शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०५९ - कर्तव्य ज्यान ।

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०५९    ने.का.प. २०४१             अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ३५१

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : सहदेवको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्ष/प्रतिवादी : दोलखा जिल्ला सुरा गा.पं. वार्ड नं. ७ बस्ने जयराम पोख्रेल समेत

फैसला भएको मिति : २०४१।७।१४।३ मा

§  निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने ।

(प्रकरण नं. २८)

पुनरावेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान व.अधिवक्ता श्री मोहनकृष्ण खरेल र विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.   मेरो छोरा जयरामको श्रीमती बुहारी ०३६।११।२७ गते बेलुका सुतेको ऐ. २८ गते विहान घरमा नभएकोले खोजतलास गर्दा बुहारी फणीन्द्रकुमारीको पत्ता नलागेकोले ०३६।१२।१ गते विहान खोज्दै जाँदा भोटेकोशीको किनाराको ढुङ्गामा निजले ओढ्ने ढाकाको खास्टो र कपालमा लाउने धागो फेला परेकोले बुहारी फेला नपरेको हुँदा खोज तलास गरिपाउँ भनी जनकराजले हुलाकद्वारा पठाएको जाहेरी दर्खास्त ।

          ३.   मेरो भिन्द बसेका भाइ जयरामको श्रीमतीको लास सुरी गा.पं. वा नं. ९ मा पर्ने भोटेकोशीको किनारमा फेला परेको भन्ने सहदेव पोखरेलको जाहेरी दर्खास्त ।

          ४.   मृतक फणिन्द्रकुमारीको लासको दुवैपट्टि दाँतले जिब्रो टोकिएको, धेरै भागमा निलो रगत जमेको देखिएको भन्ने लासप्रकृति मुचुल्का ।

          ५.  ०३६।१२।१३ मा लास भेट्दा लोकराज आचार्य र मृतक फणिन्द्रकुमारीको दाजु बद्री समेतले भेटेछन् । गा.पं.स.कर्णबहादुरले खबर गर्दा म समेत लास भएको ठाउँमा गाई लास राखी जाहेर गर्न आएको छु । निजलाई कर्तव्य गरी मारेको जस्तो लाग्दैन मृतक मेरो भाइ बुहारी हुन भन्ने जाहेरवाला सहदेवको कागज ।

          ६.   ०३६।११।२४ गते बेलुका मेरो गोडामा चिल्लो लगाउन श्रीमती फणिन्द्रकुमारी आएकी थिइन्, गोडामा माटो लागेको छ लगाउन पर्दैन भनी दिईन केही भन्न मन भयो, ‘म सुत्केरी हुनेछु भनी गाउँमा हल्ला गरी १० महीनापछि नछुने भई गाउँमा के मुख देखाउनु भन्ने कुरामै आजदेखि मसँग सुत्नु पर्दैन भनी सो दिनदेखि मेरो श्रीमती बाहिर कोठामा सुतिन्, २७ गते बेलुका सुतेको बिहान हेर्दा कतै पत्ता लागेन ०३६।१२।१ गते बाबु जनकराजले मेरो श्रीमतीले ओढ्ने गरेको बर्को र कपालको धागो भोटेकोशी किनाराको ढुङ्गोमा फेला परी ल्याउनु भएछ, मेरो श्रीमतीलाई मैले कर्तव्य गरी मारेको होइन, आफैं हामफाली आत्महत्या गरेकी होलिन् भन्ने समेतको प्र.जयरामले प्रहरीमा गरेको बयान ।

          ७.  बुहारी फणिन्द्रकुमारी र छोरा ०३६।११।२७ गते भात खाई कोठामा सुत्न गएको हुन्, मेरो श्रीमती भविष्यकुमारी सुत्केरी कुर्न जेठो छोराका घरमा गएकी, छोरी दुर्गादेवी गोठमा गएकी थिईन्, म भुईंतलामा सुतें, बुहारी कुन बेला उठेर कता गई थाहा भएन, खोजी गर्दा फेला परेन, सुरी देभान भोटेकोशीको किनाराको ढुङ्गोमा बुहारीको ओढ्ने र कपालको धागो ०३६।१२।१ गते भेटिएको हुँदा घरमा ली राखी खोजी गर्दा ०३६।१२।३ गते दर्खास्त दिएको हुँ, ऐ. १३ गते बिहान भोटेकोशीको किनार भंगालोमा लास बुहारीकै दाजु समेतले भेटी खबर पाएको हुँदा रुंगालो बसी माइलो छोरा सहदेवले जाहेर गरेको हो । बुहारीलाई म समेतले कर्तव्य गरी मारेको होइन आफैं हामफाली मरेको होला भन्ने व्यहोराको प्र.जनकराजको बयान ।

          ८.   ०३६।११।२७ गते म गोठमा सुतेको छु, बुहारी हराएको कुरा २८ गते बिहान थाहा पाएको हुँ, मैले कर्तव्य गरी मारे मराएको होइन भन्ने प्र.दुर्गादेवीको कागज ।

          ९.   पोखरेल बाजेको कान्छा बुहारी फाल्गुणको १।२ दिन बाँकी छँदा विहान सुरी दोभाननिर गएको मैले बाटोमा भेटेको हुँ, बुहारी हराई भनी खोजी हिडेको भनी पोखरेल बाजेले भनेको हुँदा मैले सो कुरा निजलाई भनेको हुँ भन्ने समेत हर्कबहादुरको प्रहरीमा भएको बयान ।

          १०.  ०३६।१२।१३ गते विहान माछा मार्न भोटेकोशीको पुलनेर जाँदा भंगालोमा लास देखेकोले खबर पठाएको थिएँ, त्यसपछि सुरी बस्ने लोकराज समेतले देखी झिकी दिनुपर्‍यो भनी निजले र बुर्लुङको बाजे समेतले भनको हुँदा रोडमा काम गर्ने वीरबहादुर तामाङलाई बोलाई मृतकको लाशको नारीमा डोरी सुरकनी पारी तानी राखेको हो भन्ने दुधेलामाको प्रहरीमा भएको कागज ।

          ११.  म रोडमा कुल्ली काम गर्दै थिए बद्री बाउनले पुलमुनिबाट बोलाएको हुँदा गई भंगालमा आइमाइको लास रहेछ झिकी दिनुपर्‍यो, यो मेरो बहिनीको लास हो, भनेकोले म र दुधेलामा भई डोरी सुर्कना परी तानी लास किनारमा राखेको हो भन्ने विरवहादुर तामाङको प्रहरीमा भएको बयान ।

          १२.  ०३६।१२।१३ गते भोर्ले पुलमुनि जनकराजको बुहारीको लास फेला पर्‍यो भनी पञ्चायतले खबर गरेकोले आई हेर्दा लासमा चोट पटक देखियो फालहालेर मरेकोमा निजको यस्तो लास देखिँदैन तसर्थ कर्तव्य ठहर्छ जनकराज निजको श्रीमती मृतकको लोग्ने समेत भई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत बलबहादुर खड्का समेत सरजमीनका मानिसको सरजमीन मुचुल्का ।

          १३.  मिति ०३६।१२।१६ को लासप्रकृति मुचुल्का ।

          १४.  मृतक फणिन्द्रकुमारलाई अभियुक्त जयराम, जनकराज, भविष्यकुमारी र दुर्गा समेतका सहमतबाट कर्तव्य गरी मारकै सो सिद्ध हुन आएको हुँदा अभियुक्तहरूले मुलुकी ऐन ज्यान सम्बन्धीको महल अनुसार अपराध गरेकै देखिन आएको र पक्राउमा परेको जनकराजकै छोरा शंकरदेवलाई सरजमीनका व्यक्तिहरूले कसैले पनि निजलाई शंकासम्म पनि नदेखाएकोले हाजिर जमानीमा छाडिएको छ र अभियुक्त जयरामकै चोटबाट मृतक फणिन्द्रकुमारीको मृत्यु भएको भन्ने बुझिएको अनुससन्धानको सिलसिलबाट देखिन आएको हुनाले निज उपर ज्यान सम्बन्धी महलको दफा १३(३) को सजायको माग दावी र अभियुक्त जनकराज, दुर्गादेवी शर्माले मौकामा उठेको रिस थाम्न नसकी मार्नमा सहमत सम्म भएको देखिनाले मार्नेमा सहयोग पारी दिएको हुँदा निजहरू उपर ज्यान सम्बन्धी महलको दफा १७ को देहाय २ अनुसार सजाय हुन र हाल फरार भइरहेको भविष्यकुमारी उपर फेला परेका बखत सोही जनकराज दुर्गादेवीलाई माग दावी गरिएको सजाय अनुसार माग दावी गर्दै पर्न आएको प्रहरी प्रतिवेदन ।

          १५.  मर्ने फणिन्द्रकुमारी मेरो भाइ बुहारी हुन् निज ०३६।११।२८ गते बिहान हराएको कुरा सुनेको हुँ सो रात म गोठमा सुतेको थिएँ, घरमा के भयो मलाई थाहा छैन । हुलिया दर्खास्त बाबु जनकराजले र लास फेला परेपछि दाजु सहदेवले जाहेरी दिएको होला । लासप्रकृति मुचुल्कामा नबसे पनि लासलाई मैले देखेको हुँ । लासमा घाउ खत निलडाम देखेको हुँ । बद्री भन्ने खड्गप्रसादले म समेत उपर किन दोष लगाए म भन्न सक्तिन, निज उपर रिसइवी थिएन । लोकराजले म, बाबु जनकराज, भाइ जयराम समेत उपर किन दोष लगाए, सरजमीनका मानिस शिवबहादुर समेतले किन पोल गरे, बुहारी फणिन्द्रकुारीलाई म समेत भई कर्तव्य गरी मारेको छैन भन्ने समेत व्यहोराको प्र.दुर्गादेवीले अदालतमा गरेको बयान ।

          १६.  मृतक बुहारी ०३६।११।२८ गते वेपत्ता भएकोले खोजी गर्दा फेला नपरेको र खोजीको सिलसिलामा ०३५।१२।१ का दिन बुहारीले लगाउने गरेको धागो र खास्टो कोशीको किनारामा फेला परेकोले नदीमा हामफाली मरिछन् भनी हुलिया दिएको पछि ०३६।१२।१३ गते बुहारी फणिन्द्रकुमारीको लास भोर्लेको पुलनिर लास फेला पर्‍यो लासप्रकृति मुचुल्का हुँदा म रोहवरमा बसको हुँ । लासको शरीरमा कसरी घाउ चोट र भाँचिनु मर्किनु कसरी परे, म भन्न सक्तिन, कर्तव्य गरी मारे मरे जस्तो लाग्दैन बद्री भन्ने खड्गप्रसादले आफ्नो चेलीबेटी मरेको पिरले म उपर कर्तव्य गरी मार्नेमा दोष लगाएको हो मेरो परिवार उपर निजको केही रिसइवी छैन । लोकराज माइती पक्षको मानिस हुँदा शंका गरका हुन्, प्रहरीमा मैले गरेको बयान स्वइच्छाबाट भएको हो । सरजमीनका शिबबहादुर समतेका मानिसले म, मेरो छोरा जयराम, श्रीमती भविष्यकुमारी, छोरी दुर्गा समेत उपर किन शंका गरे निजहरू मृतक पक्षका मानिस भएकोले शंका गरेको हो, मैले र मेरो परिवार समेत मिली कर्तव्य गरी मारी लुकाई नदीमा ली फालेको होइन बुहारीलाई मार्नु पर्ने इवी छैन भन्ने समेत व्यहोराको प्र.जनकराजको बयान ।

          १७.  मृतक फणिन्द्रकुमारी मेरो श्रीमती हुन्, निजबाट जायजन्म भएको थिएन । म विद्यालयमा पढ्थेँ, ०३६।११।२० मा म घर आएँ श्रीमती घरै थिइन, ०३६।११।२४ सम्म हामीहरूको सहवास भएको थियो, २४ गतेकै राति छोरा पाउँछु भनी झुक्याई नपाएकोले निजको र मेरो भनाभन भएको थियो कुटपीट गरिन । निज म भन्दा ५ वर्ष जेठी र म पढ्ने विद्यार्थी हुँदा छोराछोरी नपाएको जाति नै थियो । ०३६।११।२५ देखि निजसँग मेरो बोलचाल भएन, २७ गते रातिसम्म घरमै थिइन । ०३६।११।२८ गते विहान घरमा नभएकोले गोठ माइती नातागोता कहाँ पनि खोजी गर्दा भेटिएन हराएकोले जोहर गर्नु पर्‍यो भनी चरिकोट आउँदा मेरो बाबु जनकराजले ०३६।१२।१ मा मृतकले लाउने गरेको धागो र खास्टो भोटे कोशीको किनारमा फेला पारी सो व्यहोरा खोली जाहेर गर्नुभएछ । लासप्रकृति मुचुल्कामा भएको व्यहोरा ठीक छ कसरी चोट लाग्यो मैले जानिन, हातको चुरा किन फुटेन, सब परिक्षणमा उल्लेख भएको योनीमा ५ इन्च घाउ हात र मुन्टो भाचिएको, जिब्रो टोकिएको विवरण सम्बन्धमा कसरी पर्‍यो म भन्न सक्तिन, खड्कप्रसादले किन दोष लगाए, लोकराजले किन कर्तव्य देखाए म जान्दिन निजसँग मेरो रिसइवी छैन । प्रहरीमा गरेको मेरो बयान स्वइच्छाले गरेको हो । सरजमीनका शिवबहादुर, कनकबहादुर लगायतका व्यक्तिहरूले म समेतलाई कर्तव्य गर्नेमा किन शंका गरे मलाई थाहा छैन म समेत भई मेरो श्रीमतीलाई कर्तव्य गरी मार्नु पर्ने कुनै कारण छैन । मलाई फँसाउन ससुराली पक्षका मानिसले झुठ्ठा लान्छना लगाएको मात्र हो भन्ने समेत व्यहोराको प्र.जयरामको अदालतमा भएको बयान ।

          १८.  मृतक फणिन्द्रकुमारी मेरो कान्छी बुहारी हुन्, निज ०३६।११।२७ गते लोग्ने जनकराज छोरा जयराम, र बुहारी फणिन्द्रकुमारी जना ४ ले खाना खाई म जेठो छोराको घरमा निजको श्रीमती सुत्केरी भएकोले रुगालो गर्न गएँ, घरमा लोग्ने जनकराज, छोरा जयराम बुहारीमात्र थिए र फाल्गुण २८ गते विहान घरमा आउँदा ढोका हुलेको मात्र रहेछ । मैले ठेल्दा ढोका उघ्रियो लोग्ने जनकराज भुईं तलामा र छोरा कोठामा सुतिरहेका रहेछन् । छोरा र बुहारी एउटै कोठामा सुत्ने गर्थे, म विहान जाँदा छोरा जयराम मेरो ओछ्यानमा सुतेको रहेछ । लोग्ने जनकराजसँग सोद्धा गोठमा जान्छु भन्थी गोठमा गई की थाहा पाइन भन्नु भो । कहाँ गई थाहा भएन भनी छोरा जयरामले भने, माइत गई की भनी लोग्ने जनकराज बुलुङमा जानुभयो बुहारीको पत्तो लागेन, नाउँ नजानेको घर्तिले कोशीतिर ४ दिन अघि भएको भेटेको भनी छोरा सहदेवलाई भनेकोले कोशी निर खोजी गर्दै जाँदा ०३६।१२।१ का दिन बुहारीले लाउने गरेको धागो र खास्टो फेला परेछ, अनि लोग्ने जनकराजले हुलिया पठाउनु भएको हो । ०३६।१२।१३ मा कोशीको भोर्ले मुनतिर लास भेटिएपछि छोरा सहदेवले जाहेरी दर्खास्त दिएका हुन् लासप्रकृति मुचुल्कामा उल्लिखित निलडाम चोटपटक कसो गरी लाग्यो, हातमा भएको चुरा किन फुटेन म भन्न सक्तिन, मृतकको दाजु बद्री भन्ने खड्गप्रसादले म समेत उपर कर्तव्य गरी मार्ने भनी किन दोष लगाए, लोकराज पनि माइती पक्षका मानिस हुँदा दोष लगाएको हो, सरजमीनका बलबहादुर माथवरसिंह, पदमबहादुर, तुलबहादुर, शिवबहादुर र कनकबहादुर समेतका व्यक्तिले त्यसै रिसले म उपर दोष लगाएको हो, म समेत मिली बुहारीलाई कर्तव्य गरी मारी लुकाई नदीमा फ्यालेको छैन म निर्दोष हुँ भन्ने समेत व्यहोराको प्र.भविष्यकुमारीले अदालतमा गरेको बयान ।

          १९.  सरजमीनका केही मानिसहरूले मृतक फणिन्द्रकुमारीलाई प्रतिवादीहरूले मारेको शंका लाग्दैन, निज आफैं आत्महत्या गरी मरेका हुन् भन्ने र धेरै जसो व्यक्तिले मृतकलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको विभिन्न व्यक्तिहरूले अदालतमा गरेको बकपत्र ।

          २०.  ०३६।१२।२६ गते बेलुका ६ बजे पुग्दा सही गरी जानुस् भनेकाले पढी बाँची नसुनाई सरजमीनमा सही गरी दिएको हुँ, ०३६।१२।१२ गते चरिकोट जाने काम भएकोले उज्यालो भयो होला भनी हिंड्दा रातको ३।४ बजेतिर मुलबाटोमा प्र.जनकराज अघि अघि लठ्ठी टेकी हिंड्ने प्र.जयराम थुन्छे बोकी पछि पछि थियो । थुन्छेलाई कालो कपडाले छोपेको थियो । कोशीतिर लगी लास फ्याँकेको जूनको उज्यालो हुँदा देखेको हुँ । त्यसपछि थुन्छे बोकी फर्के निजहरूलाई प्रष्ट चिनेको हुँ, भन्ने समेत गोविन्दराज आचार्यले अदालतमा गरेको बयान ।

          २१.  प्रतिवादी दुर्गादेवी र भविष्यकुमारीले सफाई पाउने, प्र.जयरामलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्व सहित जन्मकैद हुने र प्र.जनकराजलाई ऐ. को १७(३) नं. अनुसार १ वर्षको कैद हुने ठहर्छ भन्ने समेत दोलखा जिल्ला अदालतको ०३८।१२।८ को फैसला ।

          २२.  उक्त फैसलामा चित्त बुझेन, सो फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत प्र.जयराम र प्र.जनकराज पोखरेलको छुट्टाछुट्टै पुनरावेदन ।

          २३.  दावी समर्थन हुने तथ्ययुक्त र पर्याप्त सबूत प्रमाणको अभावमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने हुँदा प्र.जयरामलाई ज्यान सम्बन्धी १३(३) नं. बमोजिम र प्र.जनक राजलाई ऐ. १७(३) नं. बमोजिम सजाय गरेको दोलखा जि.अ.को फैसला उल्टी भई निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४०।१।२५ को फैसला ।

          २४. प्रतिवादीहरूलाई सफाई दिने गरेको उक्त फैसला चित्त बुझेन भन्ने समेत वा दोश्रो श्री ५ को सरकारको पुनरावेदन ।

          २५. लास प्रकृति मुचुल्काबाट कर्तव्य देखिन आएको, सरजमीनका अधिकांश व्यक्तिले प्रतिवादी उपर शंका देखाएको र गोविन्दराज आचार्यले लाश लगेको देखेको भनी अदालतमा बयान गरेको समेतबाट सफाई दिने गरेको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी वादीलाई छलफलको लागि झिकाई पेश गर्नु भन्ने यस अदालतको आदेश ।

          २६.  पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले मृतक फणिन्द्रकुमारीको लासको प्रकृति हेर्दा कर्तव्यबाट मृत्यु भएको देखिन्छ । छोरा पाउँछु भनी नपाएकोले मृतकसँग निजको लोग्ने प्र.जयरामको झगडा परेको भन्ने कुरा अभियुक्तकै बयानबाट देखिन्छ । सरजमीनका व्यक्तिहरूले पनि प्रतिवादीहरूकै कर्तव्य देखाएका छन्, तसर्थ सफाई दिएको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण छ भन्ने समेत र विपक्षी प्रतिवादीहरूका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल र विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले लासको प्रकृति हेर्दा पानीमा डुबी मरेको देखिन्छ भनी मोदीको मेडिकल जुरिस्प्रुडेन्समा उल्लेख भएको कुरा प्रस्तुत गर्नु भयो । कर्तव्यबाटै मरेको भए पनि यी प्रतिवादीहरूले नै कर्तव्य गरेको भन्ने केवल शंकको आधार बाहेक कुनै ठोस सबूत प्रमाण पेश दाखिल नभएकोले गर्दा सफाई दिने गरेको म.क्षे.अ.को फैसला कानुन अनुरुप छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

          २७. प्रस्तुत मुद्दामा म.क्षे.अ.को निर्णय मनासिव वा बेमनासिव केरहेछ सोकुरामा निर्णय दिनुपरेको छ ।

          २८.  निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादीहरू आरोपित कसूर गरेमा प्रहरी तथा अदालत समक्ष समेत इन्कार रही बयान गरेको देखिन्छ । सरजमीनका व्यक्तिहरूले पनि यिनै प्रतिवादीहरूले यो यस किसिमबाट कर्तव्य गरी मृतक फणिन्द्रकुमारीको हत्या गरेको र मार्न संयोग पारिदिएको भनी किटानीसाथ लेखाउन नसकी केवल शंकासम्म व्यक्त गरेको देखिन्छ । फौजदारी न्यायको सिद्धान्त बमोजिम शंकाको सुविधा अभियुक्तले नै पाउने हुन्छ । गोविन्दराज आचार्यले अदालतमा आई बकपत्र गर्दा ०३६।१२।१२ गते प्र.जयराम र जनकराज पोखरेलले लास खोलामा फालेको देखेको भन्ने उल्लेख गरेको छ तर निजले यो कुरा अघि सरजमीनको आफ्नो व्यहोरामा लेखाउन समेत नसकेको र अदालतमा आएर बकपत्र गर्नुभन्दा अघि सो कुरा अन्यत्र कहीँ कसैसँग पनि व्यक्त गर्न सकेको नदेखिँदा निजको भनाई विश्वास लायक देखिन आएन । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण उल्लेख गर्न सकेको छैन । मृतक फणिन्द्रकुमारीलाई यिनै प्रतिवादीहरूले कर्तव्य गरी मारेको र मार्न संयोग पारी दिएको भन्ने दावी शंकारहित तवरबाट प्रमाणित हुने किसिमको कुनै पनि तथ्ययुक्त ठोस सबूत प्रमाण पेश दाखिल हुन सकेको छैन । निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने हुँदा प्रतिवादी जयराम पोखरेल र प्रतिवादी जनकराज पोखरेललाई प्रहरी प्रतिवेदन दावी बमोजिमको अभियोगबाट सफाई दिने गरेको म. क्षे.अ.को निर्णय मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल कार्तिक १४ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु