शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०८७ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २०८७    ने.का.प. २०४१             अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको रि.नं. १६६५

विषय : उत्प्रेषण

निवेदक : जि.बारा पुरैनिया गा.पं. वार्ड नं. ६ बस्ने हेदरमियाँ

विरुद्ध

विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय बारा

जि. बारा पुरैनिया गा.पं. वडा नं. ४ बस्ने विराहजरा दुसाध

आदेश भएको मिति : २०४१।८।२८।५ मा

§  जग्गामा मोही बेदखली नगर्ने भनी आदेश सुनाई दिने भन्ने उल्लेख गरी निर्णय गरेको देखिँदा रिट निवेदन पत्र खारेज हुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री कृष्णलाल देव र विद्वान सरकारी अधिबक्ता श्री भैरब प्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकारको रहेछ :

          २.   म निवेदकको हक भोग दर्ता तिराको जि.बारा पुरैनिया गा.पं. वार्ड नं. ३ कि.नं. २६८ को ०१५ जग्गा म निवेदक स्वयंले नै जोतभोग चलन गरी आएकोमा यही ०४०।७।९ गतेका दिन विपक्ष कार्यालयले ०४०।७।८।३ को जानकारी भन्ने विषयको पत्रमा गा.पं.पुरैनिया वार्ड नं. ३ कि.नं. २६८ को ०१५ जग्गामा मोही बेदखल नगर्नु भन्ने मिति ०४०।५।२८ को आदेशले लेख्ने काम भएको छ उक्त कित्ताको मोही विराहजरा मरेको हुँदा निज मोहीलाई जग्गा अवाद गर्न दिनु होला भन्ने पत्र बुझाइएबाट विपक्ष कार्यालयमा गई बुझ्दा विपक्ष विराहजराले उक्त जग्गाको आफूलाई सुरक्षित मोही भनी सालसालै जग्गाधनीलाई बाली बुझाई आएकोमा ०३९।४।१५ गतेका दिन मैले लगाएको धान बीउ उखेली जग्गा रोपी बेदखली गरेकोले सजाय गरी बाली रोक्का गरिदिने व्यवस्था मिलाई चलन चलाइपाउँ भन्नेसमेत व्यहोराको निवेदन चढाएको रहेछन् र विपक्षी अधिकारीको ०३९।६।७ मा पक्षलाई तारेखमा राखी विपक्षलाई झिकाई पेश गर्ने भन्ने आदेश गर्नुभएछ तर मेरो नाउँमा म्याद पठाउने समेतको कुनै कार्य नै नगरी पेश गरिएछ र मिति ०३९।१२।२ मा दर्ता श्रेस्ता मगाई पेश गर्ने भन्ने आदेश गर्नु भएछ र फेरि ०४०।४।५ मा पनि दर्ता उतार मगाई पेश गर्नु भन्ने आदेश भएछ यसरी आदेश बमोजिमका कुनै पनि कार्य नै नभएकोमा पुनः ०४०।५।२८ मा मुद्दा पेश भएछ र विपक्ष अधिकारीले अडरसिटमा नै निवेदकका माग बमोजिम जग्गामा मोही बेदखली नगर्नु भनी आदेश सुनाइदिनु भन्ने आदेश भए पश्चात् मलाई पत्र लेखिएको रहेछ । यसरी प्राकृतिक न्याय सिद्धान्त समेतको बिपरीत गर्दै अन्तिम रुपमा आदेश जारी गरी दिनु भएकोलाई बदर गराई माग्न आएको छु ।

          ३.   सर्वप्रथम कुनै पनि विवादको निप्टारा गर्दा प्रतिवादी पक्षलाई प्रतिवाद गर्ने मौका प्रदान गरिनु पर्ने प्राकृतिक न्याय सिद्धान्त हो र अ.बं.१०२ नं. १०४ नं. बमोजिमका म्याद जारी गरी अ.बं.११० नं. को रीत पुर्‍याई तामेल गरिनु पर्नेमा मेरो नाउँमा कुनै म्याद नै जारी गरिएन र उजूरवालाको हकको प्रमाण बुझ्न २।२ पटक आदेश गरिएकोमा आदेश बमोजिम दर्ता श्रेष्ताहरू नआएको पनि एकै चोटि बेदखली नगर्नु भनी अन्तिम निर्णय आदेश गरिएको देखिन्छ । यसरी विपक्ष अधिकारीले उजूरवालाको हक पुग्ने प्रमाण समेत नआएको अर्थात् विराहजरा मोही भएको कुनै किसिमका प्रमाण मिसिल सामेल हुन नआएकोमा समेत सोझै अडरसिटमा नै अन्तिम निर्णय आदेश गर्नु भएको । अ.बं.१८९ नं. को समेत त्रुटिपूर्ण छ । अतः ०४०।५।२८ मा गर्नु भएको आदेश उत्प्रेषण वा जुन उपयुक्त हुन्छ पूर्जि जारी गरी बदर गरी मेरो संवैधानिक तथा कानुनी हकको प्रचलन गराइपाउँ भन्नेसमेत रिट निवेदन जिकिर रहेछ ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश रहेछ ।

          ५.  मिति ०३९।८।२४ मा यस कार्यालयको इतलायनामा निज रिट निवेदकले स्वहस्ताक्षरबाट बुझी प्रत्यवादन गरी बसेको हुँदा निवेदन दावी सकार गरेको साथै मा.पो.का. बाराबाट दर्ता श्रेष्ता उत्तार मगाई हेर्दा मोही महलमा विराहजराको नाउँ उल्लेख भई रहेको देखिँदा अधिकारभित्र रही कानुन बमोजिम आदेश गरिएको हो त्रुटिपूर्ण नभएकोले निवेदकको माग निराधारको रिट खारेज हुने हुँदा खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.को लिखितजवाफ रहेछ ।

          ६.   भू.सु.अधिकारीज्यूले विपक्षीको नाउँमा म्याद जारी गर्न लगाई सबूत प्रमाण बुझी मूल्यांकन गरी न्यायिक मन प्रयोग गरी आदेश गर्नु भएकोले अ.बं.११० नं. तथा १८६ समेतको कानुनी त्रुटि छैन रीत पुर्‍याई आदेश भएकोले निवेदकको कुनै मौलिक तथा कानुनी हक हनन् नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विराहजरा दुसाधको लिखितजवाफ रहेछ ।

          ७.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकका वा राजनप्रसाद शर्मालाई बोलाउन लगाउँदा उपस्थित नभएका र निवेदकको तर्फबाट विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी विराहजराल दुसाधको तर्फबाट उपस्थित वा समेत विद्वान अधिवक्ता कृष्णलाल देव र भू.सु.का.को तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।

          ८.   प्रस्तुत विषयमा निवेदकको मागबमोजिमको आज्ञा,आदेश जारी हुने हो वा होइन निर्णय दिनुपर्ने हुनआयो ।

          ९.   यसमा आदेश बमोजिम मेरो नाउँमा म्याद नै जारी नगरी प्राकृतिक न्याय सिद्धान्त समेतको बिपरीत गरेको भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदकको जिकिर देखिन्छ । मिति ०३९।८।२४ मा यस कार्यालयको इतलायनामा रिट निवेदकले स्वहस्ताक्षरबाट बुझी प्रतिवाद नगरी बसेको र कानुन बमोजिम आदेश गरिएको भन्ने भू.सु.को लिखितजवाफमा उल्लेख भएको पाइन्छ । निवेदकको माग बमोजिम जग्गामा मोही बेदखली नगर्ने भनी आदेश सुनाई दिने भन्ने समेत उल्लेख गरी अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४१ साल मार्ग २८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु