निर्णय नं. २०३० - ज्यान
निर्णय नं. २०३० ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको फौ.सा.नं. १३३
सम्वत् २०४० सालको फौ.पु.नं. ३४६
मुद्दा : ज्यान
वादी : वडा जंग शाहीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
प्रतिवादी : गण्डकी अञ्चल, कास्की जिल्ला सिद्ध गा.पं. वा.नं १ बस्ने विष्णुमाया शाही ठकुरीसमेत ।
र
पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल सिद्ध गा.पं. वा.नं. १ घर भै हाल कास्की करागारमा थुनामा रहेको उदयबहादुर बंशी ठकुरी
विरूद्ध
विपक्षी/वादी : वडा जंग शाहीको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।६।१।२ मा
§ कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं. १९)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोका
विपक्षी वादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : प्रतिवादी विष्णुमायाको हकमा साधकको लगतमा दर्ता भई र प्रतिवादी उदयबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४०।१।३१ को फैसला उपर पुनरावेदन परी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ।
२. मेरो भाइ नाताको उत्तर जङ्गको वर्ष १० को छोरा इन्द्रजित र वर्ष ६ को छोरी गौरी समेत जना २ लाई ०३६।९।२७ गते राति सुतेकै ठाउँमा मारिएका रहेछन् । भोलिपल्ट थाहा भई हेर्दा कर्तव्यबाटै मारिएको यकीन भयो । कर्तव्य गरी मार्नेको खोज तलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने समेत कास्की सिद्ध गा.पं. वा.नं. १ फैचोक द्वारकोट बस्ने वडाजंग शाहीको ०३६।९।२९ को जाहेरी दर्खास्त ।
३. धन्सारको ढोका खोली हेर्दा झ्याल नजिक सिरक र रगतले छोपेको सो हटाई हेर्दा इन्द्रजित र गौरीको लास देखियो । दुबै आँखा बन्द, ओठ खुल्ला, माथिल्लो दाँतले जिब्रो टोकेको, पेट फुलेको, नाकबाट पानी बगेको, गर्धन ललाङ–लुलुङ र मिचिएर मयल फुलेको, लिंगबाट १,२ थोपा पिसाव जस्तो झरेको शरीरमा अन्य कुनै घाउ चोट नदेखिएको इन्द्रजितको लाश र दुवै आँखा बन्द रहेको ओठ दुवै खुल्ला, माथिल्लो दाँतले ओठ टोकेको नाकबाट पानी बगेको, गर्धन लल्याक–लुलुक हुने, गला मिची मयल फुलेको, घुचुकमा केही दरफरिए जस्तो, बायाँ खुट्टाको गोली गाँठा मुनी पैतालाको कान्छी औंलासम्म छाला नभएको, गुद्दद्वार र योनीबाट कुनै चिज पनि ननिस्केको, अन्यत्र कुनै घाउ चोट नदेखिएको गौरी शाहीको लाश भन्ने उल्लेख भएको ०३६।९।३० को लास प्रकृति मुचुल्का ।
४. विष्णुमाया र मेरो बीचमा अनुचित सम्बन्ध थियो ०३६।९।२ गते राति विष्णुमाया र म निजकै घरमा गई मलाई सम्भोग गर्न इच्छा लागी इन्द्रजित र गौरीको वास्तै नगरी विष्णुमायाले पन्छिएको छ रगत आएको छ भन्दा भन्दै मन थाम्न नसकी संभोग गरें सो देखी इन्द्रजित र गौरीले दाजु आएपछि भनी दिन्छौ भने यस्तो कुरा ठूलो छोराले थाहा पाएमा हामीलाई मार्छ भनी निजले भन्दा मलाई उचित लाग्यो अरू उपाय नभएकोले दुवैलाई मार्ने सल्लाह भई गौरीलाई विष्णुमायाले र इन्द्रजितलाई मैले गर्धनमा समाई अठ्याई बोल्नै नदिई मारी धन्सारमा लगी सुताई लुगा ओडाई म घर जान्छु घर पुग्यो भन्ने अन्दाजा गरी चोर आयो छोरा छोरी मार्यो भनी कराउनु भन्ने निजलाई लगाई म घरमा आएको हुँ भन्ने समेत ०३६।१०।१६ को उदयबहादुरको बयान कागज ।
५. उदयबहादुर र मेरो ०३६ साल देखि नै अनुचित सम्बन्ध कायम थियो, सो कुरा छोरा इन्द्रजित र छोरी गौरीलाई पनि थियो, ०३६ साल पौष २७ गते राति उदयबहादुर मेरो घरमा आई मलाई करणी गर्न खोज्दा म पन्छिएको छु, रगत आएको छ भनी करणी गर्न नमानेको सो कुरा इन्द्रजित र गौरीले देखेकोबाट दाजी आएपछि भनी दिन्छौं भनेबाट दुवैको सल्लाह अनुसार मैले गौरीलाई पनियाले खुट्टामा हानी घाँटी अठ्याई र उदयबहादुरले छोरा इन्द्रजितलाई घाँटी अठ्याई मारेको हो भन्ने समेत व्यहोराको ०३६।१०।१६ को विष्णुमाया शाहीको कागज ।
६. ०३६।९।२७ गते राति मैले स्वस्थानी भन्ने र बाबु उदयबहादुरले सुन्ने गरी रहेको अवस्थामा विष्णुमाया पनि आई स्वस्थानी सुनी बस्नु भएको र स्वस्थानी पढी सकेपछि विष्णुमाया र बाबु उदयबहादुर हाम्रो घरबाट बाहिर गएका थिए पछि आधा राततिर बाबु मात्र घरमा आउनुभएको थियो भन्ने उदयबहादुरको छोरा श्री बहादुर बंशी ठकुरीको ०३६।१०।१७ को बयान कागज ।
७. ०३६ पौष ४ गते म माइत गएको र घरबाट मानिस लिन आएकोले २८ गते घरमा आई हेर्दा मानिसहरू जम्मा भएका धन्सारमा देवर इन्द्रजित र नन्द गौरीको लास परिरहेको देखी सोद्धा सासू विष्णुमायाले उदयबहादुरले मारेको हो भनी उदयबहादुर र सासू विष्णुमायाको अघि देखिको अनुचित सम्बन्ध भई रहेकोले यी दुई जनाकै कर्तव्यबाट इन्द्रजित र गौरीको मृत्यु भए जस्तो लाग्छ भन्ने ०३६।१०।१७ को मानकुमारी शाहीको बयान कागज ।
८. घाँटी निचोरी स्वास बन्द भई मृत्यु भएको भन्ने उल्लेख भएको ०३६।१०।१ को गौरी र इन्द्रजितको लाश पोष्टमार्टम रिपोर्ट ।
९. उदयबहादुर र विष्णुमायाको बीचमा अघिदेखि अनुचित सम्बन्ध भई आएको कुरा गाउँघरमा चलेको थियो । पौष २७ गते पनि निजहरूको अनुचित सम्बन्ध भएको इन्द्रजित र गौरीले देखेको हुँदा बाहिर प्रकाश गरी दिन्छन् भन्ने डरले दुवैको सल्लाह अनुसार इन्द्रजितलाई उदयबहादुरले गौरीलाई विष्णुमायाले घाँटी अठ्याई मारेका हुन् भन्ने बुझिएका सबै सरजमीनहरूको लेखाई भएको ०३६।१०।२६ को सरजमीन मुचुल्का ।
१०. प्र.उदयबहादुर र विष्णुमाया बीच अनुचित सम्बन्ध कायम रही आएकोमा यही ०३६।९।२७ गते राति बालकहरूले देख्ने गरी उदयबहादुर र विष्णुमाया बीच अनुचित सम्बन्ध कायम भई सो कुरा इन्द्रजित र गौरीले दाजुलाई भनी दिनेछौं भनेकैबाट डरले उदयबहादुर र विष्णुमायाले सल्लाह गरी घाँटी अठ्याई मारेकोमा दुवै जना सावित भई बयान कागज गरी दिएको र लास पोष्टमार्टम रिपोर्टबाट पनि घाँटी निचोरी स्वास बन्द भई मृत्यु भएको भन्ने उल्लेख भएबाट दुवै जनाले कर्तव्य गरी मारेकोले निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरिपाउँ भन्ने समेत ०३६।११।१ को संयुक्त प्रहरी प्रतिवेदन ।
११. ०३६ साल पौष २७ गते रात ९ बजे म घरमा स्वस्थानी सुनी रहेको थिएँ । सोही रात १२ बजेतिर विष्णुमाया पनि आइन् र १ अध्याय सुनी घरमा जान डर लाग्यो पुर्याई देउ भनेबाट मैले भञ्ज्याङ सम्म पुर्याई त्यहाँबाट फर्की आई विष्णुमायाले घरबाट चोर आएको रहेछ भनी हेमे हमालले भनी रुद्रबहादुरलाई बोलाएको मैले सुनेँ । म समेतका मानिस त्यहाँ गएनौ निज विष्णुमायासँग मेरो करणी भएको होइन इन्द्रजित र गौरीलाई निजले नै मारेको हो प्रहरीमा स्वेच्छाले बयान गरेको होइन भन्ने समेत व्यहोराको उदयबहादुर वंशी ठकुरीको का.जि. अ.मा ०३६।११।२।६ मा बयान भएको ।
१२. प्रहरीमा गरेको बयान र लगाएका ल्याप्चे मेरै हो, तर छोरी गौरीलाई अठ्याई मारेको भनी लेखाएकी थिइन् । अरू सम्पूर्ण राजीखुसीबाट भएको हो । ०३६ साल पौष २७ गते उदयबहादुर मेरो घरमा आई मलाई करणी गर्न खोज्दा छोराछोरीले हेरी रहेकोले पन्छिएको छु रगत आएको छ भनी करणी गर्न मानिन सो कुरा छोराछोरीले देखि दाजुलाई भनी दिन्यौ भनेबाट दुवैको सल्लाहबाट मैले छोरीलाई पनियाले खुट्टामा हानी निज मुर्छा परेपछि बाहिर निस्कदा उदयबहादुरले दुवै जनाको गर्धन अठ्याई मारेको हो भन्ने समेत विष्णुमायाको ०३६।११।३।६ को बयान ।
१३. इन्द्रजित र गौरीलाई मारेमा दुवै प्रतिवादीहरू प्रहरी समक्ष सावित भएको, प्र.विष्णुमाया अदालतमा समेत उदयबहादुरसँग करणी गरेको कुरामा सावित भई उदयबहादुरले मारेको भनी लेखाई दिएकोले र सरजमीन तथा प्रतिवादीका साक्षी स्वयंले प्रतिवादीले मारेको भनी अदालतमा समेत आई बकपत्र गरेकाले समेतबाट अभियुक्तहरूले ज्यान मारेको देखिँदा ज्यानसम्बन्धी १३(३) अनुसार सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको ०३८।३।१४ को फैसला ।
१४. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको उदयबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।
१५. प्र.उदयबहादुरको पुनरावेदनबाट र प्र.विष्णुमायाको साधकबाट जाँच्दा शुरू जिल्ला अदालतले ज्यानसम्बन्धी १३(३) बमोजिम सजाय भागी ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०४०।१।२१।४ मा फैसला भएको रहेछ ।
१६. पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विनोद रोकाले अदालतमा आई कसूरमा इन्कार रहेका व्यक्तिलाई प्रमाणको उचित मूल्यांकन नगरी ज्यान सम्बन्धी १३(३) बमोजिम सजाय गर्ने गरेको शुरू कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण छ सो निर्णय बदर भई पुनरावेदकले सफाई पाउनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१७. प्रस्तुत मुद्दामा प्र.विष्णुमायाको हकमा साधक तहबाट र उदयबहादुरको हकमा पुनरावेदनबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के छ ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१८. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी विष्णुमाया ठकुरी र प्रतिवादी उदयबहादुरले प्रहरी समक्ष कागज गर्दा उदयबहादुरले मृतक इन्द्रजितलाई र प्र.विष्णुमायाले पनियाले खुट्टामा समेत हानी गौरीलाई घाँटी अठ्याई मारेको हो भनी दुवै प्रतिवादीहरू विष्णुमाया र उदयबहादुर भई प्रहरीमा कागज गरेको देखिन्छ । प्र.उदयबहादुर र प्र.विष्णुमाया बीच करणी लेनदेन हुन्थ्यो भन्ने कुरालाई प्रहरीमा कागज गर्दा दुवै पक्षले स्वीकार गरेको छ । प्र.उदयबहादुरले अदालतमा आई कसूर गरेमा इन्कार रही बयान गरेको पाइन्छ तर प्रहरीमा भएको सावतीलाई कुटपिट वा डर धाक धम्की देखाई गराइएको भन्न नसकेको पढी बाची सुनाइएन भन्ने सम्म मात्र जिकिर लिएको देखिन्छ । प्र.विष्णुमायाले अदालतमा आई बयान गर्दा छोरी गौरीलाई अठ्याई मारेको भनी लेखाएको थिएन भन्ने कुरासम्म इन्कार लिएको पाइन्छ । करणी लेनदेन हुनै आँटेको छोराछोरीले थाहा पाएकोले तिनीहरूलाई मार्नु पर्छ भन्ने कुरामा दुवैको सल्लाह भएको भन्ने समेत निज प्र.विष्णुकुमारीको बयानमा उल्लेख भएको हुँदा करणी लेनदेन भएको कुरा छोराछोरीले थाहा पाई हल्ला गर्लान् भन्ने डरले दुवै प्रतिवादीहरू मिली मृतकहरूलाई घाँटी थिची मारेको भन्ने कुरा पोष्टमार्टम प्रतिवेदन समेतबाट पुष्टि हुनआएको छ ।
१९. मौकामा भएको सरजमीनमा सरजमीनका सबै मानिसहरूले यिनै प्रतिवादीहरूको मिलेमतोबाट मृतकहरूलाई घाँटी अठ्याई मारेका हुन् भनी किटानी गरी लेखाई दिएको देखिन्छ । सो कुरा उक्त सरजमीनको व्यक्ति अदालतमा आई गरी दिएको बकपत्रबाट समेत पुष्टि हुनआएको छ । प्रतिवादीका साक्षी नारायणबहादुर समेतले अदालतमा आई बकपत्र गर्दा यिनै प्रतिवादीहरूको मिलेमतोबाट ज्यान मराएको हो भन्ने बकी दिएको र प्रतिवादी उदयबहादुरका छोरा श्री बहादुरले समेत घटना भएको राति बाबु उदयबहादुर विष्णुमाया घरबाट बाहिर निस्की जानु भई आधा रातमा मात्र घरमा आउनुभएको भन्ने कागज गरी दिएकोबाट घटना भएको रात दुवै प्रतिवादीहरू संगै भएको पुष्टि हुनआएको छ । यस्तो स्थितिमा प्रतिवादीहरूले मर्ने इन्द्रजित र गौरीलाई कर्तव्य गरी मारेको भन्ने देखिन आयो निज प्रतिवादीहरूले कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी विष्णुमाया शाही ठकुरी र पुनरावेदक उदयबहादुर वंशी ठकुरीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाईदिनु।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल आश्विन १ गते रोज २ शुभम् ।