शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०५० - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०५०   ने.का.प. २०४१           अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको रिट नं. १५०४

विषय : उत्प्रेषण

निवेदक : सप्तरी राजविराज न.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च अनिस अन्सारी

विरुद्ध

विपक्षी : ऐ.ऐ. वार्ड नं. १ बस्ने भिखमचन्द जैन

निर्वाचन विशेष अदालत, सप्तरी जिल्ला अदालत

सप्तरी जि.अ. का. न्यायाधीश श्री दिपेन्द्र उपाध्याय

आदेश भएको मिति : २०४१।७।१९।१ मा

§  निर्वाचन विशेष अदालतमा उजूर गरेकोमा निर्वाचन विशेष अदालतले सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर रिट निवेदन पत्र परेको सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाट : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्र्रेषणको आदेश जारी गरी विपक्षी सप्तरी निर्वाचन विशेष अदालतको मिति २०४०।५।९ को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन यस अदालतमा २०४०।६।४।३ मा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।

          २.  सप्तरी जिल्ला अन्तर्गत राजविराज न.पं.को प्रधानपञ्चको २०३९।१।२८ मा निर्वाचन हुने भनी सूचना प्रकाशित हुँदा प्रत्यर्थी भिखमचन्द जैनले प्रधानपञ्चको पदमा उम्मेदवारको दर्खास्त प्रस्तुत भएको थियो । म निवेदकको साथै धर्मदत्त कोइराला समेत जवान आठ उम्मेदवार भएकोमा धर्मदत्त कोइराला समेत ४ जनाले प्रत्यर्थी भिखमचन्द जैनलाई उम्मेदवार हुने योग्यता नपुगेको भनी सहायक निर्वाचन अधिकृत श्री रामप्रसाद खतिवडा समक्ष उजूर दिनु भयो । निज प्रत्यर्थी भिखमचन्द जैन नगरपञ्चायतमा व्यक्तिगत स्वार्थ भएको व्यक्ति हुनुभएको आधारमा निजको नाम उम्मेदवारको सूचीबाट २०३९।१।२१ मा हटाइयो । निजले निर्वाचन स्थगित गराउन अन्तरिम आदेश समेतको माग गरेकोमा सर्वोच्च अदालतबाट निवेदकको माग बमोजिम निर्वाचन सम्पन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी गर्ने अवस्था देखिएन नियम बमेजिम गर्नु भनी ०३९।१।२७ मा आदेश भयो । मिति ०३९।१।२८ गते निर्वाचन यथावत सम्पन्न भई म निवेदक निर्वाचित भई २०३९।१।३० गते रीतपूर्वक घोषणा भयो । प्रत्यर्थी भिखमचन्द जैनले म प्रधानपञ्चमा विजयी भएको निर्वाचन बदर गरिपाउँ भनी निर्वाचन विशेष अदालत सप्तरी समक्ष २०३९।२।१९ मा उजूरी दर्ता गराउनु भयो र निर्वाचन विशेष अदालतले २०३९।५।९ मा प्रधानपञ्च पदको निर्वाचन बदर गर्ने फैसला गर्‍यो । प्रत्यर्थी भिखमचन्द जैनको उजूरी पत्र हेरिएमा सो निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १५ (१)(ख) बमोजिमको नभएको देखिन्छ । प्रत्यर्थी जैनले आफ्नो दर्खास्त सदर नभएकोबाट प्रधानपञ्चको पदको लागि भएको निर्वाचनको नतिजामा के कति र कुन कुराको तथ्य र कारणले फरक हुन गयो भन्ने तथ्यको उच्चारण सम्म पनि गर्न नसकेकोबाट फिराद खारेज हुनु पर्नेमा खारेज नगरेको कानुनले मिलेन ।

          ३.  स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को दफा ३० को उपदफा (२) को अनुसरणमा जारी भएको स्थानीय पञ्चायत (सदस्य निर्वाचन) निर्देशिका, २०३८ को दफा १० को खण्ड (ग) अन्तर्गत निर्वाचन अधिकृतबाट सहायक निर्वाचन अधिकृतको नियुक्ति भएको र सहायक अधिकृत रामप्रसाद खतिवडाले गराएको नगरपञ्चायत सम्बन्धी निर्वाचन पूर्णरुपेण अधिकृत र वैध छ । निर्वाचन बदर हुने काम कारवाही गर्ने व्यक्तिहरूको पूरा नाम वतन र निजले गरेको अपराधको किसिमको स्पष्ट रुपमा फैसलामा उल्लेख गर्नु पर्ने कुरा निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १४(४) ले दिएको दिगदर्शनको परिकल्पना विपक्षी अदालतबाट भएको छैन । सर्वोच्च अदालतबाट भिखमचन्द जैनको रिट निवेदनमा उक्त निर्णय प्राकृतिक न्यायको सिद्धान्त बिपरीत ठहरेको भए तापनि सम्मानित अदालतबाट पुनः कानुन बमोजिम निर्णय गर्ने भनी परमादेशको रिट जारी भएको सन्दर्भमा उक्त गैरकानुनी तवरले जग्गा दर्ता गराएको केश मालपोत कार्यालयमा आज पनि विचाराधीन छ । नगरपञ्चायतसँगको अचल सम्पत्ति सम्बन्धी व्यवहारमा निज भिखम चन्दको निजी स्वार्थ रहेको छ भन्ने कुरा तथ्यले पुष्टि गरिरहेको छ । नगरपञ्चायतसँगको अचल सम्पत्ति सम्बन्धी व्यवहारमा निजी स्वार्थ भएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने तथ्य नगरपञ्चायत ऐन, २०१९को दफा १०(ख) ले परिलक्षित गरिरहेको छ । त्यसकारण सहायक निर्वाचन अधिकृतले गरेको निर्णय कानुनसंगत भएकोमा विपक्षी निर्वाचन विशेष अदालतको त्रुटिपूर्ण निर्णय एवं कारवाहीबाट मौलिक हक समेत कुण्ठित भएको र कानुनी हक समेत अवरुद्ध भएकोले उत्प्रेषणको आदेश जारी गरी सप्तरी निर्वाचन विशेष अदालतबाट ०४०।५।९ मा भएको निर्णय बदर गरिपाउँ साथै सप्तरी निर्वाचन विशेष अदालतको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी निर्वाचन आयोग तथा सम्बन्धित कार्यालयलाई अन्तरिम आदेश जारी गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ ।

          ४.  विपक्षीहरूद्वारा लिखितजवाफ आएपछि पेश गर्नु र यो रिट निवेदनको टुंगो नलागेसम्म निर्वाचन विशेष अदालतले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनुको लागि अन्तरिम आदेश किन जारि हुनु नपर्ने हो उपस्थित हुन सूचना दिनु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४०।६।१४।६ को आदेश रहेछ ।

          ५.  कानुनवाट प्राप्त कुनै व्यक्तिको अधिकार कानुनद्वारा निर्धारित प्रकृया पुरा गरी सो अधिकार उपयोग गर्नबाट बंचित गर्नु पर्ने सो बमोजिम अनाधिकार पदाधिकारी सहायक निर्वाचन अधिकृतले गरेको निर्णय बदरभागी हुने हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने निर्वाचन विशेष अदालत सप्तरी जिल्ला अदालतको लिखितजवाफ रहेछ ।

          ६.  निर्वाचन विशेष अदालतको ०४०।५।९ को निर्णयमा कुनै पनि कानुनी त्रुटि नहुँदा र सो निर्णयले निवेदकको कानुनी हक अवरुद्ध नभएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश लगायत कुनै पनि आदेश जारी हुनु पर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको भिखमचन्द जैनको लिखितजवाफ रहेछ ।

          ७.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको वारेस यमबहादुरलाई ३ पटकसम्म पुकार गर्दा बेञ्च समक्ष उपस्थित नभएको र विपक्षी भिखमचन्द जैनको वा.तिर्थ डंगोललाई रोहवरमा राखी रिट निवेदकको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री हरिहर दाहालको र विपक्षी भिखमचन्द जैनको तर्फबाट विद्वान वरिठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विपक्षी अदालतको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस जिकिर समेत सुनियो ।

          ८.  प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

          ९.  यसमा निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १४(१)(ख) बमोजिम सम्बन्धित प्रधानपञ्च पदको उम्मेदवार भिखमचन्द्र जैनले निर्वाचन विशेष अदालत सप्तरीमा उजुर गरेकोमा निर्वाचन विशेष अदालतले मिति २०३९।१।२८ मा सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर प्रस्तुत रिट निवेदन पत्र परेको देखिन्छ भिखमचन्द जैन सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन्न मिल्दैन । अधिकार प्राप्त निर्वाचन विशेष अदालत सप्तरीले के कस्तो अधिकार कुन व्यक्तिलाई छ त्यसको विवेचना गरी गरेको निर्णयलाई त्रुटिपूर्ण छ भन्न नमिल्ने हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल श्रावण १० गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु