शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०३८ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: असोज अंक:

निर्णय नं. २०३८   ने.का.प. २०४१           अङ्क ६

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको रिट नं. १६५२

विषय : उत्प्रेषण

निवेदक : जिल्ला सप्तरी मलेकपुर गाउँ पञ्चायत वा.नं. ३ घर भइ सडक विभाग लाहान सब डिभिजन, लाहानको सहलेखापाल सत्यनारायण साहु

विरूद्ध

विपक्षी   : श्री ५ को सरकार सडक विभाग, काठमाडौंसमेत

आदेश भएको मिति :   २०४१।३।१८।१ मा

§  लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

उल्लेखित मुद्दा : x

 

आदेश

          न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, ०१९ को धारा ७१ अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.  स्व.से.वि.पथरगढा हेल्थपोष्टको रा.प.अ.तृतीय श्रेणीको मुखिया पदमा कामकाज गरी आएको थिएँ विभागको प.सं.क.प्र.टि.१६८ नं. ६१३ मिति ०३७।२।२१ को पत्रद्वारा हेल्थपोष्टहरूको मुखिया पदलाई सहायक लेखापाल पदमा परिवर्तन गरी लेखा समूह भित्र राखी सो पदमा काम गर्ने कर्मचारीहरूलाई पनि लेखा समूहमा परिवर्तन गर्ने भनी मिति ०३७।२।२१ मा विभागीय निर्णय भएको हुँदा सो बमोजिम गर्न भनी जनस्वाथ्य कार्यालय सप्तरीलाई लेखी बोधार्थ दिइएको थियो र जनस्वास्थ शाखाको प.सं.ज.स्वा.१९९०३७३८ को पत्रद्वारा पद र दरबन्दी र समूह परिवर्तन भएको भनी परिपत्र समेत प्राप्त भएको थियो । लेखातर्फको कार्य सम्पादन गर्दै आएकोले कार्यालयको मिति ०३९।१।१० को निर्णय अनुसार ०३५।११।१ देखि नै लेखा भत्ता समेत खाई आएको थिएँ । विभागको पत्र र परिपत्र समेतको आधरामा सप्तरी जिल्ला स्थित सबै कार्यालयका लेखा तर्फका रा.प.अ.तृ.श्रेणीका कर्मचारीले भाग लिन पाउने गरी सहलेखापाल रा.प.अ.द्वितीय श्रेणीमा बढुवाको लागि सूचना टाँस भएकोमा म समेत सम्भाव्य उम्मेदवार भएकोले बढुवा फाराम र का.स.स.मु.फा.समेत पठाई प्रत्यायोजित अधिकार प्रयोग गरी प्र.जि. अ.ले उक्त पदमा मलाई बढुवा गर्ने भनी ०३९।३।१६ मा निर्णय गर्नुभयो र मलाई स.स.डी.को रा.प.अ.द्वि.को सहलेखापाल पदमा प.सं.प्र.शा.०३९।४०।२४।२४३ च.नं. ७७५। ०३९।६।४ को पत्रद्वारा मलाई पद स्थापना गरियो । सो अनुरूप कामकाज गरी आएकोमा सडक विभागको च.नं. ८२५, ०३९।७।२६ र च.नं. ९७८, ०३९।९।२ को पत्रबाट लेखा सेवाको सरूवा बढुवा महालेखा नियन्त्रक कार्यालयबाट हुने हुँदा निज जहाँबाट बढुवा भई आएको हो त्यही फिर्ता पठाउने भनी च.नं. १९२०३९।९।१५ को पत्रद्वारा मलाई ज.शा.सप्तरीमा फिर्ता पठाइयो र ०३९।९।२६ को पत्रद्वारा जिल्ला कार्यालय सम्तरीले समेत नियमावली अनुकूल लेखा समूहको कर्मचारी नभएकोले बढुवा मान्य हुन नसक्ने भनी लेखी पठाइयो ।

          ३.  विभागको पत्र समेतबाट मेरो पद लेखा समूह अन्तर्गत परिवर्तन भएपछि निजामती किताबखानामा समूह परिवर्तन भएको अभिलेख नगएको भनी अत्तो थाप्दैमा कानूनी हक प्रभावित हुन सक्दैन । समूह परिवर्तनका सूचना विभागले नपठाउँदैमा अड्डाको गल्तीले मेरो हक जान सक्ने होइन । मेरो जस्तै अवस्थाका मालपोत कार्यालय भोजपुरका प्रशासन समूहमा लेखा भत्ता खाने चन्द्रबहादुर श्रेष्ठलाई जि. का.भोजपुरका ०३५।५।१३ मा बढुवा गर्‍यो मलाई बढुवा नगर्ने भेदभावपूर्ण निर्णय संविधानको धारा १०(१) को प्रतिकूल भएको र बढुवा सदर नगरिएको नि.से.नि.३.४(१) ज.३.४(४) । ३.५ समेतको प्रत्यक्ष त्रुटिपूर्ण भएकोले उत्प्रेषणको आदेशद्वारा मेरो बढुवामा असर पर्ने उपयुक्त निर्णयहरू बदर गरी कानूनबमोजिम गरिएको बढुवा अनुसारको पदमा कामकाज लगाउनु भनी सम्बन्धित सबैका नाउँमा परमादेश समेत जारी गरिपाउँ भन्ने समेत ०४०।१।२५ को सत्यनारायणको निवेदनपत्र ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको ०४०।१।२६ को आदेश ।

          ५.  यस कार्यालय र सामान्य प्रशासन मन्त्रालयको सहमति बेगर विभागले मात्र दज्र्यानी परिवर्तन गर्न नमिल्ने प्रष्ट छ, यस कार्यालयको स्वीकृत बेगरै दज्र्यानी परिवर्तन गरेकै भए निजामती किताबखानामा लेखा समूहको सहायक लेखापाल पदमा नाम दर्ता नगराएको नभएको कुरा स्वयं रिट निवेदकको भनाइबाट देखिन्छ । म.ले.नि.का.बाट लेखा भत्ता खुवाउनसम्म स्वीकृति प्रदान गरिएको हो, तर निजलाई लेखा समूहमा लगिएको होइन । तसर्थ लेखा समूहको कर्मचारी भएको नाताले निवेदकलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार मान्न नमिल्ने प्रष्ट भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत ०४०।३।१०।६ को महालेखा नियन्त्रक कार्यालयको लिखितजवाफ ।

          ६.  महालेखा नियन्त्रक कार्यालयबाट निज निवेदक सत्यनारायणलाई हेल्थपोष्टमा सहायक लेखापाल पद कायम भई निजको नाम दर्ता भएको जानकारी स्वा.से.बि.बाट समेत प्राप्त नभएको हुँदा समूह नियमावली, ०३४ को विपरीत भएको बढुवा मान्य भएको हुँदा निज सत्यनारायणलाई साविक कार्यालयमा फिर्ता पठाई दिने ०३९।८।२३ मा निर्णय भएको हुँदा निर्णयानुसार गर्नु गराउनु भनी लेखी आएकोले सो बमोजिम गर्न यस विभागबाट लेखी गएको हो निर्णय कार्यान्वयनसम्म गराएको भई अन्य अधिकार नहुने कार्य यस विभागबाट नभएकोले रिट खारेज गरिपाउँ भन्ने समेत ०४०।३।२२ को सडक विभागको लिखितजवाफ ।

          ७.  लेखा समूहमा परिणत गर्ने सिलसिला सन्दर्भमा यस विभागबाट सम्बन्धित कार्यालयको मन्तव्य लिने जस्ता कार्य गरिए तापनि मुखिया सरहको कर्मचारी लेखा समूहमा परिणत नगरिएको जानकारी यस विभागलाई ०३८।२।२५ मा म.ले.नि.का.बाट प्राप्त भएको थियो सो बमोजिम निवेदक बढुवाको लागि सम्भाव्य उम्मेदवार नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत ०४०।३।२७ को स्वा.से.वि.को लिखितजवाफ ।

          ८.  महालेखा नियन्त्रक कार्यालय तथा सडक विभागको पत्र बमोजिम निवेदकलाई साविक कार्यालयमा फिर्ता पठाइएको गैरकानूनी काम कुनै भएको नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत सडक विभाग लाहान सब डिभिजनको ०४०।४।२६ को लिखितजवाफ ।

          ९.  नियमानुसार पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले एकपटक विभागले विभागीय निर्णयको आधारमा दज्र्यानी परिवर्तन गर्ने र भत्ता खुवाउने सम्बन्धमा ०३७।२।२१ समेतमा परिपत्र गरेपछि निजामती किताबाखानामा लेखा समूहमा दर्ता नगराएको भनी दर्ता गराउनु पर्ने अड्डाले दर्ता नगरिएको कारणबाट निवेदकको हकमा असर पर्न सक्ने होइन । विभागको पत्रबाट समेत निज सम्भाव्य उम्मेदवार हुँदा बढुवा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विपक्षी तर्फबाट रहनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले लेखा समूहमा परिवर्तन गर्न कारबाहीसम्म चलाएको तत्कालिन प्रशासन व्यवस्था विभागसँग प्रतिकृया माग गरिएकोमा ०३८।३।३ को पत्रबाट हेल्थपोष्टका मुखिया बाहेक अरूलाई मात्र दज्र्यानी परिवर्तन गर्न सम्पत्ति भएको हुँदा निज निवेदक सम्भाव्य उम्मदेवार हुन नपाउने प्रष्ट हुँदा रिट खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १०.  प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिम आदेश जारी हुने हो होइन भन्ने कुरा नै निर्णय दिनु पर्ने हुन आयो ।

          ११.  यसमा लेखा समूहको कर्मचारी नभएको र सम्भाव्य उम्मेदवार नै हुन नसक्ने व्यक्ति बढुवा भएकोले बढुवा सदर नगर्ने भन्ने म.ले.नि.का.को निर्णय उपर निवेदकको रिट निवेदन पर्न आएको देखिन्छ । लेखा समूह (श्रेणी, विभाजन, नियुक्ति र बढुवा) नियमावली, २०३४ नियम ७.१ मा लेखा समूहको कर्मचारीको बढुवा सो समूह भित्र हुनेछभन्ने लेखिएको पाइन्छ । निवेदक स्वास्थ्य सेवा विभाग पत्थर गढा हेल्थपोष्टको मुखिया पदमा रहेको अवस्थामा सहलेखापालको पदमा बढुवाको लागि भाग लिई बढुवा भएको देखिन्छ । निवेदकले दावी लिएको ०३७।२।२१ को स्वा.से.वि.को पत्रद्वारा निजको पद सहायक लेखापाल पदमा दज्र्यानी परिवर्तन भएको हो कि भन्नलाई उक्त पत्रबाट समूह परिवर्तन गर्ने सम्बन्धमा प्रतिकृया र सहमतिसम्म मागिएको देखिन्छ । स्वास्थ्य सेवा विभागको ले.क.प्र.५३९।०३९।११।८ को पत्र हेरिएमा यस सम्बन्धमा प्रतिकृया प्राप्त भई कारबाही हुँदा महालेखा नियन्त्रक कार्यालयको ०३८।२।२५ र सामान्य प्रशासन मन्त्रालय (तत्कालिन प्रशासन व्यवस्था विभाग) को ०३८।३।३ को पत्रबाट हेल्थपोष्टका मुखिया बाहेक अन्य स्वास्थ्य संस्थाको कर्मचारीहरूलाई मात्र समूह परिवर्तन गर्न सहमति प्राप्त भएको उपरोक्तानुसार लेखाको दरबन्दी कायम भएकोभन्ने उल्लेख भएको देखिन्छ । निवेदकले लेखा भत्ता खाएकै आधारमा समूह परिवर्तन भएको हो कि भन्ने सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त लिखितजवाफमा हेरिएमा निजलाई लेखा भत्ता खुवाउनसम्म स्वीकृति प्रदान गरिएको हो तर लेखा समूहमा लगिएको होइन भन्ने भएको देखिन्छ र लेखा भत्ता खुवाएकै नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह (श्रेणी विभाजन नियुक्ति र बढुवा) नियममावली, ०३४ मा उल्लेख नभएको र स्वयं रिट निवेदकले आफ्नो निजामती किताबखानामा समूह परिवर्तन भएको अभिलेख नभएको कुरालाई स्वीकार गरेकोले समेत निवेदकको जिकिर अनुसार निवेदकको हकमा आघात हुन गएको भन्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ १८ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु