शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९७६ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९७६   ने.का.प. २०४१                   अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको फौ.पु.नं. ४६५

सम्वत् २०३९ सालको फौ.सा.नं. ४३

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/प्रतिवादी :    जि. भोजपुर सिद्धेश्वर गा.पं. घर भै भोजपुर कारागारमा थुनामा रहेको युवराज कोइराला

विरूद्ध

विपक्षी/वादी : कृष्णराजको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. भोजपुर सिद्धेश्वर गा.पं. वडा नं. ३ घर भै भोजपुर कारागारमा थुनामा रहेको मदन बहादुर खड्का

फैसला भएको मिति :   २०४१।२।२९।२ मा

§  सहअभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सह अभियुक्तको पोलाइलाई मात्र विश्वसनीय मान्न मिलेन ।

(प्रकरण नं. १८)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधबक्ता श्री प्रकाश वस्ती

विपक्षी प्रतिवादी तर्फबाट : वद्वान का.मु. अतिरिक्त सरकारी अधिबक्ता श्री ध्रुवलाल राज

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

          २.  सांगपांग गा.पं. वडा नं. ८ मा फिल्ड सरजमीन गर्न ०३७।६।३ गतेको दिन गई ऐ ७ गते सरजमीन गरी ऐ ८ गते भोजपुर आउँदा बाटोमा आइमाई मानिसलाई कसले काटी मारी लास फाली राखेकोले कानूनबमोजिम गरिपाउँ भन्ने कृष्णराज महाजुको ०३७।३।८ को जाहेरी दर्खास्त ।

          ३.  कृष्णकुमारीलाई २०३७ साल बैशाखदेखि करणी गर्न शुरू गरेको थिएँ त्यसपछि पनि करणी भएको थियो । ०३७ साल आषाढमा कृष्णकुमारीले महीनावारी भएन गर्भ रहृयो भनेकीले करणी गर्नेमा युवराज पनि भएकोले आषाढ ५ गते कृष्णकुमारीको गर्भ रहृयो के गरौं भन्दा मारौं भन्ने सल्लाह गरी बम्लीङमा जोगी छ त्यहाँ गई गर्भ फाली दिन्छु भनी कृष्णकुमारीलाई जाउँ भन्दा १२ दिनमा जाउँ भनकाले ऐ ६ गते निजको घरमा सुती ऐ ७ गते राति कृष्णकुमारीको घरमा गयौं र निजसँग १०।३५ बजे हिंड्यौं हाम्रो हातमा खुकुरी थियो म पछाडि त्यसपछि कृष्णकुमारी युवराज अगाडि जाँदा कृष्णकुमारीलाई मैले खुकुरी झिकी पछाडि पट्टिबाट एकैचोटमा काटें भक्कै लडी फकाफक काटें युवराजले लाइट देखाएर मेरो हातको खुकुरी निजले मागी ३ चोट काटे र मैले तानी डिलमुनी टाउको छुट्याई डिलमाथि भएको युवराजलाई समात्न दिएर मैले शरीर लातले हानी उँधो मिल्काई दिएँ र बाटोमा निस्की टाउको मैले लिएर फर्कें केही पर आएपछि टाउको बाटैबाट उँधो मिल्काई दिएँ उज्यालो हुनासाथ घर आइपुग्यौं हामीले निजलाई काटी मारेका हौं भन्ने मदनबहादुरले प्रहरीमा गरेको कागज ।

          ४.  मदनबहादुर मेरो फुपाजु नाता पर्ने हुन् । ०३७।१।३ गते कृष्णकुमारीको घरमा घुम्न जाउँ भनी जाँदा हामी त्यहीँ सुत्यौं र केही छिनपछि मदनबहादुर कृष्णकुमारीकै खटियामा सुते सोद्धा करणी गरेको रहेछ मैले करणी गरेको छैन गर्भ बोकेछ के गर्ने भनी म सँग सल्लाह गरेपछि निजले जङ्गलमा लगी काटी मारी फालौं भनी सल्लाह गरी घरमा गयौं कृृष्णकुमारी र मदनबहादुरको औषधी गर्न जाने सल्लाह भएछ । ऐ ७ गते कृष्णकुमारीको घरमा पुग्दा रातको ९ बजेको थियो कृष्णकुमारीलाई हामीले जाउँ भन्दा रातमा नजाउँ उज्यालो भएपछि जाउँ भन्यो जानै पर्छ भनी १०।३५ बजे हिंडी वर्छे झाडिमा पुगे पछि म अगाडि कृष्णकुमारी बीचमा मदन पछाडि हिंड्दा कृष्णकुमारीलाई मदनबहादुरले काटे मैले फर्की हेर्दा नडरा भने केटीले अ‍ैय्या भनी कोल्टे परेर लडी कराउन छोडेपछि मदनले कृष्णकुमारीको खुट्टा तानी डिल मुनी झारी मुन्टो छुट्याई मलाई समाउन दिई शरीर उँधो पल्टाई दियो माथि आई निजले टाउको लिई फर्की हिंड्यो र केही पर पुगेपछि निजले टाउको बाटैबाट मिल्काई दियो र घरमा पुग्दा उज्यालो भयो मार्ने सल्लाह भएकोले घटनास्थलमा गएको हुँ भन्ने युवराज कोइरालाले प्रहरीमा गरेको कागज ।

          ५.  २०३७।३।१५ गतेको लास प्रकृति मुचुल्का । २०३७ साल आषाढ महीना हो गते थाहा भएन कृष्णकुमारीले वम्लिङ औषधि गर्न जान्छु भनेकीले घरमा गई सुते फूपु आएनन् कसले मारे थाहा छैन भन्ने सीता कार्कीको कागज ।

          ६.  मर्ने कृष्णकुमारीको घरमा २०३७ साल बैशाख महीनादेखि गोठाल्नी बसेको छु ०३७ साल आषाढ महीना गते थाहा भएन म औषधी गर्न जान्छु साथी सीता कार्कीलाई भनी दिएको छु घरमा गाईलाई घाँस हाल्नु भनिन मदनबहादुर पनि आएको थियो राति कतिबेला जानु भयो भन्ने कमला दमीनीको कागज ।

          ७.  कुष्णकुमारीको लाश हो भनी बहादुर दर्जी समेतले ०३७।३।१६ मा गरेको मुचुल्का ।

          ८.  मर्ने कृष्णकुमारीलाई रात बीचमा लगी मदनबहादुर र युवराजले मारेको हुन् भन्ने नरबहादुर समेतको ०३७।३।२४ मा भएको सरजमीन मुचुल्का ।

          ९.  मदनबहादुर र युवराजले ०३७।३।७ गते रातको २ बजे कृष्णकुमारीलाई काटी मारेमा मदनबहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम र युवराजले सहयोग गरेमा ऐ को १३(४) बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

          १०.  ०३७ साल बैशाख ५७ गतेदेखि कृष्णकुमारीलाई कहिले म मात्र कहिले युवराजसँग भई करणी गर्ने गरेकोमा ऐ आषाढ २३ गतेदेखि कृष्णकुमारीले महीनावारी भएन गर्भ आयो भनेपछि त्यतिकै बेलुका युवराजलाई कृष्णकुमारीले गर्भ आयो भनी छन् अब के गर्ने भन्दा बुम्लीङ औषधि गर्न जाउँ भनी लगी मारौं भन्ने सल्लाह गरी सकेपछि कृष्णकुमारीकोमा म र युवराज आई औषधि गर्न जाउँ भनी भनेपछि हुन्छ भनी ७ गते जाने सल्लाह गरी घर गई राति १० बजे कृष्णकुमारीकोमा पुग्यौं र १०:३५ मा बाटो लागि अगाडि युवराज माझमा कृष्णकुमारी त्यसपछि म हिडी रातको २ बजे कृष्णकुमारीलाई खुकुरीले हान्दा लडी मैले ३ पटक गर्दनमा हिर्काई सकेपछि युवराज फर्की लाइट देखाए उनले पनि खुकुरी ले भनी मेरो हातको खुकुरी लिई २३ पटक गर्दनमा हिर्कायो पछि खुकुरी मलाई दियो कृष्णकुमारीलाई मैले तानी उँधो लडाएँ टाउको नछुट्टिएकोले काटी टाउको छुट्याएँ टाउको युवराजलाई समाउन दिएँ र मैले टाउको बोकी आई जंगलतर्फ मिल्काई दिएँ रगत लागेको खुकुरी पखाली घरमा आउँदा ४ बजेको थियो म समेत भई कृष्णकुमारीलाई काटी मारेको हो भन्ने मदनबहादुर खड्काले अदालतमा गरेको बयान ।

          ११.  मदनबहादुर मेरो फुपाजु हुन् मानबहादुरको वीर्यबाट कृष्णकुमारीको गर्भ रहेछ अब मेरो बदनाम हुन्छ औषधि गर्न भनी बुम्लीङ जाउँ भनी लगि काटी मारौं भनी म सँग सल्लाह गरेकोले मैले पनि हुन्छ भनें । म पनि कृष्णकुमारीकोमा आउने जाने गर्थें तर करणी हुँदैनथ्यो । मदनबहादुरको साथी मात्र गर्थे । मदनबहादुर म भई कृष्णकुमारीलाई औषधि गर्न जानपर्छ भनी सल्लाह गरी आषाढ ७ गते मदनबहादुर मेरो घर आई आज जानुपर्छ भनेपछि कृष्णकुमारीको घरमा गई सुती रहेकोलाई अब जाउँ भनी हिंड्दा वर्छै डाँडामा पुगेपछि म अगाडि कृष्णकुमारी बीचमा मदन पछाडि गरी हिंड्दा मदनले खुकुरीले कृष्णकुमारीलाई हाने र कृष्णकुमारी लडिन म फर्की लाइट देखाई हेर्दा ८१० पटक मदनले हानेर मरीसकेपछि बाटामुनी झारी मुन्टो छुट्याएर टाउको समा भनी मैले टाउको समाएँ टाउको दे भनी मदनले भनेपछि मैले दिएँ र टाउको मदनले बोकी फर्की जंगलतर्फ फ्याँकी दिएर घरमा आउँदा ४ बजेको थियो मदनको बयान अनुसार कृष्णकुमारीलाई करणी गरेको र मार्नमा चोटसमेत छाडेको होइन भन्ने युवराज कोइरालाले अदालतमा गरेकोबयान ।

          १२.  मदनबहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम र युवराजालाई ऐ को १३(४) बमोजिम सजाय हुने ठहर्छ भन्ने समेत भोजपुर जि. अ.को.जाहेरी फैसला ।

          १३.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत युवराज कोइरालाको पुनरावेदन ।

          १४. मदनबहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय गरे उपर चित्त बुझाई बसेको र युवराज कोइरालालाई ज्यानसम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरू भोजपुर जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।

          १५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत युवराज कोइरालाको यस अदालतमा पुनरावेदन परेकोमा यसमा पुनरावेदक युवराज कोइरालालाई ज्यानसम्बन्धीको १३(४) नं. ले जन्मकैदको सजाय गरेको शुरू भोजपुर जि. अ.को इन्साफ सदर गरेको पू.क्षे.अ.को फैसला मिलेको नदेखिँदा छलफलको लागि श्री ५ को सरकारतर्फबाट सरकारी अधिवक्ता खटाई पठाउन म.न्या. का.लाई अ.बं.२०२ नं. र स.अ. नियमावलीबमोजिम सूचना दिनु भन्नेसमेत ०४०।५।२६ गतेको यसअदालत डि.बेञ्चको आदेश रहेछ ।

          १६.  पुनरावेदक प्र.युवराज कोइरालाको तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान का.मु.अतिरिक्त सरकारी अधिवक्ता श्री ध्रुवलालराजले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुनआएको छ ।

          १७. यसमाा प्र.मदनबहादुर खड्काको हकमा साधक तहबाट विचार गरी हेर्दा मृतक कृणकुमारी कर्तव्य परी मरेको भन्ने कुरामा कुनै विवाद देखिन्न । प्र.मदनबहादुर मर्ने कृष्णकुमारीलाई करणी गरेमा औषधि उपचार गर्न लैजाने सम्बन्धमा र निजलाई खुकुरी प्रहार गरी काटी मारेमा प्रहरी वा अदालतमा समेत सावित भई बयान गरेको देखिन्छ । प्र.युवराज कोइरालाले मदनले कृष्णकुमारीलाई खुकुरीले ८१० पटक हान्यो भनी अदालतमा बयान गरेको पाइन्छ । खुकुरीको प्रहारले कृष्णकुमारीको मृत्यु भएको कुरा लास प्रकृति मुचुल्काबाट समर्थित भएकै छ । मदनबहादुर खड्का समेतले कृष्णकुमारीलाई मारेको हो भनी सरजमीनमा मानिसहरूले लेखाएका छन् । यस्तो अवस्थामा मृतक कृष्णकुमारीालाई प्र.मदनबहादुर खड्काले खुकुरी प्रहार गरी मारेको ठहर्‍याई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको शुरू भोजपुर जिल्ला अदालतको इन्साफ मिलेकै देखिन्छ ।

          १८.  अब पुनरावेदक प्र.युवराज कोइरालालाई वादी दावी बमोजिम ज्यानसम्बन्धीको १३(४) बमोजिम शुरू जिल्ला अदालतले सजाय गरेकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतले मनासिब ठहर्‍याएकोमा निजको पुनरावेदन परेको र निज दोषी हो होइन भन्ने तर्फ हेरिएमा मर्ने कृष्णकुमारी कहाँ मदनबहादुरसँग आवतजावत भएकोमा विवाद छैन । ज्यान मार्ने कुरामा मदनबहादुरले पुनरावेदक युवराज कोइरालासँग सल्लाह गरेको र निजलाई सो कामको निमित्त निजको घरमा आई निजलाई लगेकोमा साथमा युवराज कोइराला पनि गएकोमा विवाद छैन । त्यस सम्बन्धमा युवराजले प्रहरी र अदालतमा सावित बयान गरेको छ । अब सहअभियुक्त मदनबहादुरको पोल अनुसार युवराज कोइरालाले कृष्णकुमारी माथि खुकुरी प्रहार गरेको हो होइन र निजको चोटबाट पनि कृष्णकुमारीको मृत्यु भएको हो होइन भन्ने तर्फ मिसिल प्रमाण तर्फ अवलोकन गर्दा निज युवराज कोइरालाले प्रहरी र अदालतमा बयान गर्दा त्यसतर्फ इन्कारी बयान गरेको, सहअभियुक्त मदनबहादुरको पोलाई बाहेक युवराज कोइरालाले खुकुरी प्रहार गरेको भन्ने कुरा अन्य सबूत प्रमाणबाट समर्थित भएको देखिन आएको छैन । सहअभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सहअभियुक्तको पोलाईलाई मात्र विश्वसनीय मान्न मिलेन । अब प्रहरी प्रतिवेदन अनुसार पुनरावेदकले ज्यानसम्बन्धीको १३(४) बमोजिमको कसूर गरेको हो होइन भन्ने तर्फ हेरिएमा वारदात भई रहेको ठाउँमा गई मार्नलाई सहयोग पारिदिन निमित्त मर्ने मानिसको जीउमा हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था भएकोमा पुनरावेदकले वारदातको अवस्थामा मर्ने कृष्णकुमारीको जीउमा समाई दिएको इत्यादी कुनै कुरा देखिन नआएको । सहअभियुक्त मदनबहादुरले पनि त्यस किसिमको बयान नगरेकोले ज्यानसम्बन्धीको १३(४) को अवस्था विद्यमान रहेको मिसिल प्रमाणबाट देखिन नआएको तर ज्यान मार्ने कुरामा मदनबहादुरसँग सल्लाह गरी सो कामको निमित्त निजको संग साथ गई मदनबहादुरले खुकुरी प्रहार गर्दा सो ठाउँमा प्र.युवराज कोइराला पनि उपस्थित रहेको, कृष्णकुमारीको मृत्यु भएपछि मदनबहादुरको साथ साथै निजहरूले लाश त्यसै ठाउँमा मिल्काई फर्की आएको भन्ने कुरा निजको बयानबाट र सहअभियुक्त मदनबहादुरको बयानबाट समेत स्पष्ट हुनआएकोले ज्यान मार्ने मतलबमा निज रहेको कुरा निर्विवाद भएकोले त्यति हदसम्म निजलाई दोषी मान्नु पर्ने अवस्था देखिन आएकोले पनुरावदेक प्र.निज युवराज कोइरालालाई ज्यानसम्बन्धीको दफा १७(३) बमोजिम ३ वर्ष कैद हुने ठहर्छ । निजलाई पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद गरेको इन्साफ मिलेको देखिन आएन । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.युवराज कोइरालालाई ज्यानसम्बन्धीको १७(३) बमोजिम ३ वर्ष कैद हुने ठहर भएकोले क्षे.अ.ले गरेको सजायको सम्पूर्ण लगत कट्टा गर्नु भनी शुरू भोजपुर जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु...........१

निज युवराज कोइराला ३ वर्षभन्दा बढी थुनामा बसिसकेको हुँदा अन्य मुद्दामा थुन्नु नपर्ने भए तुरून्त छाडी दिनु भनी निज थुनामा रहेको कारागारमा लेखी पठाउन भोजपुर जिल्ला अदालतमा लेखी पठाउनु भनी का.जि. अ.त.मा लगत दिनु............२

मिसिल नियमानुसार बुझाई दिनु ...............३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल जेठ २९ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु