निर्णय नं. १९८२ - कर्तव्य ज्यान

निर्णय नं. १९८२ ने.का.प. २०४१ अङ्क ४
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको फौ.पु.नं. ३११
सम्वत् २०४० सालको फौ.सा.नं. १०५
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/प्रतिवादी : रोल्पा धोरागाउँ गा.पं. वार्ड नं. ३ थुप्पाको घर भै हाल श्री कारागार शाखा रोल्पामा थुनामा रहेको पुनाराम घर्ति क्षेत्री
विरूद्ध
प्रत्यर्थी/वादी : कुवारी क्षेत्रीनीको जाहेरीले वादी श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।२।२५।५ मा
§ मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको निर्णय मनासिब ठहर्ने ।
(प्रकरण नं. २१)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ
प्रत्यर्थी वादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. पृथ्वीबहादुर सिंह : सु.प.क्षे.अ.को फैसला उपर प्रतिवादी पुनाराम घर्ती क्षेत्रीको यस अदालतमा पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकारको रहेछ ।
२. अन्यायवाला पुनारामको र मेरो घरको आँगन जोडिएकोले ०३५ साल आाषाढमा आँगनको ढिकु भत्केको हुँदा मेरो लोग्ने पूर्णबहादुरले बार बारेकोमा निज पुनारामले मेरो आँगन मिची बार बारिस भनी झगडा गरी मौका परेमा तेरो ज्यान नमारी छोड्दिन भनेको थियो । ०३५।४।१३ गते मेरो लोग्ने स्याउला सोतर लिन भनी वनतर्फ गएको साँझसम्म फर्की नआएकाले खोज तलास गर्दा नाम्लोको वरियाले पासो लागि झुण्डी मरेको समेत देखी गाउँका मानिसहरूसँग कुनै रिसइवी नभई यी पुनरामले ज्यान मार्नेको हाँक दिई राखेको हुनाले मेरो लोग्नेलाई पुनारामले नै मारेको पूरा शंका लागेको हुनाले लास कुरुवा राखी दर्खास्त गर्न आएको छु भन्ने समेत ०३५।४।१७ को जोहरवाली कुवारी क्षेत्रीनीको जाहेरी दर्खास्त ।
३. ०३५।४।१८ मा भएको लास जाँच प्रकृति मुचुल्का ।
४. ०३५।४।१९ गतेमा भएको मानबहादुर राना मगर समेतले गरी दिएको प्रहरीबाट भएको लास जाँच तहकीकात मुचुल्का सहितको सरजमीन मुचुल्का ।
५. साँध सीमानाको कुरामा झगडा परी रिसइवी रहेकोले मृतक पूर्णबहादुर वनतर्फ सेउला खेर्न गएको बेलामा मौका पारी म पनि मृतकको पछि सोही बाटो गई निज सेउला खेर्न लाग्दा कंकड खान आइज भनी बोलाउँदा आए केही छिन मसकरीको कुरा गरी मेरो दुवै हातले निजको एक हात तान्दा अर्को हातले हैसियाले हान्न ताकेकोले सो खोसी फाली दिएँ फेरि ढुङ्गाले पिठ्यूंमा हानेकोले मैले हातको लपेटाले निजलाई हान्नासाथ झम्टन आएकोले मैले दुवै हातले निजको घाँटीमा अठ्याँई उत्तानो पारी घुँडा टेकी छातीमा चढी गला चेपेको चेपेकै गर्दा पनि हात खुट्टा चल्दै थियो केही वेर पछि चल्न छोडेकोले अठ्याँउन छोडी हेर्दा मरिसकेको रहेछ । निजकै नाम्ला बरियाले घाँटी र गोडामा बाँधी अं.१५ हात तल ल्याई झुण्डाई दिएको हुँ भन्ने समेत पुनारामले ०३५।४।२० मा प्रहरीमा गरेको साविती बयान ।
६. मिति ०३५।४।१३ गते बिहानै म लालीवाडा तर्फ डुल्दै गई बेलुका मात्र घरमा आएको हुँ, दिनमा को को ले के काम गरे थाहा भएन । बिहान पूर्णबहादुरको लास वनमा फेला पारे भन्ने सुनी गई हेर्दा प्रकृतिबाट कर्तव्य नै ठहराइयो । जाहेरवालाले पुनाराम प्रति शंका गरेकोले ८।१० हजारमा मिलाई देउ भनी प्रहरी समेतलाई मैले भनेको छैन । जाहेरवालनी र पुनाराम बीच झगडा भएको म प्रति समेत सरजमीनले शंका देखाएको हुनुपर्छ, कर्तव्य गरी मारेकोमा पुनाराम सावित भएको निजले नै मारेको हो कि भन्ने लाग्यो मैले कर्तव्य गरेको होइन भन्ने समेत प्र.भुमलाल, प्र.टिके भन्ने टेकबहादुर, चन्द्र भन्ने चन्द्रबहादुर, ओबीलाल समेतले ०३५।४।२० मा प्रहरीमा गरेको इन्कारी बयान ।
७. ०३५।५।१ मा तिलबहादुर कामी ०३५।५।६ मा डम्बरबहादुर घर्ती क्षेत्री, पशुराम भण्डारी र ०३५।५।१३ मा लुद्रबहादुर बुढाथोकी समेतले जि. प्र.का.रोल्पामा गरेको ठाडो कागज ।
८. बुझिएका सरजमीनका साथै संलग्न सबूत प्रमाणहरूबाट प्र.पुनाराम, टेकबहादुर, चन्द्रबहादुर र ओविलाल समेत ४ जनाले मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को विपरीत अपराध गरेको देखिन आएकोले निजहरूलाई सोही ऐनको १३(१) अन्तर्गत र अनुसन्धानबाट प्र.भुमलालले आफ्नो छोरा पुनाराम, टेकबहादुर, चन्द्रबहादुर, ओविलाल ४ लाई आफू मुख्य भई पूर्णबहादुरलाई मार्ने षडयन्त्र गरेको बुझिएको हुनाले निजलाई ऐ ज्यानसम्बन्धी महलको १६ नं. विपरीत अपराध गरे बापत सोही १६ नं. अन्तर्गत कारबाही भई सजाय हुन अनुरोध छ भन्ने ०३५।५।१५ को प्रहरी प्रतिवेदन ।
९. मर्ने पूर्णबहादुरको लास ऐ १६ गते भेटियो भन्ने सुनी बाबु भुमलाल र भाइ टेकबहादुर हेर्न गएकोले हामी एकै घरको हुँदा म गइन सबैको भनाई अनुसार कर्तव्यबाट मरेको रहेछ । दाज्यू पुनाराम सावित भएकोले पुनारामले नै मारेको लाग्यो म समेत भई मारे मराएको होइन भन्ने समेत प्र.चन्द्र भन्ने चन्द्रबहादुर प्र.टेके भन्ने टेकबहादुर भुमलाल घर्ती क्षेत्रीले अदालतमा गरेको इन्कारी बयान ।
१०. जाहेरवालीसँग ०३४ साल ज्येष्ठ महीनामा झगडा भई पञ्चायतले रु.५०। दण्ड तिराई दिएको रिसइवी भइरहेको मर्ने पूर्णबहादुर नाम्लो डोको बोकी सोतर खोज्न वनतर्फ जान लागेकोले म पनि निजको बाटो गरी पछि गई कंकड खान आइज मैले भन्दा जान्न भन्दै उठेकोले दुवै हातले निजको पाखुरामा समाई तान्दा एक हातमा भएको हँसियाले मलाई हान्न लागेकोले मैले दाहिने हातले खोसी तलतिर फाली दिएपछि हातले मुठ्ठी भरको ढुंगा उठाई मेरो जीउमा हान्यो र मैले बायाँ हातको लपेटाले निजको बायाँ गालामा हान्दा निजले पनि मलाई हान्न झम्टिएकोले मैले दुवै हातले अगाडि पट्टिबाट निजको गला जोडसित अठ्याँई उत्तानो पारी छातीमा चढी गला चेपेको चेपेकै गर्दा चल्न छाडेकोले मरी सकेको रहेछ अब म पर्ने भए भनी झुण्डिएर आफैं मरेको पार्नु पर्यो भनी बबियाले घाँटीमा बाधी बोकी रूखमा झुण्ड्याएको कसैले देखेको थिएन । मैले मात्र मारी झुण्डाएको हुँ । अरू कसैले सहायता गरेको छैन भन्ने समेत ०३५।५।१५।५ मा प्र.पुनाराम घर्ती क्षेत्रीले अदालतमा गरेको बयान ।
११. प्रतिवादी भुमलाल घर्ति दोस्रो समेत साक्षी नन्दलाल, टेकबहादुर, प्रेमबहादुर, भिमबहादुर, दण्डे खड्का, देवीराम, अम्बरबहादुर, लिलाबहादुर भाद्र बुढा, कृष्णराम समेत जना १० ले ०३५।६।१३ मा र बन्दसवालका साक्षी कुलबहादुर बुढाथोकी क्षेत्रीले ०३५।९।३ मा गरेको बकपत्र ।
१२. ०३५।४।१३ गते बिहानै घ्यू खोज्न भनी दिदीको घरतर्फ गई घरतर्फ आउँदा दिनको समय याद भएन बुके खोला भन्ने ठाउँमा आइपुग्दा १०–१२ हात जति टाढा वनमा लोग्ने मानिसको ठूलो स्वरले मार्यो मार्यो भनेको मैले सुनेको तर म त्यस ठाउँमा गइन त्यसपछि साँझ ५ बजेतिर स्यानी खोली आई पुग्दा १०००–५०० हात टाढाबाट पुनाराम, ओवीलाल, टेकहादुर समेत ३ भाइले हात खुट्टा धुन लागेको देखेको हुँ पुनारामको हातमा लठ्ठी र ओवीलालको हातमा हँसिया बन्चरा नाम्लो थियो टेकबहादुरको हातमा केही थिएन केही सोधपूछ भएन । ०३५।४।१६ गते पूर्णबहादुर झुण्डिएछन् भनी मर्नेको स्वास्नीले भन्दा म समेत सो लास भएको ठाउँमा जाँदा लास प्रकृतिबाट कर्तव्यबाट मरेको देखिएकोले १३ गते उक्त लेखिए अनुसार मर्ने पूर्णबहादुर प्र.पुनाराम समेतको झगडा हुँदा मर्ने पूर्णबहादुरलाई १ जनाले मात्रै मारी झुण्डाउन सकेन होला ३ जना हुनकी झुण्डाएको आँखाले देखिन प्र.पुनाराम, टेकबहादुर, ओवीलाल समेत ३ भाइ उपर शंका लाग्छ भन्ने वादी पक्षका साक्षी तिलबहादुर कामी र वीरमा महरो समेतले ०३७।७।२३।५ मा अदालतमा गरेको बयान ।
१३. ०३४ सालमा मसँग झगडा गरी उजूर गर्न भनी रोल्पा प्रहरीमा आउँदा प्र.पं.ले मिलाई दिउँला भनी रु.५०। घर खर्च दिएको र मेरो जग्गा र पुनारामको जग्गा एकै ठाउँमा जोरिएको हुँदा आँगनको ढिक भत्केकोले मेरो लोग्ने पूर्णबहादुरले ०३५ साल आषाढ महीनामा बार बारी निज पुनारामले मेरो बार मिचिस भनी कल झगडा गरी लोग्नेको ज्यानमा दावा गरेको थियो । ०३५।४।१३ गते दिउँसो सेउला लिन डोको नाम्लो हँसिया लिई वन तर्फ गएको फर्की नआएकोले ०३५।४।१६ गते बिहान वनतर्फ खोज तलास गर्न जाँदा वनमा रोहिणीको रूखमा झुण्डिएको समेत देखि अरू कसैको रिसइवी नभई निज पुनारामले नै मारेको शंका लाग्छ जाहेर गरेको हुँ । एकै घरमा भुमलाल, चन्द्रबहादुर, ओवीलाल, टेकबहादुर ४ जना बाबु छोरालाई हाल्न हुँदैन भनी रामप्रसादले भनेकोले पुनारामलाई मात्र लेखाएको हुँ । लोग्नेलाई मार्दा आँखाले नदेखेकोले यति जनाले मारे भन्न सक्दिन । लोग्ने पूर्णबहादुर पनि बलियो हुँदा पुनाराम मात्रले सकेनन् पुनारामका दाइ भाइ २।३ जना लागि मारे होलान् भन्ने समेत ०३५।७।२१ मा जोहरवाली कुमारी क्षेत्रीनीले अदालतमा गरेको बयान ।
१४. प्रहरीमा गरेको कागज प्रहरीले मलाई पढी नसुनाई सहिछाप गराउनु भएकोले सहिछाप गरेको हो व्यहोरा फरक रहेछ ०३५ साल श्रावण महीनामा प्रतिवादी मध्ये भुमलाल बिहान मेरो घरमा आई निजबाट मैले धान उधारो ल्याएको हुँदा रु.२५। नगद र सापट ल्याएको समेत रु.४०। माग्न मेरो घरमा आई बिहान ७ बजे सो रुपैयाँ मैले दिएपछि कुराकानी गरी कंकड खाई मेरो गाउँ लाल्ती वोदेको अरू मानिसले ल्याएको रुपैयाँ माग्न भनी मेरो घरबाट सो दिन दिउँसो ५–६ बजेतिर आफ्नो घर थुंवाकिमा पुगेको हुनुपर्छ पूर्णबहादुरलाई कर्तव्य गरी मार्नु झुण्ड्याउनु भनी आफ्नो छोरालाई सिकाई वचन दिए होलान भन्ने मलाई शंका लाग्दैन निजका छोराहरू एक जनाले मैले मारी झुण्ड्याएको हुँ भनी सावित भएको हुनाले निजै सावित वालाले मारी झुण्ड्याएको होला भन्ने समेत ०३६।९।९।२ मा रूद्रबहादुर बुढाथोकी भन्ने रूद्राबहादुरले अदालतमा गरेको बयान ।
१५. प्र.पुनाराम घर्ति क्षेत्रीले पूर्णबहादुरलाई कर्तव्य गरी ज्यान मारेको संलग्न सबूद प्रमाणबाट देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र प्र.भुमलाल, प्र.चन्द्रबहादुर, प्र.टेकबहादुर समेतलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अपराध गरेको नदेखिँदा निजहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्नेसमेत शुरू रोल्पा जि. अ.को ०३७।८।२६ गतेको फैसला ।
१६. शुरू जि. अ.बाट प्र.टेकबहादुर, प्र.चन्द्रबहादुर, प्र.भुमलाल समेतलाई सफाई दिने गरेको फैसला नमिलेकोले निजहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत श्री ५ को सरकारतर्फबाट सु.प.क्षे.अ.मा पर्न आएको पुनरावेदन पत्र ।
१७. मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्षको कैदको सजाय गर्नुपर्नेमा ऐ ऐनको १३ (१) नं. बमोजिम सजाय गर्ने गरेको शुरू जि. अ. को फैसला नमिलेकोले उक्त फैसला बदर गरी ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रतिवादी पुनारामको सु.प.क्षे.अ.मा पर्न आएको पुनरावेदन पत्र ।
१८. प्रत्यक्षदर्शी सबूत प्रमाणको अभावमा ज्यान जस्तो अपराधमा कर्तव्यवाला यही हो भन्न ठहराउन न्यायोचित नभएकोले यी प्रतिवादीहरू टेकबहादुर, चन्द्रबहादुर, भुमलाल समेतलाई सफाई दिने ठहर्याएको शुरूको इन्साफ मनासिब ठहर्छ र प्र.पुनारामले पूर्णबहादुरलाई मारौं भन्ने इच्छाले नै कुटपिट गरी घाँटी दावी मारेको देखिन आएकोले निज पुनारामलाई शुरूले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिब ठर्छ भन्ने समेत सु.प.क्षे.अ.को फैसला ।
१९. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले पूर्णबहादुरले ढुंगाले हान्दा रिस थाम्न नसकी गला चापी मारेको हुँदा ज्यानसम्बन्धीको १३(१) लाग्ने नभई १४ नं. ले १० वर्ष मात्र सजाय हुनु पर्नेमा सर्वस्वसहित जन्मकैद गर्ने गरेको सु.प.क्षे.अ.को इन्साफ बदर हुन पर्ने भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
२०. सु.प.क्षे.अ.को निर्णय मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपरेको छ ।
२१. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी पुनाराम घर्ति क्षेत्रीले प्रहरी तथा अदालत समक्ष मृतक पूर्णबहादुरले हँसियाले हान्दा सो हँसिया खोसी फाली दिएपछि ढुङ्गाले हान्न थाल्यो र सो ढुङ्गाले हानेको रिस थाम्न नसकी मृतकको गला चापी मारी झुण्ड्याएको हुँ भनी बयान गरेको देखिन्छ । बुझिएका साक्षी र सरजमीनहरूले समेत मर्ने पूर्णबहादुरलाई प्रतिवादीले कर्तव्य गरी मारेको भनी लेखिदिएबाट पनि निजको साविती बयानलाई पुष्ट्याइँ मिलेको छ । ढुङ्गाले हानेको रिस थाम्न नसकी घाँटी दावी मारेकोले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय हुनुपर्दछ भन्ने प्रतिवादी पुनाराम घर्तिको पुनरावेदन जिकिरको हकमा ढुङ्गाले हानेको भए घाउचोट हुनु पर्ने वा खत परेको छ भन्न लेख्न नसकेको समेतबाट निजको पुनरावेदन जिकिर विश्वासलायक देखिएन । मृतक पूर्णबहादुर र प्रतिवादी पुनाराम घर्ति क्षेत्री बीच अघिदेखि रिसइवी पनि परेको भन्ने मिसिल प्रमाणबाट देखिन्छ । तसर्थ मृतक पूर्णबहादुरलाई प्रतिवादी पुनारामले कर्तव्य गरी मारी झुण्ड्याएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू रोल्पा जिल्ला अदालतको फैसला सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी पुनाराम घर्ति क्षेत्रीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी पुनाराम घर्ति क्षेत्रीको पुनरावदेन तहबाट नै निर्णय भएको हुँदा निजको हकमा जाहेर हुनआएको साधकको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल ज्येष्ठ २५ गते रोज ५ शुभम् ।