निर्णय नं. २०९२ - जग्गा दर्ता

निर्णय नं. २०९२ ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको दे.पु.नं. ४२८
मुद्दा : जग्गा दर्ता
पुनरावेदक/वादी : अञ्चल गण्डकी जिल्ला कास्की साविक पौडी गा.पं. वार्ड नं. १७ छोटो पालन बस्ने कर्णबहादुर वास्तोला
ऐ ऐ बस्ने पवित्रा वास्तोला
ऐ ऐ बस्ने उदय बहादुर बास्तोला
जना ३ को वारेस भै आफ्नो हकमा समेत ऐ ऐ बस्ने केशर बहादुर बास्तोला
विरुद्ध
विपक्षी : नगर विकास योजना नापी सम्बन्धी विशेष अदालत पोखरा
नापी गोश्वरा २ नं. नापी टोली
फैसला भएको मिति : २०४१।८।१।६ मा
§ एउटा कित्ता जग्गाको एउटा निर्णय उपरको पुनरावेदन कायम राखी सोको हकमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो पनि नगरी सम्पूर्ण पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिने ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. बब्बर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमती प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. कि.नं. ३४१, ३५०, ६४०, ६४४ र ६७८ को जग्गा नापी सम्बन्धी विशेष अदालतबाट दर्ता गर्न नमिल्ने भनी निर्णय भएको उक्त कित्ता जग्गाहरू दर्ता गरिपाउँ भन्ने वादीहरूको प.क्षे.अ.मा पुनरावेदन परेकोमा छुट्टाछुट्टै निर्णय दिनु पर्ने, एउटै पुनरावेदनबाट कारवाही किनारा गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भन्ने प.क्षे.अ.सिङ्गलबेञ्चबाट ०३८।१२।२७ गते फैसला भएकोले ३५ दिनभित्र छुट्टै कि.नं. ६७८ को हकमा पुनरावेदन गरेको छु । उक्त जग्गा दर्ता गरिपाउँ भन्ने समेत पु.क्षे.अ.मा वादीहरूको पुनरावेदन ।
३. ०३८।१२।२७ मा सिंगलबेञ्चबाट ५ वटा भिन्न भिन्न मिसिल भई भिन्ना भिन्नै निर्णय भएकोमा एउटै पुनरावेदनबाट फैसला गर्न नमिल्ने भई खारेज हुने ठहर्छ भनी फैसला भएकोमा ३५ दिनभित्र अर्को भिन्न भिन्नै पुनरावेदन लिई आउनु भन्ने वाक्यांश उल्लेख भएको नदेखिँदा खारेज फैसला भएको मिति ०३८।१२।२७ ले ३५ दिनभित्र छुट्टै पुनरावेदन गर्न आएको छु भनी पनुरावेदक आफैंले हदम्याद नघाई दोहरिने पुनरावेदन गरेको कानुनसंगत नहुँदा, लाग्दै नलाग्ने पुनरावेदन लिई दर्ता भएको देखिएकोले पुनरावेदन खारेज हुने ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।
४. एउटा पुनरावेदनबाट इन्साफ गर्नु पर्नेमा सबै पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को उक्त फैसला त्रुटिपूर्ण हुँदा अनुमति दिएको छ भन्ने आदेश भई पेश हुन आएको रहेछ।
५. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस सुनियो ।
६. अब प.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ सो को निर्णय दिनु परेको छ ।
७. निर्णयतर्फ विचार गर्दा यसमा नापी सम्बन्धी विशेष अदालत र समितिले छुट्टाछुट्टै कित्ताको छुट्टाछुट्टै निर्णय गरे उपर पुनरावेदकहरूको सम्पूर्ण निर्णय उपर एउटै पुनरावेदन परेकोमा छुट्टाछुट्टै पुनरावेदन हुनु पर्ने भनी प.क्षे.अ.सिंगलबेञ्चबाट खारेज गरेको देखिन्छ । पुनः छुट्टाछुट्टै निर्णय उपर छुट्टाछुट्टै पुनरावेदन गरेकोलाई प.क्षे.अ.बाट खारेज गरेको पाइन्छ ।
८. यसरी छुट्टाछुट्टै कित्ता जग्गाको छुट्टाछुट्टै निर्णय उपर छुट्टाछुट्टै पुनरावेदन परेकोमा ती मध्ये एउटा कित्ता जग्गाको एउटा निर्णय उपरको पुनरावेदन कायम राखी सो को हकमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो पनि नगरी सम्पूर्ण पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिँदा उल्टी भई बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारिख तोकी मिसिल प.क्षे.अ.मा पठाई दिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल मंसिर १ गते रोज ६ शुभम् ।