निर्णय नं. २०४९ - उत्प्रेषण

निर्णय नं. २०४९ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०३९ सालको रि.नं. १२१४
विषय : उत्प्रेषण
निवेदक : काठमाडौं न.पं. वडा नं. १३ ताहाचल बस्ने यादव लामिछाने
विरुद्ध
विपक्षी : श्रीमान् निर्देशक, कर्मचारी व्यवस्था शाही नेपाल वायुसेवा निगम, मुकाम न्यूरोड काठमाडौं
श्री सञ्चालक समिति, शाही नेपाल बायु सेवा निगम मुकाम, न्यूरोड गेटऽ काठमाडौं
आदेश भएको मिति : २०४१।६।२९।२ मा
§ नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ ले बर्खास्त गर्ने अधिकार समेत संचालक समितिलाई छ शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा ७ ले पनि संचालक समिति समर्थवान छ ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०३९।२९।५ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर यस प्रकार छन् ।
२. संक्षिप्त तथ्य एवं जिकिर : म निवेदक शाही नेपाल वायुसेवा निगममा गत ६ वर्षदेखि सेवारत इमान्दार कर्मचारीलाई शाही नेपाल वायु सेवा निगमले ०३९।८।२९ को पत्रद्वारा समितिलाई तपाईको स्पटीकरण सन्तोषजनक नलागेकोले शा.ने.वा.नि.कर्मचारी सेवा नियमावली, २०३१ को नियम ११.३.५ अनुसार संचालक समितिको ०३९।८।१५ को निर्णय बमोजिम शा.ने.वा.नि.को सेवाबाट भविष्यमा अयोग्य नठहरिने गरी हटाइएको भनी उल्लेख गरेको छ । विपक्षी सञ्चालक समितिले शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा नियमावली, ०३१ को नियम ११.३.५ बमोजिम सेवाबाट हटाउन सक्दैन । अवकास दिने तथा बर्खास्त गर्ने आदेशहरू सम्बन्धित विभागको सिफारिसमा व्यवस्थापक (जनरल मैनेजर) को निर्देशनमा कर्मचारी व्यवस्था विभागले जारी गर्नेछ भन्ने छ भने सञ्चालक समितिले सेवाबाट हटाउन सक्दैन । विपक्षी निगमको ०३९।४।१४ को पत्रमा कुन कसूरमा बर्खास्त गर्न खोजिएको हो सो पत्रमा खुल्दैन । मिति ०३९।८।२९ को पत्रमा कसूर खुलेको छैन । न मैले कुनै कसूर गरेको छु न मैले पेश गरेको स्पटीकरणका जवाफहरूबाट देखिन्छ । त्यस स्थितिमा म एक इमान्दार कर्मचारी उपर सजाय गरेको कानुनी त्रुटिपूर्ण छ । नियमावलीको नियम ११.३.१ अनुसार उचित छानविन र जाँचबुझ समेत नभई मलाई सजाय गरेको छ । नियमावलीको नियम ११.३.३ अनुसार सफाई पेश गर्ने प्रतिरक्षा गर्ने मौका नै प्रदान नगरी सजाय गरेको छ । विपक्षी निगमको मिति ०३९।८।२९ को पत्र र विपक्षी संचालक समितिको ०३९।८।१५ को निर्णय बमोजिम मलाई आघात पुर्याएकोले उक्त निर्णय बदर गरी साविक पदमा सेवा गर्न आदेश जारी गरिपाउँ भन्ने व्यहोराको रिट निवेदकले जिकिर लिएको छ ।
३. यस अदालत सिंलबेञ्चको ०३९।९।३०।६ को पत्र बमोजिम प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार छन् ।
४. निगमले निहित र प्राप्त अधिकारको प्रयोग गरी निगमको हित प्रतिकूल खराव आचरण भएको कर्मचारीलाई विभागीय कारवाई गर्न वि.प्र.वि.ले कानुन बमोजिम लेखेको आधारबाट विभागीय कारवाई सजाय, गरी निगमको सेवाबाट हटाएकोमा सेवाबाट हटाउने कामले सम्पत्ति आर्जन र भोग गर्ने हकमा आघात पुग्ने वा सम्पत्ति अपहण हुने अवस्थै छैन भन्ने व्यहोराको संचालक समिति र निर्देशक, कर्मचारी व्यवस्था विभाग, शाही नेपाल वायुसेवा निगमको संयुक्त लिखितजवाफ रहेछ ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक यादव लामिछानेको वारेस शेषनाथ गौतमलाई ३ पटकसम्म पुकार गर्दा बेञ्च समक्ष उपस्थित नभएको ।
६. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
७. यसमा यादव लामिछानेले पेश गरेको स्पष्टीकरण र सम्बन्धित कागजात सञ्चालक समिति समक्ष पेश भई सो उपर विचार हुँदा समितिलाई तपाईको स्पष्टीकरण सन्तोषजनक नलागेकोले शा.ने.वा.नि.कर्मचारी सेवा नियमावली, २०३१ को नियम ११.३.५ अनुसार मिति ०३९।८।१५ गतेको संचालक समितिको निर्णय बमोजिम शा.ने.वा.नि.को सेवाबाट भविष्यमा अयोग्य नठहरिने गरी निवेदक यादव लामिछानेलाई सेवाबाट हटाइएको भन्ने शाही नेपाल वायु सेवा निगम, कर्मचारी व्यवस्था विभाग काठमाडौंको मिति ०३९।८।२९ को पत्रमा उल्लेख भएको पाइन्छ ।
८. शा.ने.वा.नि.कर्मचारी सेवा नियमावली, २०३१ को नियम ११.३.५ अनुसार बर्खास्त गर्न सकिने व्यवस्था गरेको र निगमले निर्देशकलाई ०३९।४।१४ मा किन बर्खास्त नगर्ने भनी स्पष्टीकरण माग गरेको नियम ११.४.१ ले सञ्चालक समितिले सजाय दिन सक्ने व्यवस्था गरेको छ । अधिकृत तहका नियुक्तिको अधिकारी सञ्चालक समिति नै भएकोले नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ ले बर्खास्त गर्ने अधिकार समेत सञ्चालक समितिलाई छ । शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा ७ ले पनि संचालक समिति समर्थवान छ । त्यसको अतिरिक्त ०३९।८।२९ को पत्र कर्मचारी व्यवस्था विभागबाट नै जारी भएको हो भन्ने कुरा संचालक समिति समेतको लिखितजवाफमा उल्लेख गरेको पाइन्छ । यसरी निवेदक यादव लामिछानेलाई सञ्चालक समितिले मिति ०३९।८।१५ को निर्णय बमोजिम शाही नेपाल वायु सेवा निगमको सेवाबाट हटाएकोमा कुनै कानुनी त्रुटि नदेखिँदा प्रस्तुत निवेदन पत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल आश्विन २९ गते रोज २ शुभम् ।