शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: मंसिर अंक:

निर्णय नं. २१०२ ने.का.प. २०४१               अङ्क ८

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेरामभक्त माथेमा

सम्वत् २०४० सालको रि.नं. १५१३

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक/वादी : ल.पु.न.पं. वडा नं. १० सौगल टोल चालाछे बस्ने रामकृष्ण नापित

विरुद्ध

विपक्षी/प्रतिवादी : श्री ५ को सरकार निजामती किताबखाना

आदेश भएको मिति :  २०४१।८।१।६ मा

§  निवेदकले अनिवार्य अवकाश पाउँने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ।

(प्रकरण नं. ८)

निवेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री रामगोपाल श्रेष्ठ

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दा : x

आदेश

          न्या. गजेन्द्रकेशरी बास्तोला :    प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   तथ्य यस प्रकार छ : निवेदक २००४।३।२९।१ मा निजामती मध्यम परीक्षामा उत्तीर्ण भई २००५।३।१५ मा ल.पु.अ.को नौसिन्दा खालीमा भर्ना हुँदा सर्टिफिकेटको पिठमा भर्ना हुँदाको मिति लेखी अड्डाको छाप लगाई फिर्ता दिनु भएको उक्त अवस्थामा निवेदकको उमेर २२ वर्षमा प्रवेश भएकोले जन्म मिति लेखिएको छैन । म.क्षे.अ.बाट ०३९।१०।२।१ मा भ.पु.जि.अ.का डिठ्ठामा सरुवा गरी दिनु भई ०३९।१०।५ बाट रमाना दिनु भएकोले अवकाश पाउन ६ महीना अगावै अवकाशको जानकारी पाउनु पर्नेमा जानकारी नै पाएको छैन अवकाश पाएकै दिनमा थाहा जानकारी भएकोले उजूर गर्ने मौका नै पाएको छैन । ०४०।३।१७ बाट मौकैमा किताबखानामा निवेदन गर्दा आलटाल गरी निवेदन दर्ता गरी नदिएबाट म.क्षे.अ.मा निवेदन दिई सोधी पठाउँदा १ महीना पछि पर्न आएको निवेदन हुँदा उमेर संशोधन गर्न मिल्दैन भनी ०४०।४।१६ मा जानकारी दिनु भएको २००५ सालमा सिटरोल भर्दा ६० वर्षको हदम्याद लागू भइसकेको नहुँदा उमेरको त्यत्तिको विचार गर्न पर्ने अवस्थै नभएको नि.से.ऐन, २०१३ दफा ३ मा दर्जा घटाउने वा मनमानी बर्खासीबाट ६(१) मा सफाईका सबूत दिने मनासिव माफिकको मौका नदिई बर्खासी गरी वा दर्जा तलब घटाउन हुँदैन नियम ०२१ को परिच्छेद ४ को दफा ७ को उपदफा ११ ले निर्धारित गरेको अवधि जनाउ पाउनु पर्ने म.क्षे.अ.वा. भ.पु.जि.अ.बाट समेत पाएको छैन । नि.से.ऐन, २०१३ को दफा ९(१) मा नालिस गर्ने उपाय भनी संकेत गरिएको उक्त दफामा दफा ६ को उपदफा १ बमोजिम रीत नपुर्‍याई कर्मचारीलाई सेवाबाट हटाएमा गैरकानुनी हुन्छ दफा ७(१) मा ६० वर्ष पूरा भए पछि नोकरीबाट अवकाश दिनेछ भन्ने स्पटीकरणको (क) दफामा नोकरीमा प्रवेश गरेको बेलामा शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर भन्ने र दफा (ख) मा त्यस्तो रिकर्ड नभएमा नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर भनी किटानी कानुन प्रावधान भएको । अवकाश बुझिलिए पछि सर्टिफिकेट उमेर कायम गर्न मिल्दैन भनी कुनै कानुन प्रदान भएको नभई बुझाएको अवकाश नै गैरकानुनी हुँदा बदर गर्न पर्नेमा मिलाउन नमिल्ने भनी जानकारी दिएको लगत प्रष्ट छ । निजामती किताबखानाबाट उमेर संशोधन गर्न मिल्दैन भनी २०४०।४।१६ मा दिएको बोधार्थ भ.पु.जि.अ.बाट ०४०।३।१७।६ मा दिनु भएको अनिवार्य अवकाशको फोटो समेत साथै राखी रीत पुर्‍याई सेवाबाट हटाएमा गैरकानुनी अवकाश दिएकोले संविधानको धारा १६ ले प्रदान गरेको अनुसार धारा ७१ अनुसार असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन गर्न आएको छु भन्ने समेत मुख्य निवेदन जिकिर रहेछ ।

          ३.   निवेदकले मिति ०४०।३।१४ मा ६० वर्ष पूरा गरेको भनी मिति ०४०।३।२९ मा निवृत्तिभरण माग फाराम भरी यस विभागमा पेश गरेको छ । निजले एकातर्फ ६० वर्ष पूरा गरेको भनी निवृत्तिभरणको माग फाराम भरी पेश गरेको छ भने अर्कोतर्फ ६० वर्ष पूरा हुन बाँकी नै छ भनी दावी गरेकोमा निवेदक स्वयंले आफूलाई ६० वर्ष पूरा भएको यकीन गरी सकेको देखिन आएकोले निजको रिट निवेदनमा सत्यता देखिँदैन । आफ्नो नाम थर लेखी औंठाको सहीछाप गरी स्वयंले भरेको सिटरोललाई निराधार मानी झुठ्ठो विवरण र अनावश्यक गन्थन पेश गरी यस विभागलाई झुठ्ठो आरोप लगाई रिट निवेदन गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको विपक्षी निजामती किताबखानाको लिखितजवाफ ।

          ४.   सम्बन्धित कर्मचारी रिट निवेदकलाई अवकाश दिने सिलसिलामा निजामती किताबखानाबाट मिति ०३९।१०।४ मा पठाएको सूचनापत्रको जानकारी रिट निवेदकलाई दिएको छ छैन ? दिएको भए कुन मितिमा दिएको हो । सम्पूर्ण व्यहोरा खुलाई पठाई दिनु भनी भ.पु.जि. अ.लाई लेखी पठाउनु भन्नेसमेतको यस अदालतको डि.बेञ्चको मिति ०४१।४।७ गतेको आदेश ।

          ५.   निज रामकृष्ण नापित साविक मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३९।६।२० को निर्णयले यस अदालतमा सरुवा भई आएकोले सो अवकाश पत्र मध्यमाञ्चल क्षेत्रीय अदालतमा प्राप्त भई अवकाश हुने रामकृष्ण नापितलाई देखाएको र निजले पछि एकै पटक बुझौला भनेपछि एकै पटक निम्न माग फाराम बुझी लिएको भन्ने भक्तपुर जिल्ला अदालतमा प्राप्त भएको पत्र ।

          ६.   नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले विपक्षी अदालतले दिएको अवकाश कानुन बिपरीत हुँदा सो बदर गरी सर्टिफिकेट अनुसारको उमेर कायम गरी हाजिर फाराममा हाजिर गर्न दिनु पर्ने भन्ने र विपक्षी तर्फबाट रहनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले आफ्नो नाम थर लेखी औंठाको सहिछाप गरी स्वयंले भरेको सिटरोललाई निराधार मानी झुठ्ठो विवरण पेश गरी रिट निवेदन दिएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनु पर्ने भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          ७.   प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो तर्फ नै मुख्य निर्णय दिनु पर्ने हुन आएको छ ।

          ८.   यसमा निवेदकले अनिवार्य अवकाश पाउने सूचना ६ महीना अघि नै निजामती किताबखानाले ०३९।१०।४ मा दिएको सूचना निवेदकलाई बुझाइएको भन्ने कुरा भक्तपुर जिल्ला अदालतको पत्रबाट नदेखिएकोले यस विषयमा निजले पहिले नै प्रमाणपत्र पेश गर्ने अवस्था पर्न नआएको र निजले २००४ साल आषाढ २९ गते रोज १ को निजामती मध्यमा परीक्षा पास भएको प्रमाण भनी पेश गरेको प्रमाणपत्रको पिठमा २००५ साल आषाढ १५ गते २ मा ल.पु.अ.त.को नौसिन्दामा भर्ना भनी अड्डाछाप लागेको पनि देखिएको सो प्रमाण मौकामा पेश गरेको भन्ने देखिएकोले ०४०।३।१५ देखि निवेदकले अनिवार्य अवकाश पाउने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । अब बुझ्नु भिडाउनु पर्ने बुझी भिडाई नियम बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन म.न्या. का.मा पठाई नियमानुसार गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल मंसीर १ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु