निर्णय नं. २०८३ - उत्प्रेषण

निर्णय नं. २०८३ ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रि.नं. २०४८
विषय : उत्प्रेषण
निवेदक : का.जि.का.न.पं. वार्ड नं. १३ कालीमाटी बस्ने ईमदाद हुसेन
विरुद्ध
विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
काठमाडौं गुठी तहसिल कार्यालय कालमोचन
का.जि. का.न.पं. वार्ड नं. बस्ने अष्ट माया कपालीनी
आदेश भएको मिति : २०४१।८।७।५ मा
§ निवेदकलाई अन्य उपचार भएकै देखिँदा रिट निवेदन खारेज हुने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिबक्ता श्री श्यामध्वज कार्की
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ ।
२. प्रत्यर्थी गुठी तहसील कार्यालयको लगत नं. १९ मा काठमाडौं दिगु तलेजु गुठी नं. ६८ मा दर्ता भएको का.जि.कालिमाटी गा.पं. वा.नं. ४ कि.नं. १०५ को ज.रो.०–५–२ को म निवेदक मोही छु । उक्त जग्गामा हाम्रो अघिदेखि घर रहेको छ । म निवेदक र भाइ जिन्दा हुसेनको बीचमा मिति ०२३।४।१० मा बण्डापत्र भई भाइको भागमा परेको उक्त जग्गामा रहेको घर विपक्षी अष्टमायाले ०२३।८।१४ मा भाइ जिन्दा हुसेनबाट खरीद गर्नु भएको रहेछ । जसबाट विपक्षीले ज.०–१–० मा बनेको घरमात्र खरीद गर्नुभएको हो रहेछ भन्ने प्रष्ट छ ।
३. यसरी विपक्षीले भाइ जिन्दाबाट घर खरीद गर्नु भएको रहेछ तापनि नामसारी दर्ता केही भएको थिएन मेरै नाममा मोही दर्ता रहेको थियो । उक्त जग्गाहरूको ज.ध.दर्ता प्रमाणपूर्जा गुठी संस्थान मार्फत प्राप्त भइरहेकाले लिन भनी विपक्षी गुठी तहसील कार्यालयमा गई बुझ्दा उक्त मेरो नाममा जोताहा दर्ता भएको कित्ता काट भई कि.नं. २३२ र २३२ गरी पूरै विपक्षी अष्टमाया कपालीको नाममा दर्ता भएको रहेछ । विपक्षी कपालीको नाममा दर्ता हुन नसक्ने ज.ऐ ०–२–२ विपक्षीको नाममा सम्पूर्ण जोताहा तथा दर्तावालाको हैसियतमा सम्पूर्ण जग्गा दर्ता गरी दिएबाट मलाई संवैधानिक हकबाट बञ्चित हुनु परेको छ ।
४. म निवेदकको नाममा दर्ता रहेको जग्गा कसैको नाममा कित्ताकाट हुँदा वा दर्ता हुँदा असर पर्ने म निवेदकलाई बुझ्नुपर्ने हुन्छ मलाई नबुझी गुठी तहसिल कार्यालयले पत्र लेखी कि.का.एवं दर्ता गराएबाट प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भएको छ । घरबास गरी बसिरहेको उक्त जग्गा दर्तावालाको हैसियतमा पनि मेरै नाममा दर्ता हुने व्यवस्था गुठी संस्थान ऐन, २०३३ को दफा २६ को उपदफा ७ मा प्रष्ट व्यवस्था रहेको छ । अतः ०४०।४।६ को पत्र तथा कित्ताकाटको लागि भएको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश रहेछ ।
६. काठमाडौं गुठी तहसिल कार्यालयको व्यहोरा सोही कार्यालयबाट प्रस्तुत हुनुपर्ने हो । यो गुठी संस्थान केन्द्रीय कार्यालयले निवेदकका हक र हितमा आघात पर्ने कुनै पनि काम कारवाही गरेको नहुँदा यस कार्यालय उपर रिट जारी हुनुपर्ने स्थिति छैन । रिट निवेदन खारेज हवस भन्ने समेत गुठी संस्थान के.का.को लिखितजवाफ रहेछ ।
७. जग्गा हाम्रो हक भोग स्वामित्वको भएको हुँदा का.न.प.ले जग्गाको छुट्टाछुट्टै लालपूर्जा दिलाई दिन मिति ०४०।४।५ मा सिफारिश गरेको थियो । यसै अनुसार गुठी संस्थान समेतबाट सिफारिश भई मिति ०४०।४।२३ मा जोताहा मोही एवं दर्तावाला मोही दुवै म अष्टमाया कपाली भएको जग्गाधनी प्रमाणपूर्जा मलाई मालपोत कार्यालय काठमाडौंबाट दिई सकिएको छ । यसरी मलाई ज.ध.द.प्र.पू.दिइसकिएपछि जग्गा नाप जाँच ऐन, ०१९ को दफा ८(२) अनुसार दर्ता पूर्जा पाएको मितिले १२० दिनभित्र तोकिएको अधिकारी समक्ष कारण सहित उजूर गर्नु पर्नेमा विपक्षी चूपलागी बस्नु भएको थियो । हकको म्याद भित्र आफू चूपलागी बसी हकको म्याद नाघेपछि असाधारण अधिकार क्षेत्र अवलम्बन गर्दै स.अ.मा उजूरीसाथ प्रवेश गर्नु कानुनसंगत भएन । कानुन असंगत रिट निवेदन पत्र खारेज गरिपाउँ भन्ने समेत अष्टमाया कपालीको लिखितजवाफ रहेछ ।
८. निवेदकले आफ्नो हक जति लक्ष्मण र रत्नमायालाई बिक्री गरी सकेको देखिएको र भाइको बण्डाको जग्गा निवेदकको हक कसरी हुन आयो । निवेदन पत्रमा नखुलेको हुँदा अदालतको ढोका भित्र प्रवेश गर्न पाउने हक निवेदकलाई भएकैदेखिँदैन । गुठी संस्थान ऐन, ०३३ को दफा ३.६२ अनुसार अञ्चल अदालतमा नालिस लाग्न सक्ने अन्य उपचारको व्यवस्था समेत भएकोले रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत काठमाडौं गुठी तहसिल कार्यालयको लिखितजवाफ रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा मुसरफ हुसेन र विपक्षी वा सूर्यमान कपालीलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएका र विपक्षी अष्टमाया कपालीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी र विपक्षी गुठी संस्थानको तर्फबाट आउनु भएका विद्वान अधिवक्ता श्यामध्वज कार्कीको बहस समेत सुनियो ।
१०. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी गर्नु पर्ने हो होइन निर्णय दिनुपर्ने हुन आयो ।
११. यसमा मलाई बुझ्दै नबुझी ०४०।४।६ को का.गु.त.को पत्र समेतको आधारमा कित्ताकाटको लागि भएका निर्णय समेत बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा गुठी संस्थान ऐन, ०३३ को दफा ३.६२ अनुसार अञ्चल अदालतमा नालिस लाग्न सक्ने अन्य उपचारको व्यवस्था समेत भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत गुठी तहसिल कार्यालयको र विपक्षीको जग्गा अनधिकृत रुपमा मेरो नाउँमा दर्ता गरेको छैन । विपक्षीका भाइ जिन्दा हुसेनसँग खरीद गरी मेरो हक स्वामित्वमा आएको र गुठी संस्थानको अधिकार क्षेत्रभित्र रही मेरो नाउँमा दर्ता भएको हो । गुठी संस्थान ऐन, ०३३ को दफा ४९ अनुसार रजिष्ट्रेशन गर्ने अड्डाले कित्ताकाट गर्न पाउँने हुँदा कि.का.समेत भइसकेको छ । विपक्षीले आफ्नो अंश भाग रत्नमाया र लक्ष्मण मानन्धरलाई बिक्री गरी सक्नु भएको छ । हकदैया विहिन कुरा अ.बं.८२ नं. अनुसार उजूर लाग्नै नसक्ने र उपचारको बाटो समेत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत अष्टमाया कपालीको लिखितजवाफमा उल्लेख भएको पाइन्छ । अतः गुठी संस्थान समेतले गरेको कारवाईमा कुनै त्रुटि नदेखिएको र निवेदकलाई अन्य उपचार पनि भएकै देखिँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल मंसिर ७ गते रोज ५ शुभम् ।