निर्णय नं. २०६३ - उ

निर्णय नं. २०६३ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको रिट नं. १४०१
विषय : उत्प्रेषण
निवेदक : का.न.पं. वडा नं. २१ लगन बस्ने बसन्तप्रसाद प्रधान
ऐ वडा नं. २० बस्ने तिर्थ प्रसाद प्रधान
ऐ वडा नं. १३ बस्ने वेद प्रसाद प्रधान
विरुद्ध
विपक्षी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय काठमाडौं
का.न.पं. वडा नं. १५ बस्ने कृष्ण बहादुर खड्का
आदेश भएको मिति : २०४१।७।२९ मा
§ जग्गावालाले रैकरमा परिणत नगराएमा मात्र त्यस्तो जग्गा मोहीका नाउँमा रैकरमा परिणत गर्न सकिने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त श्री राजेन्द्र राज पन्त
उल्लेखित मुद्दा : x
आदेश
न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यस प्रकार रहेछ ।
२. हामी अंशियाराहरूको साविक का.टो.पु.२४८ नं. को पोता लगतमा दर्ता भएको गलको खेत रोपनी ८ को चपली गाउँमा नारान गुठी चलाउन पर्ने जग्गा बुढानिलकण्ठ देखि स्वास्थ्य निवासम्म सडक बनाउँदा ८९ सालको बस्ती देखि उक्त जग्गा मध्ये खेत रोपनी १।८। पर्न गई १९९८ सालका सनद र २०००।६।८ का लालमोहर बमोजिम सो सडकमा परेको विर्ता जग्गाको सट्टा भर्नामा ७२ सालको नम्बरी कालीमाटी देवी सिंह खेत ।६ तथा ७९ सालको नम्बरीमै रोपनीका ४ पट्टि सुखान्गीको हिलेडोल खेत मोही प्रेमराजा पाध्या काठमाडौं हिले खेत ८ मध्ये ।४।६।२।८। दिई गुठी विर्ता जानी भोग चलन गरी सन्तान दरसन्तान भोग गर्नु भन्ने भएको र पछि उक्त जग्गा पोता २२४ नं. कायम भई ०१६ सालमा विर्ता उन्मुलन ऐन अन्तर्गत रैकरमा परिणत गरी हा.नं. ६०८ कायम भई ०१६ सालदेखि कै मालपोत तिरी भोगी आएको उक्त सट्टापट्टा पाएमा देवी सिंह खेतको सर्भे नाप नक्सा हुँदा मोही कृष्णबहादुर भन्ने जनिई निज मोहीले चन्द्रप्रसाद श्रेष्ठ नाउँको विर्ता भन्ने जनाई दिएछन् । उक्त मोहीले चन्द्रप्रसाद प्रधानलाई श्रेष्ठ लेखाई दिए पनि ०३० साल सम्मको मालपोत बुझाई आएको थियो । हामी निवेदकले उक्त जग्गाको लालपूर्जा दिन ०३१।१।५ मा भू.प्र.का.मा निवेदन दिएका थियौँ । उक्त कि.नं. १३९ को जग्गामा विपक्षीले हाम्रो मन्जुरी वेगर कच्ची घर बनाई जग्गाधनीले रैकर परिणत नगरेकोले म मोहीका नाउँमा परिणत गरी भनी ०३७।१०।१२ मा निवेदन दिएछन् । सो निवेदनमा चन्द्रप्रसाद श्रेष्ठाका नाउँमा म्याद जाँदा रैकर परिणत गराइसकेको भनी निवेदन गरेका थियौँ । विर्ता उन्मुलन ऐन, ०१६ र त्यसपछिको संशोधन बमोजिम मोहीको निवेदन अगाडि परेकोले उक्त जग्गा मोही कृष्णबहादुरको नाउँमा रैकर परिणत गरी दिने भनी उठेको टिप्पणींमा विपक्षी अधिकृतले सदर भनी ०३८।६।१६ मा तोक लगाउनु भएछ । हामीले ०३९।१०।२२ मा सो कुरा थाहा पाई यो निवेदन गर्न आएका छौं । हामीले ०२२ सालमा रैकरमा परिणत गरी सकेको जग्गामा मोहीको ०३७ सालको निवेदन अगाडि परेको भनी गरेको निर्णय बदरभागी छ । त्यसमा पनि विवादको जग्गा गुठी भएकोले निजी गुठी विर्ता जग्गा विर्तावारले रैकर परिणत नगराएमा मोहीको दर्खास्त परेमा राजगुठीमा दर्ता गर्नु पर्ने प्रष्ट व्यवस्था छ यस्तो कानुनको वास्तै नराखी मोहीको नाउँमा रैकर परिणत गर्ने ठहराई गुठी धर्मलोप समेत हुने गराई हाम्रो हकमा आघात पुर्याएको हुँदा ०३८।६।१६ को आदेश बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
३. यसमा के कसो भएको हो विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समतेको यस अदालत सिङ्गलबेञ्चको मिति ०३९।१२।७ को आदेश ।
४. कि.नं. १३९ को जग्गा रैकरमा परिणत गराएको सबूत प्रमाण निवेदकले पेश गर्न नसकेकोले कानुन बमोजिम मोहीको नाउँमा रैकर परिणत गरेको भन्ने समेत मालपोत कार्यालय काठमाडौंको लिखितजवाफ ।
५. विपक्षी कृष्णबहादुरको नाउँमा सूचनाजारी भई म्यादभित्र लिखितजवाफ पेश नगरी गुजारी बसेको ।
६. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले जग्गाधनीले रैकरमा परिणत गरी सकेकोमा मोहीको निवेदन अगाडि परेको भनी निर्णय गरेको बदरभागी छ भन्ने समेतको र विपक्षी कार्यालयतर्फबाट खटिई बहस गर्न उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले विवादित जग्गा रैकरमा परिणत गरिसकेको प्रमाण निवेदकबाट आउन नसकेकोले कानुन बमोजिम निर्णय भएको हुँदा रिट खारेज हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
७. प्रस्तुत विषयमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने कुराको निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा विवादको कि.नं. १३९ को जग्गा निवेदकहरूले सट्टा भर्नामा पाएको हो भन्ने कुरामा विवाद देखिँदैन । रिट निवेदकहरू जग्गाधनी भएको उक्त जग्गाको सम्बन्धमा मोही कृष्णबहादुर खड्काले विपक्षी मालपोत कार्यालय काठमाडौंमा मिति ०३७।१०।१२ मा जग्गाधनीले रैकरमा परिणत नगराएकोले मेरो नाउँमा रैकर परिणत गरिपाउँ भनी निवेदन दिएकोमा विपक्षी मालपोत कार्यालयबाट जग्गाधनी बुझ्दा विवादको जग्गा आफ्नो नाउँमा रैकरमा परिणत गरी सकेको भन्ने प्रतिवाद निवेदन गरेको भन्ने कुरा मिसिल संलग्न मालपोत कार्यालय काठमाडौंको ०३८।६।१६ को टिप्पणीं सदर आदेशको प्रतिलिपिबाट देखिन्छ । जग्गाधनीले स्वयं आफैं रैकरमा परिणत गरी सकेको भन्ने प्रतिवाद गर्दा गर्दै विपक्षी कार्यालयबाट मोहीको निवेदन अगाडि परेको मोही कृष्णबहादुरको नाउँमा रैकर परिणत गरी दिने भनी टिप्पणीं सदर गरेको देखिन्छ । मोहीको नाउँमा रैकरमा परिणत कस्तो अवस्थामा गर्न पाइने कानुनी व्यवस्था छ भनी हेर्दा विर्ता उन्मुलन ऐन, २०१६ को दफा ७(४) मा “कसैले उपदफा २ बमोजिम म्यादभित्र ‘ख’ श्रेणीको विर्ता जग्गा सो उपदफा बमोजिम दर्ता नगराएमा सो जग्गा कमाउने मोही भए भूमिकर वा मालपोत असूल गरी निजको नाउँमा जग्गा दर्ता गरिनेछ” भन्ने उल्लेख भएको पाइन्छ । सो उपदफा बमोजिम जग्गावालाले रैकरमा परिणत नगराएमा मात्र त्यस्तो जग्गा मोहीका नाउँमा रैकरमा परिणत गर्न सकिने हुन्छ तर प्रस्तुत विवादमा रिट निवेदकले रैकरमा परिणत गरिसकेको भन्ने प्रतिवाद निवेदन दिएकोमा त्यस सम्बन्धमा केही विचार नगरी मोही कृष्णबहादुरका नाउँमा परिणत रैकर गरी दिएको देखिन्छ । अतः मालपोत कार्यालय काठमाडौंको मिति ०३८।६।१६ को टिप्पणीं सदर आदेश प्रत्यक्ष त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम गरी निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय काठमाडौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल कार्तिक २९ गते रोज शुभम् ।