निर्णय नं. २००४ - कर्तव्य ज्यान
निर्णय नं. २००४ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको फौ.पु.नं. ३७५
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : जगदिश आचार्य समेतको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जिल्ला गुल्मी इस्लादोहली गा.पं. वा. नं. ४ बस्ने सचिव चन्द्रबहादुर महत क्षेत्री
फैसला भएको मिति : २०४१।५।१४।५ मा
§ पर्याप्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागी बनाउनु न्यायोचित नहुने ।
(प्रकरण नं. १४)
पुनरावेदक, वादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलीराम कुमार
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मृतक टिकाराम र म रामराज्य नि.मा.वि.इस्मा दोहलामा पढाउने र एउटै कोठामा बस्ने गरेका थियौं । मिति ०३७।२।३१ गते मासु लिन जान्छु भनी हिडेका सो दिन नआएको भोलिपल्ट शनिवार परेको र ०३७।३।२ गते आइतवार पनि नआएकोले खोज तलाश गर्दा इस्मा दोहली गा.पं. वार्ड नं. ४ को खोमिल्टा भन्ने भिरको भडखारोमा लाश छ भन्ने कुरा गाईबस्तु हेर्न जाने गोठाला केटाकेटीबाट थाहा भई पञ्चहरू समेत भेला भई घटनास्थलमा गएर हेर्दा निजको घोप्टो परेको लास देखेकोले जाहेर गर्न आएको छु भन्ने समेत चेतनाथ शर्माको जाहेरी दर्खास्त ।
३. आजभन्दा ४।५ वर्ष अघि शिक्षकहरू बीच भलिवल खेल हुँदा र २०३५ साल जेष्ठमा डम्बरबहादुरको छोराको छैठीमा समेत दुहली गा.पं.का सचिव चन्द्रबहादुरले कुटपिट हातपात गरेको र जनमत संग्रहमा मेरो दाजु टिकाराम बहुदल र चन्द्रबहादुर निर्दलमा हुँदा रिसइवी भइरहेको थियो । २०३७।२।३१ गते साँझ चन्द्रबहादुर र दाजुले मुसी भन्ने रिजाल्नीको घरमा गई रक्सी खाएको तत्पश्चात एक्कासि मिति २०३७।३।२ गते लास फेला परेकोबाट निज चन्द्रबहादुरले नै मिति २०३७।२।३१ गते राति कर्तव्य गरी मारी फालेकोमा विश्वास लागेकोले निजलाई पक्री कारबाही गरिपाउँ भन्ने समेत जगदीश आचार्यको जाहेरी ।
४. मेरो फुपू नाता पर्ने विवाहिता भए पनि माइतमा बस्ने गरेकी र निजसँग टीकारामले अनुचित सम्बन्ध तथा बीच–बीचमा टीकारामसँग झगडा समेत हुने गरेको कारणबाट ०३७।२।३१ गते साँझ रक्सी खाई मुसी भन्ने रिजाल्नीको घरबाट आइरहेको मौका मूलबाटोमा भेटी मेरो फुपूसँग जान मलाई नसोधी हिडेको होलास् भनी मैले भन्दा सोही विषयमा निज र मेरो भनाभन झगडा हुँदा दुवै हातले घाँटी च्यापी अठ्याई रहँदा केही बेरपछि निजको मृत्यु भयो । त्यसपछि लासलाई नजिकै पल्टाई सो रात प्रेमकुमारी खड्गेनीको घरमा सुतें भोलिपल्ट उज्यालो हुने समयमा लासलाई खोपिल्टाको भिरको भडखारोमा लगी फालेको हुँ भन्ने समेत प्र.चन्द्रबहादुरले प्रहरीमा गरेको बयान कागज ।
५. सचिव चनद्रबहादुरले टिकारामलाई कर्तव्य गरी मारेमा शंका लाग्दैन भन्ने धेरै जसो शंका लाग्छ भन्ने थोरै मानिसहरूको भनाई भएको सरजमीन मुचुल्का ।
६. भडखारोमा मृतक लासको शिर उत्तर खुट्टा दक्षिण टाउकोमा ठूलाठूला चोट लोगेको लास पल्टाई हेर्दा दुवै आँखा चिम्लेको शरीरको ठाउँठाउँमा छाला खुइलिएको भन्ने समेत लास प्रकृति मुचुल्का ।
७. घाँटी च्यापी मरेको पुष्टी हुनआएकोले निज चन्द्रबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
८. ०३७।२।३१ गते कार्यालय बन्द गरी मुसिकोट गा.पं. वार्ड नं. १ साहुको घरमा गएको हुँ । उक्त दिन मैले मृतकलाई देखिन । फुपू वलीसँग टिकारामको अनुचित सम्बन्ध थिएन । मलाई पिटी सो कुरा भन्न बाध्य गराइएको हो भन्ने समेत प्र.चन्द्रबहादुरले अदालतमा गरेको बयान ।
९. प्रतिवादीले सफाई पाउने ठहर्छ भने समेत गुल्मी जिल्ला अदालतको ०३८।१२।१६ को फैसला । सो फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।
१०. तथ्ययुक्त सबूत प्रमाणको अभावमा प्रतिवादी चन्द्रबहादुरलाई सफाई दिने गरेको गुल्मी जिल्ला अदालतको इन्साफ सदर ठहर्छ भन्नेसमेत पश्चिमाञ्चल क्षे.अदालतको ०३९।१२।२७ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।
१२. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले मृतक र प्रतिवादी बीच बराबर झगडा भई रिसइवी परेको कुरा जगदीश आचार्यको जाहेरीमा स्पष्ट देखिएको छ । प्रतिवादीले अदालतमा ईन्कार रही बयान गरे पनि प्रहरी समक्ष भएको सवितीलाई खण्डन गर्न सकेको छैन । तसर्थ निजलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१३. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब वा बेमनासिब के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।
१४. निर्णयतर्फ विचार गर्दा यसमा जगदीश आचार्यको जाहेरी वा मृतक टिकारामको मृत्यु यिनै प्रतिवादीको कर्तव्यबाट भएको हो भनी किटानीसाथ लेख्न नसकी शंकासम्म गरेको देखिन्छ । प्रतिवादी चन्द्रबहादुर महत क्षेत्री आरोपित कसूर गरेमा प्रहरी समक्ष सावित भए पनि अदालतमा आई बयान गर्दा पूर्णतः इन्कार रही प्रहरीमा कुटपिट गरी सावित गराएको भनेका घा जाँच हुँदा १०।१५ दिनभित्रको घाखत गरी घा जाँच फाराममा उल्लेख भएको देखिन्छ । साथै प्रहरीमा सावित हुँदा घाँटी च्यापी मारेको तर मृतक टीकारामको शव परीक्षण प्रतिवेदनमा मर्नुको कारण टाउकोमा लागेको घा खत भन्ने उल्लेख भएबाट प्रहरीमा भएको साविती समर्थित हुन आएन । प्रहरीमा भएको उक्त साविती बयानलाई समर्थन गर्ने अन्य कुनै स्वतन्त्र सबूत प्रमाण पेश दाखिल हुनसकेको छैन । सरजमीनका व्यक्तिहरूले पनि किटानीसाथ गडाउ नगरी केवल शंकासम्म व्यक्त गरेका छन् । मृतक टीकाराम र प्र.चन्द्रबहादुरले मुसि भन्ने रिजाल्नीको घरमा संगै बसी खसी खाएको भन्ने जाहेरीमा उल्लेख भएकोमा निज बसुन्धरा रिजाल्नीलाई अदालतबाट बुझ्दा निजले मिति ०३७।२।३१ मा मृतक टीकाराम र प्र.चन्द्रबहादुरसँग भेट भएन भनी बकपत्र गरेको देखिन्छ । जाहेरवालालाई बुझ्ने आदेश भएकोमा निज अदालतमा उपस्थित भएको देखिँदैन यसरी यिनै प्रतिवादीले आरोपित कसूर गरेको हो भनी प्रमाणित हुने किसिमको कुनै पनि तथ्ययुक्त ठोस सबूत प्रमाण पेश दाखिल हुनसकेको छैन । पर्याप्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागी बनाउनु न्यायोचित नहुने हुँदा प्रतिवादी चन्द्रबहादुर महत क्षेत्रीलाई सफाई दिने गरेको शुरू गुल्मी जि. अ.को फैसला सदर गरेको पश्चिमाञ्चल क्षे.अदालतको निर्णय बमोजिम हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् ०४१ साल भाद्र १४ गते रोज ५ शुभम् ।