निर्णय नं. २०३२ - दर्ता बदर
निर्णय नं. २०३२ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३९ सालको दे.पु.नं. ४९२।४९३
मुद्दा : दर्ता बदर
पुनरावेदक/वादी : का.जि. का.न.पं. वार्ड नं. ७ कुमारीगाल बस्ने टेकजङ राणा
ऐ ऐ बस्ने ओमकार जङ्ग राणा
विरूद्ध
विपक्षी/प्रतिवादी : जि. सुनसरी र्इनरूवा गा.पं.नं. वार्ड नं. ६ बस्ने खगराज उपाध्याय पोखरेलसमेत
फैसला भएको मिति : २०४१।६।४।५ मा
§ एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने ।
(प्रकरण नं. १२)
पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
उल्लेखित मुद्दा : x
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. कोशी टप्पु भोक्राहाको प्लट नं. ५८ को ७७—०—० बिगहा २००१।९।२५ मा हाम्रो बाबु अम्बरजंग राणाले खड्ग निसानाबाट पाउनु भएको जग्गा अवैध रूपले दर्ता नगराई बसोबास गरिरहेका व्यक्तिहरूले २०१६ सालमा चलन पूर्जि पाई चलन गर्न जाँदा नदिएकोले श्री ५ मा जाहेर गर्दा कोशी टप्पुको ६६ प्लट जग्गाको बन्दोबस्त गर्न अष्टसूत्रीय नियम बनाई स्थानीय अञ्चलाधीशको अध्यक्षतामा एउटा समिति बनाई सो समितिले ६६ प्लटको जग्गामा बसोवास अवाद गरी आएको व्यक्तिहरूलाई दुई तिहाई र खड्ग निसानामा पाउनेलाई दुई एक तिहाई पाउने गरी २३।६।१३ जग्गा स्वर्गीय बुबा अम्बरजंग राणाका नाउँमा ०२६ सालमा कायम भई ०२१ सालको अष्टसूत्रीय अन्तर्गत छुट्याएको जग्गा सर्भे गर्न नसकी त्यसै छोडेको थियो । सो जग्गामा उच्चस्तरीय आयोग गठन भई रेखदेख गर्न बाबुले प्र.मध्ये खगराजलाई २ थान सादा लिफा दिनु भई ०३४।१०।३ गते बाबु परलोक हुनु भई बाबुको नाउँमा दर्ता भएको २३–६–१३ जना मध्ये प्रतिनिधि खगराज नापी कमिटी डोरमा हाजिर भई सो लिफा कागजमा लिखत देखाई आयोगमा पेश गरी भोक्राहा २ घ.कि.नं. ९।१०।७।८।२७।३५।३६।४९।६३ को घनश्यामले र ऐ को (च) कि.नं. ३।४।५।६ को चन्द्रकुमारीले र ऐ घ (२) कि.नं. १३।३३।३४ को तुलसादेवीको नाउँमा र ऐ २(क) कि.नं. १९।१।२।४०।४१।४२।४३।५२।५९।६२ ऐ २ (च) कि.नं. ६९।१५।१६।१७।२०।२१ को खगराजले र २(घ) कि.नं. ४७।४८।५४ को इन्द्रमणिले दर्ता गराई हाम्रा नाउँमा १–१८–१२ दर्ता गरी दिई २०–८–१८ जग्गा प्रतिवादीहरूले दर्ता गराएकोले बदर गरिपाउँ भन्ने समेत ०३५।३।२५ को टेकजंग राणा समेतको फिराद ।
३. वादी दावीका जग्गा मेरो नाउँमा दर्ता छैन । वादीले दावी गरेदेखि एक पाउ भन्दा पश्चिमतर्फ मेरो नाउँमा दर्ता भएको जग्गा छन् । वादीका बाबुले मलाई ०२६ सालमै हक छाडी दिएको हुनाले ०३६ साल देखिनै हामीले दर्ता गराई भोग गरी आएको हुनाले वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको खगराजको र वादी दावी अनुसारको जग्गा हाम्रा नाउँमा दर्ता छैन । वादी दावी झुठ्ठा भन्ने समेत इन्द्रमणि र तुल्सादेवीको प्रतिउत्तर । अरू प्रतिवादीहरूले तामेल भएको म्यादमा प्रतिउत्तर नदिई गुजारेको ।
४. वादीले दावी लिएको कित्ताको जग्गाहरू प्रतिवादीहरूको नाउँमा दर्ता गराएको मोठ श्रेस्तासँग मिल्न भिड्न नआएको हुँदा वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत सुनसरी जिल्ला अदालतको ०३६।४।३१ को फैसला ।
५. सो फैसला उपर चित्त बुझेन शुरूको इन्साफ बदर गरिपाउँ भन्ने समेत वादी टेकजंग राणा समेतको पुनरावेदन ।
६. विभिन्न कित्ताहरूलाई विभिन्न व्यक्तिहरूले दर्ता गराएको सम्बन्धमा अ.बं.७२ नं. बमोजिम एउटै फिरादबाट इन्साफ गर्न मिलेन । खगराजले दर्ता गराइएको सम्बन्धमा हेर्दा अम्बरजंगले सुनसरी मालमा ०२६।८।२७ मा आधा जग्गा खगराजका नाउँमा दर्ता हवस् भनी निवेदन दर्ता गराएको पाइयो । यसबाट दर्ता गराएको भन्ने पाइन्छ । सो मञ्जूरनामाबाट निवेदकले अचल सम्पत्तिमा हक छाडेको भनी भन्न मिलेन । प्र.खगराजका नाउँको जम्मा जग्गा बिगहा ४–१८–२ मा वादीको हक कायम हुने ठहर्छ । प्र.खगराजका नाउँमा दर्ता भएको जग्गा मध्ये २(घ) को कि.नं. ७३।७४।१३८।१४०।११७।५१।१३७।१३१।११४ र ८६ को जम्मा ज.बि.४–१८–२ को दर्ता बदर हुने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।६।५ को फैसला ।
७. सो फैसला कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा विवादको एउटै विषय भएकोमा अरू प्रतिवादीहरूको हकमा समेत निर्णय गर्नुपर्नेमा नगरेको त्रुटि भनी र प्रतिवादी खगराजको निवेदन परेकोमा वादी दावी नभएको जग्गामा निर्णय गरेको त्रुटि भएको भनी पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।११।११ को आदेश ।
८. पुनरावेदक वादीहरूतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले एउटै निर्णयबाट प्लट नं. ५८ को जग्गा प्रतिवादीहरूको नाउँमा दर्ता भएको छ । यस्तोमा एउटै फिरादका सबैको हकमा निर्णय गर्न अ.बं.७२ नं. ले मिल्ने देखिन्छ । तर एकजना प्रतिवादीको हकमा मात्र निर्णय गरेको मिलेको छैन सबै प्रतिवादीहरूको हकमा समेत यसै मुद्दाबाट निर्णय हुनपर्छ भन्ने समेत र प्रतिवादी पुनरावेदक खगराज समेतको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलेले दावीको जग्गा प्रतिवादीका नाउँमा दर्तै छैन । त्यस्तो दावी नभएको जग्गा दिलाउने गरेको क्षेत्रीयअदालतको फैसला बदर हुनपर्छ भन्ने समेत बहस गर्नु भयो।
९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा विभिन्न कित्ताहरूलाई विभिन्न व्यक्तिहरूले दर्ता गराएको सम्बन्धमा अ.बं.७२ नं. बमोजिम एउटै फिरादबाट इन्साफ गर्न मिलेन खगराजले दर्ता गराएको ज.बि.४–१८–२ को दर्ता बदर हुने ठहर्छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन्छ।
११. हाम्रो जग्गा दर्ता गराउन निमित्त ०३४।४।१७।२ मा उच्चस्तरीय आयोगमा प्रतिवादीहरूले निवेदन गरेको र दर्ता गरेको बदर गराई पाउँ भन्ने वादी दावी देखिन्छ । वादीतर्फका विद्वान अधिवक्ताले सबै प्रतिवादीहरूको जग्गा दर्ता गरिपाउँ भनी एउटै निवेदन परेको र आयोगबाट एउटै मितिको निर्णयबाट प्रतिवादीहरूका नाममा जग्गा दर्ता गर्ने निर्णय भई दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने दावी हुँदा अ.बं.७२ नं. ले सबै प्रतिवादीहरूको हकमा यसै मुद्दाबाट निर्णय गर्न मिल्छ भन्ने समेत बहस गर्नुभएको छ । विपक्षीतर्फका विद्वान अधिवक्ताले जग्गा दर्ता गर्न प्रतिवादीहरूको एउटै निवेदन परेको र आयोगबाट एउटै निर्णय भएको होइन भनी कुनै खण्डन गरेको पाइदैन । मालपोत कार्यालय सुनसरीबाट मिति ०३९।६।१३ को पत्र साथ प्राप्त उच्चस्तरीय आयोगको ०३४।८।१७ को निर्णय प्रतिलिपिबाट प्लट नं. ५८ को जग्गा खडग निसानाबाट अम्बरजंगले पाउनु भई निजले बिक्री गरी हक छाडेको जग्गा खरीद गरी लिने व्यक्तिहरूको नाममा दर्ता गरी बाँकी रहन आएको प्लट भाग जग्गा प्लट पाउनु हुने श्री अम्बरजंगका नाउँमा दर्ता हुने गरिएको छ भनी एउटै निर्णय भई राखेको देखिन्छ ।
१२. त्यसरी सबै प्रतिवादीहरूका जग्गा दर्ता गरिपाउँ भन्ने एउटै निवेदन परी त्यसमा उच्चस्तरीय आयोगबाट एउटै निर्णय भई जग्गा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने प्रस्तुत मुद्दाको फिराद देखिँदा यस्तो फिरादलाई एउटै विषय भन्नु पर्ने हुन्छ । एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं.७२ नं. ले व्यवस्था गरेको पाइन्छ । सो कानूनी व्यवस्थाबाट प्रस्तुत मुद्दामा फिरादबाट इन्साफ गर्न मिल्दैन भनी भन्न मिल्ने देखिँदैन । यस स्थितिमा प्रस्तुत फिरादबाट सबै प्रतिवादीहरूको हकमा कानूनबमोजिम निर्णय गर्नुपर्नेमा एकजना प्रतिवादी खगराज पोखरेलको हकमा मात्र ठहर निर्णय गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको नदेखिँदा सो निर्णय बदर हुन्छ । सबै प्रतिवादीहरूको हकमा कानूनबमोजिम निर्णय गर्नु भनी मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिने ठहर्छ । उपस्थित पक्षलाई तारेख तोकी मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु अरू तपसील बमोजिम गर्नु ।
तपसील
कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन ..........................१
पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।६।५ को फैसलाले प्र.खगराजका नाउँमा दर्ता भएको जग्गा मध्ये वार्ड नं. २ घ को कि.नं. ७३, ७४, १३८, १४०,११७ ,५१ ,१३७, १३१ ,११४ र ८६ को जम्मा ज.बि.४–१८–२ दर्ता बदर भई वादी टेकजंग राय ओमकार जंग राणाका नाउँमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय सुनसरीमा पूर्जि गरी दिन शुरू जि. अ.मा लेखी पठाई दिनेगरेको सो फैसला बदरभएकोले सो बमोजिम गर्नु पर्दैन भनी शुरूमा लेखी पठाउन समेत मिसिल पू.क्षे.अ.मा पठाई दिनु.२
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल आश्विन ४ गते रोज ५ शुभम् ।