निर्णय नं. २०३३ - अंश
निर्णय नं. २०३३ ने.का.प. २०४१ अङ्क ६
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको दे.पु.नं. ५०५
मुद्दा : अंश
पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वडा नं. ५ तफालो टोल बस्ने माधवमणी राजभण्डारी
विरूद्ध
विपक्षी/ वादी : का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने रेशम राजभण्डारी
फैसला भएको मिति : २०४१।३।५।२ मा
§ घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए पाएकोमा चित्त नबुझ्नेले उजूर गर्न सक्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
उल्लेखित मुद्दा : x
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।
२. विपक्षी माधवमणिसँग मेरो २०२२ सालमा विवाह भएको निजको सहवासबाट २०२९ मा छोरी मेनीका जन्मेकी ०३० सालमा पहिलो छोरा जन्मी सोही दिन परलोक भएको ०३३।३।२८ देखि मलाई विपक्षीले खान लाउन नदिएकोले माइती घर रहँदा छोरा दर्पणराज जन्म्यो । २०३० सालमा ससुरा परलोक हुनु भयो २०३२ साल भाद्र महीनामा मलाई घरको कार्य बोझ हल्का गर्न भनी मलाई डेरा गरी राख्नु भयो यस्तैमा २०३२।१२।२२ मा आयकर मिलाउन र मलाई कदाचित बाँकी लागेमा पछि तिमीलाई दुःख पाउनु पर्ने छैन एउटा अंश छोडपत्रको कागज गरी दिनु पर्यो भन्नु भयो उहाँसँग आउनेले पनि केही हुन्न भनेकाले केही शंका नगरी सही गरी दिएँ । भोलिपल्ट एउटा कागज दिएको थियो कागज गरेदेखि विपक्षी म कहाँ आउन पनि कम गर्नुभयो र खर्च माग्दा समेत रिसाउन थाल्नु भयो मलाई घरमा लान पनि इन्कार गर्नुभयो । मलाई गराएको लिखत हेर्दा विपक्षी पतिको आर्जनको अंश भाग रु.५०००। बुझी लिई अंश छोडपत्र गरिदिएँ भनेको रहेछ भोलिपल्ट लिखतमा रु.५०००। ले नपुगेकोले ४०००। दिने छु भनी कागज गरी दिएको रहेछ । किन यस्तो व्यवहार गर्न लागे भनी बुझ्दा सरलासँग दोस्रो विवाह गरी सकेको रहेछ । लाखौं रूपैयाँको सम्पत्ति मेरो भागमा पर्नु पर्नेमा रु.५०००। र नपुग भनी घरायसी रु.४०००। को लिखत मात्र पाएकोले मलाई बण्डापत्रमा चित्त नबुझेको र विपक्षीले छोरीको पढाई खर्च समेत व्यहोरी सरला श्रेष्ठसँगको विहारमा मस्त रही मेरो तर्फ पोषण गर्न छाडेकोले पतिले आर्जेको र ससुरा बाजेको पालाको सम्पूर्ण सम्पत्तिको बण्डा भाग पाउन फिराद गर्न आएको छु । लेनदेन व्यवहारको १ नं. विपरीत गैरकानूनी उद्देश्यको निमित्त बराबर बण्डा गर्नुपर्नेमा ज्यादै घटी पर्ने गरी लिनुदिनु नगरी गराएको ०३२।१२।२२ को लिखत बदर गरी मेरो र मेरो संरक्षणमा रहेको नावालक छोराको अ.बं.८३ नं. अनुसार निजको भाग प्राप्त गराई दिन मैले फिराद गर्न पाउने हुँदा निजको १ भाग समेत २ भाग अंश अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको रेशम राजभण्डारीको फिराद दावी ।
३. खान लाउन नदिई निकालेका भनेको समय भन्दा ४ महीना अगावै अंश वापत रूपिया बुझी लिई अंशको छोडपत्र गरी दिने व्यक्तिले हामीसँग बस्नु पर्ने र हामीले निकाल्नु पर्ने अवस्थै पर्दैन । सरला श्रेष्ठसँग विवाह गर्न अंशको छोडपत्र गराएको भन्ने झुठ्ठा कुरा हो । वादी हामीहरू समेत सगोलमा बस्न इन्कार गरी छुटिएको हो । विपक्षीले गरेको छोडपत्रमा म माधवमणिले आर्जेको सम्पत्ति मात्र भनी सीमित गरेको छैन गैर सम्पत्ति भनी लेखिएको छ । आमा र पिता परलोक भई सक्नुभएको अवस्थामा अंश वापत रुपैयाँ बुझी लिई गरी दिएको अंशको छोडपत्रले सबै सम्पत्ति तथा ऋण समेतलाई समावेश गर्दछ । पैतृक सम्पत्ति भनी अर्को अंश भागको प्रश्नै उठ्न सक्तैन । रु.४०००। को लिखतको वादीले चर्चा गरेको छ जहिले वादीले दावी लिन्छ उसै बखत मन्तव्य व्यक्त गर्ने छु यस्तो किसिमको यस मुद्दामा वादीको हामी उपर जुन–जुन कुराको दावी लिई फिराद गर्नुभएको छ सो गैरकानूनी अनाधिकार तथा झुठ्ठा हुँदा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्रतिवादीहरूको प्रतिउत्तर ।
४. वादीबाट दाखिल भएको तायदातीको जम्मा श्रीसम्पत्तिको ४ भागको २ भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.माधवमणि राजभण्डारीको पुनरावेदन।
६. वादी प्रतिवादीहरू अंशियार भएमा सावित रहेको अंश दिए लिएको सबूत प्रमाणको अभाव देखिँदा शुरूले अंशपाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.माधवमणि राजभण्डारीको यस अदालतमा निवेदन परेकोमा म.क्षे.अ.को निर्णयमा अंशबण्डाको ३२ नं. को त्रुटि भएको हुँदा न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भने समेत डिभिजन बेञ्चको ०३९।११।४ को आदेश रहेछ ।
८. पुनरावेदक तर्फबाट उपस्थित हुन भएको विद्वान अधिवक्ता श्री गणेशराज शर्माले वादीले अंशबण्डाको ३२ नं. अन्तर्गत नालिश गरेको ०३२।११।२२ को कागज अंश छोडपत्र हो सो छोडपत्र बदर गराउने अंशबण्डाको ३२ नं. मा व्यवस्था भएको छैन प्रस्तुत कागजमा केही लिई छाडी दिएको हुनाले ३२ नं. अन्तर्गत बदर गर्न नमिल्ने । छोडपत्र गर्दा घटी बढी गर्न पाउने छोडपत्र बण्डापत्र होइन उक्त ३२ नं. मा अंशबण्डालाई मात्र बदर गराउने व्यवस्था हो । छोडपत्रलाई अनिवार्य रूपले रजिष्ट्रेशन पास भएको हुन पर्ने भनी अंशबण्डाको ३० नं. मा व्यवस्था गरेको छ यसबाट पनि प्रष्ट छ । कसैले पाउने अंश वापत छोडपत्र गरी लिन दिन पाउने हो प्रस्तुत कागज रजिष्ट्रेशन पास भएको छ । नावालख छोराको हकमा अ.बं.८५ र अंशबण्डाको १० नं. तथा अपीलाट शान्तिदेवी पण्डितनी विरूद्ध भरतराज गुरू पुरोहित भएको अंश मुद्दामा ०२२।९।२५ मा भएको निर्णयबाट प्रतिपादित सिद्धान्त समेतले बाबु छउन्जेल छोराले अंश पाउन नसक्ने हो कारण बाबु नै छोरा छोरीको संरक्षक हो कारण बाबुले नै पालन पोषण गर्नुपर्ने हो तसर्थ छोराको संरक्षक बाबु नै हो भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
९. विपक्षी वादी तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले ने.का.प.०२६ पृष्ठ १२९ नि.नं. ४७७ फुल बेञ्च विजुली बुढाथोकी विरूद्ध प्रचण्डप्रताप सिंह बुढाथोकी भएको अंश मुद्दामा ०२६।१।२ गते भएको निर्णय मा छोडपत्र पनि अंशबण्डाको तत्कालिन ५१ नं. र अहिलेको ३२ नं. अन्तर्गत बदर गर्न सक्ने हो तसर्थ प्रस्तुत कागज बदर गराउने अंशबण्डाको ३२ नं. अन्तर्गत उजूर गर्न पाउने हो । ३ वर्षसम्म छोरालाई आमाले पालन गर्नुपर्ने भई राखेको, अ.बं.८३ नं. अनुसार आमाले नै अंश संरक्षक भई नालेश गरेको छ । बाबुले पालन पोषण नगरी राखेको प्रष्ट देख्दा देख्दै तीनको हकको खोजी निजले नै गर्नुपर्ने हो पैैतृक सम्पत्तिमा दावी गर्ने अधिकार भई राखेको छ । बच्चालाई बाबुले कहीँ पालन पोषण गरेको छैन । अंश छुटिएको भए मात्र जसको साथमा जो रहन्छ उसको उसमा हक हुन्छ । मानु छुटिएको कारणले आमाको सम्पत्ति अंशमा मेरो पक्षको हक लाग्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
१०. मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
११. म वादी रेशम राजभण्डारीलाई प्रतिवादी माधवमणी राजभण्डारीले गराएको ०३९।१२।२२ को छोडपत्रको कागज बदर गरी प्रतिवादीले सरलासँग दोस्रो विवाह गरी सकेकोले विपक्षीसँग निजले आर्जेको र बाजे ससुराको आर्जनको समेत श्रीसम्पत्तिको तायदाती लिई छोरा अर्पणराज र विपक्षी सौता र पति तथा मेरो समेत जम्मा ४ भाग अंश गराई मेरो संरक्षकत्वमा रहेको नाबालख छोरा अर्पणको अ.बं.८३ नं. अनुसार निजको भाग प्राप्त गराई दिन मैले फिराद गर्न पाउने निजको १ भाग समेत जम्मा २ भाग अंश र छोरोको विवाह खर्च पर सारी अड्डैबाट दिलाई पाउँ भन्ने समेत फिराद दावी भएकोमा, सो वादी दावी बमोजिम गर्न मिल्ने हो होइन भनी त्यसतर्फ हेर्दा नाबालक छोराले बाबुसँग अंश पाउन मिल्ने नमिल्ने के रहेछ भनी अंशबण्डाको १० नं. मा हेर्दा बाबुको जिउ छउन्जेल अंश दिन छोराहरूले बाबुलाई बाध्य गराउन सक्ने छैनन् भन्ने उल्लेख भएको र संरक्षकत्वबाट आमाले उजूर गरी नाबालख छोरालाई बाबुसँग अंश दिलाइने कानूनी व्यवस्था भएको पनि पाइदैन । संरक्षक वा हकवालाले उजूर गर्ने विषयमा बनेको अ.बं.८३ नं. मा पनि उक्त अवस्थाको बाबुबाट अंश दिलाउने उजूर गर्ने कानूनी व्यवस्था देखिँदैन । पुनरावेदक वादी शान्तीदेवी र विपक्षी प्रतिवादी गु.पु.भरतराज पण्डितज्यू समेत भएको अंश जालसाजी मुद्दाको ०२२।९।२५।१ मा डिभिजन बेञ्चबाट भएको प्रतिपादित सिद्धान्तमा हेर्दा पनि उक्त उल्लिखित अंशबण्डाको १० नं. ले छोराहरूको अंश बाबुबाट छुट्याई मेरो जिम्मा लगाई पाउँ भन्ने वादी अपिलाटको जिकिर पुग्न सक्तैन भन्ने समेत उल्लेख भई निर्णय भएको पाइन्छ । छोरालाई खान लाउन दिएन सो कुराको उल्लेख सम्म वादीले गर्न नसकेको यस्तो स्थितिमा म.क्षे.अ.ले वादी र नावालख छोरा समेतले बाबुबाट अंश छुट्याई लिन पाउने भनी शुरूको सदर गरी गरेको फैसला प्रतिवादी पुनरावेदकको जिकिर अनुसार मिलेको देखिन आएन ।
१२. लाखौं रूपैयाको सम्पत्ति मेरो भागमा पर्नु पर्नेमा रु.५०००। र नपुग भनी घरायसमा रु.४०००। को लिखत मात्र पाएकोले मलाई बण्डापत्रमा चित्त नबुझेको सम्पूर्ण सम्पत्तिको बण्डा भाग पाउन फिराद गर्न आएको छु ०३२।१२।२२ को लिखत बदर गरी छोरा र मेरो ४ भागको २ भाग अंश अड्डैबाट दिलाई पाउँ भन्ने समेत वादीको दावी भएकोमा छोराको हकमा माथि निरूपण भइसकेकोले त्यस तर्फ यहाँ विचार गर्न परेन, अब वादीले ०३२।१२।२२ को लिखत बदर गरी सम्पूर्ण सम्पत्तिको ४ भागको १ भागको अंश पाउन सक्ने नसक्ने के रहेछ त्यसतर्फ अंशबण्डाको ३२ नं. मा अंशबण्डा गर्दा ऐन बमोजिम गरी दिन पर्छ । घटी बढी गर्न हुँदैन अंशमा चित्त नुबझ्नेले बण्डापत्रको कागज भएको मितिले ३ तीन महीना भित्र नालेश नदिए लाग्न सक्दैन भनी उल्लेख भएकोमा वादीले ०३२।१२।२२ को लिखत बदर गरी सम्पूर्ण सम्पत्तिमा अंशको दावी लिई बक्स भई आएका हुकुम प्रमांगी बमोजिम वादीको फिराद ०३३।४।३२।२ मा परेको देखिन आउँछ । उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए पाएकोमा चित्त नबुझ्नेले उजूर गर्न सक्ने देखिन्छ ।
१३. ने.का.पं.२०२६ पृ.१२९ निवेदक विजुली बुढाथोकीनी क्षेत्रीनी वि.प्रचण्डप्रताप सिंह बुढाथोकी भएको अंश मुद्दामा फुल बेञ्चबाट छोडपत्र लिखतबाट अंश मुद्दामा फुल बेञ्चबाट छोडपत्र लिखतबाट अंश मुद्दामा घटी बढी परेको अथवा अन्य कुनै कारणले अंशमा चित्त नबुझेको समेत भए तत्काल प्रचलित अंशबण्डाको ५१ नं. (साविक मुलुकी ऐन) बमोजिम उक्त लिखत पास भएको मितिले तीन महीना भित्र छुट्टै उजूर गर्नुपर्ने कानूनी व्यवस्था भएको भनी सिद्धान्त प्रतिपादन भई राखेको देखिन्छ ।
१४. माथि उल्लेख भएको आधारमा विचार गर्दा वादी दावी बमोजिम ०३२।१२।२२ को लिखत बदर हुने ठहर्छ र दावीले ४ भगको १ भाग अंश पाउने ठहर्छ । वादी दावी बमोजिम बादीले ४ भागको एक १ भाग अंश पाउने ठहराएसम्मको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्दैन ।
तपसील
पुनरावेदक प्रतिवादी माधवमणि राजभण्डारी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम नाबालख छोराको १ भाग अंश वादीको संरक्षकत्वमा नरहने भई प्रतिवादी बाबुकै जिम्मामा रहने भएकोले त्यसको भागको हकमा शुरू ल.पु.जि. अ.ले वादीलाई प्रतिवादीहरूबाट भरी पाउने गरेको जम्मा कोर्टफी रु.९५७६।४० र प्रतिवादीले म.क्षे.अ.मा पुनरावेदन गर्दा प्रतिवादीले राखेको कोर्टफी रु.७२१।७ र निजै प्र.ले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.७२१।७ समेत जम्मा कोर्टफी रु.११०१८।५४ समुच्चै वादीलाई प्रतिवादीहरूबाट भराई दिने गरेकोमा अब सो बमोमिज गर्नु नपरी उक्त उल्लिखित ११०१८।५४ मध्ये नावालखको भागको आधा ५५०९।२७ प्रतिवादीलाई नलाग्ने हुँदा सोको कोर्टफी वादीबाट प्रतिवादीले म्यादमा भराई पाउँ भनी प्रतिवादीको दर्खास्त परेमा दस्तूर केही नलिई वादी रेशम राजभण्डारीबाट प्रतिवादीलाई भराई दिनु भनी शुरू ल.पु.जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु.....१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ल.पु.जि. अ.का फैसलाले प्रतिवादीबाट सम्पूर्ण कोर्टफी भराई दिने गरेको र वादीले जम्मा ४ खण्डको २ खण्ड अंश दिलाई दिने भनी उल्लेख भएको समेत तपसील खण्डमा लेखिएको लगत काटी दिनु भनी ल.पु.जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु...............२
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावीको भागमा ४ खण्डको १ खण्ड वादीले प्रतिवादीबाट अंशबण्डा छुट्याई पाउने ठहरेकोले वादी रेशम राजभण्डारीले प्रतिवादी माधवमणी राजभण्डारी समेत सँगको वादीले दिएको देहायमा लेखिएका तायदाती बमोजिमको मोल बिगोको सम्पत्तिमा कानूनबमोजिम ४ खण्डको १ खण्ड वादीले अंश छुट्याई पाउँ भनी द.सं.का ४६ नं. को म्याद २ वर्ष भित्र वादीको दर्खास्त परे बिगोको सयकडा २।५० का दरले वादीबाट दस्तूर लिई अंशबण्डाको २८ नं. को कार्यविधी अनुसार गर्न देहायको तायदातीको लगत शुरू ल.पु.जि. अ.मा पठाउन भनी का.जि. अ.मा लगत दिनु ..........................३
वादी रेसम राजभण्डारीबाट दाखिल भएको तायदाती बमोजिमको ।
सेयर
माधव मणिका नाउँमा रहेको ने.पा.ऐजेन्सी एण्ड कं.प्रा.लि.को सेयर कित्ता ७८ को दर १००। ले रु.७८००।....................१
ने को ऐनको इण्डष्ट्रिज प्रा.लि.को सेयर कित्ता १५५। को दर १०००। ले हुने रु.१५२०००।........................१
विशाल बजार बैंकको सेयर किस्ता प्रीत सेयर रु.१०००। ले रु.३०,०००।
घर जग्गातर्फ
पूर्व सडक पश्चिम बुद्धिनारायणको घर उत्तर कालीबहादुरको घर दक्षिण महीला संघको घर तिरो नलागेको का.जि. ठमेलको ७२, ४८ को ०–१२–० जग्गामा बनेको ३९—३३ को ४ तले २ नाले झिगटीको छाना भएको मोल रु.१०,००००। जाने घर...............................................................१
मकवानपुर जिल्ला हेटौडा न.पं. वडा नं. १ को हेटौडाको मौजे हेटौडाको मेठवन्दी भित्रको कित्ता नं. १ को जग्गा बिगहा ०–१३–१० ऐ मा बनेको टहरा घर समेत मोल रु.१०,००,००। जाने...१जि. रौतहट डुमरिया गा.पं. वा.नं. १ को कि.नं. ४५ र वडा नं. ६ को कि.नं. ६६ र ८७ को गरी जम्मा बिगहा ५–१०–२५ को ऐ मोल १२,०००।.................१ टंककुमारी, विष्णुकुमारी, माधवमणि र दिपमणि समेत अंशबण्डा गोश्वारा रहेको ।
दोलखा जिल्ला दोलखा गा.पं. वडा नं. ८ को पूर्व ठाडो बाटो पश्चिम सिंहवान दक्षिण वार उत्तर सडक यति ४ किल्ला भित्रको रोपनी २ जग्गा र त्यसमा बनेको ३० हात लम्बाई भएको २ नाले ४ तले पक्की ढुंगागारो जस्ता छानाको घर समेतको जम्मा मोल रु.१०,०००। को ५ खण्डको १ खण्ड माधवमणिको भागको मोल रु.२०००। को घर जग्गा....................१ जि. मकवानपुर हेटौडा पञ्चायत वडा नं. ९ को कि.नं. ६१ को जग्गा बिगहा ०–९–० को मोल रु.१०,०००। पर्नेको ५ खण्डको १ खण्ड माधवमणिको भागमा पर्ने मोल रु.२०००।.................१जि. मोरंग विराटनगर नगरपञ्चयात वडा नं. ७ को पूर्व जहदारोड पश्चिम अनुजा श्रेष्ठको घर उत्तर विद्यालक्ष्मीको घर दक्षिण रामलोचनको घर ४ किल्ला भित्रको शहरी क्षेत्रको जग्गा कठ्ठा ०–२–९ मोल रु.२०,०००। पर्ने जग्गाको ५ खण्डको १ खण्ड माधवमणिको भागमा पर्ने जग्गाको मोल रु.४०००। जाने.....................१
नगदी गरगहना
विभिन्न बैंकमा रहेको माधवमणि जिम्मा रहेको नगदी रु.२०,००,००।.....१ ऐ जिम्मा रहेको हिराको टप २ जोर के दर जोर १ को रु.२०,०००। ले हुने रु.जम्मा रु.४०,०००। सुन तोला १० को चुरा ४ के रु.१३०००।.....१ ऐ को तोला ४ को नेकलेस २ जोर के रु.१०,४००।.....१ सुनको सिक्री ३ के प्रति सिक्री तोला २ ले हुने रु. ७८,००।...१ हिरा जडान सुनको औंठी २ के रु.४०००।.......................१
भाडा वर्तन र फर्निचर समेत
चादीके रिकापी ५ के जम्मा तोला ५० के रू. १४,००। १
ऐ को तोला ५० को करूवा १ के रू. १४००। १
ऐ को तोला ६० को थाल के रू. १६००। १
स्टीलको थाल १० के रू. ६००। १
ऐ को डेक्ची ५ को रू. ५००। १
ऐ को रिकापी २० के रू. २००। १
रेफ्रीजेरेटर १ के रू. १२,०००। १
स्टिलको दाराज के रू. २५००। १
सोकेस १ के रू. ३०००। १
काठको दराज २ के रू. २०००। १
डाइनीङ टेबुल २ के रू. २०००। १
सोफासेट ३ के रू. ९०००। १
डनलप मेच १० के रू. ८०००। १
काठको पलङ ४ के रू. २००। १
डनलप डस्ना ४ के रू. ४०००। १
सिरक ४ के रू. ५००। १
डनलप तकिया ५ के रु. ३००। १
गलैंचा ठूलो १ के रू. १०,०००। १
सानो गलैंचा ४ के रू. ४०००। १
सासु विष्णुकुमारी जिम्मा निज परलोक भई माधवमणिको हक भएको ।
सेयर तर्फ
सासु विष्णुकुमारी राजभण्डारीको हक निज परलोक भई प्र.माधव मणि जिम्मा रहेको ने.पा.एजेन्सी एण्ड कं.प्रा.लि.को सेयर किता ७८ को दर १०००। ले हुने रु.७८,८००। अठहत्तर हजार आठसय रुपैयाँ.......१ ऐ को ऐ मा ऐ जिम्मा रहन आएको ने.को ऐनको इण्डष्ट्रीज प्रा.लि.को सेयर कित्ता १५२ दर १०००। ले हुने रु.१,५२,०००।.......१ ऐ ऐको जिम्मा रहन आएको विसालबजार कम्पनीको सेयर कित्ता ३० को दर प्रति सेयर रु.१०००। ले हुने रु.३०,०००।......१
घर जग्गातर्फ
ल.पु.जि. न.पं. वडा नं. १५ ग अन्तर्गतको चारैतर्फ रैकर साँध भएको कि.नं. २१२, २१४ र २१६ को रोपनी २–०–० जग्गा र सो जग्गामा बनेको १ तले घर २ को मोल १०,०००।....१ जि. रौतहट डुमरिया गा.पं. वडा नं. ६ कि.नं. ६७, ६८ र ६९ को चारैतर्फ रैकर साँध भएको बिगहा ४–१५–१० को ऐ मूल्य रु.१०००।.........१ टंककुमारी, विष्णुकुमारी, माधवमणि, दिव्यमणि र दिपमणि समेतको अंशबण्डा गोश्वारा रहेको
जिल्ला दोलखा दोलखा गा.पं. वडा नं. ८ को पूर्व ठाडो बाटो पश्चिम सिंहवन दक्षिण बार उत्तर सडक यति ४ किल्ला भित्रको रोपनी ३ जग्गा र त्यसमा बनेको ३० हात लम्बाई भएको २ नाले ४ तले पक्की ढुंगाको गाहृारो भएको जस्ता छानाको घर समेतको जग्गा मोल रु.१०,०००। को ५ खण्डाको १ खण्ड विष्णुकुमारीको भागमा मोल रु.२ हजार पर्ने रु.२०००। जि. मकावानपुर हेटौंडा पं. वडा नं. ९ को कि.नं. ६१ को जग्गा बिगहा ०–९–१३ को मोल रु.१०,०००। पर्नेको ५ खण्डको १ खण्ड विष्णुकुमारीको भागमा पर्ने मोल रु.२०००। जाने जि. मोरङ विराटनगर न.पं. वडा नं. ७ को पूर्व जहदारोड पश्चिम अनुजा श्रेष्ठको घर उत्तर विद्यालक्ष्मीको घर क्षेत्रको जग्गा कठ्ठा ०–२–९ को मोल रु.२०,०००। पर्ने जग्गा ५ खण्डको १ खण्ड विष्णुकुमारीको भागमा पर्ने जग्गाको मोल रु.४०००। जाने
गहनातर्फ
नम्वरी सुन तोला १६ को वागमुखे चुरा जोर १ को सुन तोला १ को रु.२४००। हुने रु.३८,४००। नम्बरी सुन तोला ४ को सिक्री तोला १ को रु.२४००। ले हुने रू.९,६००। ऐ तोला २ को लामो तिलहरी १ को ऐ ले हुने रु.४८००। ऐ तोला तीनको घाँटीमा लगाउने नेकलेसको तोला १ को रु.२४००। ले हुने रु.७२००। हिराको टप जोर १ को मोल रु.२०,०००। हुने रु.२०,०००।
मिसिल नियमबमोजिम गरी बुझाई दिनू...................४
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल आषाढ ५ गते रोज २ शुभम् ।