निर्णय नं. ९०९२ - कर्तव्य ज्यान

नेकाप २०७० अङ्क १२ नि.नं.९०९२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
फैसला मिति : २०७०।५।२३।१
०६९-CR-०३८३
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी : हर्कबहादुर विश्वकर्मासमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला संखुवासभा, बानेश्वर गा.वि.स. वडा नं. ६ बस्ने थोमबहादुर तामाङसमेत
- अभियोग दावी लगाउनु र अभियोग स्थापित हुनु अलगअलग कुरा हुन् । फौजदारी कसूरअन्तर्गत अभियोग दावी लिंदा सो दावीलाई पुष्टि गर्ने यथेष्ट प्रमाणहरूको विद्यमानता हुनु अनिवार्य हुने ।
- अनुमान तथा अड्कलका भरमा अभियोगलाई स्थापित गर्दै जाने हो भने फौजदारी न्यायको मूल मर्म नै परास्त हुन गै समग्र न्याय प्रणालीप्रति नै वितृष्णा हुने ।
- प्रतिवादीहरू वारदातका बखत वारदात स्थलमा मौजूद हुनु बाहेक कुटपीट गरी मार्नेसम्मको कार्यमा प्रतिवादीहरूको अन्य कुनै काम, कारवाही भएको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा प्रतिवादीहरूलाई अभियोग दावीबमोजिमको सजाय निर्धारण गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने ।
(प्रकरण नं.५)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी
प्रत्यर्थी/प्रतिवादीतर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
- ज्यानसम्बन्धी महलको १७(३), १३(३)
शुरू तहमा फैसला गर्ने
मा.न्या.गोपालप्रसाद बाँस्तोला
पुनरावेदन तहमा फैसला गर्ने
मा.मु.न्या.गोविन्दकुमार उपाध्याय
मा.न्या.शम्भुबहादुर खड्का
फैसला
न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६९/३/१७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नबमोजिम रहेको छ ।
१. तथ्य खण्ड :
मिति २०६१/१२/२२ गते बेलुकी अं.१७.०० बजेको समयमा मेरो दाजु पर्शुराम वि.क. लाई जिल्ला संखुवासभा, बानेश्वर गा.वि.स. वडा नं. ६ खाम्लिङ बस्ने चतुरमान तामाङसमेतका मानिसहरूले बिनाकारण निहुँ खोजी लाठीले कुटपीट गर्दा सख्त घाइते भई सोही राती अन्दाजी ३.०० बजे मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको हर्कबहादुर वि.क. को मिति २०६१/१२/२४ को जाहेरी दरखास्त ।
मृतक पर्शुराम वि.क. को टाउकोको टुप्पोको बीच भागमा १६ से.मि. लामो चोट भएको उक्त चोटबाट रगत बगिरहेको, नाक र मुखबाट रगत बगेको, अन्य भागमा केही पिल्सिएको देखिएको भन्नेसमेत व्यहोराको मिति २०६१/१२/२४ को घटनास्थल लास प्रकृति मुचुल्का ।
मिति २०६१/१२/२२ गते गाउँकै म, तारादेवी राई र रमिता राई तुम्लिङटार फोन गर्न आई घरतर्फ फर्कने क्रममा खराङ ९ स्थित गन्धेपानीमा बसिरहेको अवस्थामा जिल्ला भोजपुर जरायोटार–४ बस्ने पर्शुराम वि.क. तुम्लिङटारबाट सोही स्थानमा पुगे । खाम्लिङ बस्ने चतुरमान तामाङसमेत ५ जना भरीयाले पनि जाँड खाई रहेका थिए । सोही अवस्थामा चतुरमान तामाङ र पर्शुराम वि.क. को वादविवाद हुँदाहुँदै चतुरमान तामाङले पर्शुराम वि.क. लाई दाउराले टाउकोमा हान्यो । सोही अवस्थामा चतुरमान तामाङको साथीहरूले पनि हिर्काउन लागे । निजहरूले कुटीरहेकै अवस्थामा खराङ–९ बस्ने निर्वाचन न्यौपाने र धनशेर राना मगरले पनि लाठीले निज पर्शुराम वि.क. लाई भकाभक कुट्न थाले । मृतकको मृत्यु चतुरमान तामाङ, निर्वाचन न्यौपाने, धनशेर राना मगरसमेतको कुटाईबाट भएको हो भन्नेसमेत व्यहोराको कमला राईले गरेको मिति २०६१/१२/२४ को मौकाको कागज ।
मिति २०६१/१२/२२ गते काम विशेषले म कमला राई र रमिता राई खराङ ९ को गन्धेपानी भन्ने ठाउँमा आएका थियौँ । जरायोटार–४ भन्ने पर्शुराम वि.क. र खराङ ६ बस्ने चतुरमान तामाङ र निज चतुरमान तामाङका अन्य साथीबीच वादविवाद हुँदाहुँदै चतुरमान तामाङले दाउराले कुट्न थालेपछि खराङ–९ बस्ने धनशेर राना मगर र निर्वाचन न्यौपानेसमेतले कुटपीट गरी पर्शुराम वि.क. बेहोस भै भूईंमा लडाएपछि हामीले ज्यान मर्ला भनी करायौँ । त्यसपछि कुट्न छाडे । पर्शुराम वि.क. बेहोस भई भूईंमा लडिरहेका थिए । भोलिपल्ट बिहान पर्शुराम मर्यो भन्ने सुनेकी हुँ । चतुरमान तामाङ, धनशेर राना मगर, निर्वाचन न्यौपानेसमेतका मानिसहरूलाई कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको तारादेवी राईले गरेको मिति २०६१/१२/२४ को मौकाको कागज ।
चतुरमान तामाङसँग पर्शुराम वि.क. को के कुरामा वादविवाद भयो थाहा भएन । एक्कासी चतुरमान तामाङले पर्शुराम वि.क. लाई लाठीले हिर्काउन थालेपछि सोही अवस्थामा नजिकै भएका खराङ–९ बस्ने धनशेर राना मगर, निर्वाचन न्यौपानेसमेतले कुटपीट गर्न थाले । हामीले ज्यान मर्ला भनी हल्लाखल्ला गरेपछि कुट्न छाडेका हुन् । भोलिपल्ट बिहान सुन्दा पर्शुराम वि.क. मर्यो भनी सुनेकी हुँ भन्नेसमेत व्यहोराको रमिता राईले मिति २०६१/१२/२४ मा गरेको मौकाको कागज ।
मेरा काका पर्शुराम वि.क. लाई बिना कारण बानेश्वर–६, खाम्लिङ बस्ने चतुरमान तामाङ, खराङ–९ बस्ने धनशेर राना मगर, ऐ. बस्ने निर्वाचन न्यौपाने र अन्य नाम थाहा नभएका चतुरमान तामाङका ४ जना साथी गरी जम्मा ७ जनाले दाउराले मरणासन्न हुने गरी कुटपीट गर्दा सोही कारण काकाको मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको टीकाराम बराइलीको मिति २०६१/१२/२४ को मौकाको कागज ।
The cause of death is head injury to coma भन्ने व्यहोराको मृतक पर्शुराम वि.क. को पोष्टमार्टम रिपोर्ट ।
मिति २०६१/१२/२२ गते तुम्लिङटारबाट आफ्नो काम सकी पर्शुराम वि.क. र म बाटोमा आउँदै गर्दा खराङ–९ को गन्धेपानी भन्ने ठाउँको चौतारामा बानेश्वर–६ बस्ने चतुरमान तामाङ र निजका नचिनेका अन्य साथीहरू जाँड रक्सी खाई नाचगान गरेर बसिरहेका रहेछन् । निजहरूले नाचगान गरेको चौतारामा पर्शुराम वि.क. गई हेर्न लाग्दा एक्कासी चतुरमान तामाङले निहुँ खोजी पर्शुराम वि.क. को टाउकोमा हान्यो । मैले किन यसो गरेको भनी भन्दा तँलाई पनि दाँत झारिदिन्छु भनी कुट्न खोज्दा म छलिएँ । त्यसपछि पछाडि भागी केही पर पुगेर हेर्दा चतुरमान तामाङ र निजका साथीहरूले कुट्दै थिए । पर्शुराम वि.क. रगताम्मे भै भूईंमा लडेको देखी वर आई हल्लाखल्ला गर्दा खराङ–९ बस्ने गोविन्द भन्ने चन्द्रबहादुर दाहाल घटनास्थलतर्फ जाँदै गरेको देखेको हुँ । निजहरू के कहाँबाट आएका हुन् थाहा भएन । घटनास्थलमा चतुरमान तामाङ र नाम नजानेका निजका अन्य ४ जना साथीहरू थिए । मृतक पर्शुराम वि.क. को मृत्यु चतुरमान तामाङ र निजका साथीहरूको कुटपीटको कारणले भएको हो भन्नेसमेत व्यहोराको जसबहादुर राईको मिति २०६१/१२/२९ को मौकाको कागज ।
मिति २०६१/१२/२२ गते दिनको अन्दाजी ५ बजेको समयमा खराङ–९ को गन्धेपानी भन्ने ठाउँको चौतारामा बानेश्वर–६, खाम्लिङ बस्ने चतुरमान तामाङ र निजका अन्य ४ जना साथीहरू र भोजपुर जरायोटार–४ बस्ने पर्शुराम वि.क. बीचमा वाद विवाद हुँदा चतुरमान तामाङले दाउरा टिपी पर्शुराम वि.क. को टाउकोमा प्रहार गर्दा पर्शुराम वि.क. भूईंमा लडे । सो पश्चात् नाम थाहा नभएका चतुरमान तामाङका अन्य साथीसमेतले कुटपीट गरेको देखेको हुँ । सो अवस्थामा मृतकसँगै आएका जसबहादुर राई के कहाँ भागे थाहा भएन । वारदातस्थलमा अन्य कोही देखिन । मौकामा कागज गर्ने रमिता राई, तारा राई र कमला राईसमेतले लेखाई दिएका धनशेर राना मगर र निर्वाचन न्यौपानेलाई मैले देखिन भन्ने व्यहोराको गोविन्द भन्ने चन्द्रबहादुर दाहालको मिति २०६१/१२/२९ को मौकाको कागज ।
मृतक पर्शुराम वि.क. लाई कुटपीट गरी मार्नमा मेरो कुनै संलग्नता छैन । मिति २०६१/१२/२१ गते रिठाबासबाट टीनको भारी लिई बानेश्वर–६, खाम्लिङ बस्ने चतुरमान तामाङ र अन्य निजका नचिनेका ४ जना साथी गरी ५ जना खराङ–९ को गन्धेपानी भन्ने ठाउँको चौतारामा बास बसेका थिए । भोलिपल्ट बिहानैदेखि निजहरू जाँड रक्सी खाएर बसिरहेका थिए । दिनको अन्दाजी ३ बजेको समयमा जिल्ला भोजपुर, जरायोटार–४ बस्ने पर्शुराम वि.क. र जसबहादुर राई के कहाँबाट आई चतुरमान तामाङसमेतका मानिसहरू नाचगान गरी बसेको ठाउँमा गई नाचगान गर्दै थिए । के कुन कुराको विषयमा वाद विवाद भयो थाहा भएन । चतुरमान तामाङसमेतका निजका साथीहरूले तामाङ भाषा बोली एक्कासी चतुरमान तामाङले आफूले भारी बोक्दा प्रयोग गर्ने काठको तोक्माले पर्शुराम वि.क. लाई टाउकोमा हिर्काए । त्यसपछि निजका अन्य साथीहरूले समेत हिर्काउन थालेपछि निज पर्शुराम वि.क. भूईंमा लडे । जसबहादुर राई के कता भागे थाहा भएन । त्यसपछि म र छिमेकी धनशेर राना मगरले ज्यान मर्ला खबरदार भन्दै उक्त घटनास्थलतर्फ गई छुट्याई हेर्दा पर्शुराम वि.क. टाउकोमा चोट लागी बेहोस अवस्थामा रगताम्मे भई भूईंमा लडिरहेका थिए । चतुरमान तामाङ र निजका साथीहरू हातमा तोक्मा लिएर रिठाबासतर्फ लागे । घाइतेको श्रीमतीलाई मैले खबर गरिदिएको हुँ । राती अन्दाजी ३ बजेको समयमा घाइते पर्शुरामको मृत्यु भएको हो । मौकामा कागज गर्ने कमला राई, तारा राई र रमिता राईले के कुन उद्देश्यले मलाई र धनशेर राना मगरलाई आरोप लगाएका हुन् ? निजहरूले नै जानून् भन्नेसमेत व्यहोराको प्रतिवादी निर्वाचन न्यौपानेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
पर्शुराम वि.क. लाई कुटपीट गरी मार्नमा मेरो संलग्नता छैन । मृतकलाई बानेश्वर–६ बस्ने चतुरमान तामाङ र निजका अन्य ४ जना साथी गरी ५ जनाले भारी बोक्दा प्रयोग गर्ने तोक्माले कुटपीट गर्दा सोही कारणबाट निजको मृत्यु भएको हो । कुटपीटपछि घाइते भएका पर्शुराम वि.क. लाई म, निर्वाचन न्यौपानेसमेतका मानिसहरूले स्याहार सम्भार गरेको हो । मौकामा कागज गरिदिने कमला राई, तारा राई र रमिता राई केही महिनाअगाडिदेखि वारदात भनिएको खराङ–९ को गन्धेपानी भन्ने चौतारा आसपासमा जाँड रक्सीको व्यापार गरी बस्दथे । हामी गाउँ समाजमा मानिसहरूले यहाँ जाँड रक्सी नबेच भनी कराएका थियौँ । सोही रिसइबीको कारण निजहरूले मलाई, निर्वाचन न्यौपानेसमेतलाई वारदातमा मुछिदिएको हुनुपर्छ भन्नेसमेत व्यहोराको धनशेर राना मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मैले बानेश्वर–६ खाम्लिङ बस्ने चतुरमान तामाङ, ऐ. बस्ने थोमबहादुर तामाङ, ऐ. बस्ने रमेश तामाङ, ऐ. बस्ने शमशेर तामाङ र ऐ. बस्ने दुर्गाबहादुर तामाङलाई रिठाबासबाट कर्कटपाताको भारी बोकाई पठाएको हुँ । म घरमा आइपुग्दासमेत सामान आइनपुगेको हुँदा खोजी गर्दै जाँदा चतुरमान तामाङसमेतका ५ जना मानिसहरूले खराङ–९ को गन्धेपानी भन्ने ठाउँमा जिल्ला भोजपुर जरायोटार–४ बस्ने पर्शुराम वि.क. लाई कुटपीट गरी मारी मैले बोकाएको भारी सोही ठाउँमा छाडी भागेको भन्ने थाहा पाएको हुँ । मैले तुम्लिङटारमा भएको मेरो गोदाममा सामान स्टोर गरी मैले पठाएको ११ नं. को बिलसमेत यसै कागजसाथ पेश गरेको छु । उक्त वारदातमा धनशेर साना मगर, निर्वाचन न्यौपानेको संलग्नता भएको भन्ने विश्वास लाग्दैन भन्नेसमेत व्यहोराको धनबहादुर रसाइलीको कागज ।
मिति २०६१/१२/२२ गते बिनाकारण बानेश्वर–६ खाम्लिङ बस्ने चतुरमान तामाङ, ऐ. बस्ने थोमबहादुर तामाङ, ऐ. बस्ने रमेश तामाङ, ऐ. बस्ने शमशेर तामाङ, ऐ. बस्ने दुर्गाबहादुर तामाङले जाहेरवालाको दाजु पर्शुराम वि.क. लाई कुटपीट गरेका हुन् । निजहरू हाल के कहाँ रहेका छन् थाहा छैन । पक्राउ परी आएका धनशेर राना मगर र निर्वाचन न्यौपानेले मृतकलाई कुटपीट गरी मारेका हैनन् । निजहरूको पूर्व रिसइबी भएको थाहा छैन । मृतकलाई चतुरमान तामाङसमेतका ५ जनाले भारी बोक्दा प्रयोग गर्ने काठको तोक्माले कुटपीट गरेको र सोही कारणले जाहेरवालाको दाजु पर्शुरामको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको वस्तुस्थितिका मानिसहरूले एकै मिलानमा बकी लेखाई दिएको मिति २०६२/१/१३ को वस्तुस्थिति मुचुल्का ।
२ अभियोग खण्ड :
प्रतिवादी चतुरमान तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ, शमशेरबहादुर तामाङ, निर्वाचन न्यौपाने र धनशेर राना मगरले लाठी र दाउरा प्रयोग गरी पर्शुराम वि.क. लाई कुटपीट गरी मारेको हुँदा फरार रहेका प्रतिवादीहरू चतुरमान तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ, शमशेर तामाङ र दुर्गा तामाङको हकमा वारेण्ट जारी गरी पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिम कसूर गरेको हुँदा प्रतिवादी निर्वाचन न्यौपानेबाहेक अन्य प्रतिवादीहरूको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सजाय हुन र प्रतिवादी निर्वाचन न्यौपानेको हकमा मिसिल संलग्न श्री मनकामना उच्च माध्यमिक विद्यालय, खाँदबारीको २०६१/१२/२८ को पत्रानुसार निजको जन्म मिति २०४८/८/११ भै नाबालक भएको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
३. बयान तथा बकपत्र खण्ड :
मिति २०६१/१२/२२ गते बेलुकी ५ बजेको समयमा गन्धेपानी चौतारामा झगडा भएको हल्ला सुनी घरबाट हेर्दा प्रतिवादी चतुरमान र मैले नचिनेका मानिसहरूले हात हालाहाल गरी चतुरमानले भारी बोक्न प्रयोग गरेको अनौ जस्तो चारपाटे तोक्माले मैले नचिनेका मृतकको टाउकोमा हानेको अन्दाजी २/४ मिटर टाढाबाट देखेको हुँ । मृतक पर्शुराम वि.क. को मृत्यु प्रतिवादी चतुरमान तामाङले तोक्माले टाउकोमा हानेको चोटबाट भएको हो । सोही दिन रातको अन्दाजी ३.३० बजेको समयमा मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी निर्वाचन न्यौपानेले शुरू अदालतमा मिति २०६२/१/२१ मा गरेको बयान ।
छुट्याउने उद्देश्यले घटनास्थल जाँदा प्रतिवादी चतुरमान तामाङले मृतकको टाउकोमा तोक्माले हानेको मैले देखेको हुँ । मैले मृतकलाई देखेकै थिइन । घटना भएको दिनमात्र देखेको हुँ । मृतकलाई मैले कुटेको छैन, मारेको हैन त्यसैले अभियोग दावीबमोजिम मैले सजाय पाउनु पर्ने हैन भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका धनशेर राना मगरले शुरू संखुवासभा जिल्ला अदालतमा मिति २०६२/१/२१ मा गरेको बयान ।
प्रतिवादीहरू चतुरमान तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ, शमशेर तामाङ र दुर्गा तामाङका नाउँमा शुरू संखुवासभा जिल्ला अदालतबाट जारी भएको ७० दिने म्यादी पूर्जी मिति २०६२/६/१० मा र प्रतिवादी चतुरमान तामाङका नाउँमा पुनः जारी भएको ७० दिने म्यादी पूर्जी मिति २०६२/११/२५ मा तामेल भएकोमा निज प्रतिवादीहरू म्यादभित्र हाजीर नभै कानूनले थाम्न पाउने म्यादसमेत गुजारी फरार रहेका ।
वारदात रोक्न निज निर्वाचन न्यौपाने र धनशेर राना मगरको वारदात स्थलमा उपस्थित भएको हुँदा मृतकको मृत्युमा प्रतिवादी निर्वाचन न्यौपाने र धनशेर राना मगरको हात नभएकोले निजहरूले प्रस्तुत मुद्दामा सजाय पाउनुपर्ने हैन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने तथा प्रतिवादी निर्वाचन न्यौपाने र धनशेर राना मगरका साक्षी शंकर दाहालले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
उक्त वारदातको दिन खराङ–९ बस्ने चन्द्रबहादुर राईको घरबाट साग लिई घर जाने क्रममा गन्धेपानी भन्ने ठाउँमा पुग्दा मृतक र चतुरमान रक्सी माग्न निर्वाचन न्यौपानेको घरमा गए । सो ठाउँमा दुबैजनाको झगडा हुन लाग्दा निर्वाचन न्यौपानेले त्यहाँबाट घचेडी घरबाट हटायो । त्यसपछि के–के भयो मलाई थाहा भएन । म साग लिई घरतर्फ गएँ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने खड्ग गौतमले शुरू संखुवासभा जिल्ला अदालतमा गरेकोे बकपत्र ।
मैले मिति २०६१/१२/२४ गते गरेको मौकाको कागज पढी वाची सुनाउँदा सुनी पाएँ । सोमा लेखिएको व्यहोरा र सहीछापसमेत मेरै हो । लेखिएको व्यहोरा ठीक छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने तारादेवी राईले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक पर्शुराम वि.क. लाई सबैभन्दा पहिले चतुरमान तामाङले दाउराले हिर्काएको मैले आँखाले देखेको हुँ । निजका साथी ५ जना र प्रतिवादी धनशेर राना मगर, निर्वाचन न्यौपानेसमेत सोही वारदातस्थलमा थिए । मौकामा गरेको मिति २०६१/१२/२४ को कागजमा लेखिएको व्यहोरा र सहीसमेत मेरै हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने कमला राईले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक पर्शुराम वि.क. लाई खाम्लाङे चतुरमानले सबैभन्दा पहिले दाउराले हिर्काएको मैले आँखैले देखेको हुँ । सो वारदातस्थलमा निजको साथी भरीया नाम नजानेको ४ जना निर्वाचन न्यौपाने, धनशेर राना मगर पनि सोही ठाउँमा थिए । अन्य शंकर दाहाल, गोविन्द दाहालसमेतका मानिसहरूले हेरिरहेका थिए । मिति २०६१/१२/२४ को मौका कागजमा भएको व्यहोरा र सहीछापसमेत मेरै हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने रमिता राईले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६१/१२/२२ गतेको दिन बेलुकी ५ बजेको समयमा प्रतिवादीमध्ये चतुरमान तामाङले मृतक पर्शुराम वि.क. लाई निजले भारी बोक्ने तोक्माले टाउकोमा हिर्काए । अरूले दाउराले हिर्काएको देखेको हुँ । सोही कुटाइकै चोटबाट मृतकको मृत्यु भएको हो । प्रतिवादी धनशेर राना मगर र निर्वाचन न्यौपाने घटनास्थल नजिक थिए । घटना भएकै ठाउँमा थिएन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने चन्द्रबहादुर दाहालले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक पर्शुराम वि.क. लाई चतुरमान तामाङसमेतका पाँचजना भरियाले तोक्मा दाउरासमेतले कुटपीट गरी कर्तव्य गरी मारेका हुन् । सो वारदातमा निर्वाचन न्यौपाने र धनशेर राना मगर थिएनन् भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने पदमबहादुर मगरले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक पर्शुराम वि.क. लाई प्रतिवादी चतुरमान तामाङलगायतका मलाई नाम थाहा नभएका ४ जनाले कुटपीट गरी मारेको भन्ने सुनेको हुँ । प्रतिवादी निर्वाचन न्यौपाने र धनशेर राना मगर घटना भैसकेपछि घटनास्थलमा पुगेका हुन् । सो समयमा मसमेत थिएँ । घाइतेलाई बचाउन गएका हौँ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने लालबहादुर कटुवालले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति याद भएन आजभन्दा २ वर्ष अगाडि चैत महिनामा मेरो काम विशेषले घरबाट तुम्लिङटार जाँदै थिएँ । कुडुले घाटमा पर्शुराम वि.क. सँग भेट भयो । निज र म सँगै तुम्लिङटार गयौँ । फर्कने क्रममा कत्ले भञ्ज्याङ आएपछि मैले २ सेर जाँड खाएँ । उसले एक बोतल रक्सी खाए । त्यहाँबाट हिँडी गन्धेपानी भन्ने ठाउँमा करिब ४.३० बजे पुग्यौँ । त्यहाँ चतुरमान तामाङसमेत भारी बोक्ने ५ जनाको ग्रुप जाँड खाँदै थिए । हामीलाई चतुरमानले घर कहाँ हो भनी सोध्यो । मैले हाम्रो घर भोजपुर भने । पर्शुराम वि.क. ले चतुरमानलाई किन सोध्नुभयो भनी भने । चतुरमान तामाङले दाउराको हारबाट दाउरा निकाली एकैचोटी पर्शुराम वि.क. को टाउकोमा हान्यो । निजको टाउको फुटी टाउकोबाट गिदीसमेत निस्किएको थियो । निज एकैचोटमा ढले । मैले ज्यान मर्ला भन्दा मलाई पनि कुट्न थाले । मृतक ढलेपछि चतुरमानका साथी चारै जनाले लाठी लात्तीले मृतकलाई हानिरहेका थिए । मैले ज्यान मर्ला भनी कराउँदा धनशेर राना मगर, निर्वाचन न्यौपाने र गोविन्द दाहाल कराउँदै आउनुभयो । चतुरमान तामाङसमेत ५ जना भागेपछि मृतक ङ्यार ङ्यार गरिरहेको अवस्थामा म, निर्वाचन न्यौपाने, धनशेर राना मगर, गोविन्द दाहालसमेतले उठाएर शंकर दाहालको घरमा लगेर राख्यौ । मृतकको मृत्यु खाम्लिङे चतुरमान तामाङसमेतका ५ जना भारी बोक्ने ग्रुपले कुटपीट गरेको कारणबाट भएको हो । प्रतिवादी निर्वाचन न्यौपाने र धनशेर राना मगरले मृतकलाई कुटपीट गरेको होइन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने जसबहादुर राईले शुरू संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
४. शुरू संखुवासभा जिल्ला अदालतबाट भएको फैसला तथा आदेशको व्यहोरा :
फरार रहेका प्रतिवादीहरू चतुरमान तामाङ, थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ, शमशेर तामाङका हकमा निजहरू हाजीर भए वा पक्राउ परी आएका बखत मुद्दा खडा गरी कानूनबमोजिम कारवाही किनारा गर्ने गरी हाललाई मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुलतबी राखिदिएको छ भन्नेसमेत व्यहोराको संखुवासभा जिल्ला अदालतबाट भएको मिति २०६५/२/२८ को जाहेरी फैसला ।
फरार रहेका प्रतिवादी चतुरमान तामाङ, थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ, शमशेर तामाङको मिति २०६४/९/२३ मा अंश रोक्का मुचुल्का भएकोमा अंश रोक्का मुचुल्का भएको २ वर्ष पूरा भैसकेको देखिँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाइदिएको छ भन्नेसमेत व्यहोराको संखुवासभा जिल्ला अदालतबाट भएको मिति २०६७/६/११ को आदेश ।
मृतकको मृत्यु चतुरमान तामाङ र निजको साथमा रहेका अन्य प्रतिवादीहरूले पनि कुटपीट गरेको भन्ने संलग्न प्रमाणबाट देखिए पनि प्रतिवादी चतुरमानले पहिले टाउकोमा प्रहार गरी गिदी निस्कने गरी हानी लडाएको, अन्य प्रतिवादीहरूले टाउकोमा प्रहार गरेको भन्ने कतैबाट नखुलेको र मृत्युको कारण टाउकोको चोटमात्र देखिएकोले मृतकको मृत्यु हुनमा अन्य प्रतिवादीको भूमिका स्वीकार्न सकिएन । तसर्थ चतुरमान तामाङलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र अन्य प्रतिवादी दुर्गाबहादुर तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ र शमशेर तामाङले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको शुरू संखुवासभा जिल्ला अदालतबाट मिति २०६७/७/१७ मा भएको फैसला ।
५. पुनरावेदन अदालत, धनकुटामा दायर भएको वादी नेपाल सरकारको पुनरावेदन जिकीर व्यहोरा :
मृतक पर्शुराम वि.क. को मृत्यु चतुरमान तामाङ र अन्य नाम नचिनेका निजका साथीहरूसमेतले कुटपीट गरी मृत्यु भएको भनी किटानी जाहेरी दिएको अवस्था छ भने चश्मदीद गवाह जसबहादुर राई, चन्द्रबहादुर दाहाल, कमला राई, रमिता राई र तारादेवी राईसमेतले मौकामा तथा अदालतमा उपस्थित भई बकपत्र गर्दा पहिला चतुरमान तामाङले दाउराले टाउकोमा हिर्काई टाउको फुटी गिदी निस्किएको थियो त्यसपछि अन्य व्यक्तिहरूले समेत कुटपीट गरे भनी लेखाई दिएका छन् । अन्य मौकामा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले समेत सबै प्रतिवादीहरूले कुटपीट गरेका हुन् भनी लेखाई दिएको अवस्था छ । मौकामा पक्राउ परेका सह प्रतिवादीहरू निर्वाचन न्यौपाने र धनशेर राईले मौकामा र अदालतमा चतुरमान राईले तोक्माले मृतक पर्शुराम वि.क. को टाउकोमा हिर्काएको र उक्त घटनामा चतुरमान तामाङका अन्य ४ जना साथीहरूको पनि संलग्नता थियो भनी बयान गरेको अवस्थामा उक्त बयान व्यहोरालाई प्रमाण नलिई एवं मृतकको शव परीक्षण प्रतिवदेनमा मृतकको टाउकोको Laceration र Haematoma एवं Forehead मा Fracture समेत देखिएको भन्ने उल्लेख भएबाट मृतकलाई एकजनाले मात्र टाउकोमा हिर्काएको भन्ने कुरा खण्डित भै धेरै जना प्रतिवादीले कुटपीट गरेको तथ्य सप्रमाण पुष्टि भैरहेको अवस्थामा प्रतिवादी चतुरमान तामाङलाई मात्रै कसूरदार ठहर्याई प्रतिवादीहरू थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शमशेर तामाङसमेतलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरू अभियोग माग दावीअनुसार सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
६. पुनरावेदन अदालत, धनकुटाबाट भएको आदेश तथा फैसला खण्ड :
सर्वोच्च अदालतबाट शुरू मिसिल झिकाउनु सो अदालतबाट शुरू मिसिल आउन नसक्ने भए उक्त शुरू मिसिलको सम्पूर्ण कागजातको फोटोकपी प्रमाणित गरी पठाई फैसला मुलतबीमा राख्न, राख्न नदिने कुरामा सहयोग गर्नका लागि सर्वोच्च अदालतलाई लेखी पठाई सो प्राप्त भएपछि नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६८/१/६ को आदेश ।
प्रतिवादी चतुरमान तामाङको पुनरावेदन नपरेकोले निजको हकमा साधकमा दर्ता गर्नू । सफाइ पाएका प्रतिवादीहरू थोमबहादुरसमेतले मृतकलाई कुटपीट गरेको देखिएपछि पूरै सफाइ दिएको शुरू फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई आएपछि सर्वोच्च अदालतबाट अविलम्ब शुरू मिसिल झिकाउनू । शुरू मिसिल पठाउन साक्षीहरूले अदालतमा गरेको बकपत्रसमेतका लिखतहरूको फोटोकपी पठाई दिन सर्वोच्च अदालतलाई लेखी सो प्राप्त भएपछि नियमबमोजिम पेश गर्नु भन्नेसमेतको पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६८/६/२ मा भएको आदेश ।
प्रस्तुत मुद्दाको मिसिल मिति २०६७/९/२० मा श्री सर्वाेच्च अदालत, काठमाडौंमा पठाएको भनी संखुवासभा जिल्ला अदालतको मिति २०६७/११/२ को पत्रबाट लेखी आएकोमा उक्त शुरू मिसिल पठाई दिनु हुन भनी श्री सर्वोच्च अदालतमा पटकपटक पत्राचार गरिएकोमा उक्त मुद्दा हाल कार्यवाहीयुक्त अवस्थामा रहेको भनी श्री सर्वोच्च अदालतको पत्रबाट लेखी आएको देखिँदा उक्त शुरू मिसिल प्राप्त भएपछि जगाई कारवाही गर्ने गरी प्रस्तुत मुद्दा अ.बंं १२ नं. बमोजिम मुलतबी राखी दिएको छ भन्ने मिति २०६९/१/३१ गतेको पुनरावेदन अदालतबाट भएको आदेश ।
हर्कबहादुर वि.क. को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चतुरमान तामाङसमेत भएको कर्तव्य ज्यान मुद्दाको शुरू मिसिल सम्मानीत सर्वोच्च अदालतबाट झिकाइएकोमा सो मिसिलको सट्टा मिसिल संलग्न कागजातहरूको (छायाँप्रति) प्राप्त हुन आएकोले प्रस्तुत मुद्दा मुलतबीबाट जगाई कानूनबमोजिम गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाबाट भएको मिति २०६९/२/२३ को आदेश ।
यी प्रतिवादीहरूलाई पूरै सफाइ दिएको शुरू फैसलासँग सहमत हुन सकिएन । प्रतिवादी चतुरमान तामाङलाई अभियोग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गरेको शुरू फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । प्रतिवादीहरू थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शमशेर तामाङलाई पूरै सफाइ दिएको शुरू संखुवासभा जिल्ला अदालतको मिति २०६७/७/१७ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भै निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम कैद वर्ष २ हुने ठहर्छ । सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम हदैसम्म अर्थात ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । चतुरमान तामाङको हकमा श्री सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्नेसमेतको पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६९/३/१७ मा भएको फैसला ।
७. वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष लिएको पुनरावेदन जिकीर :
प्रस्तुत वारदातमा घटनालाई वारदात स्थलमा अत्यन्त नजिकबाट देख्ने र उद्धारमा खट्ने यामबहादुर मगर, चन्द्रबहादुर दाहाल, भरत दाहाल, शंकर दाहालसमेतका मानिसहरूले स्पष्ट रूपमा प्रतिवादी चतुरमान तामाङलगायत यी प्रत्यर्थी प्रतिवादीहरूसमेतले तोक्मा र दाउराले यी मृतक पर्शुरामलाई कुटपीट गरी लडाएका र हामीहरूसमेतले उद्धार गरी उपचारको क्रममा निजको मृत्यु भएको भनी स्पष्टरूपमा खुलाई दिएका छन् । यसरी निजहरूको संलग्नता कानून खम्बिर भै सकेको अवस्थामा यी साक्षीहरूको भनाइलाई अन्य सुनेका व्यक्ति भरमा व्यक्त गर्ने र घटनालाई टाढाबाट देख्ने वा वारदातपूर्वको अवस्था मात्र देखेका व्यक्तिहरूको भनाईसँग तुलना गरी वादीका साक्षीहरूका भनाईमा मतैक्य नरहेको भन्ने आधारमा प्रतिवादीहरूलाई अभियोग दावी भन्दा कम सजाय हुने गरी पुनरावेदन अदालतबाट फैसला भएको छ । मृतकको टाउकोमा १६ से.मी. लामो चोट रहेको, सोबाट रगत बगिरहेको, नाक मुखबाट रगत बगिरहेको, अन्य भागमा केही पिल्सिएको देखिएको भन्ने लास प्रकृति मुचुल्काबाट देखिएको एवं पोष्ट मार्टम रिपोर्टमा घाउ चोटहरू उल्लेख गर्दै मृत्युको कारणमा The cause of death is head injury leading to coma भन्ने उल्लेख छ । यसबाट मृतकलाई प्रतिवादी चतुरमान तामाङलेमात्र कुटपीट गरेको र यी प्रतिवादीहरूले कुटपीट नगरेको भए मृतक पर्शुराम वि.क.को शव परिक्षण प्रतिवेदनमा मृतकको टाउको र Parietal र Temporal region को दायाँ बायाँ नै Laceration र Haematoma एवं निधारमा फुटेको समेत देखिएको भन्ने उल्लेख भएबाट मृतकलाई एकजनाले एकपटकमात्र टाउकोमा हिर्काएको भन्ने कुरा खण्डित भएको छ । यसरी धेरै जना प्रतिवादीहरूले कुटपीट गरेको कुरा पुष्टि भैरहेको अवस्था विद्यमान रहेकोमा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालत, धनकुटाको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, शम्सेर तामाङलाई शुरू अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्नेसमेतको वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष पेश भएको पुनरावेदनपत्र ।
नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले यी प्रतिवादीहरूसमेत चुतरमानसँग मिली मृतकलाई कुटपीट गरेको कुरा वारदात स्थलमा नजिकबाट देख्ने यामबहादुर मगरसमेतका व्यक्तिहरूले उल्लेख गरिदिएको मिसिलबाट देखिएकोमा सोतर्फ ध्यान नदिई ज्यानसम्बन्धीको १७(३) बमोजिम सजाय गर्ने गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी चतुरमान तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ, शम्शेरबहादुर तामाङ, निर्वाचन न्यौपाने र धनशेर राना मगरले लाठी र दाउरा प्रयोग गरी पर्शुराम वि.क.लाई कुटपीट गरी मारेको हुँदा फरार प्रतिवादीहरू चतुरमान तामाङ, थोमबहादुर तामाङ, रमेश तामाङ, शम्शेर तामाङ र दुर्गा तामाङको हकमा वारेन्ट जारी गरी पक्राउ परी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसूर गरेको हुँदा प्रतिवादी निर्वाचन न्यौपानेका हकमा बाहेक अन्य प्रतिवादीहरूका हकमा ज्यानसम्बन्धी महलको १३(३) बमोजिमको सजाय र निर्वाचन न्यौपानेको हकमा नाबालक देखिएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजायको माग दावी लिई प्रस्तुत अभियोगपत्र दायर भएको देखिन्छ । फरार प्रतिवादीहरूका हकमा मुलतबीमा राखी प्रतिवादीद्वय निर्वाचन न्यौपाने र धनशेर रानाका हकमा सजाय हुने ठहरी शुरू संखुवासभा जिल्ला अदालतबाट फैसला भएको र पछि यी प्रतिवादीहरूका हकमा मिति २०६७/७/१७ मा मुलतबीबाट जगाईएको र कारवाही भै फैसला हुँदा प्रतिवादी चतुरमान तामाङलाई अभियोग दावीबमोजिम सर्वस्वसहित जन्मकैद तथा अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहरी फैसला भएको देखिन्छ । सो फैसलाउपर परेको पुनरावेदन कारवाहीमा पुनरावेदन अदालत, धनकुटाबाट शुरूको फैसलामा चतुरमान तामाङलाई भएको सर्वस्वसहित जन्मकैदको सजाय सदर भै अन्य प्रतिवादीहरू थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शम्शेर तामाङका हकमा शुरूको सफाइ पाउने फैसला केही उल्टी भै ज्यानसम्बन्धीको १७(३) बमोजिम २ वर्ष कैद हुने ठहराई फैसला भएकोसमेत छ । सोही फैसलाबमोजिम निजहरूलाई भएको सजायउपर चित्त नबुझी वादी नेपाल सरकारका तर्फबाट अभियोग दावीबमोजिम सजाय हुन यस अदालतसमक्ष प्रस्तुत पुनरावेदनपत्र दायर भै निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको देखियो ।
अब यी प्रतिवादीहरू थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शम्शेर तामाङलाई सफाइ दिने ठहरी भएको शुरू संखुवासभा जिल्ला अदालतको फैसला केही उल्टी गरी निजहरूलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम जनही २ वर्ष कैद हुने ठहराई भएको पुनरावेदन अदालत, धनकुटाको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने देखियो ।
2. निर्णयतर्फ विचार गर्दा, मृतक पर्शुराम वि.क उपर चतुरमान तामाङले निज र पर्शुराम वि.क. बीच विवाद हुँदा नजिकैको दाउरा र तोक्माले टाउकोमा प्रहार गरेकोले कानूनबमोजिमको कारवाही गरी पाऊँ भनी शुरू जाहेरीमा माग गरेको देखिन्छ । शुरू जाहेरीमा यी प्रतिवादीहरूको किटानी जाहेरी नभए पनि उक्त वारदातको प्रकृतिलाई नजिकैबाट देख्ने तथा प्रस्तुत वारदातमा प्रतिवादीसमेत बनाइएका निर्वाचन न्यौपाने तथा धनशेर रानासमेतका व्यक्तिहरूले आफ्नो बयानमा निजहरूका बारेमा उल्लेख गरेका छन् । निजहरूको बयान हेर्दा चतुरमान तामाङसमेतका व्यक्तिहरू पर्शुराम वि.क सँगसगै रहेको, प्रतिवादी चतुरमान तामाङ र आफूले नचिनेका मानिसहरूसमेतले हात हालाहाल गरी चतुरमानले भारी बोक्न प्रयोग गरेको अनौ जस्तो चारपाटे तोक्माले तथा आफूहरूले नचिनेका व्यक्तिले मृतकको टाउकोमा हानेको भनी अदालतमा बयान गरेको देखिन्छ । सोही बयानलाई समर्थन गर्दै मौकामा कागज गर्ने कमला राईले अदालतसमक्ष बकपत्र गर्दा चतुरमान तामाङले दाउराले हिर्काएको आफ्नो आँखाले देखेको र निजका चारजना साथीले समेत हिर्काएको भनेको देखिन्छ । चतुरमान तामाङसमेतका भरियाहरूले सँगै बसी जाँड खाएको तथा वारदातस्थलमा रहेको र मृतकलाई चतुरमानले टाउकोमा हिर्काई ढलेपछि मृतक ढल्नेबित्तिकै अरू भरियाहरूसमेत वारदातस्थलबाट भागी गएको भन्ने मिसिलबाट देखिन्छ ।
3. प्रतिवादीहरूउपर लागेको अभियोगका सम्बन्धमा निज प्रतिवादीहरू शुरू म्यादै गुजारी फरार रहिरहेको अवस्थासमेत भएबाट आरोपित कसूरका सम्बन्धमा आफ्नो भनाई राख्न सकेको देखिन्न । निजरूको बयान हुन सकेको भए निजहरूको संलग्नता रहे नरहेको यकीन गर्न सकिने हुन्थ्यो यस्तो अवस्थामा वारदातस्थलमा रहेका अन्य व्यक्तिहरू तथा सो घटनालाई नजिकबाट देख्ने र वारदातको यथार्थ स्थिति प्रष्ट हुने खालका प्रमाणहरू नै ग्रहण गर्नुपर्ने हुन्छ । मृतकसँग साथै रहेका जसबहादुर राइले मौकामा तथा अदालतसमक्षको बकपत्रमा समेत वारदातका समयमा यी प्रतिवादीहरू चतुरमान तामाङसँगै रहेको कुरालाई खुलाइदिएका छन् । तर चतुरमान तामाङलेमात्रै दाउराले पर्शुरामलाई टाउकोमा हानी निज भूईंमा लडी सकेपछि चतुरमानसमेतका अन्य व्यक्तिहरू भागी गएको, ज्यान मर्ला भनी आफूले भन्दासमेत निजलाई नै दाउराले हान्न खोज्दा छलिएको र त्यसपछि सबै भागी गएपछि आफूले गुहार मागेको भन्ने व्यहोरा वर्णित गरी निज जसबहादुर राईले वारदातको स्पष्ट अवस्था उल्लेख गरिदिएको देखिन्छ । यस्तो अवस्थामा यी प्रतिवादीहरू वारदात स्थलमा नै थिएनन् भनी भन्न मिलेन । तथापि यी प्रतिवादीहरूको उक्त वारदातमा मृतकलाई कुटपीट गर्न र पर्शुरामलाई मार्नमा कुनै भूमिका नभए पनि मार्ने ठाउँमा गै अरूकुरा केही नगरी हेरिरहेको र चतुरमान तामाङले मृतकलाई टाउकोमा हानी भूईंमा लडेपछि निज चतुरमानलगायतका अन्य व्यक्तिसमेत भागी गएको भन्नेसमेत मिसिलबाट देखिन्छ । पुनरावेदन अदालतबाट यी प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय भएको छ सो सजाय कानूनसम्मत छ छैन सो विचार गर्नुपरेको छ ।
4. उक्त १७(३) मा अरू किसिमसँग मतसल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मुतलबीलाई छ महिनादेखि तीनवर्षसम्म कैद गर्नुपर्छ भन्ने व्यवस्था छ तर यी प्रतिवादीहरू मार्ने ठाउँमा भै अरू कुरा केही नगरी हेरी बसेको र मृतक भूईंमा ढली सकेपछि चतुरमान तामाङसँगसँगै भागी गएको भन्ने स्पष्ट भएको छ । यद्यपि निजहरूले पनि पर्शुराम वि.क.लाई कुटपीट गरी मारेको हो भन्न सक्ने ठाउँ छैन । यस्तो अवस्थामा यी प्रतिवादीहरू वारदातस्थलमा रहेको, पर्शुराम वि.क. मरिसकेपछि निजहरू वारदातस्थलबाट भागेकोसम्मको तथ्य स्थापित भएबाट निजहरूले ज्यानसम्बन्धी महलको १७(३) सम्मको कसूर गरेको स्पष्ट हुन आयो ।
5. शुरू संखुवासभा जिल्ला अदालतबाट यी प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाइ दिने ठहरी फैसला भएकोमा पुनरावेदन अदालत, धनकुटाबाट सो फैसला केही उल्टी गरी ज्यानसम्बन्धीको १७(३) बमोजिम जनही २ वर्ष कैद हुने ठहराई भएको फैसलामा चित्त नबुझी वादी नेपाल सरकारका तर्फबाट अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिमको दावीको जिकीर गर्दै प्रस्तुत पुनरावेदन दायर भएको देखिन्छ । तर मिसिल संलग्न प्रमाणहरूसमेतबाट वारदातस्थलमा मौजूद रही चतुरमानले पर्शुराम वि.क. लाई प्रहार गरेपछि वारदातस्थलबाट सँगै भाग्नु बाहेक पर्शुराम वि.क. लाई कुटपीट गरी कर्तव्य गरी मार्नेसम्मको कुनै कार्य यी प्रतिवादीहरूबाट भएको भन्ने वस्तुगत प्रमाण पेश हुन सकेको देखिन्न । अभियोग दावी लगाउनु र अभियोग स्थापित हुनु अलगअलग कुरा हुन् । त्यसमा पनि फौजदारी कसूरअन्तर्गत अभियोग दावी लिंदा सो दावीलाई पुष्टि गर्ने यथेष्ट प्रमाणहरूको विद्यमानता हुनु अनिवार्य हुन्छ । केवल अनुमान तथा अड्कलका भरमा अभियोगलाई स्थापित गर्दै जाने हो फौजदारी न्यायको मूल मर्म नै परास्त हुन गै समग्र न्याय प्रणाली प्रति नै वितृष्णा हुने हुन्छ । प्रस्तुत वारदातमा यी प्रतिवादीहरू वारदातका बखत वारदातस्थलमा मौजूद हुनु बाहेक पर्शुराम वि.क. लाई कुटपीट गरी मार्नेसम्मको कार्यमा यी प्रतिवादीहरूको अन्य कुनै काम, कारवाही भएको भन्ने वस्तुनिष्ठ प्रमाणको अभाव देखियो । तसर्थ यी प्रतिवादीहरूको हकमा अभियोग दावीबमोजिमको सजाय निर्धारण गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीतसमेत हुन्छ ।
6. अतः प्रतिवादी थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शम्शेर तामाङ वारदातस्थलमा मौजूद रही चतुरमानले पर्शुराम वि.क. लाई प्रहार गरेपछि निजसँगसँगै भाग्नु बाहेक मृतक पर्शुराम वि.क लाई कुटपीट गरी कर्तव्य गरी मार्नमा कुनै भूमिका रहेको प्रमाणबाट पुष्टिसमेत हुन नसकेको तर निजहरूले ज्यानसम्बन्धीको १७(३) बमोजिमको कसूर गरेको स्थापित भएको देखिँदा शुरू संखुवासभा जिल्ला अदालतबाट यी प्रतिवादीहरूलाई सफाइ दिने ठहराई भएको फैसलालाई केही उल्टी गरी प्रतिवादी थोमबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, रमेश तामाङ र शम्सेर तामाङलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम जनही २ वर्ष कैद सजाय हुने ठहराई पुनरावेदन अदालत, धनकुटाबाट भएको मिति २०६९/३/१७ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. वैद्यनाथ उपाध्याय
इति संवत् २०७० साल भदौ २३ गते रोज १ शुभम् ।
इजलास अधिकृत :– विष्णुप्रसाद गौतम