शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०१५ - जग्गा खिचोला दर्ता बदर चलन जालसाज

भाग: २६ साल: २०४१ महिना: भाद्र अंक:

निर्णय नं. २०१५  ने.का.प. २०४१               अङ्क ५

डिभिजन बेञ्च

इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ५६८

मुद्दा : जग्गा खिचोला दर्ता बदर चलन जालसाज

पुनरावेदक/प्रतिवादी : जिल्ला पाँचथर नवमीडाँडा गा.पं. वार्ड नं. ८ बस्ने धर्मदत्त लिम्बू

ऐ ऐ वार्ड नं. ६ बस्ने खगेन्द्र राज लिम्बु

ऐ ऐ बस्ने र्इन्द्रनारायण लिम्बु

ऐ ऐ वार्ड नं. ३ को हाल वार्ड नं. ९ बस्ने अमृत बहादुर लिम्बु

विरूद्ध

विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ८ बस्ने कृष्णध्वज लिम्बू

ऐ ऐ बस्ने र्इश्वर बहादुर लिम्बु

ऐ ऐ वार्ड नं. ७ बस्ने ललितमान लिम्बु

ऐ ऐ बस्ने लोक प्रसाद लिम्बु

फैसला भएको मिति : २०४१।५।४।२ मा

§  क्षेत्रीय अदालतले निर्णय गर्दा आफ्नो समक्ष उपस्थित भएका सम्पूर्ण प्रश्नहरूको समाधान गरी निर्णय गर्नुपर्ने ।

(प्रकरण नं. २२)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी वादी तर्फबाट   : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

उल्लेखित मुद्दा : x

फैसला

        न्या. महेशरामभक्त माथेमा :   पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

        २.  ५० साल जाँचमा सुवारो मुखिताज जिम्माको हाल असलबहादुर जिम्मा बाजे निरध्वज लिम्बुका नाममा रु.७।५० मा दर्ता भएको जग्गा बडाबाबु बाबु कान्छा बाबुहरू सगोलमा बसी ६५ सालमा भिन्न बसेको हुँदा सो मध्ये केही जग्गा हर्कवलीबाट रु.८५। मा १९५७।११।१२ मा फार्से गरी लिएको हिवाघाटको हिवाटार सुवारो मुखीताजका साँध ठाडो खहरे समेत पूर्व जरह सिंहका साँधदेखि पश्चिम हिवा खोला उत्तर मिरामहरा देखि दक्षिण यति चार किल्लाभित्रको हिवाटार सुवारा थला १ सो बारीका साँध साघु वोटेपहरा पश्चिम हिवा खोला उत्तर बराबोटे भिरपहारा पूर्व हर्कवलीकै सुवाराडिहिकै दक्षिण यति ४ किल्ला भित्रको सिमलेवगर खला १ समेत २ खला जग्गा मध्ये २ भागमा १ भाग सिमलेबगर खला १ हाम्रो कान्छा बाबु ललितमानको भागमा परेको र हिवाटार सुवारा हिवापरि खजिटार वारी हाम्रा बाबु दत्तमानका भागमा परी १९६५।१२।१२।३ मा बण्डापत्र भएको थियो । बाबु जीवित छउञ्जेल बाबु र बाबुको शेषपछि हामीले भोगी ९४ सालमा छुट्टिदा मुखैको सखेराले बाँडी हिवापारी खाजेटार बारी हामीले भोगी आएको ०३२ सालको सर्भेमा सो जग्गा कि.नं. १० र ११ मा हामी कृष्णध्वज र इश्वरबहादुरका नाममा नाप नक्सा गरी घर आएपछि प्रतिवादीहरूले गठमत गरी आफ्ना नाममा दर्ता गरेछन् । ०३२।४।१५ गते धान रोप्दै गर्दा खिचोला समेत गरेकोले विपक्षीहरूको दर्ता बदर गरी खिचोलामा सजाय गरी चलन समेत चलाई पाउँ भन्ने समेत कृष्णध्वज समेत जना २ को ०३८।४।२९ को संयुक्त फिराद पत्र ।

        ३.  मुखिवाजको साँध ठाडो खहरे समेत दुवै जहरसिंहको साँध देखि पश्चिम हिवाखोला उत्तर भिरपहरा देखि दक्षिण यति ४ किल्लाभित्रको हाम्रा पुर्खा महासिंहका नाममा ५० सालको जाँचमा रु.७।५० मा दर्ता भई १९९४।४।२७ मा हाम्रा बाजेको भागमा परी बाजेले भोगेको र शेषपछि हामी चारजनाको मिलोमतोबाट आधी जग्गा भवानीप्रसादले २०१५।५।३१ मा रु.१८०० मा प्रेमप्रसाद खनाललाई र आधी जग्गा मनिनाथले ०१४।१०।१० मा कं.रू.१८००। मा प्रेमप्रसादलाई नै मोवा पास गरी दिएको र प्रेमप्रसादले सो जग्गा २०१६।३।२४ मा मनिरथ पाध्यालाई न्हेडिक सुम्पुवा गरी दिएको र हामीले पृथकपृथक गरी २०३० सालमा मौवा पास गरी दिएकाले साहुले भोग गर्दै छन् । २०२३ सालमा ७ नं. फाराम हामीले भरेको र वादी दावीको जग्गा वादीको होइन । वादीका काका ललितमानले म खगेन्द्रका दाजु समेतका उपर उजूर गरी डिसमिस फैसला भएको जग्गालाई वादीहरूले झुठ्ठा उजूर गरेका हुन भन्ने समेत धर्मदत्त लिम्बु समेत ४ जनाको ०३२।६।१६ को संयुक्त प्रतिउत्तरपत्र ।

        ४.  वादी दावीको कि.नं. १० को रोपनी ८१०० जग्गा मैले कमाएको छु । प्रतिवादीहरूको बाबु बाजेका पालादेखि नै अधियाँ कूत बुझाई आएको छु वादीहरूलाई कूत तिर्ने गरी कमाएको होइन । जग्गा वादीको हो भन्न सक्दिन भन्ने समेत मनीबहादुर माझीको ०३२।१२।१ को बयान ।

        ५.  वादी दावीको जग्गा प्रेमप्रसादबाट ०१६।३।२४ मा मैले लखबन्धक लिई भोगी आएकोमा दाताहरूको नाति प्र.धर्मदत्त समेत ४ जनाबाट ०१०।१।२२ मा बन्धकी पास गरी भोगी आएको छु वादी दावी झुठ्ठा हो भन्ने समेत मनोरथ पाध्याको ०३२।१२।१ को बयान ।

        ६.  वादी दावी पुग्नसक्तैन भन्ने समेत पाँचथर जिल्ला अदालतको मिति ०३३।१।२७।१ को फैसला ।

        ७.  सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन ।

        ८.  वादीले १९५७ को फार्छेबाट लिएका भनी दावी गरेको सो कागज अ.बं.७८ बमोजिम सुनाई सद्दे कीर्तेमा तहकीकात गरी त्यसतर्फ ठहर गर्नु भन्नेसमेत ०३४।५।१९।१ को मेची अञ्चल अ.को आदेश ।

        ९.  वादीबाट पेश भएको १९५७।११।१।२ को फार्से कागज ललितमान र लोकप्रसादले २०१० साल भन्दा अगावै जालसाजबाट खडा गरेका हुन भन्ने समेत अमृतबहादुर लिम्बुले ०३४।६।२ मा गरेको बयान ।

        १०. लिखत सद्दे हो जालसाजी भनेमा सजाय गरिपाउँ भन्ने समेत वा चन्द्रप्रसाद लिम्बुले गरेको बयान ।

        ११.  हर्कवलीले बाजे नरध्वजलाई १९५७।११।१ मा गरिदिएको कागज सद्दे हो । मननारायण समेतसँग जग्गा मुद्दा चली तत्कालिन इलाका अदालत फिदिममा ०१७।११।२२ मै यो कागज पेश भइसकेकोले जालसाजी भए उसै बखत उजूर गर्न सक्नु पर्छ भन्ने समेत ललितमान लिम्बु समेतको बयान ।

        १२. लिखत प्रकाशमा आएको मिति ०१७।११।२२ ले जालसाजतर्फको उजूरी हदम्याद नाघेको हुँदा खारेज हुने ठहर्छ भन्ने समेत पाँचथर जि. अ.को ०३४।१०।९ को फैसला ।

        १३. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन ।

        १४. प्रतिवादीहरूले कि.नं. १० र ११ मा गराएको दर्ता बदर हुने, प्रतिवादीले खिचोला गरेको र वादीले चलन पाउने ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको ०३५।४।१५ को फैसला ।

        १५. उक्त फैसला प्रत्यक्ष त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरूको निवेदन परेकोमा जालसाजतर्फ अनुमानित हदम्याद कायम गरी खारेजगरेको फैसलात्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।१।१४ को आदेश ।

        १६. ललितमानले डिसमिस गराएको कि.नं. १० को जग्गामा वादी दावी पुग्न सक्तैन । कि.नं. ११ को जग्गाको हकमा मेची अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को ०३८।८।३० को फैसला ।

        १७. सो फैसलाामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको निवेदन परेकोमा वादीहरूका काका बाबुले डिसमिस गराई हारिसकेको जग्गामा पुनः नालिश दिएको र १९५७ को राजीनामा सद्दे कीर्तेतर्फ कुनै निर्णय नगरेको पू.क्ष.अ.को फैसलामा अ.बं.८५ नं. र ७८ नं. को त्रुटि देखिएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको ०४०।२।३० को आदेश ।

        १८. पुनरावेदक प्रतिवादीहरूको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले पू.क्षे.अ.बाट आंशिक निर्णय भएको छ । जालसाजीतर्फ केही बोल्दै नबोली १९५७ को राजीनामा बदर हुन नसकेको भनी सोही विवादास्पद लिखतलाई नै प्रमाणमा लिई गरिएको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र विपक्षी वादीहरूको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले क्षेत्रीय अदालतले कि.नं. ११ मा वादी दावी नपुग्ने र अरूमा मेची अञ्चल अदालतको इन्साफ मनासिब छ भने पछि जालसाजीतर्फ निर्णय नगरेको भन्न मिल्दैन तसर्थ इन्साफ बदर हुनुपर्दछ भने समेत बहस प्रस्तुत गर्नुभयो ।

        १९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब वा बेमनासिब के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।

        २०. निर्णयतर्फ विचार गर्दा यसमा हकवालाबाट बाजे निरध्वजले १९५७।११।१।२ मा फार्सेपत्र गरी लिई विवादको जग्गामा हाम्रो हक भएको भनी वादीले फिरादपत्रमा उल्लेख गरेको र सो लिखतलाई अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउँदा प्रतिवादीहरूले जालसाजी भनी बयान गरेको देखिन्छ । पाँचथर जिल्ला अदालतले हदम्यादको कारणबाट जालसाजीतर्फ खारेज गरेको मनासिब ठहर्‍याई र कि.नं. १० र ११ मा वादी दावी बमोजिम दर्ता बदर गरी जग्गा खिचोला गरेको र चलन समेत पाउने ठहर्‍याई मेची अञ्चल अदालतबाट भएको निर्णय उपर प्रतिवादीहरूको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेको देखिन्छ ।

        २१. पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय हेर्दा १९५७ सालको लिखत बदर गराउन नसकेको भनी विवादित कि.नं. ११ मा वादी दावी पुग्ने ठहर गरेको देखिन्छ । मेची अञ्चल अदालतको फैसला उपर प्रतिवादीहरूको जालसाजीतर्फ समेत पुनरावेदन परी आफ्नो विचाराधिन रहेको उक्त १९५७ सालको राजीनामा सद्दे कीर्ते के हो ? ठहर नगरी बदर गराउन नसकेको भनी सोही लिखतको आधारमा निर्णय गर्नु कानून संगत देखिन आएन ।

        २२. पूर्वाञ्चल क्षेत्रीय अदालतले निर्णय गर्दा आफ्नो समक्ष उपस्थित भएका सम्पूर्ण प्रश्नहरूको समाधान गरी निर्णय गर्नुपर्नेमा सो नगरी कि.नं. १० मा वादी दावी नपुग्ने कि.नं ११ को हकमा दावी बमोजिम प्रतिवादीका नाममा दर्ता बदर गरी प्रतिवादीले खिचोला गरेको ठहर्‍याई वादीले चलन समेत पाउने ठहर्‍याई जालसाजीतर्फ केही उल्लेख नै नगरी निर्णय गरेको देखिन्छ । यसरी जालसाजीतर्फ केही नबोली अन्य प्रश्नको हकमा मात्र निर्णय गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयले आंशिक भएकोले अ.बं.१९२ नं. को प्रतिकूल हुँदा उल्टी भई बदर हुने ठहर्छ । अब पुनः जालसाजी लगायत सम्पूर्ण प्रश्नहरूमा जो जे बुझ्नु पर्दछ बुझी कानूनबमोजिम निर्णय गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिने ठहर्छ ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल भाद्र ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु