शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०९८ - कूतबाली

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २०९८ ने.का.प. २०४१             अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको दे.पु.नं. ४२२

मुद्दा : कूतबाली

पुनरावेदक/वादी : दाङ देउखुरी सोनपुर गा.पं. वार्ड नं. २ केरोनिया बस्ने विश्वनाथ चौधरी

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. वार्ड नं. ७ रनियापुर बस्ने श्यामलाल चौधरी

फैसला भएको मिति : २०४१।८।३।१ मा

§  भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिने ।

(प्रकरण नं. ११)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

उल्लेखित मुद्दा :

फैसला

          न्या. पृथ्वीबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षे.अ.को मिति ०३९।११।३ को निर्णयउपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.   मेरो नाउँमा दर्ता श्रेस्ता भएको दे सोनपुर गा.पं. वा.नं. ७(क) कि.नं. ४९४, ५०४।५७७, ५७८, ५८५ र वा.नं. ७(ख) १५१, २१५, २३७, २८८, ३७९, ३९५ को जग्गा विपक्षीले अधिया शर्तमा मोही भई कमाई आउनु भएको छ सो जग्गामा विपक्षीले ०३४ सालको वर्ष धान बाली लगाउनु भएको थियो । कटनी मडनी गर्दा भूमिसम्बन्धी ऐन बमोजिम मलाई जानकारी नदिई उब्जनी बाली समेत एकलौटी लिई राख्नु भएकोले मेरो हिस्सामा पर्ने धान ५२ मनको हुने रु.१०४०। भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

          ३.   फिरादमा देखाइएका कित्ताहरू मैले मोहीमा कमाई आएको हो स्थायी पूर्जि पनि पाएको छु । दावी बमोजिम अधिया शर्तमा कमाएको नभई पोतायत शर्तमा कमाएको छु । यो सालको पोत पञ्चायतलाई बुझाउने वा जग्गाधनीलाई बुझाउने भनी प्रधानपञ्चसित भन्दा अहिले छलफल भइराखेको छ पख भनेकाले बाँकी रहेको छ अघिल्ला सालको पोत बुझाएको भए पनि भर्पाई दिएको छैन भन्ने समेत श्यामलाल चौधरीको बयान ।

          ४.   फिराद दावीका जग्गाहरू पोतायत शर्तमा कमाएको भनी फिल्डबुकमा लेखिएको देखिन आएकोले प्रतिवादी जिकिर मनासिव देखिन आयो । अतः अधियाबाली दिलाई पाउँ भन्ने दावी पुग्न सक्दैन पोत नबुझाएकोमा प्रतिवादी सावितै हुँदा पोत सम्म भरी पाउने ठहर्छ भन्ने विशेष अदालत दाङको फैसला ।

          ५.  विशेष अदालत दा.दे.ले गरेको फैसला बदर गरिपाउँ भन्ने पुनरावेदन मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा वादी विश्वनाथको पुनरावेदन ।

          ६.   पुनरावेदकले तारिख गुजारेकोले डिसमिस हुने ठहर्छ भन्ने ०३८।५।३० को म.प.क्षे.अ.को फैसला ।

          ७.  डिसमिसबाट जगाई कानुन बमोजिम डायरीमा दर्ता गरी विपक्षीलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने ०३८।७।३० को म.प.क्षे.अ.को आदेश ।

          ८.   भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) हेरिएमा उक्त व्यवस्था मोहीको हक प्राप्त हुने अवस्थाको लागि रहेको र प्रस्तुत मुद्दामा मोही सम्बन्धी विवाद नभई कूतको विवाद सम्म देखिन आएको छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को खण्ड (ख) को मोहीको परिभाषामा जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाउन सकिने नै भई यही नै शर्त हुनुपर्छ भन्ने किटानी व्यवस्था भएको देखिँदैन र कूत भन्नाले कानुनको परिभाषा अनुसार नगदी हुन नसक्ने पनि होइन । यसका अतिरिक्त प्रस्तुत मुद्दामा वादीले अधिया शर्तमा कमाएको भनी दावी गरेकोलाई प्रतिवादीले इन्कार गरी पोतायत शर्तमा कमाएको भन्ने प्रतिवादी जिकिर छ । प्रमाण ऐन, ०३१ को दफा २६ र २८ अनुसार अधिया शर्तमा कमाएको हो भन्ने कुरा प्रमाणित गरी दावी प्रमाणित गर्ने भार वादी पुरावेदक मै रहेकोमा प्रमाणित गर्न सकेको मिसिलबाट देखिँदैन । अघिसम्म कूत ठेकी लिन सकिने कानुनी व्यवस्थाले वादी र प्रतिवादीको बीचमा अन्य सबूत प्रमाण विना अधिया शर्त नै रही आएको भन्ने कुरा प्रमाणित हुँदैन मिसिल संलग्न क्षेत्रीय किताब उतारबाट प्रतिवादीले वादीको जग्गा प्रतिवादीकै भनाई अनुसार पोतायत शर्तमा कमाएको भन्ने कुराको पुष्टि समेत भएको र क्षेत्रीय किताव उतारमा उल्लिखित कुरालाई वादीले बदर गराउन सकेको नदेखिएको समेतबाट बाली दिलाई पाउँ भन्ने दावी नपुग्ने ठहराई प्रतिवादीबाट वादीले पोतसम्म भरी पाउने गरेको विशेष अदालत दा.दे.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ९.   उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने यस बेञ्च समक्ष पर्न आएको निवेदनमा विवादका कित्ता जग्गाहरू अधिया शर्तमा कमाएकोले अधिया पाउँ भन्ने वादी भएकोमा पोता शर्तमा कमाएको भन्ने प्रतिवादीको भनाई देखिन्छ । पोता शर्तमा कमाएको र सो अनुसार बाली बुझाएको रसिद प्रतिवादीबाट आएको देखिन्न । पोता शर्तमा वादीले कमाउन दिएको कबुलियत पनि प्रतिवादीले पेश गर्न सकेको देखिन्न कबुलियत र कूत बुझाएको रसिदको अभावमा अधिया शर्तमा कमाएको भन्ने स्थिति हुँदा पोता शर्तमा कमाएको भनी वादी दावी नपुग्ने ठहराएको म.प.क्षे.अ.को निर्णयमा भू.सं.ऐन, ०२१ को दफा ३३ र अ.बं.१८४(क) को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको डिभिजन बेञ्चको आदेश ।

          १०.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले पोतायत शर्त कायम गरी भएको शुरु विशेष अदालतको इन्साफ सदर कायम गरेको म.प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले शुरुको इन्साफ सदर कायम गर्ने गरेको म.प.क्षे.अ.को फैसलामा कुनै त्रुटि नहुँदा सोही फैसला सदर कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          ११.  उपस्थित विद्वान अधिवक्ताहरूको बहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा यसमा मेरो नाउँमा दर्ता श्रेस्ता भएको दे.सोनपुर गा.पं.को जग्गाहरू विपक्षीले अधिया शर्तमा मोही भई कमाई आउनु भएको छ । सो जग्गामा विपक्षीले ०३४ सालको वर्ष धान बाली लगाउनु भएको थियो । कटनी मडनी गर्दा भूमिसम्बन्धी ऐन बमोजिम मलाई जानकारी नदिई उब्जनी बाली समेत एकलौटी लिई राख्नु भएकोले मेरो हिस्सामा पर्ने धान मन ५२ को हुने रु.१०४०। भराई पाउँ भन्ने व्यहोराको फिरादमा देखाइएका कित्ताहरू मैले मोहीमा कमाई आएको हो स्थायी पूर्जा पनि पाएको छु । दावी बमोजिम अधिया शर्तमा कमाएको नभई पोतायतको शर्तमा कमाएको छु । यो सालको पोत पञ्चायतलाई बुझाउने वा जग्गाधनीलाई बुझाउने भनी प्रधानपञ्चसित सोध्दा अहिले छलफल भइराखेको छ पख भनेकाले बाँकी रहेको छ अघिल्ला सालको पोत बुझाएको भए पनि भर्पाई दिएको छैन भन्ने समेत प्रतिवादी श्यामलाल चौधरीको बयान देखिन्छ । भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालत दा.दे.ले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षे.अ.ले गरेको निर्णय मिलेको देखिएन । वादी दावीबमोजिम प्रतिवादी बाट अधिया बालीको हुने बिगोको आधि वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । वादी विश्व नाथले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा राखेको कोर्टफी ७।८० यस अदालतमा दाखिल गरेको कोर्टफी ।४५ पैसा प्रतिवादी श्यामलाल चौधरीबाट वादी विश्वनाथलाई भरी भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल मार्ग ३ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु