निर्णय नं. ९०९३ - कर्तव्य ज्यान

नेकाप २०७० अङ्क १२ नि.नं.९०९३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।७।४।२
०६८-CR-११३७
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, जिलिङ गा.वि.स.वडा नं.१ पाँचखाल बस्ने सविता रिजाल
विरूद्ध
प्रत्यर्थी/वादी : पुरूषोत्तम रेग्मीको जाहेरीले नेपाल सरकार
०६९-RC-0046
वादी : पुरूषोत्तम रेग्मीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : नुवाकोट जिल्ला, जिलिङ गा.वि.स.वडा नं.१ पाँचखाल बस्ने विष्णुप्रसाद रिजालसमेत
§ एकै परिवारका सदस्यहरूबीच रहेको अवैध सम्बन्धको बारेमा परिवारका अन्य सदस्यका सामु खुलासा हुनु र रातिको समयमा घरबाट बाहिर जाँदासमेत मृतकका श्रीमान् तथा घरपरिवारका अन्य सदस्यहरूबाट खोजतलास नगरिनु तथा प्रहरीमा उजुरीसमेत नगरिएबाट प्रतिवादीहरूको मृतकप्रतिको नकारात्मक मानसिकता प्रष्ट हुने ।
(प्रकरण नं.४)
§ पोष्ट मार्टम रिपोर्टबाट मृतकको मृत्यु कुटपीटबाट भएको भन्ने देखिएकोले आत्महत्या भन्न सकिने कुनै तथ्य विद्यमान नदेखिएको र मृतक घरबाट बाहिर गएको भन्ने सम्मको तत्काल अघि अवैध यौन सम्बन्धको विषयलाई लिएर विवाद गरी कर्तव्य गरी मारी फालेको प्रतिवादीहरूले स्वीकार गरेको देखिन्छ । उक्त विवादपछि मृतक घरबाट निस्केको र फिर्ता नआएको र मृतक मृत अवस्थामा फेला परेको भन्ने दर्शाएको पाइन्छ । मृत्युपूर्व घरको विवाद र तत्पश्चात् मृतकको लास फेला पर्नुलाई सो घटना र मृत्युबीचको कार्यकारणको सम्बन्ध नरहेको भन्न मिल्ने अवस्था रहेन ।
(प्रकरण नं.५)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र लव मैनाली
प्रत्यर्थी/वादीतर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) र अ.बं.१८८ नं.
शुरू तहमा फैसला गर्ने :
मा.न्या.श्री मोहनकृष्ण खनाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री ठाकुरप्रसाद शर्मा
मा.न्या.श्री आनन्दमोहन भट्टराई
फैसला
न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।१।२९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
मिति २०६४ साल माघ ६ गते बेलुका अन्दाजी ८:३० बजेको समयमा मेरी छोरी पवित्रा रिजाललाई निजको श्रीमान् नवराज रिजाल, देवर विष्णुप्रसाद रिजाल र जेठानी सविता रिजालको मिलेमतोमा कर्तव्य गरी मारी बेपत्ता बनाएकोले निज अपराधीलाई पक्राउ गरी कानूनबमोजिम कडा कारवाही गरिपाऊँ भन्ने मृतकको बाबु पुरूषोत्तम रेग्मीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा दिएको जाहेरी दरखास्त ।
पूर्वमा रामेश्वर रिजालको पाखो बारी, पश्चिम शिवप्रसाद पुडासैनीको घर, उत्तर खगेश्वर रिजालको घर र दक्षिण रामेश्वर रिजालकै घर यति ४ किल्लाभित्र ढुङ्गा, माटो र काठले बनेको नवराज रिजालको घर भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
मृतकले लगाएको काँडेदार रिङ् र रातो चोलोले मृतक महिला पवित्रा रिजाल नै भएको भन्ने मृतकको श्रीमान् नवराज रिजालको कागज ।
निधारमा ठोक्किएको जस्तो चोट लागेको, पानीमा ढाडिएको लास भन्नेसमेतको लासजाँच प्रकृति मुचुल्का ।
श्रीमती पवित्रासँग मैले झगडा पनि गर्दिन थिएँ । हाम्रो सम्बन्ध राम्रो थियो । मिति २०६४।१०।६ गते बेलुका ९ बजेतिर भाइ विष्णुप्रसाद रिजालको घरमा टि.भी. हेरी फर्कंदा श्रीमती पवित्राले तिम्रो भाइ विष्णुप्रसाद रिजाल र भाउजू सविता रिजाल कोठाको पर्दा लगाएर सँगै बसेको भनी ताली पिट्दा मैले निज पवित्रालाई तँ नकरा तैँले मलाई बस्न दिइनस्समेतका कुराहरू गर्दा वल्लोपल्लो घरका छिमेकीसमेत जम्मा भएका र यतिकैमा निज पवित्रा घरदेखि पश्चिमतिर फुत्त निक्ली गएपछि अन्य मान्छेहरू पनि आ–आफ्नै घरतर्फ फर्किगएका र १० मिनेट जतिपछि निज पवित्रा फर्केर नआएपश्चात् घरगोठलगायतका ठाउँहरूमा निजलाई हेरी नभेटेपछि निज हराएको कुरा भाइ विष्णुप्रसाद रिजाललाई भनी खोजी गरेको भन्ने मृतकको पति प्रतिवादी नवराज रिजालले प्रहरीमा गरेको बयान कागज ।
मिति २०६४।१०।६ गते बेलुका ९ बजेतिर सँगै घर जोडिएको देवर नवराज रिजालको घरमा निज नवराज रिजालको केही चर्को स्वर सुनेपछि म आफू र छोरी मञ्जु रिजालसमेत बाहिर आई बुझ्दा निज नवराज रिजालको श्रीमती पवित्रा रिजालले म र कान्छा देवर विष्णुप्रसाद रिजाललाई एउटै कोठामा पर्दा लगाई सँगै बसेका भनी बात लगाएको कुरा मलाई थाहा भयो । त्यसपछि मैले निज पवित्रालाई जोसँग बोल्यो त्यहीसँग बात लगाउन मिल्छसमेत भनेको र यसैबीच निज पवित्रा घरदेखि पश्चिमतिर फुत्त निक्लीएकी थिईन् त्यसपछि हामी पनि घरभित्र पस्यौं । निज कता गई निजलाई को कसले मारे आफूलाई थाहा नभएको भन्ने प्रतिवादी सविता रिजालले प्रहरीमा गरेको बयान ।
मिति २०६४।१०।६ गते बेलुका ९ बजेतिर दाजु नवराज रिजाल र निजको छोरा पवन रिजाल मेरो कोठाबाट टि.भी. हेरी निजको घरमा सुत्न जाँदा त्यहाँ केही हल्ला भएको र त्यसपछि ओल्लोपल्लो घरका मानिसहरूसमेत जम्मा भएका र म पनि मेरो कोठाबाहिर निक्ली के रहेछ भनी बुझ्दा निज नवराज रिजालको श्रीमती पवित्रा रिजालले मलाई र भाउजू सविताबीच अनैतिक सम्बन्ध रहेको बात लगाएको थाहा पाएँ । त्यसपछि मैले त्यहींबाटै मुख छ भन्दैमा जे पायो त्यही नबोल्नु होला भन्नेसमेत कुराहरू गरी आफ्नै कोठाभित्र पसेकोमा त्यसको केही समयपछि पवित्रा हराइछ । गोठ जताततै खोजे फेला पार्न सकिएन भन्ने थाहा भयो त्यसपछि गाउँ घरका मानिसहरूसमेत आई खोजतलास गर्दा निजलाई नभेटिए पनि निजले लगाएको फरिया, टोपी र घडी घरदेखि १५ मिनेटको समयमा पुगिने त्रिशुली नदीको किनारमा भेटियो । निजलाई को कसले मारे मराए आफूलाई थाहा नभएको भन्ने प्रतिवादी विष्णुप्रसाद रिजालले प्रहरीमा गरेको बयान ।
मृतकको फरिया, टोपी र घडी त्रिशुली किनारमा भेटिएकोले उक्त वस्तुहरू बरामद गरिएको बरामदी मुचुल्का ।
मृतकको फोक्सो र पेटमा समेत पानी नभेटिएको फोक्सोको टुक्रा पानीमा राख्दा उत्रिएको भन्ने शव परीक्षण प्रतिवेदन ।
मृतकको शरीरमा विभिन्न भागमा कुटपीट गरी चोट पटक लगाई मारी माटोमा पुरी, पछि त्रिशुली नदीमा फाली दिएको हुँदा निजहरूलाई कानूनबमोजिम कडा कारवाही गरियोस् भन्ने कृष्णप्रसाद तिवारीसमेतको प्रहरीको कागज ।
मिति २०६४।१०।६ गते बेलुका ९ बजेतिर नवराज रिजालको घरमा हो हल्ला सुनी आफू त्यहाँ जाँदा भाउजू पवित्रा रोई रहेको नवराज रिजाल, सविता रिजाल र विष्णुप्रसाद रिजालले निज पवित्रा रिजाललाई कराई राख्दाको बखत पवित्रा भाउजू फुत्त बाहिर निक्लेर निजको घरदेखि पश्चिमतिर लागिन् । त्यसपछि आफूहरू पनि घर फर्की आयौं । त्यसपछि के भयो थाहा भएन । त्यसका १०–१५ मिनेटपछि निज पवित्राको श्रीमान् नवराज रिजालले पवित्रा हराई खोज्न जान पर्यो भन्दा बल्ल पवित्रा हराई भन्ने थाहा भयो । निजलाई खोज तलास गरियो तर भेटिएन । निजलाई कसैले मारे मराएको हो वा होइन भन्न सकिँदैन भन्ने रामेश्वर रिजालले प्रहरीमा गरेको कागज ।
मिति २०६४।१०।६ गते बेलुका ९ बजे छरछिमेकमा हल्लाखल्ला चल्दा के भयो भनी त्यहाँ जाँदा पवित्रा रिजाल घरदेखि पश्चिमतिर फुक्त निक्लेर गई त्यसपछि हो हल्ला पनि शान्त भयो । त्यसपछि घर फर्केपछि पवित्रा रिजाल हराई खोज्न जानुपर्यो भनी छरछिमेकमा हल्ला सुनेपछि पवित्रा हराएको थाहा भयो । निजलाई को कस्ले मारी त्रिशुली नदीमा फाल्यो आफूलाई थाहा नभएको भन्ने शारदा पुडासैनीसमेतको प्रहरीमा मौकाको कागज ।
माथि संकलित प्रमाणहरूबाट प्रतिवादीहरूले पवित्रा रिजाललाई कुटपीट गर्दा निजको मृत्यु हुन गएपछि नदीमा लगी फाली दिएको पुष्टि हुन आएकोले प्रतिवादीहरू विष्णुप्रसाद रिजाल, नवराज रिजाल, सविता रिजाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरित १३(३) नं. अन्तर्गतको कसूर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी ।
मेरो देउरानी पवित्रा रिजाल मिति २०६४।१०।६ गते बेलुका अन्दाजी ८:३० अर्थात् ९ बजेको समयमा आफ्नो घरबाट आफैँ निस्की बेपत्ता भई हराएकी हुन् । उक्त मिति समयमा देवरको घरमा कराएको सुनी म आफ्नो घरबाट पल्लो घरमा जाँदा देवर देउरानी झगडा भई कराइरहेको देखी मेरो छोराहरू पनि गए । त्यसपछि कुटपीट गरिएको केही पनि छैन । एकछिन पछि देउरानी पवित्रा ट्वाइलेटपट्टि गएकी होलिन् भनेकोमा घर फर्केर आईनन् । बेपत्ता भइन् कहाँ गईन् थाहा भएन । निज देउरानी पवित्रालाई कोही कसैले कुटपीटसमेत गरेको छैन । मैले कर्तव्य गरी मारेको होइन । देवरसँग छुट्टिभिन्न भएको ३ वर्ष भयो । घर एउटै धुरी हो तर बेग्लाबेग्लै बसी आएका छौं । मेरो विचारमा जाहेरवालासँग रिसइबी छैन जस्तो लागेको थियो तर ऊसँग रिसइबी रहेछ भन्ने प्रतिवादी सविता रिजालले अदालतमा गरेको बयान ।
मलगायतका मेरो छोरा ४ वर्षको र दाइको छोरा ९ वर्षको समेत ३ जना मान्छेहरू भई विष्णुप्रसाद रिजालको घरमा टि.भी. हेर्न गएका थियौं । टि.भी. हेर्यौं । भाइ स्कुलबाट आईपुग्यो र भाइले बच्चाहरूलाई पढ्ने मान्छेहरू टि.भी. हेरी बस्ने हो जाऊँ भनेबाट एकछिनपछि सो टि.भी. मैले नै मारी आफ्नो घरमा गएको हुँ र आफ्नो घरको चोटामा पुगेको थिएँ, मेरो श्रीमती पवित्रा च्याँठिएर कराएपछि मैले सुनी मैले के भयो भनी सोध्दा भाउजूले देवरको कोठामा झ्यालको पर्दा लगाई भनी कराएकी रहिछन् । म त्यहींबाटै आउँदै छु । तैँले के भनेको यी कुरा तँ बहुलाएको होइनस् भनी भनें भाइले मान्छे जम्मा गराए भने भोलि तैंले कुन मुख देखाएर हिंड्छस् भन्दै म बाहिर निस्कें मेरो छोरा पवन पनि बाबा भन्दै बाहिर निस्के । पल्लो घरको भाउजू सविताले तिमीले त्यस्तो कुरा बोल्ने हो । भोलि मैले मान्छे जम्मा पारें भने तिमीले यो कुरा बोल्न सक्छौ भनी भाउजू चुप लागेर बस्नु भयो । भाइले पनि सोही कुराहरू भनी पवित्रालाई गाली गर्नुभयो । हाम्रो छोरीहरूले पनि हाम्रो बाबा, म पनि त्यहींबाट आउँदै छु काकी के कुरा बोल्नु भएको भने । रामेश्वरलगायतले के कुरा बोलेको भनेर भन्नु भयो त्यसपछि मेरो श्रीमती पवित्रा फुत्त उठी हिंडेकी थिइन् ट्वाइलेट गई होला भनी रोइकराई गरिन । १० मिनेटपछि ट्वाइलेट हेर्न जाँदा सो ठाउँमा रहेनछ । माथिल्लो माइला बुबाको छोरा रामेश्वरलाई र भाइ विष्णुप्रसादसमेतका मानिसहरू लिई श्रीमती पवित्रा खोज्न हिंड्दा कहीं कतै फेला नपरेकोले भोलिपल्ट बिहान ४ बजेतिर फरिया, घडी र टोपी नदीको किनारमा फेला पर्यो भन्ने कुरा थाहा पाएँ मेरो सानो छोरा भएबाट म खोज तलास् गर्न जान सकिन, गएको छैन । यस्तैमा लास मिति २०६४।१०।२२ गतेमात्र फेला परेको कुरा थाहा पाएँ । २ वटा सन्तान भएपछि अब परिवार नियोजन गर्छु भन्दा निजले मलाई तपाई रोगी हुनुहुन्छ त्यसैले मै गर्छु भनी श्रीमतीले परिवार नियोजन गरेको श्रीमतीलाई मैले कर्तव्य गरी मार्न सक्छु, मारे होला मैले कुटपीटसमेत गरेको छैन र कर्तव्य गरी मारेको होइन जाहेरी झूट्ठा हो भन्ने प्रतिवादी नवराज रिजालले अदालतमा गरेको बयान ।
मिति २०६४।१०।६ गते बेलुका हामी दाजुभाइ भतिजाहरू एकै कोठामा टि.भी. को लोकदोहरी कार्यक्रम हेरी बसेका थियौं र अन्दाजी ९ बजे दाजु कोठाबाट निस्की आफ्नो घरतिर लाग्नुभयो र केही समयपछि दाजुको घरमा केही हल्ला जस्तो कुरा सुनियो तर त्यहाँ के कुरा भयो बुझ्न सकिएन । त्यसपछि मेरो दाजु नवराज रिजाल चर्को स्वरमा कराई म भएतिर आई तैँले मलाई बस्न दिइनस् भनी आफ्नो घरबाट निस्कँदै श्रीमतीलाई गाली गर्दै आउनुभयो र हामी दाजु भाइ त्यसपछि घरतिर लाग्यौं । त्यहाँ त भाउजूले दाजुको कोठामा पर्दा लाइदे भन्छे भनी यो त बौलाएकी भनी दाइले भनेपछि अनि मैले भाउजूलाई मुख छ भन्दैमा तपाईले के भन्नु भएको भनेपछि बच्चाहरूसमेत उक्त कोठामा पछि बसेका अवस्थामा तपाईले यस्तो आरोप लगाउन खोज्नु हुन्न भनी सविताको छोराछोरीले समेत गाली गरेपछि सल्लाह गरौंला भनी म आफ्नो कोठामा सुत्न आएपछि त्यसको १५ मिनेटपछि दाजु फेरि मकहाँ आई हेर न ट्वाइलेट गई भनेको भाउजू कहाँ गई भनेपछि दाइ र छरछिमेकसहित हामी खोज्न थाल्यौं र खोज्ने क्रममा कोही गाउँतिर लागी कोही बेशी तथा कोही खोलाको तिरतिर खोज्दै जाँदा खोलामा टोपी, फरिया र घडी फेला परेपछि म गाउँतिर थिएँ म गएको ठाउँमा आई हामीले टोपी, फरिया, घडी फेला पार्यौं भनेपछि पक्कै यो मान्छे खोलामा हामफाल्यो भनी हामी खोज्ने क्रममा मिति २०६४।१०।८ गते हामी अथवा मलाई प्रहरीले पक्राउ गरी ल्याए मृतकलाई मैले मारेको होइन उनी हामफालेर मरेको जस्तो लाग्छ । कोही कसैले मार्यो भन्ने कुरा मलाई विश्वास लाग्दैन किन त्यस्तो जाहेरी दिए उनीहरू नै जानून् भन्ने प्रतिवादी विष्णुप्रसाद रिजालले अदालतमा गरेको बयान ।
त्यहाँको अवस्था हेर्दा प्रतिवादीहरूले नै कर्तव्य गरी मारी त्रिशुली नदीमा फालेको हो भन्ने जाहेरवाला मृतकको बाबु पुरूषोत्तम रेग्मीले अदालतमा गरेको बकपत्र ।
मृतक पवित्रा रिजाललाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने बुझिएका वादीका साक्षी गोपीप्रसाद तिवारीसमेतले अदालतमा गरेको बकपत्र ।
मृतक पवित्रा रिजाल आफैँ त्रिशुली नदीमा हामफाली मरेको हो । कोही कसैले कर्तव्य गरी मारेको होइन भन्ने प्रतिवादीका साक्षी शारदा पुडासैनी, रामेश्वर रिजाल, भवानी रिजाल, मन्जु रिजाल र शिवप्रसाद पुडासैनीसमेतले एकै मिलानको अदालतमा गरेको बकपत्र ।
मृतक पवित्रा रिजालको पोष्टमार्टम रिपोर्ट मैले गरी दिएको हो । मृतकको लास कुहिएको अवस्थामा थियो । निजको टाउकोको देब्रेपट्टि निधारमा सानो थिचिएको फ्याक्चर रहेको यसबाहेक शरीरमा अन्य कतै चोट नभेटिएको त्यसकारण मृतकको मृत्यु टाउकोमा रहेको उक्त चोटको कारण हुन सक्ने भन्ने डा.विकास नेपालले अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादीहरू मृतकलाई कर्तव्य गरी मारेकोमा इन्कार छन् । मृतकको शवमा कुटपीटको चोट देखिएको छैन । मृतकलाई कुटपीट गरेको देख्ने कोही प्रत्यक्षदर्शी रहे भएको नदेखिंदा मिति २०६४।१०।६ गते साँझ मृतकको लोग्ने नवराज रिजालको घरमा मृतकसँग प्रतिवादीको सामान्य विवाद भएको देखिन्छ । विवादको क्रममा मृतक फुत्त निस्केर घरदेखि पश्चिमतिर गएको र प्रतिवादी आफ्नो घर कोठामा पसेको तथ्य स्थापित छ । मृतक घरबाट निस्केपछि प्रतिवादी खोज्न गएको र फेला नपरेको देखिन्छ । आफ्नो दावी प्रमाणित समर्थित हुने ठोस, तथ्ययुक्त प्रमाण वादीले पेश गर्न सकेको देखिएन । अभियोगपत्रमा प्रतिवादीले मृतकलाई कुटपीट गरी मारेपछि नदीमा फालेको भन्ने दावी लिए पनि कसरी केले कुटपीट गरेको नदीमा कहिले फालेको यी कुनै कुरा खुले खुलाएको नदेखिएको तथा जाहेरवालासमेतका व्यक्तिले अदालतमा समेत बकपत्र गर्दा वादीले मृतकलाई मारेकोमा शङ्का लाग्छ, विश्वास लाग्छ भनी अनुमानका भरमा बकी लेखी दिएको देखिन्छ । शङ्का र विश्वासको भरमा ज्यान जस्तो गम्भीर अपराधमा प्रतिवादीलाई सजाय गर्न नसकिने हुँदा अभियोग माग दावीबमोजिम रहे भएको प्रमाण मिसिलबाट देखिन नआएको हुँदा प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको नुवाकोट जिल्ला अदालतको मिति २०६६।५।२४ को फैसला ।
मृतकको पोष्टमार्टम रिपोर्टबाट मारी पानीमा फालिदिएको हो भन्ने देखिन आएको छ । टाउकोको देब्रेपट्टि निधारमा सानो थिचिएको फ्याक्चर भेटिएको, फोक्सोमा पानी नभरिएको, फोक्सोको टुक्रालाई पानीमा राख्दा नडुबेको भनी उल्लेख भएबाट मृतकलाई कुटपीट गरी हत्या गरेर नदीमा फालेको स्पष्ट हुन आउँछ । विष्णुप्रसाद रिजाल र सविता रिजालबीच अनैतिक यौन सम्बन्ध रहेको भनी हो हल्ला गरी हाम्रो बेइज्जत गरेको भनी प्रतिवादीले बयान गरेका छन् । मृतक आफैं मर्नुपर्नेसम्मको अवस्था र कारण मिसिलबाट देखिंदैन । आफैँ मर्नुपर्ने कारण भए पनि डुबी मर्दा हुने लक्षणहरू नदेखिई कुटपीट गरी कर्तव्य गरी मारेपछि नदीमा लास फालेको देखिँदादेखिँदै प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा शुरू अदालतको सो फैसला बदर गरी शुरू अभियोग माग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्नेसमेत वादी नेपाल सरकारका तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
यसमा शव परीक्षण गर्ने विशेषज्ञको अदालतसमक्ष भएको बकपत्र Trachea, फोक्सो र पेटमा पानी नदेखिनुले श्वास प्रश्वासमा पानी जम्मा भएको कारणले मृतकको मृत्यु नभएको भन्ने उल्लेख गरेकोमा सोतर्फ कुनै विवेचना र विश्लेषण नगरी भएको शुरू फैसला फरक पर्न सक्ने देखिंदा अ.बं २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६७।७।१६ को आदेश ।
पवित्रा रिजालको मृत्यु प्रतिवादीहरू नवराज रिजाल, विष्णुप्रसाद रिजाल र सविता रिजालसमेतको कर्तव्यबाट भएको देखिई निजहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको देखिएको हुँदा शुरू नुवाकोट जिल्ला अदालतको मिति २०६६।५।२४ को फैसला उल्टी भै निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्म कैदको सजाय हुने ठहर्छ । प्रतिवादीमध्येको नवराजको आफ्नै श्रीमतीको मृत्यु भएको, निज र पवित्राको दाम्पत्य सम्बन्धबाट जन्मेका दुईवटा नाबालक सन्तानहरूको पालन पोषण गर्नुपर्ने जिम्मेवारीसमेतलाई दृष्टिगत गर्दा निजलाई जन्म कैदको सजाय गर्दा चर्को पर्न जाने भई निजका हकमा १० वर्ष कैद गर्दा पनि न्यायको उद्देश्य पूरा हुने देखी सोबमोजिम सजाय हुन अ.बं १८८ नं. बमोजिम राय व्यक्त गरिएको मिति २०६८।१।२९ को पुनरावेदन अदालत, पाटनको फैसला ।
मृतक पवित्रा रिजालको मृत्यु कर्तव्यबाट भएको कुरा प्रमाणित नहुने अवस्था हुँदाहुँदै पुनरावेदन अदालत, पाटनले म सविता रिजालसमेतलाई कसूरदार ठहर्याई गरेको फैसला अन्यायपूर्ण छ । मृतकलाई मसमेतले कुटपीट गरी कर्तव्य गरी मारी सकेपछि नदीमा लास फालेको भनी रहेको अभियोग दावीबमोजिम नै ठहर्याई पुनरावेदन अदालत, पाटनले गरेको फैसला त्रुटिपूर्ण छ । मिसिल संलग्न प्रमाणहरूबाट पनि मृतकको मृत्यु मसमेतको कुटपीट र कर्तव्यबाट भएको भनी वस्तुनिष्ठरूपमा प्रमाणित भएको देखिँदैन । यसरी पुनरावेदन अदालतबाट प्रतिवादी सविता रिजालसमेत ३ जनालाई अभियोग दावीबमोजिम जन्मकैदको सजाय हुने ठहर्याई भएको फैसला त्रुटिपूर्ण भएको हुनाले उक्त फैसला बदर गरी वादी दावीबाट सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सविता रिजालको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सक्कल मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री लव मैनालीले प्रतिवादीले स्वतन्त्रतापूर्वक अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको, प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको देख्ने चश्मदीद गवाह पनि कोही नरहेको र आफ्नो देउरानीलाई मार्नुपर्नेसम्मको कारण पनि मिसिलबाट नदेखिएको अवस्थामा अनुमान र तर्कको भरमा प्रतिवादीलाई दोषी ठहर गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीलाई सफाइ दिलाई पाऊँ भनी गर्नु भएको बहससमेत सुनियो ।
विद्वान कानून व्यवसायीको बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा संकलित प्रमाणहरूबाट प्रतिवादीहरूले मृतक पवित्रा रिजाललाई कुटपीट गर्दा निजको मृत्यु हुन गएपछि नदीमा लगी फाली दिएको पुष्टि हुन आएकोले प्रतिवादीहरू विष्णुप्रसाद रिजाल, नवराज रिजाल र सविता रिजाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अन्तर्गतको कसूर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग दावी रहेकोमा प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्याई गरेको नुवाकोट जिल्ला अदालतको फैसलालाई उल्टी गरी निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याई भएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१।२९ को फैसलाउपर प्रतिवादी सविता रिजालको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा अभियोग दावीतर्फ विचार गर्दा मृतक पवित्रा रिजालको मृत्यु कर्तव्यबाट भएको हो, होइन प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादी सविता रिजालसमेतको संलग्नता छ, छैन एवं प्रतिवादीहरूको वारदातमा संलग्नता प्रमाणित भए निज प्रतिवादीहरूलाई के कति सजाय गर्दा उपयुक्त र मनासिब हुने हो भन्नेतर्फ निर्णय दिनुपर्ने देखिन आयो ।
४. मृतक पवित्रा रिजालको मृत्यु कर्तव्यबाट भएको हो, होइन भन्ने सम्बन्धमा विचार गर्दा मिति २०६४।१०।६ गतेको राति देवर विष्णु रिजाल र जेठानी सविता रिजालका बीच अवैध यौन सम्बन्ध रहेको विषयमा मृतक पवित्रा रिजाल र प्रतिवादीहरूबीच विवाद भई निज मृतक रातिको समयमा घरबाट बाहिर गएको भन्ने कुरा प्रतिवादीहरूको बयानबाट देखिन्छ । तर एकै परिवारका सदस्यहरूबीच रहेको अवैध सम्बन्धको बारेमा परिवारका अन्य सदस्यका सामु खुलासा हुनु र रातिको समयमा घरबाट बाहिर जाँदासमेत मृतकका श्रीमान् तथा घरपरिवारका अन्य सदस्यहरूबाट खोजतलास नगरिनु तथा प्रहरीमा उजुरीसमेत नगरिएबाट प्रतिवादीहरूको मृतकप्रतिको नकारात्मक मानसिकता प्रष्ट गर्दछ र मृतकलाई अवाञ्छित मानी कर्तव्य गर्ने हदसम्म उद्यत रहेको परिस्थिति दर्शाएको पाइन्छ । बरू यसबाट मृतकले रातको समयमा घर छाडी नदीमा हामफालेको अवस्था हुँदैन । लासको प्रकृति र मृतकको पोष्ट मार्टम रिपोर्ट हेर्दा लासको निधारमा Small compressed type fracture भन्ने उल्लेख भै श्वास नली (Trachea) मा पानी वा माटो नपाइएको, फोक्सोमा पानी नपाइएको भन्ने उल्लेख भएको देखिन्छ । मृतकको मृत्युको कारण सम्बन्धमा राय माग गरिएकोमा निजको टाउकोमा देब्रेपट्टि निधारमा मृत्युपछि पानीमा डुबाएको सानो थिचिएको फ्याक्चर रहेको लक्षणहरू देखिएको (features suggestive of post mortem drowning was found) भन्ने रायमा उल्लेख भएको र सोही निधारको चोटको कारणले मृतकको मृत्यु हुन सक्ने भनी डा. विकास नेपालले राय पेश गरेको र सो रायलाई समर्थन गर्ने गरी निजले नुवाकोट जिल्ला अदालतमा बकपत्रसमेत गरेको देखिन्छ । तसर्थ मृतकको मृत्यु पानीमा डुबेर नभई मरणोपरान्त पानीमा डुबाएको देखिंदा प्रतिवादीहरूको कर्तव्यबाट भएको भन्ने पुष्टि हुन्छ ।
५. अब, प्रस्तुत वारदातमा प्रतिवादीहरूको संलग्नता छ, छैन भन्ने सम्बन्धमा विचार गर्दा, प्रतिवादीहरू नवराज रिजाल, विष्णुप्रसाद रिजाल र सविता रिजालसमेतले देवर विष्णुप्रसाद रिजाल र जेठानी सविता रिजालबीचको अवैध यौन सम्बन्धको कुरालाई लिएर श्रीमान् नवराज रिजाल र मृतक पवित्रा रिजालका बीचमा भनाभन भएको र सोही विषयलाई लिएर प्रतिवादीहरू नवराज रिजाल, विष्णुप्रसाद रिजाल र सविता रिजालले कर्तव्य गरी मारी फाली बेपत्ता बनाएको भन्ने किटानी जाहेरी रहेको देखिन्छ । मृतकको पोष्ट मार्टम रिपोर्टमा निजको टाउकोको देब्रेपट्टि निधारमा सानो थिचिएको फ्याक्चर रहेको भन्ने उल्लेख भएको र सोही निधारको चोटको कारणले मृतकको मृत्यु भएको हुन सक्ने भनी डा. विकास नेपालले अदालतमा गरेको बकपत्रबाट समेत प्रतिवादीहरूको कर्तव्यबाट मृत्यु भएको भन्ने पुष्टि भएको देखिन्छ । वारदातपूर्व छोरी माइत आउँदासमेत देवर विष्णुप्रसाद रिजाल र जेठानी सविता रिजालबीच अवैध यौन सम्बन्ध भएको भनी मृतक छोरीले भन्ने गरेको भनी जाहेरवाला बाबु पुरूषोत्तम रेग्मीले जाहेरी दिई अदालतमा आई किटानी बकपत्र गरेको अवस्था छ । अनुसन्धानका क्रममा बुझिएका कृष्णप्रसाद तिवारीसमेतका व्यक्तिहरूले प्रहरीसमक्ष बयान गर्दा मृतकलाई प्रतिवादीहरू सविता रिजालसमेतले कुटपीट गरी चोट पटक लगाई मारी माटोमा पुरी पछि त्रिशुली नदीमा फालिदिएको भनी बयान गरेको देखिन्छ । पोष्ट मार्टम रिपोर्टबाट मृतकको मृत्यु कुटपीटबाट भएको भन्ने देखिएकोले आत्महत्या भन्न सकिने कुनै तथ्य विद्यमान नदेखिएको र मृतक घरबाट बाहिर गएको भन्नेसम्मको तत्कालअघि अवैध यौन सम्बन्धको विषयलाई लिएर विवाद गरी कर्तव्य गरी मारी फालेको प्रतिवादीहरूले स्वीकार गरेको देखिन्छ । उक्त विवादपछि मृतक घरबाट निस्केको र फिर्ता नआएको र मृतक मृत अवस्थामा फेला परेको भन्ने दर्शाएको पाइन्छ । मृत्युपूर्व घरको विवाद र तत्पश्चात् मृतकको लास फेला पर्नुलाई सो घटना र मृत्युबीचको कार्यकारणको सम्बन्ध नरहेको भन्न मिल्ने अवस्था रहेन । देवर विष्णुप्रसाद रिजाल र जेठानी सविता रिजाललाई यौन सम्बन्धको आरोप मृतक पवित्रा रिजालले लगाएको कुरालाई प्रतिवादीहरूले अदालतमा समेत स्वीकार गरेको जस्ता परिस्थितिजन्य प्रमाणहरूबाट प्रतिवादीहरूले पवित्रा रिजालको हत्या गरेको पुष्टि हुन आएकोले प्रतिवादी सविता रिजालसमेत निर्दोष भएको भन्न मिलेन ।
६. तसर्थ अभियोग दावीबमोजिम प्रतिवादी सविता रिजालसमेतलाई अभियोग मागदावीबाट सफाइ पाउने ठहर्याई मिति २०६६।५।२४ मा भएको शुरू नुवाकोट जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरू सविता रिजालसमेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय हुने ठहर्याई भएको मिति २०६८।१।२९ को पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीमध्येका नवराज रिजालको आफ्नै श्रीमतीको मृत्यु भएको र निज र मृतक पवित्रा रिजालको दाम्पत्य सम्बन्धबाट जन्मेका दुई नाबालक सन्तानहरूको पालन पोषण गर्नुपर्ने जिम्मेवारीसमेतलाई दृष्टिगत गर्दा निजलाई जन्म कैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले निजका हकमा १० वर्ष कैद सजाय गर्ने गरी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम घटी सजाय गर्ने गरी जाहेर भएको पुनरावेदन अदालत, पाटनको राय मिलेकै देखिँदा सदर हुने ठहर्छ । अन्य प्रतिवादीहरू विष्णुप्रसाद रिजाल र सविता रिजालका हकमा प्रतिवादीहरूमध्ये कसको चोटबाट मृतकको मृत्यु भएको हो यकीन हुन नसकेको अवस्था हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय हुने ठहर्छ । अब यी प्रतिवादीहरूको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको लगत कस्नु भनी शुरू नुवाकोट जिल्ला अदालतमा लेखी पठाईदिनु । फैसलाको जनाउ पुनरावेदक प्रतिवादी एवं अन्य प्रतिवादीहरूसमेतलाई दिई पुनरावेदन तथा साधक दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भट्ट
इति संवत् २०७० साल कात्तिक ४ गते रोज २ शुभम् ।
इजलास अधिकृत : दीक्षा प्रधानाङ्ग, निर्मला खड्का