शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०७४ - कीर्ते जालसाजी

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०७४  ने.का.प. २०४१                   अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.सा.नं. ४२४

मुद्दा : कीर्ते जालसाजी

पुनरावेदक/प्रतिवादी : जि. सुनसरी गा.पं. वार्ड नं. ७ बस्ने मदनलाल चौधरी

विरुद्ध

विपक्षी/वादी : जि. मोरङ हाल विराटनगर न.पं. वार्ड नं. ४ कन्चनवारी बस्ने अम्बिकादेवी गौतम

फैसला भएको मिति :  २०४१।७।३।६ मा

§  राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्‍याई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्‍याई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री नारायण राज खरेल

उल्लेखित मुद्दा : x

फैसला

          न्या. हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको उपर पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : विपक्षी मध्येको सबुरलाल थरुकी पत्नी धोतीदेवी थारुनीले निजको नाम दर्ताको जि.मु.आइतबारे बक्लौरा गा.पं.गुठी संस्थान अन्तर्गत साविक कि.नं. ७३ ज.वि.०१८० हाल सर्भे हुँदा ऐ. वार्ड नं. ७(क) कि.नं. ७७ मा ०१११० जग्गा कायम रहेको ०३२ सालको बाली देखि खाने गरी ०३१।११ ।१०।७ मा रु.४१६१। लिई मलाई राजीनामा गरी दिएको पास गरी नदिंदा ०३२।६।७।३ मा मेरो नालिस परी ०३३।३।१६ मा फैसला भई ०३३।१०।५।३ मा भू.प्र.का.सुनसरीबाट पास गरी जि.पं. कहाँ जाँदा अर्को व्यक्तिलाई बिक्री गरी दा.खा.भई गएको भनी मलाई जानकारी दिंदा के भएको रहेछ भनी नक्कल लिई हेर्दा ऋणी धोतीदेवी धनी मदनलाल भई रु.५९५०। थैली हाली राजीनामा पास गरी लिए दिएको र उक्त राजिनामा गरी दिएको एक महीना पछि देखि धोती देवी बिरामी परी ०३२ सालको अन्ततिर मृत्यु भएको हो, धोतीदेवीले रजिष्ट्रेशन गर्ने अड्डामा गई ०३२।३।१७ मा मदनलाई पास गरी दिएको छैनन् । कीर्ते स्वास्नी मानिस खडा गरी पास गराएछन् । सो राजीनामा सहीछाप गर्ने अन्य विपक्षीहरू पनि कीर्ते जालसाजीमा मतियार भई गैरकानुनी काम गराएकोले विपक्षी मध्येका सबुरलाल र मदनलाल उपर आजैका मितिमा लिखत दर्ता बदरमा छु¬ट्टै नालिस गरेको छु । कीर्ते जालसाजी गरेमा विपक्षीहरूलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको अम्बिकादेवी गौतमको ०३४।३।१५ को फिरादपत्र ।

          २.  वादी लेख अनुसार वादीलाई लिखत गरी दिएपछि धोतीदेवी बिरामी परेकी हैन । ०३२ सालको अन्ततिर मृत्यु भएको पनि हैन । लेखत पासमा विपक्षीको नालिस पर्नु भन्दा ३ महीना पहिले नै मेरो लिखत पास भएकोले लिखत मेरो जेठो सद्दे हुँदा विपक्षीको हक मेट्ने भन्न नहुने भई म मदनलालको लिखत सदर रहने, हामीहरूको घर एकै ठाउँमा भएकोले धोतीदेवी चिनेको र आफूले थैली हाली किनेपछि डुब्ने हुँदा मानिस कीर्ते गरी कीर्ते पास गराउने किन्ने र बेच्ने हामीहरू एकै वार्डका भएकोले किन्ने बेच्ने समेतलाई चिनेको हुँदा सबुरलालको खास सद्धे साँचो स्वास्नी धोतीदेवीले सही गरेपछि साक्षी बसेका हौं भन्नेसमेत व्यहोराको सबुरलाल १, सुखरी मण्डल चौधरी १, टेटन मण्डल चौधरी, मदनलाल चौधरी १ समेत ४ जनाको ०३४।७।१२ को प्रतिउत्तरपत्र ।

          ३.  प्र.हरिप्रसादको ०३४।४।१७ मा बेपत्ते म्यादतामेल भई गुजारी प्रतिउत्तर नदिई बसेकोरहेछ ।

          ४.  एकालाई दिइसकेका जग्गा उनै सबुरलाल समेत साक्षी बसी अर्कालाई दिएको र अरुले पनि सुपथ जग्गा लिनुदिनु गरेका हौं भनेबाट त्यसरी कृत्रिम व्यक्ति खडा गरी राजीनामा लिने दिनु गर्नु कीर्ते कागजको १ नं. को परिभाषा अन्तर्गत पर्ने हुँदा ०३२।३।१७ को प्रतिवादी मदनलालको राजीनामा लिखत कृत्रिम व्यक्ति खडा गरेको कीर्ते लिखत ठहर्छ भन्ने समेत व्यहोराको ०३६।७।२८।४ को सुनसरी जिल्ला अदालतको फैसला ।

          ५.  सो फैसला उपर चित्त बुझेन भन्नेसमेत मदनलाल चौधरीको को.अं.अ.मा परेको पुनरावेदनपत्र ।

          ६.  कारणीको ल्याप्चे दिनेको महलमा हुनुपर्छ र सोही ल्याप्चे महत्वपूर्ण हुन्छ । जबसम्म पक्षले लिनेको महलमा मेरो ल्याप्चे लागेको छ भनी किटानसाथ भन्दैन र दिनेको महलको ल्याप्चे नभिडेकोबाट समेत कीर्ते धोतीदेवी अड्डामा लगि रजिष्ट्रेशन पास गरेको देखिँदा जि.अ.ले कीर्ते ठहर्‍याएको इन्साफ मनासिव छ भन्ने कोशी अञ्चल अदालतको ०३७।५।२७।६ को फैसला ।

          ७.  सो फैसलाउपर चित्त नबुझेको प्र.मदनलाल चौधरीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिएको रहेछ ।

          ८.  निवेदक तर्फका विद्वान अधिवक्ता श्री रामप्रसाद सिटौलाले राजीनामा लिखतको लिने महलमा धोतीदेवीको बाँया ल्याप्चे मिल्छ भन्ने विशेषज्ञको राय भएको हुँदा कीर्ते धोतीदेवी खडा गरेको होइन भनी बहस गर्नु भएको छ । तर राजीनामा लिखत फाराममा दिनेको महलमा लागेको ल्याप्चे छाप नै महत्वपूर्ण हुन्छ । सो ठाउँमा लागेको ल्याप्चे धोतीदेवीको छापसँग मिल्दैन भन्ने विशेषज्ञको राय देखियो । अम्बिकादेवीलाई ०३९।११।१०।७ मा गरिदिएको राजीनामा विवाद उठेको छैन । सो राजीनामा दाताको लोग्ने सबुरलाल साक्षी बसेको देखिन्छ, यस स्थितिमा सबै धोतीदेवीबाट ०३२।३।१७ मा राजीनामा गराई लिएको मान्न मिलेन । कोशी अञ्चल अदालतको इन्साफमा कुनै कानुनी त्रुटिपूर्ण भएको मान्न मिलेन । कुनै परिवर्तन गर्नु परेन, कोशी अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।१०।८।५ को फैसला ।

          ९.  पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको फैसलामा सार्वजनिक महत्वको विषय हुनाले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा लिखत जाँच गर्ने विशेषज्ञको रायको आधारमा समेत सही धोतीदेवीबाट राजीनामा गराई लिएको मान्न मिलेन । कोशी अञ्चल अदालतको इन्साफ मनासिव छ भनी पू.क्षे.अ.बाट निर्णय गरेको देखिन्छ । तर प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा (७) बमोजिम विशेषज्ञलाई साक्षी सरह बकपत्र गराएको देखिँदैन । उक्त ऐनमा व्यवस्था भए अनुसार बकपत्र नगराई निजको राय प्रमाणमा लिने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा उक्त ऐनको प्रत्यक्ष त्रुटि देखिन आयो । सो त्रुटि सार्वजनिक महत्वको विषय समेत देखिन आएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालतको मिति २०४०।२।५।५ को आदेश ।

          १०. तारेखमा रहेका पुनरावेदक प्रतिवादी मदनलाल चौधरीको वारेस परशुराम र विपक्षी वादी अम्बिकादेवी गौतमको वारेस मातृकाप्रसादलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले विपक्षी वादीको लिखतमा भएको कारीणीको ल्याप्चेसँग मेरो पक्षको लिखतको कारणीको ल्याप्चे नभिड्दैमा कृत्रिम व्यक्तिले गरी दिएको ठहराउनु अ.बं. १८४ (क) १८५ र प्रमाण ऐनको दफा ३ र ५४ समेतको ठाडै त्रुटि गरेको उक्त क्षेत्रीय अदालतको फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले पू.क्षे.अ.ले गरेको निर्णय कानुनअनुरुपको हुँदा फैसला मनासिव हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

          ११.  प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको फैसला मनासिव या बेमनासिव के रहेछ ? निर्णय दिनु परेको छ ।

          १२. यसमा डिभिजन बेञ्चको मिति २०४१।३।५।२ मा भएको आदेशानुसार रेखा विशेषज्ञ घनश्याम मुखियाले मिति २०४१।४।३२।५ मा बकपत्र गरी निजले ०३६।७।७ मा दिएको राय प्रतिवेदन सनाखत गरी दिएको र उक्त राय प्रतिवेदनको प्रकरण २ मा मिति २०३२।३।१७ को लिखतको सिरमा कार्यालयको सामुन्ने भएको (गरेको) दिनेको महलमा लागेको ल्याप्चेहरूसँग मिति ०३१।११।१० को लिखतमा लागेको कुनै पनि ल्याप्चेछापहरूसँग नमिल्ने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट ०३२।३।१ को धनी मदनलाल ऋणी धोतीदेवी भएको पास राजीनामा लिखतमा दिनेको महलमा दिने भनेको धोतीदेवीको ल्याप्चेछाप नभएको स्पष्ट हुँदा उक्त ०३२।३।१७ को लिखतलाई कीर्ते ठहर्‍याई सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्‍याई कोशी अञ्चल अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

         

तपसील

पुनरावेदक प्रतिवादी मदनलाल अग्रवाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहरेकोले कोशी अञ्चल अदालतबाट रु.७४।८३ जरीवाना गरेका हुँदा दोस्रो पुनरावेदन गरे बापत सयकडा ५ ले थप जरीवाना रु.३।७१ हुने हुँदा असूल तहसिल गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ...................१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल कार्तिक ३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु