निर्णय नं. २००५ - अंश

निर्णय नं. २००५ ने.का.प. २०४१ अङ्क ५
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको दे.पु.नं. ६१६
मुद्दा : अंश
पुनरावेदक/वादी : जि. धनकुटा घोलिखर्क गा.पं. वा.नं. ४ बस्ने भवानीप्रसाद राई
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने हजारमाया राईनी समेत
फैसला भएको मिति : २०४१।५।२६।३ मा
§ आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र आफ्नो नामको जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन ।
(प्रकरण नं. १०)
पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी, प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार छ ।
२. बाबु नरध्वजका २ वटी श्रीमती भएकोमा कान्छी फुलमाया भन्ने कृष्णमाया मेरो आमाको म एक मात्र जेठी छोरी भई विपक्षी हजारमाया राईनी पट्टिका छोरी डम्बरकुमारी राईनी समेत ४ छोरा १ बहिनी छोरी भएका, मेरो आमा बाबु समेत अघि नै परलोक भएकोले घरको व्यवहार भाइ रणबहादुरले गरी आएको र म ०१८ सालमा भारत सरकारको नोकरीमा गई बेला बेलामा छुट्टी लिई आउँदै कमाई गरी ल्याएको सम्पत्ति सौतिनी आमालाई दिने गरी आएकोमा म ०३६।११।२७ गते घर आई अंश माग्दा तिम्रो अंश छुट्याई सर्भेमा नाम दर्ता गरिदिएको छ, अब हामीले अंश दिनु पर्दैन भनेकोले मालपोत कार्यालयमा गई हेर्दा पिता पूर्खाको आर्जनको ३ कित्ता जग्गा मेरो नाममा दर्ता गराई दिई अरु बाँकी विपक्षीहरुले अंश नदिएको हुँदा ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी ।
३. फिरादीका आमा ०८ सालमा र बाबु ०२४ सालमा परलोक हुनुभएपछि ०२५ साल आषाढमा मानो छुट्टी बेगल बसी आएका हौं । सर्भेमा नाप जाँच गर्दा सबै अंशियारको सल्लाह अनुसार अंशबण्डाको कागज भई आ–आफ्नो जग्गा दर्ता गराई जिम्मावाललाई तिरो बुझाई भोगी आएका छौं म रणबहादुरका नाममा दर्ता भएको जग्गा साझा संस्थामा धितो राखी रु.२,०००। र १,४००। उखु खेती र अलैंची खेती गर्न लिएको छु, त्यसबाट पनि बण्डा भइसकेको छ । आफ्नो अंश भाग दर्ता भइसकेपछि बण्डापत्र पेश नभएको नाताबाट अंश पाउँ भनी झुठ्ठा फिराद दिएकोले वादी दावीबाट फूर्सद पाउँ भन्ने समेत प्रतिउत्तर ।
४. आफू आफूले पाएको जग्गा समेत आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र धितो बन्धक समेत राखेको देखिन आएकाले निज वादीले अंशबण्डा लिई बेगल बसेको देखिन आएकोबाट अंशबण्डाको ३० नं. बमोजिम आ–आफ्नो भाग शान्ति लिई पाई दाखिल खारेज समेत गराई सकेको भए देखि अंशबण्डा घटी वेशी असल कमसल भयो भन्न पाउँदैन रजिष्ट्रेशन नभएको सदर हुन्छ भन्ने व्यवस्था भएकोले वादीले अंश पाउन सक्तैन भन्ने धनकुटा जिल्ला अदालतको फैसला ।
५. सो फैसला उपर पू.क्षे.अ.मा वादीको पुनरावेदन परेकोमा मिति ०३१।१०।१६।४ को घरसारको कागज निज वादीलाई ७८ नं. बमोजिम सुनाएको छैन । यस अदालतको ०३८।४।२८ को आदेश बमोजिम निज वादी पुनरावेदकको नामको जग्गा दर्ता भए नभएको बुझिंदा घोर्लीखर्क गा.पं.मा वादीको कुनै जग्गा दर्ता नरहेको मालपोत कार्यालयको जवाफबाट देखिन आएको अन्य ५ जना अंशियारहरूको जग्गा घोर्लीखर्कमा भएको प्रमाणबाट देखिन आएको अवस्थामा वादीले अंश लिइसकेको भन्ने कुरा कतैबाट समर्थन हुन नआएबाट छलफलको लागि विपक्षीहरूलाई झिकाउने आदेश भई अंश भइसकेको छ भनी ०३१।१०।१६।४ को बण्डा कागज प्रतिवादी तर्फबाट पेश हुनआएको सोको पुष्ट्याईमा वादीको नाममा ३ कित्ता जग्गा दर्ता रहेको जग्गाधनी दर्ता श्रेस्ता प्रतिलिपिबाट देखिएकोले व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरे पछि बण्डा पत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन भन्ने समेत अंशबण्डाको ३० नं. मा व्यवस्था भएको हुँदा अन्य प्रमाणबाट समर्थित घरसारको उक्त लिखत सुनाई रहने अवस्था पनि नभएको हुँदा वादी दावी नपुग्ने ठहर्याएको ध.जि. अ.को इन्साफ मनासिब छ भन्ने समेत पू.क्षे.अ.को फैसला रहेछ ।
६ उत्त फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षत गम्भीर त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमती पाउँ भन्ने वादीको निवेदन परेकोमा ०३१।१०।१६ को वण्डापत्र देखिएन सुनाएको पुख्र्यौली जग्गा म विदेश रहेको अवस्थामा प्रतिवादीहरूले मेरा नाममा खेत नापी गराई तिरो तिरान पनि निजहरू हस्तेवारीबाट भएको छ भन्ने वादी भएकोमा तिरो वादीबाटै तिरिएको छ भन्ने प्रतिवादी भनाई देखिन्न, त्यस किसिमको सबूत पनि प्रतिवादीबाट नआएकोले नापी दर्ता बमोजिम वादीले जग्गा लिए भोग गरेको भन्ने स्थिति रहेन । यस्तो अवस्थामा अंशमा दावी नपुग्ने ठहर्याएको शुरूको इन्साफ मनासिब ठहर्याएको पू.क्षे.अ.को निर्णयमा अ.बं.७८ नं. र अंशबण्डाको ३०, १ र २ समेतको त्रुटि भएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुनआएको रहेछ ।
७. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले मेरा पक्ष वादी विदेश भारत रहेका बखत प्रतिवादीहरुले जग्गा नाप नक्सा गराई वादीको नाममा समेत दर्ता गराई तिरो तिरान समेत निजहरूको हस्तेवारीबाट भएको ०३१।१०।१६ को घरसारको बण्डापत्र वादीलाई अ.बं.७८ नं. बमोजिम सुनाइएन । तसर्थ यस्तो अवस्थामा वादीले अंश पाएको भन्न नमिल्ने हुँदा वादीले अंश नपाउने ठहर्याएको पू.क्षे.अ.को निर्णय बदर भई इन्साफ पाउँ भन्ने समेत बहस सुनियो ।
८. अब पू.क्षे.अ.को निर्णयमा कानूनी त्रुटि भए नभएको के रहेछ सोको निर्णय दिनुपरेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा हामी ६ अंशियारहरू भएकोले ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने फिराद परेकामा हामी ०२५ साल आषाढमा मानो छुट्टीई बेगल बसेको र सर्भे जाँच गर्दा आ–आफ्नो जग्गा दर्ता गराई तिरो बुझाई भोगी आएको हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर देखिन्छ ।
१०. प्रतिउत्तर जिकिर अनुसार वादीले मालपोत कार्यालयको श्रेस्ताबाट आफ्नो नाममा ३ कित्ता जग्गा नाप दर्ता भएको देखिएको भनी फिरादमै उल्लेख गरेको पाइन्छ । अंशियारहरू बीचमा अंशबण्डा भएको कुरा मिसिल संलग्न घरसारको ०३१।१०।१६ को बण्डापत्रबाट प्रष्ट हुन्छ । आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र प्रतिवादीले आफ्नो जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन । व्यवहार प्रमाणबाट अंशबण्डा भएको देखिन आएमा त्यस्तो बण्डापत्र अ.बं.३० नं. ले रजिष्ट्रेशन पारित गरिनु पर्ने अनिवार्यता देखिँदैन । अंशबण्डा भएको कुरालाई अन्य प्रमाणहरूबाट समर्थित भइसकेपछि ०३१।१०।१६ मा घरसारमा भएको बण्डापत्र उपर शंका गरी त्यसलाई अ.बं.७८ नं. को प्रक्रिया अपनाई वादीलाई सुनाई रहनु पर्ने स्थिति पनि देखिन आएन । यस्तो अवस्थामा वादीले दावी बमोजिम अंश पाउन सक्ने स्थिति रहेन । तसर्थ वादी दावी नपुग्ने ठहर्याएको शुरू ध.जि. अ.को इन्साफ सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएकोले केही गर्न परेन । मिसिल कानूनबमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल भाद्र २६ गते रोज ३ शुभम् ।