निर्णय नं. २०६७ - लिखत पारित

निर्णय नं. २०६७ ने.का.प. २०४१ अङ्क ७
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको दे.पु.नं. ४११
मुद्दा : लिखत पारित
पुनरावेदन/वादी : गण्डकी अञ्चल गोरखा वगुवा गा.पं. वार्ड नं. ९ कसिनचोक बस्ने कृष्णप्रसाद भट्ट
विरुद्ध
विपक्ष/प्रतिवादी : ऐ.ऐ. वार्ड नं. ७ बस्ने चन्द्रकुमारी भट्टको मु.स.गर्ने धर्मप्रसाद भट्ट
फैसला भएको मिति : २०४१।५।२१।५ मा
§ झुक्याई सहीछाप गराएको राजीनामा लिखत पास नहुने ।
(प्रकरण नं. १८)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री सुन्दर लाल चौधरी
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. विपक्षीले मसँग रु.११०००। कर्जा लिई सो बापतमा जि.मु.नन्दप्रसाद जिम्मा ९५ सालको विपक्षीको खसम हरिप्रसादका नाउँमा दर्ता भएको विपक्षीको जिठनी पूर्व धर्मप्रसादको पाखा, पश्चिम धर्मप्रसादको ठाडो आलो खेत, उत्तर काले पौडेलको खेत, दक्षिण साहु मेरै पाखो साँध यति ४ किल्ला भित्रको तिरो रु.४।४० लागेको रैकर अर्चले खेत मुरी ।८ पारित गरी दिने गरी ०३३।४।३।१ मा घरसारमा राजीनामा गरी दिनु भएको म्यादभित्र पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने समेत फिराद पत्र । यो वादी मसँग बसेको बेला अर्चले खेत मुरी ।८ शेषपछिको बकसपत्र गरी दिएको थिएँ । पछि स्याहार सुसारमा वास्ता नगर्दा घर र घरबाससम्म बकस कायम राखी उक्त खेत बकसपत्र बदर गरी आफ्नै हकमा राखेको छु । मैले सो खेत राजीनामा दिएको छैन । के कसरी लिखत खडा गरे सक्कलै देखाएमा खुलाई बयान गर्ने छु भन्ने समेत प्रतिउत्तर पत्र ।
४. २०३२ सालमा वोर्लाङको पाण्डेलाई जग्गा बिक्री गर्न पर्यो साक्षी बसिदिनुपर्यो भन्दा फराममा लेखिएको राजीनामामा नातिले जहाँ भन्छ त्यहाँ औला टाँसी दिएको थिएँ । म छोरा धर्मप्रसादको साथम बसेको हुँदा छोरा साक्षी बस्नुपर्ने भन्ने समेत वा धर्मप्रसादको बयान ।
५. बकसपत्र बदर भएपछि खेतको आवश्यक उचित मोल दिई खाउ भन्दा मलाई खेत लिने इच्छा भई रु.११०००। गोर्खा पोखरी थाक रामबाबुको घरमा बसी राजीनामा लेखी पैसा दिएको हो झुक्याई सही गराएको होइन भन्ने समेत कृष्णप्रसादको बयान ।
६. वादी प्रतिवादीले रामबाबुको घरमा लेनदेन गरिसकेका रहेछन् अस्पतालबाट आउँदा साक्षी बसी दिनुस् भनेकोले पैसा गनेको देखिन व्यवहार साँचो हो भन्ने समेत धर्मप्रसाद पाण्डेको बयान ।
७. वादी प्रतिवादीले मञ्जूरीसाथ लेनदेन गरी राजीनामा गरेकोले साक्षी बसेका हुँ समेत खडानन्द भट्टको बयान ।
८. ०३३।४।३।१ मा वादी प्रतिवादीले राजीनामा लेखी दिनुपर्यो भनेकाले लेखी दिएको हुँ भन्ने समेत रामबाबुको बयान ।
९. मैले वादी नाति कृष्णप्रसादलाई दिएको शेषपछिको बकसपत्र बदर गरे भन्ने रिसले लिदै नलिएको रु.११०००। को राजीनामा खडा गरी झुक्याई सही गराई झुठ्ठा उजूर गरेको हो भन्ने समेत चन्द्रकुमारीको बयान ।
१०. चन्द्रकुमारीलाई झुक्याई सहीछाप गराई लिखत र अन्तरसाक्षी समेत मिली जालसाजबाट खडा गरेको लिखत पारित हुने ठहर्दैन भन्ने समेत गोर्खा जिल्ला अदालतको ०३५।३।१५ को फैसला ।
११. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
१२. लिखत चन्द्रकुमारीले गरेको देखिए पनि सो जग्गामा दिनेको हक पुगेको नदेखिएको राजीनामाको ४ किल्ला र दर्ता उतारको ४ किल्ला नमिलेको, राजीनामामा मोही नं. कि.नं. र मोठ नं. उल्लेख नभएकोले राजीनामा लिखत रजिष्ट्रेशन हुन नसक्ने भई कपाली हुने देखियो । जालसाजी ठहर गरेको गो.जि.अ.को इन्साफ मिलेको नहुँदा उल्टी हुने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको २०३६।४।२८ को फैसला ।
१३. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुवै थरको पुनरावेदन पर्न आएको ।
१४. लिखतमा लागेको प्रतिवादीको ल्याप्चे सहीछाप अस्पष्ट छ भन्ने विशेषज्ञको राय भएकोले यस्ता बेरीतको लिखतको कानुनी मान्यता नहुने हुँदा पास नहुने र जालसाजी तर्फ कारवाही किनारा गर्न नपर्ने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रिय अदालतको ०३९।४।२६ को फैसला ।
१५. उक्त फैसलामा सार्वजनिक महत्वका विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदन परेकोमा सही छाप गरी दिएमा प्रतिवादी सावित भएको र विशेषज्ञलाई साक्षी सरह बुझिएको नहुँदा पू.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५२ र ५४ को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत यस अदालतको ०४०।६।६ को आदेश ।
१६. पुनरावेदक वादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले सहीछाप गरेमा प्रतिवादी सावितैदेखिन्छ, झुक्याई सहिछाप गराएको भन्ने कुनै प्रमाण पेश गर्न सकेको छैन तसर्थ लिखित पारित हुनुपर्छ भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मेरो पक्ष राजीनामामा सही गरेको भनी सावित भएको छैन । साक्षी बसी दिनु पर्यो भनेकाले सही गरेको भनेको छ यसबाट झुक्याई कागज गराएको प्रष्ट देखिन्छ तसर्थ लिखत पारित हुने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो।
१७. अब प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।
१८. निणयतर्फ विचार गर्दा यसमा विवादको मिति ०३३।४।३।१ को राजीनामा लिखतलाई अ.बं.७८ नं. बमोजिम सुनाउँदा प्रतिवादी चन्द्रकुमारी भट्टको वा.धर्मप्रसाद भट्टले लिखतमा सहीछाप गरेको स्वीकार गरी साक्षी बसिदिनु पर्यो भनी झुक्याई सहीछाप गराएको भनी बयान गरेको देखिन्छ । यसरी लिखतमा सहीछाप गरेको कुरालाई प्रतिवादी तर्फबाट स्वीकार गरेपछि त्यस्तो लिखतलाई विशेषज्ञबाट जचाँई रहनु पर्ने अवस्था देखिँदैन । अब वादीले उक्त राजीनामा लिखतमा झुक्याई सहीछाप गराएको हो होइन भन्ने तर्फ विचार गर्दा यही विवादको राजीनामा भित्र परेको अर्चले भन्ने खेत मुरी ।८ पहिले प्रतिवादीले वादीलाई शेषपछिको बकसपत्र गरी दिएको र पछि सो बकसपत्र बदर गरेको भन्ने कुरा प्रतिउत्तर पत्र तथा वादीको बयानबाट समेत देखिन्छ । यसरी एकपटक बकसपत्र दिइसकेको जग्गा बकसपत्र बदर गरेपछि पुन सोही व्यक्तिलाई राजीनामा लेखिदिनु पर्ने अवस्था देखिन आउँदैन । साथै बकसपत्र बदर गरेको रिसबाट राजीनामा खडा गरी झुक्याई सही गराएको हो कि भन्ने आभाष नहुने पनि होइन विवादको लिखत प्रतिवादीको घरमा भएको नभई पोखरी थोक रामबाबुको घरमा भएको देखिन्छ । लिखत भएको बखत प्रतिवादीको उमेर ८० वर्षको देखिन आएकोले यस्तो वृद्धा अवस्थाको व्यक्तिले आफ्नो घर छोडी अन्यत्र गई राजीनामा गरी दिनुपर्ने कुनै कारण देखिँदैन । विवादको मिति ०३३।४।३।१ को राजीनामा लिखत सद्दे व्यवहारबाट भएको भए प्रतिवादीको सँगसाथमा बसेको उमेर पुगेको छोरा धर्मप्रसाद भट्टलाई साक्षी समेत राख्नु पर्नेमा सो गरे भएको नदेखिएकोबाट सो लिखत प्रतिवादीले स्वेच्छाले गरी दिएको देखिन नआई वादी कृष्णप्रसादले राजीनामा खडा गरी झुक्याई सहिछाप गराएको देखिन आउँछ । तसर्थ यस्तो झुक्याई सहीछाप गराएको राजीनामा लिखत पास नहुने ठहर्छ । जालसाजी तर्फ कारवाही किनारा गर्न नपर्ने र लिखत पास नहुने सम्म ठहराएको सम्म पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमअनुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल भाद्र २१ गते रोज ५ शुभम् ।