निर्णय नं. २०६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २०६४ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको रिट नं. १३०३
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : भ.पु.जि.वालकुमारी गा.पं. वडा नं. ८ दिगुली टोल बस्ने गणेशलाल प्रजापति
विरुद्ध
विपक्षी : भक्तपुर भूमिसुधार शाखा भक्तपुर दुधपाटी
भ.पु.जि. ठीमी चपाचा गा.पं. वडा नं. ६ लाछी टोल बस्ने हेरा बहादुर प्रजापती
आदेश भएको मिति : २०४१।५।३१।६ मा
§ एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियार जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री गोपाल प्रसाद भण्डारी
विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे
उल्लेखित मुद्दा : x
आदेश
न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत रिट निवेदन पत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य रिट निवेदन जिकिर यस प्रकार छ : हेराबहादुर प्रजापतिले मालपोत कार्यालयमा दर्ता भएको भ.पु.निलबाराही पं. वडा नं. ९(ग) कि.नं. ४५ को क्षेत्रफल २–२–० र कि.नं. ५० को जग्गा रोपनी १–५–० जग्गा नापी हुँदा वेखालाल प्रजापतीका नाममा जोत कायम भएकोमा निज जोताहा परालोक भई निजको छोरा गणेशलाल प्रजापतीको हक भएको जग्गा निजले ०२७।२।१२ मा भू.प्र.का.बाट मैले राजीनामा गरी लिई मेरो हक भएको हुँदा मृतकका नाम कायम गरी राख्न मनासिव नभई मेरा नाउँमा जोत कायम गरी संशोधन गरिपाउँ मैले पारित गरी दिएको राजीनामा लिखितमा दर्तावाला म भएको जोताहामा वेखालाल प्रजापति जनेको जग्गा मेरो पोतमात्र राजीनामा गरिदिएको जोत विषय कुनै आधारबाट दावी गर्न आएको हो । कुनै सबूत प्रमाण विपक्षीसँग छैन जोताहा मोहीमा वेखालालको नाम हुँदा जोत सम्बन्धी उजूर दावी खारेज गरिपाउँ फिल्डबुकको किसानको व्यहोरामा आफ्नै रैकर भनी लेखिएको ऋणीका बाबु विवादग्रस्त जग्गाको मोही देखिएको मृतक मोहीको एकैमात्र हकदार भई आफैंले पारित गरी हक हस्तान्तरण गरी दिएको सर्भे नापी भएको बखतको तैयारी फिल्डबुकमा किसानको नाम थरमा प्रष्ट गरी वेखालाल प्रजापती उल्लिखित छ सोही कुरालाई स्वीकार गरी मोही वेखालाल नै म पनि जोत छाडी पोतको मात्र राजीनामा गरी विपक्षी लिने म दिने भई लिखत पारित भएकोमा कुनै विवाद छैन । फिल्डबुकको किसानको व्यहारोमा आफ्नै रैकर भनी वेखालालको तर्फबाट लेखिन्छ भन्न त्यसलाई आधार मानी तत्कालिन जग्गाको स्वामित्व निर्भर रहेको म जग्गाधनीलाई कुनै प्रतिकूल असर पार्न होइन भूमि सम्बन्धी ऐन, ०२१ को दफा २(ख) ले विवादास्पद जग्गाको मोही म हुने कुरामा कुनै वाधा अडचन पुर्याउदैन मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ विवादास्पद जग्गाहरू मसँगै छुट्टी अलग भिन्न रही बसेको पिता वेखालाल मोही भएको र सोही व्यहोरा जनाई जोत निजको कायम राखी जग्गाधनीको हैसियतले मैले जग्गा बिक्री गरेपछि कानुन बमोजिम साविक मोहीको ठाउँमा निजका अन्य व्यक्तिले मोहियानी कायम गराई लिन पाउने होइन मृतक मोही मेरा पिता वेखालाल छुट्टी भिन्द भई रहे बसेका बखत पछि आएर जग्गाधनी परिवर्तन हुन्छ भन्न साविक मोहीको ठाउँमा जग्गाधनीले पत्याएको व्यक्ति भू.सु.ऐन, ०२१ को दफा २६ अन्तर्गत मोही हुन कानुनी प्रावधानलाई तिरस्कार गरी गरेको निर्णय त्रुटिपूर्ण छ संविधानको धारा ७१ अन्तर्गत निर्णय बदर गरिपाउँ भन्ने निवेदनको मुख्य निवेदन जिकिर रहेछ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने मिति ०४०।६।१७।२ को सिंगलबेञ्चको आदेश वेखालालको एकमात्र छोरा विपक्षी हुन बाबु आमा दुवै परलोक भएका निजको हकको जग्गा भूमि प्रशासन लागू नहुँदै ०२४।३।१९।२ मा घरसारको राजीनामा दिएकोले मैले जोती भोगी अएको थिएँ घरसारको लिखतमाथि केही रुपैयाँ थपी ०२७ सालमा राजीनामा गरी रजिष्ट्रेशन पास गरी दिनु भएको थियो । मलाई घरसारमा राजीनामा दिनु भन्दा अगावै भूमिसुधार लागू भई सर्भे नापी भएकोले त्यस अवस्थामा मेरो राजीनामाको कि.नं. ४५ र ५० समेतको जग्गा विपक्षीले आफू हस्ते बनी जोतमा मरी सकेका बाबुको लेखाएका सम्म रहेछन् निजले सर्भेमा लेखिए अनुसार फिल्डबुक तथा मोठ बनेकोले सो बखत राजीनामा लिंदा श्रेस्ता अनुसार जोताहाका नाम लेखाउनु पर्ने भएकोले राजीनामा जोताहा विपक्षीका बाबुका नाम लेखिएको हो छोराका नाममा जग्गाधनी बाबुको नाममा जोत लेखिएका भए पनि विपक्षी र निजको बाबुका नाममा जोत लेखिएका भए पनि विपक्षी र निजका बाबु भिन्द नभई एकाघर सगोलका परिवार भएकोले त्यस्तामा जोत पोत अलग हुन नसक्ने भन्ने भू.सं.ऐन, ०२१ का दफा २(ख) ले प्रष्ट गरेको छ भन्ने हेराबहादुर प्रजापतिको लिखितजवाफ ।
४. प्रस्तुत केशमा सर्वप्रथम जग्गाधनी र मोही वेखालाल कायम भएको मिसिल र फिल्डबुकबाट देखिएका जग्गाधनी वेखलाल परलोक भई निजका छोरा विपक्षी गणेशलालले हेराबहादुरलाई जग्गा राजिनामा गरी दिइसकेपछि विवादग्रस्त जग्गाको मोही विपक्षको हक स्वामित्व हुने कुनै ऐनमा व्यवस्था छैन जग्गाधनीले पोत राजीनामा गरी दिई सकेपछि जोताहा पनि स्वतः जाने ऐनमा व्यवस्था छ कुनै ऐनको आधारबाट विपक्षीका जोताहा हक वाकी छ विपक्षले खुलाई लेख्न सकेको छैन आफ्ना कार्यक्षेत्र भित्र रही कानुन बमोजिम भएको हुँदा निवेदन खारेज होस भन्ने भूमिसुधार शाखा भक्तपुरको लिखितजवाफ ।
५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले मेरा पक्ष गणेशलालले हेराबहादुरलाई ०२७ सालमा बिक्री गरेको हेराबहादुरले ०३० सालका जोत कायम गरिपाउँ भनेको छ भन्ने र विपक्षी हेराबहादुर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले एकाघरको बाबु छोरा हुन । आफैं जग्गावाला भएकोले मोही कायम रहन सक्दैन भन्ने र विपक्षी श्री ५ को सरकार तर्फबाट खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले ०२५ सालमा बाबु मरेको देखिन्छ अन्य व्यक्ति मोही नभएको मोहियानी हक निवेदकमा गएको ०२७ सालमा बिक्री गर्दा जोतपोत आफ्नै भनी बिक्री गरेको देखिन्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
६. यसमा निर्णयतर्फ विचार गर्दा विवादको कित्ता जग्गाको मोही निवेदकका बाबु बेखालाल ०२७ साल भन्दा अगावै मरेकोमा विवाद देखिन्न ।
७. विवादको कित्ता जग्गा कि.नं. ४५ र कि.नं. ५० मा जग्गावाला निवेदक गणेशलाल प्रजापती र मोहीमा निजकै बाबु बेखालाल प्रजापती भए पनि खुदै निवेदकको भनाई बमोजिम निजको बाबु बेखालाल ०२५ सालमा परलोक भएकोले बाबु पछि मोहियानी हक समेत निज गणेलालमा आई जोतपोत समेत निजको हुन आएको देखिन्छ ।
८. ०२७।२।१२ मा उपरोक्त कित्ता जग्गा निवेदक गणेशलालले हेराबहादुरलाई राजीनामा बिक्री गरेको पाइन्छ ।
९. आफूले जोतपोत गरेको कित्ता जग्गा बिक्री गरेपछि पोत मात्र बेचेको जोत बेचेको होइन भन्ने स्थिति रहदैन । उसमा पनि उक्त राजीनामा हेर्दा आफ्नो जोत बाँकी राखी पोत मात्र बिक्री गरेको भन्ने शब्द उक्त राजीनामामा परेको देखिन्न ।
१०. निवेदकले रिटनिवेदनपत्र दिँदा बाबुबेखालालसँग छुटीभिन्न भएको जिकिर लिएतापनि निजै गणेश लाल प्रजापतीले भू.सु.का.भक्तपुरमा बयानगर्दा बाबुसँग छुटीभिन्न भएको जिकिर लिनसकेको पाइन्न ।
११. यस्तो अवस्थामा छोरा जग्गावाला र एका सगोलका बाबु मोही भए पनि जग्गावाला र मोहीको तात्पर्यको लागि यी दुई अलग अलग ईकाई (युनिट) हो भन्ने स्थितिको हुँदैन । बेखालालका अन्य छोरा वा पत्नी समेत रहे भएको देखिन्न ।
१२. “मोही” भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा “जग्गावाला” भन्नाले प्रचलित नेपाल कानुन बमोजिम श्री ५ को सरकारमा मालपोत तिर्नु पर्ने गरी आफ्नो नाममा जग्गा दर्ता गरी सो दर्ताका नाताले जग्गामा हक हुने व्यक्ति सम्झनु पर्छ । र सो व्यक्तिले देहायको जग्गाको सम्बन्धमा देहायको व्यक्तिलाई समेत जनाउँछ भनी त्यसको देहाय (३) मा त्यस्तो जग्गावालाको हकवाला र अंशियार भएको नाताले वा त्यस्तो जग्गावालाले कानुन बमोजिम आफ्नो हक छोडी दिएकोले सो जग्गा आफ्नो नाउँमा दर्ता गराउन हक पुगेको व्यक्ति समेतलाई जनाउँछ भनी सोही दफा २ को खण्ड (क) मा लेखिएकोले एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियारको जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन ।
१३. अतएव मृत मोहीको नाम कट्टा गरी जोताहा अद्यावधिक गर्ने ठहराएको भू.सु.का.भक्तपुरको निर्णय त्रुटिपूर्ण देखिई अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको हुँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल भाद्र ३१ गते रोज १ शुभम् ।