निर्णय नं. २०९४ - किल्ला बदर

निर्णय नं. २०९४ ने.का.प. २०४१ अङ्क ८
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको दे.पु.नं. ४४८
मुद्दा : किल्ला बदर
पुनरावेदक/वादी : ग.अ. स्याङजा जिल्ला वरष्टे गा.पं. वा.नं. ७ औसैलु स्वारा बस्ने खिमलाल पाध्या
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने शेषकान्त पाध्या
ऐ साल डाँडा गा.पं. को हाल बरेषटे गा.पं. वडा नं. ६ घोप्टे पोखरी डाँडा बस्ने केमलाल पाध्या
ऐ ऐ छाडी खोला बस्ने रेशम लाल दाहाल
फैसला भएको मिति : २०४१।८।२४।१ मा
§ वादीले प्रमाणमा पेश गरेको भूमिसम्बन्धी नियम फा.नं. ७ लाई पनि इन्कार गर्न नसकेको देखिनाले समेत अदालती बन्दोबस्तको ८२ नम्बरले नालेस गर्न पाउने हकदैया छैन भन्न नमिल्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।२।१४ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. विपक्ष पिता शेषकान्तका २ श्रीमतीमा जेठी बसन्धरा पट्टि म र भोजराज र दुई भाइ र वेमात्री आमा भिमावती तर्फ शालिकराम शोभाखर छोरीहरू समेत भई सगोलमा बसी आएकोमा मेरो विवाह भएपछि २०२० सालमा विपक्षी पिताजीसँग छुट्टी भिन्न हुँदा अंश भागमा परी मेरो नाममा दर्ता भएको सीमा भन्ने जग्गाको उत्तर किल्ला खिमलाल हुनु पर्नेमा पदमलाल र टार भन्ने जग्गाको पश्चिम खिमलालको साँध हुनु पर्नेमा चुडामणिको साँध लेखी मेरो २ गरा जग्गा र हाडी खोला ४० मा पश्चिम दक्षिण तर्फ ।२८ मध्ये खिमलाल हुनु पर्नेमा डल्ले रह, पदमलाल समेत लेखी तल्लो हाडी खोली खेत समेतका जग्गा किल्लाभित्र पारी विपक्षी पिताजी शेषकान्त दिने विपक्षी धर्मलाल, रेशमलाल लिने गरी ०२९।१।६ मा रु.१३०००। मा राजीनामा पारित गरी लिएको कुरा ०२९।६।११ मा नक्कल सारी हेर्दा थाहा पाएकोले नालेस गरेको छु । विपक्षीहरूलाई झिकी लेखिए बमोजिम मेरो भागमा परेको जग्गा किल्लाभित्र पारी लिनु दिनु गरेको राजीनामा तमसुकको किल्ला बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. विपक्षी वादीका फिराद लेख बमोजिम विपक्षको अंश भागको जग्गा समेत किल्ला भित्र पारी राजीनामा गरे गराएको छैन सो झुठ्ठा हो । किल्लाभित्र परेको भए कीर्ते कागजको ३ नं. र रजिष्ट्रेशनको १६ नं. अनुसार जालसाजी तर्फ समेत दावी लिई नालिस गर्नु पर्ने र आफ्नो अंश भागमा परेको बण्डापत्र तिराको रसिद प्रमाण दिनु सक्नु पर्ने सो केही नभई मुखकै भरमा किल्ला भित्र पारे, किल्ला बदर गरिपाउँ भन्ने दावी अ.बं.८२ नं. अनुसार बदर गरिपाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।
४. दावी बमोजिम प्र.शेषकान्त आसामी प्र.थमलाल, रेशमलाल साहु भई ०२९।६।१ मा खरीद बिक्री गरी पारित भएको राजीनामा किल्ला बदर भई वादी दावी बमोजिम किल्ला कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको स्याङजा जिल्ला अदालतको फैसला ।
५. उक्त फैसला उपर प्रतिवादीहरूको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको ।
६. दावीको किल्ला भित्र वादीको जग्गा परेको ठोस तथा शंकारहित प्रमाणले देखाउन नसकेकोले जग्गामा वादीको हक नदेखिएकोले मुद्दा खारेज गर्नु पर्नेमा हारजित ठहर्याई गरेको इन्साफ कानुनसंगत नहुँदा बदर हुने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको फैसला ।
७. उक्त फैसला उपर वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
८. अंश लिई छुट्टी सकेकोमा वादीलाई प्र.मध्ये शेषकान्तले स्वीकार गरेकोबाट बण्डापत्र खडा नभए पनि मुख मिलेकोले ७ नं. फाराम समेत वादीले दाखिला गरेकोबाट सो ७ नं. फाराममा उल्लेख भएको जग्गा वादी कै हुने हुँदा बण्डापत्र र तिरो भरोको रसिद पनि वादी दावी अनुसार किल्ला बदर हुन पर्ने हो भन्ने वादी पक्षको बहस र अनुमतिको आदेशमा सोही कुरालाई समर्थन जनाइएकोमा विपक्ष तर्फबाट बण्डामा पाएको भोगी रहेको सबूत नै रसिद लिखतको आधार हो तर सो सबूत नै वादीबाट पेश भएको छैन र ७ नं. फाराममा उल्लेख भएको जग्गा नै अंशमा पाएको वादीको हक पुगेको जग्गा हो भन्ने तर्फ कानुनी सबूत कुनै पनि पेश भएको छैन भने वादी दावीमा अनुमानकै आधारमा प्रमाण मान्न नमिल्ने र किल्ला बदरमा दावी पुग्ने होइन भन्ने बहस कानुनसंगत देखिएकोले यो इजलासको राय प्रत्यर्थी तर्फको बहससित सहमत हुन्छ । ग.अं.अ.बाट वादी दावीमा हक पुगेको सबूतको अभावमा अ.बं.१८२ नं. अन्तर्गत खारेज गर्ने गरेको फैसला सदर हुनेठहर्छ भन्नेसमेत पश्चिमाञ्चल क्षे.अ.को फैसला ।
९. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालत समक्ष पर्न आएको निवेदनमा वादी खिमलाल उपाध्याय प्र.शेषकान्त भएको कुटपीट मुद्दा स्याङजा जिल्ला अदालतमा ०२८ साल चैत्रमा परेको सो मुद्दामा प्रतिवादी खण्डमा बाबु छोरा छुट्टी सकेको भनी उल्लेख भएको र प्रस्तुत मुद्दामा पनि विवादको जग्गा अंशमा वादीले पाएको छैन भनी प्रतिवादीले भन्न नसकेको र विवादको जग्गाको ७ नं. फाराम वादीले नै भरी दाखिल गरेको देखिन आएको सबूत प्रमाण्को बिपरीत वादी दावी खारेज गर्ने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा अ.बं.१८४।१८४(क) १८२ नं. समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने समेतको डिभिजन बेञ्चको आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा उक्त फैसला बदर हुनुपर्छ भन्ने बहससमेत सुनियो।
११. यसमा वादी दावीमा हक पुगेको सबूतको अभावमा अ.बं.८२ नं. अन्तर्गत खारेज गर्ने गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेतका पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको प्रस्तुत मुद्दातर्फ विचार गर्दा वादीसँग अंश भइसकेको भन्ने कुरा प्रतिवादीले इन्कार गर्न नसकेता पनि वादीले प्रमाणमा पेश गरेको भूमिसम्बन्धी नियम फा.नं. ७ लाई पनि इन्कार गर्न नसकेको देखिनाले समेत अदालती बन्दोबस्तको ८२ नम्बरले नालेस गर्न पाउने हकदैया छैन भन्न नमिल्ने हुँदा दावीको किल्लाभित्र वादीको जग्गा परेको ठोस तथ्य शंकारहित प्रमाण देखाउन नसकेको उक्त जग्गामा वादीको हक नदेखिएकोले मुद्दा खारेज गर्ने गरी गण्डकी अञ्चल अदालतबाट गरेको फैसलालाई पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मनासिव ठहराई गरेको फैसला कानुनसंगत देखिन आएन । अतः पश्चिमाञ्चल क्षेत्रीय अदालतले खारेज गर्ने गरेको फैसला बदर हुने ठहर्छ । प्रमाणको मूल्यांकन गरी अरु जो बुझ्नपर्ने बुझी कानुन बमोजिम कारवाही किनारा गर्नु भनी हाजिर रहेको पक्षलाई तारेख तोकी मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल मंसिर २४ गते रोज १ शुभम् ।