निर्णय नं. २०२७ - अंशबण्डा बदर गरी अंश दिलाई पाउँ
निर्णय नं. २०२७ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको दे.विविध नं. ९७
मुद्दा : अंशबण्डा बदर गरी अंश दिलाई पाउँ
निवेदक/प्रतिवादी : जि. मोरङ बनीगामा गा.पं. वडा नं. १ बस्ने चन्द्रवती थरूनी
ऐ ऐ बस्ने पन्नालाल सरदार थारु
ऐ ऐ बस्ने फीरीसलाल सरदार थारु
ऐ ऐ बस्ने ठनकु सरदार परलोक हुँदा मुद्दा सकार गर्ने गोगरी थरुनी
विरूद्ध
विपक्षी/वादी : जि. मोरङ तेतरिया गा.पं. वडा नं. ३ बस्ने जमुनादेवी थरूनी
फैसला भएको मिति : २०४१।३।१९।६ मा
§ बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं. १२)
निवेदन प्रतिवादीहरु तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी
विपक्षी वादी तर्फबाट : विद्वान अधिबक्ता श्री लक्ष्मण प्रसाद अर्याल
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजुरमा इन्साफ जाँच गराई पाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने समेतको मिति २०३९।१।२२।४ मा हुकुम प्रमांगी बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :–
२. पति भुटाइका ३ पत्नीमा जेठी लखी माहिली चन्द्रवती कान्छी म जमुनादेवी थरूनी हौं । पति भुटाई ०३२।४।३ मा र जेठी लखी २०१९ सालमा देहावसान भएको हो । जेठी पट्टीको छोरा ठन्कु सरदार १ माहिला चन्द्रवतीका छोरा पन्नालाल सरदार फिरसलाल नावालक अन्य २ भाइ गरी ४ जना र म पट्टीको छोरा कृष्णलाल सरदार र नावालक बलराम १ हरिलाल १ समेतका छोराहरू छन् । सम्पूर्ण सम्पत्ति पति र विपक्षीहरू जिम्मा रहेको छ । पन्नालालका नाउँमा दर्ता रहेको तेतरिया गा.पं. वडा नं. १(क) को सर्भे कि.नं. २०८ र २४१ को जग्गा बिगहा ७–१५–० मिति २०३२।५।२१ का दिन मोरङ भू.प्र.का.बाट छोरा कृष्णलाल सरदारलाई बकसपत्र गरी दिएछन् । यो बकसपत्र बदर गरिपाउँ भनी कमलादेवी थरूनीले दिएको फिरादपत्रबाट ०१७।१।७।३ मा अंशबण्डा भएको छ भन्ने उल्लेख गरेको देखियो सो पछि २०३३।४।२६ मा विपक्षीहरूसँग गई अब रीतपूर्वकको अंशबण्डा गरी आ–आफ्नो भाग लिई बसौ भन्दा २०१७ सालमै हाम्रो अंशबण्डा भइसकेको छ । जे गर्नुपर्छ गर भनी विपक्षीहरूले सोही मितिदेखि खान लगाउन नदिई इन्कार गरेकाले फिराद गर्न आएकी छु हाम्रो अंशबण्डा भएको छैन । हामी अंशियारहरू समेतलाई लोप गराई गरेको अंशबण्डा सदर नभई बदर योग्य छ । विपक्षीहरूले एकतर्फी गरेको बण्डापत्र बदर गरी तायदाती लिई ०३३।४।२६ लाई मानो छुट्टिएको मिति कायम गरी म र मेरा छोराहरूले पाउने अंश भाग अंशबण्डाका १, २ नं. अनुसार दिलाई भराई चलन चलाई पाउँ भन्ने समेत जमुनादेवीको फिराद ।
३. हाम्रो पिता पति भुटाई सरदारको जेठी पत्नी लुखी थरूनी र कान्छा चन्द्रवती हुन् । घर व्यवहारमा नमिल्दा भुटाइले ०१७।१।७ गते बण्डापत्र पास गरी छुट्याई दिएको र हाम्रो व्यवहार अलग भएको हो । ०१७।११।२८ मा जमुनादेवीले मोरङ ई अदालतमा दिएको जाहेरी निवेदन बमोजिम आफ्नो विवाहिता पतिको सत्य डगाई समबहादुर मगरसँग सम्बन्ध जोडी एकछोरा जन्मी सो मरेपछि विपक्षी जमुनादेवी हाम्रो पिता पति भुटाइले १८।१९ सालमा ल्याई स्वास्नी तुल्याएको हो । ०१७ सालमा जमुनादेवीलाई भुटाइले स्वास्नी तुल्याएको हो । जमुनादेवीले ०१७।११।२८ गते जोहेरी भन्दा अगाडि ०१७।१।७ मा हामीलाई पति तथा पिताले बण्डा गरी दिई सकेकाले पछि ल्याए जन्मेको स्वास्नी जमुनादेवी र निजका छोराहरूको अंश हक नलाग्ने हुँदा हामीले निजहरूलाई अंश दिनु पर्ने छैन । भुटाई सरदारबाट अंश पाउने वादी भए उनी जीवित छँदैका अवस्था दावी गरी लिन सक्नु पर्ने थियो । भुटाइको ०३२ सालमै देहावास भइसकेकोले अंशबण्डाका ३५ नं. ले भिन्न जिउ सम्म नालेश लाग्न सक्ने हुँदा पास भइसकेको बण्डापत्र विना आधार बदर समेत नहुने हुनाले हाम्रो २०१७ सालको बण्डापत्र सदर नै राखी पाउँ भन्ने समेत चन्द्रावती थरूनी पन्नालाल सरदार फिरसलाल सरदार थारू समेतको संयुक्त प्रतिवादी।
४. मेरा बाबु भुटाइका २ पत्नीमा जेठी मेरी आमा लखी, कान्छी चन्द्रावती हुन् । जेठी पट्टीको छोरा म ठन्कु सरदार, कान्छ पट्टीको पन्नालाल, फिरिसलाल समेत हुन । एकै साथ रही बसी व्यवहार नचल्ने हुँदा २०१३ सालमै बाबुले मेरो मात्र भान्सा अलग गरी माना छुट्याई दिँदा काका मगलु सरदारको घर गई बसेको हुँ । पछि बाबुले आफ्नो जिउनी मानी जग्गा बिगाहा १५।।।४। आफ्नो भोग चलन दर्तामा राखी अरू जग्गा आमा दुवै र दुवै तर्फका सन्तानहरूमा २०१७।१।७ का दिन बाबुले रीतपूर्वकको जग्गा जमीन सम्पत्ति जति अंशबण्डा गरी दिनुभएकाले आ–आफ्नो व्यवहार चलाई आएका छौं । सो अंशबण्डा भएको समयमा यो वादी जमुनादेवीलाई ल्याएको थिएन । पछि ९।१० महीना वाद मात्र ल्याएको हो । अघि भएको गरेको अंशबण्डा लिखत बदर गराउन पाउने होइन । बाबु २०३२ सालमै स्वर्गीय भइसकेकोले बाबुसँग रहे भएको जिउनी वापतको जग्गा १५।।।४। सम्पत्तिमा मात्र म समेतका सबै छोरा पत्नीको अंश भाग बण्डा गरी दर्ता गरिपाउँ भनी वादीले माग गर्नुपर्नेमा सो नगरी ०१७।१।७ गतेको अंशबण्डा लिखत बदर गरी अंश पाउँ भन्ने फिराद दावा खारेज गरिपाउँ भन्ने समेत ठन्कु सरदार थारुको प्रतिवादी ।
५. वादी दावी बमोजिम अंशबण्डा गरिपाउँ भन्ने दावीमा बाबु लोग्नेकै पालामा अंशबण्डा गरी लिई बसेका प्रतिवादीहरूबाट अंश पाउँ भन्ने समेत वादी दावी पुग्दैन वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत मोरङ जिल्ला अदालतबाट मिति २०३५।७।२८।३ मा भएको फैसला ।
६. सो फैसलामा चित्त बुझेन । सो बदर गरी मेरो फिराद दावी बमोजिम अंशबण्डा गरिपाउँ भन्ने समेतको व्यहोराको वादी जमुनादेवी थरूनीको पुनरावेदन ।
७. वादीका छोरा कृष्णलाल सावालख भइसकेकोले निजको फिराद दावी नभई वादी दावी पुग्न सक्दैन । नावालख बलिराम हरिलालको हकमा निजहरूको तर्फबाट फिराद परेको नेदखिँदा त्यसतर्फ पनि वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन वादी जुमनादेवीको हकमा निजको अंश भाग नदेखाई ०१७।१।७ गते बण्डा गरेको बण्डापत्र बदर हुने र १० भागमा १ भाग वादी जमुना देवीले अंश पाउने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१०।६ को फैसला ।
८. श्री ५ महाराजाधिराज सरकारका हजूरमा सो फैसलामा चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको रहेछ ।
९. निवेदकहरूतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रतिवादीहरूलाई भुटाईले ०१७।१।७ मा बण्डापत्र पास गरी दिइसकेको छ । वादीलाई पछि मात्र ल्याएको हो । सो पास भएको बण्डा पत्र बदर हुने अवस्था छैन प्रतिवादीहरूले अंश दिनु पर्ने होइन बण्डा पत्र बदर गरी अंश दिलाउने गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन सो फैसला बदर हुनपर्छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले वादीलाई भुटाईको स्वास्नी होइन भन्न सकेको छैन । वादीलाई अंशियार लोप गरी बण्डा गरेको हो । सो बण्डापत्र बदर गरी अंश दिलाउने गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छ सदर हुनपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१०. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा म र मेरा छोराहरूले पाउने अंश भाग दिलाई पाउँ भन्ने वादीको दावी भएकोमा वादीका छोरा कृष्णलाल सावालक भइसकेको निजको फिराद दावी नभई जमनुादेवीको दावी पुग्न सक्तैन । नावालाक छोरा वलिराम हरिलालको हकमा निजहरूको तर्फबाट फिराद परेको नेदेखिँदा त्यसतर्फ पनि वादी दावी पुनरावेदन जिकिर पुग्न सक्दैन । खास वादी जमुनादेवीको हकमा विचार गर्दा वादी जमनुादेवीको अंश भाग नदेखाई ०१७।१।७ गते खडा गरेको बण्डापत्र बदर हुने र १० भागको १ भाग वादी जमुनादेवीले अंश पाउने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन्छ ।
१२. वादीका छोराहरूको अंशमा वादी दावी पुग्न सक्दैन भनी निर्णय गरेतर्फ वादीले पुनरावेदन समेत नगरी बसेको हुँदा त्यसतर्फ विचार गर्नु परेन । वादीलाई अंश दिलाउने गरेतर्फ हेर्दा प्रस्तुत मुद्दामा निवेदकहरूले प्रतिवाद गर्दा वादी जमुनादेवीलाई भुटाई थारूको स्वास्नी होइन भन्न सकेको छैन निजलाई भुटाईले अघि नै प्रकाशमा ल्याएको थिएन भनी किटानी साथ जिकिर लिन सकेको छैन । त्यस कुराको तथ्ययुक्त सबूत प्रमाण गुजार्न सकेको पनि देखिँदैन । यस स्थितिमा प्रतिवादी जिकिर अनुसार ०१७।१।७ गते बण्डापत्र कागज खडा भइसकेपछि ०१८।१९ सालमा वादीलाई भुटाईले सवास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निदेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । अरू क्षेत्रीय अदालतका फैसलामा लेखिएको बुँदा प्रमाणहरूबाट समेत २०१७।१।७ गते खडा भएको बण्डापत्र बदर हुने र वादी प्रतिवादीहरू १० जना अंशियारहरूको १०—१० भाग लगाई १ भाग जमुनादेवीले अंश पाउने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गर्न परेन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल आषाढ १९ गते रोज ६ शुभम् ।