शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९८० ने.का.प. २०४१             अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् ०४० सालको रि.नं. १९१९

विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निवेदक : जि. ललितपुर ल.पु.न.पं. वा.नं. २२ नागबहाल बस्ने चक्रराज शाक्य

विरूद्ध

विपक्षी    : भूमिसुधार कार्यालय ललितपुर जावलाखेल

ल.पु. न.पं. वा.नं. ४ धोवीधाट बस्ने कृष्ण बहादुर बस्नेत

आदेश भएको मिति : ०४१।३।३०।६ मा

§  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम साविक मोहीको शेषपछि मोही रोज्ने काम जग्गाधनीको हुने कुरा प्रष्ट छ । यस्तो अवस्थामा मोही नामसारी सम्बन्धी निर्णय गर्नु पूर्व जग्गाधनीलाई बुझी निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री पिताम्बर प्रसाद सिलवाल

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री मुकुन्द रेग्मी र विद्वान सरकारी अधिबक्ता श्री भैरव प्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. त्रिलोकप्रताप राणा : विपक्षी भू.सु.का.ललितपुरको मिति ०३८।३।२१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षिप्त यस प्रकार रहेछ ।

          २.   निवेदकका बाजे न्हुछेराज शाक्य तथा वेखाराज शाक्य एकै व्यक्ति हुन् निज ०१५ सालमा निधन भए पनि वहाँकै नाउँमा ल.पु.मालपोत कार्यालयमा मिति २०२१।८।१६।३ मौजे पाइखाछे ५१ नं. का लगतमा रैकर परिणत समेत भएको जग्गा नापी हुँदा ल.पु.न.पं. वार्ड नं. ४(ड) कि.नं. ३६ को रोपनी २१५० कायम मै मोहीमा मैया बस्नेतनी फिल्डबुकमा जनिएको थियो । बाबु नेमराज २०२७ सालमा परलोक हुनुभएकोले मेरो हक हुनआएको हो । मोही मैया बस्नेतनीको २०२३।८।४ मा देहान्त भएको र मोही हक प्राप्त हुने कोही नभई मैले नै भोगी आएको थिएँ । लगत कट्टा गर्न सम्म बाँकी थियो यस्तो अवस्थामा मेरो भाइ बुहारी मैया बस्नेत परलोक भएकोले जोत नामसारी गरिपाउँ भनी विपक्षी कृष्णबहादुरको ०३८।३।१९ मा निवेदन परेकोमा मोही नामसारी गरी दिने भनी विपक्षी कार्यालयबाट मिति २०३८।३।२१ मा निर्णय भएको रहेछ ।

          ३.   सो निर्णय गर्दा जग्गाधनी मलाई नबुझिएको हुँदा प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको छ । निर्णय पश्चात पनि जग्गा मैले नै जोती आएकोमा हाल मात्र विपक्षीले खनजोत गर्न आएकोले वादविवाद पर्दा निर्णय भएको थाहा भई मिति २०४०।१।२३ मा नक्कल सारी लिएँ विपक्षी कृष्णबहादुर साविक मोही मैया बस्नेतनीको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गतको हकवाला नहुँदा उक्त ऐनको त्रुटि भएको छ । विपक्षी कृष्णबहादुरले जग्गा कमाएको छैन । कबूलियत भर्पाई पेश गर्न सकेको छैन यस्तो अवस्थामा मोही कायम गर्नु भू.सं.ऐनको दफा २५, ३४ को त्रुटि हो तसर्थ भूमिसुधार कार्यालय ललितपुरको मिति २०३८।३।२१ को निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको आदेशानुसार प्राप्त हुनआएको लिखितजवाफहरू यस प्रकार रहेछन् :

          ५.  सम्बन्धित पञ्चायतको सिफारिश साथ मोही नामसारी गरी प्रमाणपत्र पाउँ भन्ने निवेदन परेकोमा मृतक नानी मैया बस्नेतको एक मात्र हकदार भएको भनी पञ्चायतको सिफारिश भएकोले जग्गावाला बुझ्न नपरी मोही नामसारी गरी दिने गरी मिति ०३८।३।२१ मा भएको यस कार्यालयको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय ललितपुरको लिखितजवाफ ।

          ६.   रिट निवेदकले निजको बाजे न्हुछेराज शाक्य र बेखाराज शाक्य एकै व्यक्ति हुन भन्ने दावी लिएको छ तर ती भिन्नाभिन्नै व्यक्ति हुन बेखाराजको जग्गामा न्हुछेराजको नातिलाई अ.बं.८२ नं. बमोजिम रिट निवेदन गर्ने हकदैया छैन । ईखाछे ५१ नं. को लगतमा रैकर परिणत भएको जग्गा कि.नं. ४१ कायम भई मिति २०२२।८।४ मा न्हुछेराजका नाममा दर्ता भई प्रमाण पूर्जा गएको छ । यस्तो अवस्थामा सोही ५१ नं. लगतका नाताले अर्को कि.नं. ३६ को जग्गा दावी गर्न मिल्दैन उक्त कि.नं. ३६ को जग्गा मैले नै भोगी घर बनाई बिजुली र धारा छोराको नाममा राखी बसी आएको छु । घर भएको जग्गा हुनाले भू.सं.ऐन, २०२१ को दफा २६क ले मेरो हक भएको हुँदा ऐ दफा २६(१) यसमा आकर्षित हुन सक्तैन वास्तविक जग्गावाला वेखाराजलाई बुझी निर्णय गरिएकोले प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको भन्न मिल्दैन । २०३८।३।२१ को निर्णय बदर गराउन अति विलम्व गरी २०४० साल जेष्ठमा रिट निवेदन दिएको हुँदा समेत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत कृष्णबहादुर बस्नेतको लिखितजवाफ ।

          ७.  रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले विपक्षी कृष्णबहादुरले भूमिसम्बन्धी ऐन, २०२१ का दफा २६(१) बमोजिम मोही नामसारी गरिपाउँ भनी निवेदन दिएको छ जबकी निज मोही मैया बस्नेतको जेठाजु भएकोले उक्त ऐन बमोजिमको हकवालामा पर्दैन । यस्तो अवस्थामा मोही नामसारी गर्ने गरेको निर्णय उक्त दफा २६(१) को प्रतिकूल छ साथै जग्गाधनीलाई नबुझिएको हुँदा प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल समेत हुँदा यस्तो निर्णय बदरभागी छ भन्ने समेत र विपक्षी कृष्णबहादुर बस्नेतको तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले रिट निवेदकले भनेको बेखाराज र न्हुछेराज भन्ने व्यक्ति फरक हुन । रिट निवेदकका नाउँमा जग्गा दर्ता नै नभएकोले निजलाई बुझ्न पर्ने कारण छैन निजका नाउँमा जग्गा दर्ता नै नभएकोले निर्विवाद हक स्थापित भएको नहुँदा समेत रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत र विपक्षी कार्यालयका तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले भू.सु.का.बाट मिति ०३८।३।२१ मा भएको निर्णय कानून अनुरूप छ । साथै सो निर्णय बदर गर्न अति विलम्व गरी २ वर्षपछि मात्र रिट निवेदन पर्न आएको हुँदा समेत रिट निवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ८.   प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।

          ९.   निर्णयतर्फ विचार गर्दा यसमा फिल्डबुक हेर्दा फिल्डबुकमा कि.नं. ३६ को जग्गा सम्बन्धमा किसानको व्यहोरामा वेखाराज शाक्य भनी लेखिएको र मोहीको महलमा मैया बस्नेत भन्ने लेखिएको पाइन्छ साविक जोताहा मोही नानी मैया बस्नेत र मैया बस्नेत भन्ने एकै व्यक्ति हुन निज मिति २०२३।८।४ मा मरीसकेको र निजको म बाहेक हकवाला कोही नभएकोले मोही नामसारी गरिपाउँ भनी विपक्षी कृष्णबहादुर बस्नेतको भूमिप्रशासन कार्यालय ललितपुरमा निवेदन परेकोमा माग अनुसार सोही नामसारी गरी दिने गरी उक्त कार्यालयबाट मिति २०३८।३।२१ मा निर्णय भएको देखिन्छ ।

          १०.  उक्त कि.नं. ३६ को जग्गाको मोही नामसारी हुनुभन्दा अगावै खुदै मोही मैया बस्नेतले जग्गाधनी बेखाराज शाक्य भनी फिल्डबुकमा लेखाएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम साविक मोहीको शेषपछि मोही रोज्ने काम जग्गाधनीको हुने कुरा प्रष्ट छ यस्तो अवस्थामा मोही नामसारी सम्बन्धी निर्णय गर्नु पूर्व जग्गा धनीलाई बुझी निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत विवादमा फिल्डबूकबाट जग्गाधनी देखिएको बेखाराज शाक्यलाई बुझ्ने सम्बन्धमा भूमिप्रशासन कार्यालयबाट म्याद गएको देखिन्न । बेखाराज शाक्य मरेको भए निजको हकवालाले कानूनबमोजिम सकार गर्न र प्रतिवाद गर्ने स्थिति छ । अतएव यी सबै कुराबाट वेरीत गरी प्रतिवाद गर्न मौका नदिई विवादको कि.नं. ३६ को जग्गामा मोही नामसारी गर्ने गरेको भूमिप्रशासन कार्यालय ललितपुरको मिति २०३८।३।२१ को निर्णय प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुँदा उक्त निर्णय कि.नं. ३६ को हकमा सम्म उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब पुनः कि.नं. ३६ को हकमा कानूनबमोजिम जो जे बुझ्नु पर्दछ बुझी निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालय ललितपुरका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल आषाढ ३० गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु