह विहारी मलाह समेत ४ जनाको चोक आँगनमा केही रगतको दागहरू रहे भएको हरिनारायणको लाश दक्षिण ठाउँको उत्तर खुट्टा खुम्चाएको एउटा आँखा चिम्लेको एउटा आँखा हेरेको मुखनाकबाट केही रगत बगेको माथिल्लो ३ वटा दात नभएको मुख खुल्ला गरेको पछिल्लो ओठ केही सुनिएको घाँटी केही रगत लागेको धोती खोली हेर्दा अण्डकोषमा घाउ भएको मलद्वारबाट रगत बगेको दाहिने पट्टि पातामा निलडाम दुवै गोडाको छेपारी मुनि पैताला सम्म केही रगत लागेको भन्ने शिवलाल यादव समेतले गरी दिएको लाश प्रकृति मुचुल्का ।

          ४.  २०३५।१।१२ का दिन अं.५ बजे बाबु हरिनारायणले राख्न दिएको सुन चाँदी रुपैयाँ भनी बहमपुरी बस्ने जहुरी मलाहा कहाँ गएको सो दिन रात बाबु घर फर्की नआएबाट भोलिपल्ट बिहान बाबुको खोजी गर्दा अं.७ बजेको सयममा बाबु हरिनारायण हाम्रो गाउँ देखि उत्तरको चौरमा मारी फालेको छ भन्दा म सो ठाउँमा गई हेर्दा खेतमा मारी फालेका रहेछन् जहुरी मलाहा र बाबुका बीच राम्रै मेलमिलाप थियो । निज जहुरीले गिरीधारी असर्फी मलाहा दरवारी मलाह बनवाली भन्ने विहारी मलाह गनपत सिंह दनुवार सोनाम मण्डल धानुक लक्ष्मी मण्डल धानुक मुला अमातलाई हात लिई मेरा बाबुलाई घरमा भएको सुनचाँदी समेत पचाउने ईरादा लिई लाश समेत फालेबाट कारवाई गरिपाउँ भन्ने समेत शिवनारायण यादवको जाहेरी दर्खास्त ।

          ५.  बाहिरी प्रकारबाट मुखभित्र रगत आएकोले सास फेर्ने नलीमा रगत जम्न गई फोक्सोले काम गर्न नसकी मृत्यु भएको देखिन्छ भन्ने मेडिकल अधिकृतको राय ।

          ६.  ०३५।१।१२ का दिन लोग्ने हरिनारायण जहुरी कहाँ गहना राख्न दिएको लिन जानु भएको राति आउनुभएन भोलिपल्ट बिहान लोग्नको लाश धान खेत चौरमा फेला परेको देखि लोग्ने हरिनारायण जहुरी कहाँ जाने सुत्ने गरेको उक्त धनमाल पचाउन गिरीधारी मलाह दरवारी मलाह, वनवाली भन्ने बिहारी मलाह, गनपत सिंह दनुवार, धनिकलाल समेत भई लोग्नेलाई मारेको हो भन्ने मृतकको श्रीमती राममुखी र हरिनारायण जहुरीसँग व्यवहार गर्ने र गहना समेत राख्न दिएको हुँदा सो गहना पचाउन हरिनारायणलाई जहुरी समेत भई मारेका हुन् भन्ने सरजमीनका २,,,,,,१० का मानिस र कसले मारे थाहा छैन भन्ने सरजमीनका दफा ११,१२,१३ का मानिसले गरी दिएको सरजमीन मुचुल्का ।

          ७.  लक्ष्मी मण्डल धानुक, धनिकलाल मण्डल, विलट अमात, असर्फि मलाह, सोनाम मण्डल धानुक, मिश्री मण्डल धानुक, उपर मुद्दा चलाउन सबूत नपुग्ने हुँदा निजहरू उपर मुद्दा नचलाउने र जहुरी मलाह, गिरीधारी मलाह, दरवारी मलाह, वनवाली भन्ने विहारी मलाह गनपत सिंह दनुवार मुला अमातले कुटपिट गरी मारेको देखिएकोले निजहरू उपर ज्यान सम्बन्धिको १३(३) बमोजिम सजाय हुन भन्ने समेत प्रहरी प्रतिवेदन रहेछ ।

          ८.  २०३५।१।१२ मा म आफ्नै घरमा क्रियामा बसेको थिएँ हरिनारायण कर्तव्य परी मरे भन्ने कुरा सुनेको हुँ मैले मारेको होइन भन्ने समेत गनपत सिंह दनुवारले अदालतमा गरको बयान ।

          ९.  सालको ठेगान छैन बैशाख ११ गते भगतपुरमा छोरी हेर्न गई ऐ १५ गते घर आएपछि हरिनारायणलाई मारी फालेका कुरा सुनेको हुँ को को भई मारे मलाई थाहा छैन जहुरी मेरा भाइ हुन हरिनारायण र जहुरी आवत जावत गरी रहन्थे सुनचाँदी राख्न दिएको थिएन, जहुरी मलाहा गिरीधारी मलाह, दरवारी मलाह, गनपत सिंह दनुवार, धनिकलाल मण्डल कहाँ थिए म घर नहुँदा थाहा छैन भन्ने वनवाली भन्ने विहारी मलाहले अदालतमा गरेको बयान ।

          १०.  ०३५।१।१२ गते धनुषा वलाहा गाउँमा असर्फीको घरमा नाँच गर्न गएको थिएँ हरिनारायणलाई कसले मारे थाहा छैन त्यहाबाट ७/८ दिनपछि घर आउँदा थाहा पाएँ शिवनारायणको जग्गा मैले मोहीमा लेखाएको ईवीले पोल गरेको हो । मेरो घरमा निजको गहना कपडा नगदी जिन्सी राखेको छैन । झुठ्ठा पोल उजूर गरेका हुन भन्ने जहुरी मुखियाले अदालतमा गरेको बयान ।

          ११.  सरजमीनमा लेखाएको व्यहोरा ठीक छ पछि बुझ्दा लोग्नेलाई मार्नेमा गनपत सिंह दनुवार थिएन भन्ने यकीन भो सो बाहेक अरूले लोग्नेलाई मारी लाश चौरमा फालेका हुन् भन्ने हरिनारायणको श्रीमती राममुखीया दवनीले अदालतमा गरेको बयान ।

          १२.  बाबु हरिनारायणलाई जहुरी मलाह, गिरीधारी मलाह, जनवाली भन्ने विहारी मलाह, सोना मण्डल धानुक, मुला अमात, असर्फी मलाह समेतले मारे मराएको शंका लाग्छ गनपत सिंहले बाबुको ज्यान मारे मराएको रहेनछ भन्ने जाहेरवाला शिवनारायणले अदालतमा गरेको बकपत्र ।

          १३.  गिरीधारी मलाह दरवारी मलाह र मुला अमातले म्यादै गुजारी बसेकोले अ.बं.१९० नं. बमोजिम मुलतवी राख्ने गनपत सिंहले सफाई पाउने र जहुरी मलाह र वनवाली भन्ने विहारी मलाहले ज्यान मारेको ठहर्छ भन्ने समेत सिरहा जि. अ.को फैसला ।

          १४. गनपत सिंहलाई सफाई दिएको हदसम्म उल्टाई प्रहरी प्रतिवेदन बमोजिम सजाय गरिपाउँ भन्ने श्री ५ को सरकारको र सफाई पाउनु पर्ने भन्ने समेत जहुरी मलाहको प.क्षे.अ.मा परेको पुनरावेदन ।

          १५. वनवाली भन्ने विहारी मलाहको पुनरावेदन नपरेकोले निजको हकमा विचार गर्नु परेन । जहुरीलाई सजाय गरेको र गनपति सिंह दनुवारलाई सफाई दिएको सिरहा जि. अ.को इन्साफ मनासिब छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।

          १६.  उक्त इन्साफमा चित्त बुझेन भन्ने प्र.जहुरी मलाहको गनपत सिंह दनुवारलाई सफाई दिएको इन्साफ मिलेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन ।

          १७. प्र.जहुरी मलाहको तर्फबाट विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङ र श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नुभएको बहस समेत सुनी पू.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के हो निर्णय दिनुपर्ने प्रश्न उपस्थित हुनआएको छ ।

          १८.  यसमा जहुरी मलाह गिरीधारी मलाह, दरवारी मलाह वनवाली भन्ने विहारी मलाहा गनपत सिंह दनुवार भुला अमातले कुटपिट गरी हरिनारायणलाई मारेको देखिएकोले निजहरू उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी भएकोमा गिरीधारी मलाह दरवारी मलाह र भुला अमातको हकमा मतलवी राख्ने गनपत सिंह दनुवारलाई सफाई दिने जहुरी मलाह र वनवाली भन्ने विहारी मलाहलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गरेको शुरू सिरहा जिल्ला अदालतको इन्साफ पू.क्षे.अ.ले सदर गरी ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्म कैद गरेको देखिन्छ । पू.क्षे.अ.को उक्त निर्णय मिले नमिलेको के हो भनी त्यसतर्फ हेर्दा प्र.गनपत सिंह दनुवार समेतको नाउँ किटान गरी हरिनारायण यादवलाई मारी लाश फालेमा जाहेरी दर्खास्त परेको देखिन्छ । त्यो पनि निज गनपत सिंह दनुवार उक्त वारदातको दिन घरमा क्रियामा बसेको थिए भनी अदालतमा इन्कारी बयान गरेको पाइन्छ । लोग्नेलाई मार्नेमा गनपत सिंह दनुवार थिएन भन्ने यकीन भो भनी मृतक हरिनारायण यादवको श्रीमती राममुख यादवनीले र गनपत सिंहले बाबुको ज्यान मारे मराएको रहेछ भनी जाहेरवाला स्वयंले नै अदालतमा आई सफाई दिन बकपत्र गरेको देखिन्छ । सबूत प्रमाण गुजार्ने भार वादी पक्षको हो मृतक हरिनारायणलाई गनपत सिंह दनुवारले चोट छाडी मारेको हो भनी गडाउ हुने प्रकारको सबूत प्रमाण वादी पक्षबाट दाखिल हुनसकेको छैन यस्तो स्थितिमा प्र.गनपत सिंह दनुवारलाई सफाई दिने ठहर्‍याएको पू.क्षे.अ.को निर्णय मिलेकै देखिन्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

          १९.  अतः प्र.जहुरी मलाह र वनवाली भन्ने विहारी मलाहको हकमा साधक तहबाट समेत विचार गर्दा मृतक हरिनारायण यादव र जहुरी मलाहको बीचमा बराबर आवत जावत र लेनदेन हुने गरेको कुरा मिसिल संलग्न कागजातहरूबाट देखिन्छ । हरिनारायण यादवलाई मारेमा निज प्रतिवादीहरू उपर किटानी जाहेरी दर्खास्त पर्नुका साथै प्र.जहुरी मलाहको चोक आँगनबाट लाश फेला परेको स्थानसम्म रगतका थोपाहरू भएको लाश प्रकृति मुचुल्काबाट देखिएको र सरजमीनका मानिसहरूले पनि निज प्रतिवादीहरू समेत भई मारेका हुन भनी लेखाएको पाइन्छ । ज्यानसम्बन्धीको १३(१) मा यसैले मारेको वा यसैको चोटले मरेको भन्न प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ सो बाहेक अरूलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्न कसै उपर कुनै प्रमाणबाट देखिन ठहर्न नआएमा सबैलाई पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्रहरी प्रतिवेदन तथा सरजमीन समेतले गडाउ गरेको व्यक्ति गणपतलाई सफाई दिने गरी गरेको फैसला मिलेको छैन । प्रहरी प्रतिवेदन दावी अनुसार हुनु पर्ने हो भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

          २०. विपक्षी पुनरावेदक प्रतिवादी जहुरी मलाह तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुभाष नेम्वाङले मेरो पक्षले ज्यान मारेको भन्ने किटानी जाहेरी छैन मेरो पक्षको आँगनमा रगत देखिएको भन्ने कुरा पनि शंकारहित प्रमाणित छैन यस्तो स्थितिमा शंकाको सुविधा मेरो पक्षले पाउनु पर्ने हो भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

          २१.  मुख्यतः पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

          २२. यसमा ०३५।१।१३ गते हाल खबर बुझ्न सुनसरी जि. सि.गा.पं.मझारा अन्तर्गत गोविन्दपुर आई पुग्दा ऐ गा.पं. वडा नं. ९ बस्ने हरिनारायण यादवलाई को कसले मारी महेशपुर गा.पं. वडा नं. २ को बहुरीयाको खेतमा मारी लास फालेको खबर पाई गई हेर्दा मारिएको लाश फेला परेको भन्ने समेत शुरू प्रहरी जिवनाथको जाहेरी देखिएको र पुनरावेदक जहुरी उपर ज्यान मारेमा किटानी गरी शिवनारायणको जाहेरी पनि परेको लाश प्रकृति मुचुल्का एवं मेडिकल अधिकृतको लास जाँच गरेको प्रतिवेदनबाट पनि कर्तव्यबाटै ज्यान मरेको भन्ने कुरा पुष्टि भएको सो अपराध कोबाट घटेको रहेछ भन्ने विचार गर्दा प्र.पुनरावेदक र मृतक हरिनारायण एउटै कम्पनीमा काम गर्ने र निजहरूको लेनदेन आउनु जानु थियो भन्ने कुरा पनि देखिनुको साथै निज जहुरी समेतको चोक आँगनदेखि लास फेला परेको स्थानसम्म रगतका थोपा देखिन आएको समेतका कारणबाट प्र.पुनरावेदक जहुरीलाई शुरू सिराहा जिल्ला अदालतले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने भनी पू.क्षे.अ.को फैसला खण्डमा लेखिएकोमा सोही फैसलाको तपसील खण्डमा सोही ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन । पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरको हकमा प्रतिवादी गनपतलाई शुरू सिराहा जिल्ला अदालतले सफाई दिने गरी गरेको इन्साफमा परिवर्तन गर्नुपर्ने कुनै शंकारहित प्रमाणको विद्यमानता नभएकोले श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ईन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी जहुरी मलाह के माथि ईन्साफ खण्डमा लेखिए बमोजिम निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद मात्र हुनेमा पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३९।४।१० को फैसलामा सर्वस्वसहित जन्मकैदको सजाय गर्ने भनी लेखिएको लगत कट्टा गरी उक्त लेखिए बमोजिम जन्मकैदको मात्र लगत कायम गर्नु भनी शुरू सिराहा जिल्ला अदालत समेतका सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउन का.जि. अ.मा लगत दिनु.......१

मिसिल नियमानुसार गरी बुझाई दिनु...............२

         

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ ६ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु