शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०९० - उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २०९० ने.का.प. २०४१             अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४० सालको रिट नं. १७४२

विषय : उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निवेदक : जिल्ला पर्सा हाल पञ्चायत विश्रामपुर वा.नं. ८ बस्ने नारायण शाह तुरहा

ऐ ऐ वा.नं. ९ बस्ने सकिनिया जोलहिन

विरुद्ध

विपक्षी : जिल्ला पर्सा श्वौराटार गा.पं. वडा नं. ३ बस्ने राजवली मियाँ

भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी

आदेश भएको मिति : २०४१।८।१५।६ मा

§  रिट निवेदकहरूको परेको निवेदनको आधारमा ०२२ सालमा नै सम्बन्धित पञ्चायतले मोही छोडपत्र गराएको आधारमा मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नहुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान सरकारफ अधिबक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय पर्साको मिति ०४०।५।२८।६ को निर्णय बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ :

          २.   मौराटार गा.पं. वा.नं. ३ को कि.नं. ४९ ज.वि.०८ र कि.नं. ४८२ को ०५ ऐ.ऐ. कि.नं. ७५ को ०१२१८ को जग्गाका मोहीहरू नारायण शाह तुरहा र सकनिया जोलाहिनले ०२२।१२।२ मा स्थानीय पञ्चायता मोही छोडपत्र गरी दिएकोले उक्त कि.नं. ७५ को जग्गा मैले खरीद गरी आफैं जोती आएको मोही लगत कट्टा गरिपाउँ भन्ने समेत पञ्चायतको सिफारिश साथ विपक्षीले भूमिसुधार अधिकारीज्यू समक्ष मिति ०४०।२।२३ मा दिनु भएको निवेदनमा हामीले मोही हक छोडपत्र गरेको छैन, आफैंले जोतभोग गरी आएका छौं भनी प्रतिवाद गर्दा गर्दै स्थानीय पञ्चायतबाट मोही छोडपत्र स्वीकृत भई सकेको देखिँदा वादी दावी बमोजिम मोही लगत सच्याई दिने भनी श्री अधिकारीज्यूबाट मिति ०४०।५।२८ मा निर्णय भयो ।

          ३.   हामीले जोतेको उल्लिखित जग्गाहरूको मोहियानी हक कहिले पनि परित्याग गरेको छैन । हाम्रो सहमति समेत नदेखिएको गा.पं.का.मौराटारको प्रधानपञ्च भनी सही गरी दिएको तथाकथित सूचनालाई आधार बनाई बेप्रमाणिक कुराको आधारमा हाम्रो मोही लगत कट्टा गरिएको अ.बं.१८४(क) र प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रत्यक्षतः गम्भिर त्रुटि हुन गएको छ । श्री अधिकारीज्यूले निर्णय गर्नुभन्दा पहिले हामीले गाउँ पञ्चायतमा मोही हक छोडपत्र गरेको भनी आधार बनाएको सक्कल लिखितलाई अड्डैमा झिकाई अ.बं.७८ नं. अन्तर्गत देखाई सुनाई निर्णय गर्नु पर्नेमा स्वेच्छिक, तर्कहिन तथा न्यायिक मनको अभावमा निर्णय गरिएको र प्रतिरक्षीले लिएको फछ्र्या गराउनु भन्दा अगाडि मोही छोडपत्र नगरेको भन्ने कुरा स्वतः स्थापित भइरहेको र यतिका १८ वर्ष सम्म मोही हक छोडपत्र गरेको भए जग्गाधनीले मोही लगत कट्टा नगराई लगत कायम राख्ने प्रश्न नै उठ्न नसक्ने हुनाले खास र प्रत्यक्ष प्रमाण छाडी लाग्न नसक्ने कुरालाई आधार बनाएर गरेको निर्णय अ.बं.१८५।१८९ नं. तथा पेटबोलीबाट तत्कालिन जग्गाधनीहरूलाई अ.बं.१३९ नं. अन्तर्गत बुझी मात्र निर्णय गर्नु पर्नेमा बाध्यात्मक रुपले पालन गर्नुपर्ने कार्यविधि सम्बन्धी कानुनको स्पष्टतः उल्लंघन गरी निर्णय भएको हुँदा श्री अधिकारीज्यूको निर्णयलाई बदर गरिपाउँ भन्ने नारायण साहु तुरहा र सकिनिया जोलहिनको मिति ०४०।८।१४ को रिट निवेदन ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ मगाई लिखितजवाफ आएपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०४०।९।७ मा सिंगलबेञ्चबाट भएको आदेश ।

          ५.  रिट निवेदनमा उल्लेख भएका जग्गा मोहीहरूले स्थानीय पञ्चायतमा मोही लगत सच्याउन सक्ने अधिकार छँदाको बखत नै मोही छोडपत्रको निवेदन गरी स्थानीय पञ्चायतले जग्गाधनीलाई जग्गा जोत्न दिएको सूचना समेत पेश गरी यस कार्यालयबाट स्थानीय पञ्चायतको निर्णय बमोजिम मिति ०४०।५।२८ गते लगत कट्टा गरी दिने गरेको निर्णय नियम परिधि भित्र रही भए गरेकोले निवेदकहरूको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।

          ६.   उल्लिखित जग्गा म प्रत्यर्थीले खरीद गरी लिनु अघि मेरो दर्ताहरू क्रमशः कुमारिया कोइरिन एवं खमरिया कोइरिन नै जग्गाधनी हुँदा मिति ०४०।१२।२ मै स्थानीय पञ्चायतमा विपक्षीहरूले मोही हक छोडपत्र गराउन निवेदन दिएका र मोही लगत कट्टा भएको सूचना समेत स्थानीय पञ्चायतबाट पाएको हो र ०२२ सालमा स्थानीय पञ्चायतबाट मोही लगत कट्टा हुने कानुन विद्यमान रहेको तथ्य भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ ले प्रष्ट गरेकै छ र विपक्षीहरूको नाम कट्टा हुने बारेको सूचना म प्रत्यर्थीले पाएपछि कार्यालयमा मोहीको नाम लगतमा सच्चाउन सम्म बाँकी रहेको र कार्यालयमा मोहीको लगत यथावत रहुञ्जेल सम्बन्धित लिखतहरूमा मोहीको नाम उल्लेख हुनु स्वाभाविकै भएकोले निजहरूले छोडपत्र गरेपछि जग्गा कमाएको भए भू.सु.ऐनको दफा ३४ बमोजिम कबुलियत भर्पाई हुनुपर्ने हो । भूमिसुधार अधिकारीको निर्णयमा अ.बं.३५ को र साविक जग्गाधनीलाई बुझिएन भन्ने विपक्षहरूको भनाईमा पनि कुनै त्रुटि नभएकोले भू.सु.का.पर्साको निर्णय कानुन बमोजिम नै हुँदा विपक्षीहरूको रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत राजवली मियाँको लिखितजवाफ ।

          ७.  रिट निवेदकहरूका तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले गाउँ पञ्चायतमा मोही हक छोडपत्र गरे भनेको लिखतलाई अड्डैमा झिकाई अ.बं.७८ नं. अन्तर्गतको रीत पुर्‍याई निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उक्त भू.सु.का.को निर्णय बदर हुनुपर्छ भन्ने समेतको र विपक्षी राजवली मियाँ तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले विपक्षीहरूले ०२२ सालमा मोही छोडपत्र गर्ने गरी स्थानीय पञ्चायतमा दिएका कुरा मिसिलबाट देखिएकै छ र स्थानीय पञ्चायतबाट मोही लगत कट्टा हुन सक्ने भएकोले गाउँ पञ्चायतको सिफारिश समेत बमोजिम भू.सु.का.पर्साबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि नभएकोले रिटनिवेदन खारेज हुनुपर्छ भन्नेसमेतको बहस गर्नुभयो । विपक्षी भू.सु.का.पर्साको तर्फबाट बहसको लागि खटिई आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले स्थानीय पञ्चायतको मोही लगत कट्टा गर्न सक्ने अधिकार छँदाको बखत नै रिट निवेदकहरूले मोही छोडपत्र गर्ने भनी निवेदन दिएका र सो निवेदन बमोजिम गाउँ पञ्चायतले जग्गाधनीलाई सूचना गरी स्थानीय पञ्चायतको निर्णय बमोजिम भू.सु.का.ले लगत सच्याई दिने गरेको निर्णय कानुनअनुरुप नै भएकोले विपक्षीहरूको रिटनिवेदन खारेज हुनपर्छ भन्नेसमेतको बहस प्रस्तुत गर्नुभयो ।

          ८.   प्रस्तुत विषयमा निवेदकहरूका माग बमोजिम आदेश जारी हुनु पर्ने हो होइन हेरी निर्णय दिनु पर्ने हुन आएको छ ।

          ९.   यसमा निर्णयतर्फ हेर्दा मोहीले ०२२ सालमा नै जग्गा जोत्दिन भनी छोडपत्र गरिसकेकोले मोही लगत कट्टा गरिपाउँ भनी प्रत्यर्थीको निवेदन परेकोमा मोही लगत कट्टा गर्ने गरेको भू.सु.का.पर्साको निर्णय उपर यो रिट निवेदन पर्न आएको देखिन्छ ।

          १०.  विद्वान सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाउनु भएको सम्बन्धित मिसिल हेरिएमा यिनै रिट निवेदकहरूले सम्बन्धित गाउँ पञ्चायतमा साविक जग्गाधनीकै पालामा मेरो मोहियानी हक जोतेको नापी नक्सा फिल्डबुकमा मेरो सहिछाप भई जोताहा कायम भएको जग्गा ०२३ सालको बालीदेखि जोत्न असमर्थ भएकोले उक्त जग्गाबाट फूर्सद गरिपाउँ भनी ०२२।१२।२।३ मा निवेदन दिएका र सो बमोजिम आफैं जोतकोड गर्नु हुन भनी पञ्चायतले जग्गाधनीलाई पत्र लेखेको र साविक जग्गाधनीबाट हाल प्रत्यर्थी राजवली मियाँले खरीद गरेको सो जग्गामा ०२२ सालदेखि नै मोहीले मोही छोडपत्र गरिसकेकोले हाल राजवली मियाँले नै जोतकोड गरेको भनी स्थानीय पञ्चायतले सिफारिश पठाएको समेतबाट अघि नै मोही हक छोडपत्र गरेको आधारमा लगत कट्टा गर्न बाँकी रहेको कार्यसम्म प्रत्यर्थी भू.सु.का.पर्साले गरेको देखिन्छ । उक्त पञ्चायतले मोही छोडपत्र गराई दिएको कुरा बदर गराई पाउँ भनी यी निवेदकहरूले कुनै कारवाही चलाएको र बदर गराएको छ भनी रिट निवेदनमा कुनै जिकिर लिन सकेको पाइँदैन । अतः यिनै रिट निवेदक हरूको परेको निवेदनको आधारमा ०२२ सालमा नै सम्बन्धित पञ्चायतले मोही छोडपत्र गर्ने कारवाही गरी मोही छोडपत्र गराएको आधारमा मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थी भू.सु.का. पर्साको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नहुँदा रिट निवेदकहरूको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुनेठहर्छ । फाइल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४१ साल मंसिर १५ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु