शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९८३ - नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ

भाग: २६ साल: २०४१ महिना: श्रावण अंक:

निर्णय नं. १९८३ ने.का.प. २०४१              अङ्क ४

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको दे.पु.नं. ४८०

मुद्दा : नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ

पुनरावेदक/प्रतिवादी : का.जि. थापाथली बस्ने महाराज कुमार मन्सुरी शमशेर ज.ब.रा.

विरूद्ध

विपक्षी/वादी : ऐ घर भई हाल बानेश्वर बस्ने दावा उक्याप

फैसला भएको मिति : २०४०।९।४।२ मा

§  नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भत्काउन आदेश दिएको कानून अनुरूप भएको देखिएन ।

(प्रकरण नं. १६)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल

विपक्षी वादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

        न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३८।९।९।५ को निर्णय उपर पुनरावेदन अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

        २.  मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : मंसुरी शमशेर ज.ब.रा.ले साझा बाटामा जबरजस्ती मेरो छोरा जोन्देन उक्यापको नाममा घर भएको र मानिस नभएको समयमा पारी गाई गोठ र गेट बनाई आवागमनमा बाधा दिन र साथै गोठ बनाउँदा स्वास्थ्यलाई समेत हानिकारक हुन जाने हुँदा निजलाई बारम्बार सम्झाउँदा पनि उक्त घर भत्काई नदिएको र गोठ पनि बनाउने कार्य जारी नै रहेकोले बनाउन लागेको गोठ र गेट दुवै भत्काउन लगाई पाउँ भन्ने समेत दावा उक्यापको ०३३।५।२० को निवेदन ।

        ३.  अघि श्री ३ महाराजा देवशमशेर ज.ब.रा.का दरवार कम्पाउण्ड अन्दाजी १४२ रोपनी भएकोमा पछि बिक्री बण्डा समेतबाट भाइ भतिजाहरूले पाई म समेतले भोग गर्दै आइरहेको र सो ठाउँमा आउन जान सुविधाको लागि बनाइएको निजी बाटो हो सार्वजनिक बाटो होइन र सो बाटो मेरो घर गई टुंगिएकोले पनि सो बाटो सार्वजनिक नभई निजी भन्ने कुरा पुष्टि हुन आउँछ । मैले नबनाएको गोठ ढोका र बाटो देखि दक्षिणतर्फ अन्दाजी १० फिट फरकमा निवेदकको घर छ निवेदकको घरमा अहिले मेरो घरमा आउन जान समेत सवारीलाई कुनै बाधा पुर्‍याउने अवस्था छैन । जहाँसम्म नक्सा पास बेगर गोठ बनायो भन्ने निवेदकको उजूरी छ यसका हकमा सो मेरो गोठ हाल बनाएको नभई साविक दर साविकका पालादेखि पनि रहेकै थियो सो गोठ पुरानो र जिर्ण अवस्थाको भएकोले त्यसमा हाल मर्मत गरी छाना फेरी बनाएको छु भन्ने समेत प्रतिवादी मन्सुरी शमशेरको बयान कागज ।

        ४.  न.पं.१ वडा नं. अन्तर्गत का.जि. थापाथली बस्ने दावा उक्यापको उजूरीमा सार्वजनिक जग्गा मिची सोही ठाउँमा बस्ने मन्सुरी शमशेर ज.ब.रा.ले कोठा टहरा गोठ बनायो भन्ने बारेमा लेखिए बमोजिमको स्थानमा जाँच गर्न जाँदा मन्सुरी शमशेर ज.ब.रा.ले उजूरवालाको घरदेखि उत्तरतर्फ आवत जावत गर्ने बाटो देखि उत्तरतर्फको पुरानो पर्खालको जग्गा माथि मर्मत गरी नयाँ टहरा बनाई राखेको देखिन्छ । यसैको दस्तूर रु.३।७४ लाग्ने देखिन्छ । सार्वजनिक र व्यक्तिगत भन्ने बारे सरजमीन गर्नपर्ने देखिन्छ भन्ने अ.ई.मोहनकृष्ण डंगोलको ०३३।७।१८।४ को नक्सा रिमार्क ।

        ५.  विवादस्थान गई जाँचबुझ गर्दा उजूरीमा उल्लिखित गरिए बमोजिम वादीले प्रेसित नक्सामा देखिए बमोजिम गोठ र ढोका नक्सा पास बेगर नबनाएको देखिन्छ र प्रतिवादीले सो बनाएको ढोका खोलिंदा खापाले वादीको घर जाने ढोकासम्म पुग्छ भन्ने समेत व्यहोराको ०३४।४।२।१ को ओभरसियरको नक्सा रिमार्क ।

        ६.  का.न.पं.मुद्दा फाँटबाट सरजमीन हुँदा सार्वजनिक बाटो भन्ने समेत व्यहोराको ०३४।६।९ को सरजमीन मुचुल्का ।

        ७.  वादीले पेश गरेको मिति ०२३।४।२४ को राजीनामा तमसुकको नक्कलबाट पूर्व पश्चिम उत्तर साझा बाटो भन्ने उल्लेख भएको देखिन आएको र यस कार्यालयबाट मिति ०३४।६।९ मा सरजमीन हुँदा सार्वजनिक बाटो भन्ने मुचुल्का भई आएको हुँदा र नक्सा पास बेगर टहरा ढोका बनायो भन्ने अ.ई.को नक्सा रिमार्क भई आएको देखिएकोले नक्सा पास बेगर बनाएको ढोका हटाई दिनु र टहरा न.पं.ऐन दफा ५३ बमोजिम आजका मितिले ३५ दिनभित्र भत्काई दिनु भनी उपस्थित रहेको प्रतिवादीलाई सुनाई दिने म्यादभित्र सो कार्य प्रतिवादीले नगरेमा उक्त हटाउने भत्काउने कार्य समेत का.न.पं.स्यानिटेशन फाँटबाट गराउन लगाउने भन्ने समेत का.न.पं.बैठकको निर्णय ।

        ८.  अधिकारक्षेत्र नाघी गरेको त्रुटिपूर्ण बैठकको निर्णय बदर गरी मेरो ढोका मैले भत्काउन हटाउन नपर्ने र मर्मत गरी बनाएको गोठ घर भत्काउन नपर्ने भन्ने समेत मन्सुरी शमशेरको वा.अं.अ.मा पुनरावेदन ।

        ९.  दुवै पक्षलाई रोहवरमा राखी नक्सा मुचुल्का गरी पेश गर्नु भन्ने बा.अं.अ.को आदेश।

        १०. वादीले र सरजमीनले सार्वजनिक बाटो भनेको ठाउँमा आफ्नो निजी भए प्रतिवादीले घर टहरा ढोका बनाउन नक्सा पास गराई बनाउन पर्ने सो बमोजिम नक्सा पास गरी नबनाएको र साविक सो ठाउँमा हाल जस्तै टहरा ढोका भएको सबूत प्रतिवादीले देखाउन नसकी का.न.पं.को इन्जिनियरले जाँच्दा गोठ र ढोका नबनाएको देखाई रिपोर्ट पेश गरेको समेत देखिनाले सो गोठ र ढोका नक्सा पास नगराई बनाएको भत्काउने ठहर्‍याई दिएको निर्णय बेमनासिब भन्न मिल्दैन । का.न.पं. बैठकले गरेको निर्णय मनासिब छ भन्ने समेत बागमती अञ्चल अदालतको ०३५।१२।५।१ को फैसला ।

        ११. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भन्ने मन्सुरी शमशेरको निवेदनमा बाटो सार्वजनिक हो वा निजी हो सो तर्फ ठहर नगरी सिर्फ नक्सामै आएको आधारमा मात्र अञ्चल अदालतले ठहर गरेको देखिन आएको छ । सार्वजनिक बाटो भन्ने एक विषय र नक्सा पास बेगर भन्ने उही विषय प्रस्तुत वादी उजूरीमा देखिँदा जग्गा तर्फ कुनै कुरा नबोली सिर्फ नक्सा पास बेगरतर्फ मात्र बोली अञ्चल अदालतले गरेको फैसला कानूनी त्रुटिपूर्ण भएको भनी पुनरावेदनको अनुमति प्रदान गरेको रहेछ ।

        १२. बाटो जग्गा एकलौटी वा सार्वजनिक जे भए पनि नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को प्रयोजनका लागि कुनै तात्विक भिन्नता आउने अवस्था देखिँदैन । निजी वा सार्वजनिक जे जस्तो अवस्थाको जग्गा भए पनि नक्सा पास गर्नु पर्नेमा नक्सा पास नगरी टहरा गेट बनाएकोमा नगरपञ्चायतले आफ्नो अधिकारक्षेत्र प्रयोग गरी निर्णय गर्न पाउने नै हुन्छ । नयाँ टहरा र गेट बनाएको भन्ने इन्जिनियरको प्रतिवेदन समेतबाट देखिन आएको र पुरानै गेट समेतलाई मर्मत गरेकोले नक्सा पास गर्नु नपर्ने भन्ने प्रतिवादीको जिकिरको समर्थन हुने प्रमाण केही पेश हुन नआएकोले नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को अधिकार प्रयोग गरी नगरपञ्चायतले गरेको निर्णय र सो निर्णयलाई सदर गरी बा.अं.अ.ले गरेको निर्णयमा सार्वजनिक वा निजी बाटोको प्रश्न समावेश रहेको र प्रस्तुत विवादमा सो विषयमा निर्णय गरी रहनु पर्ने अवस्था समेत देखिन नआएकोले बागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।९।९।५ को फैसला ।

        १३. पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी महाराजकुमार मन्सुरी शमशेर ज.ब.रा.को निवेदनमा म.क्षे.अ.को फैसला न.पं.ऐन, २०१९ को दफा ४६ को विपरीत भई त्रुटि भएको र नपाएको अधिकार प्रयोग गरी सार्वजनिक वा निजी भन्ने विवादमा सार्वजनिक हो भनी निर्णय गरेको अधिकार क्षेत्रात्मक त्रुटि भएको समेत देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको ०३९।९।२१।४ को आदेश ।

        १४. आज पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारेस शिवप्रसाद विपक्षीको वारेस जोन्देन उक्यापलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको बहस समेत सुनियो ।

        १५. प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन भनी निर्णय दिनु पर्ने हुनआएको छ ।

        १६. यमसा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ ले यस ऐन बमोजिम नक्सा पास नगराई वा पास भएको नक्सामा अनुमति बेगर अदल बदल गरी घर बनाई वा बनाई रहेको ठहरेमा सो घर वा सो घरको कुनै भाग नगरपञ्चायतले आवश्यक सम्झेमा भत्काउन आदेश दिन सक्ने देखिन्छ । न.पं.ऐन, २०१९ को दफा ४६(१) ले सार्वजनिक गल्ली तर्फ ढोका, गोठ इत्यादि बनाउन नक्सा सहित नगरपञ्चायतमा दर्खास्त दिनु पर्ने व्यवस्था छ । वादीको उजूरी हेर्दा साझा बाटोमा नक्सा पास बेगर गोठ र ढोका बनाएको भन्ने उल्लेख भई प्रतिवादीले सो बाटोलाई निजी बाटो हो सार्वजनिक बाटो होइन भन्ने बयान गरेको देखिन्छ । नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ । त्यस्तो निर्णय गर्न नगरपञ्चायतलाई अधिकार भएको देखिँदैन अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भत्काउन आदेश दिएको कानून अनुरूप भएको देखिएन । अतः नगरपञ्चायतले गरेको निर्णयलाई सदर गर्ने गरेको बागमती अञ्चल अदालतको निर्णय मनासिब भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन उल्टी हुन्छ । तपसील कलममा तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी महाराज कुमार मन्सुरी शमशेर ज.ब.रा.के माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले पुनरावेदन गर्दा मिति ०३९।१०।१० मा राखेको पुनरावेदन दस्तूर १०। फिर्ता पाउँ भनी दर्खास्त परे कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.जि. अ.मा लगत दिनु....................१

मिसिल नियमबमोजिम बुझाई दिनु.................... २

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४० साल पौष ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु