शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०९४ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२

नेकाप २०७०       अङ्क १२            नि.नं.९०९४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की

फैसला मिति : २०७०।८।१०।२

२०६७–CR–०४३०

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, बाइवर गा.वि.स. वडा नं.४ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ को हाल कारागार कार्यालय, भद्रबन्दी गृह जगन्नाथ देवलमा थुनामा रहेको सुजित नेपाली

विरूद्ध

प्रत्यर्थी/वादी : राजु विश्वकर्माको जाहेरीले वादी नेपाल सरकार

 

२०६७– CR –०९९३

पुनरावेदकवादी : राजु विश्वकर्माको जाहेरीले वादी नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : नुवाकोट जिल्ला, बागेश्वरी गा.वि.स. वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १७ बस्ने सेती विश्वकर्मासमेत

 

  • प्रतिवादीलाई कुटपीट गरिरहेकोमा मृतकलाई सम्झाउँन खोज्दा मृतकले नै प्रतिवादीलाई कुटपीट गरी सिंगल सिंगल खेल्ने हो भनी च्यालेञ्ज गरेको हुँदा रिस थाम्न नसकी सोही वारदातस्थलमै भएको लाठाले हानेको र सोही चोटले मृतकको मृत्यु भएको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएकोले प्रस्तुत वारदात मनसायप्रेरित नदेखिई आवेशप्रेरित हत्या देखिने ।

(प्रकरण नं.३)

  • प्रहरीमा कागज गर्ने व्यक्तिले मृतकलाई करूवाले हानेको भनी अनुसन्धानमा कागज गर्दा लेखाएकोमा अदालतमा निज अनुपस्थित रही वकपत्र नगरेबाट मौकामा भएको कागजलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं.४)

  • मृतकलाई लाठाले हानेको भनी स्वयं प्रतिवादीले अदालतको बयानसमेतमा स्वीकारी रहेको कुरामा ज्यानसम्बन्धी महलको १७(३) नं. आकर्षित नहुने ।

(प्रकरण नं.५)

 

वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता खगराज पौडेल

प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता शोषित अकेला बानिया

अवलम्बित नजीर :

सम्बद्ध कानून :

  • मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.

 

शुरूतहमा फैसला गर्ने :

      मा.न्या.सत्यराज गुरूङ

पुनरावेदनतहमा फैसला गर्ने :

      मा.न्या.देवेन्द्रगोपाल श्रेष्ठ

      मा.न्या. दिनेशकुमार कार्की

 

फैसला

न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

      मिति २०६४।६।३० गतेका दिन मेरो दाजु रामकाजी वि.क.लाई भाउजू सेती वि.क. र दाजुको झट्केलो छोरा सुजित वि.क.ले कुटपीट गरी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हुँदा निजहरूउपर कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको राजु विश्वकर्माको जाहेरी दरखास्त ।

      मृतक रामकाजी वि.क.को बायाँ आँखाको परेलाको भागमा नील डाम भएको, बायाँ कानको लोती सुन्निएको, घुँडामुनि नील डाम भएको भन्नेसमेत व्यहोराको मृतक रामकाजी वि.क.को लासजाँच प्रकृति मुचुल्का ।

      घटनास्थल भनिएको ठाउँबाट बाँसका लाठाहरू र वारदातमा प्रयोग गरेको करूवा फेला पारेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

      मेरो पति रामकाजी वि.क.लाई सौता सेती वि.क. र झटकेलो छोरा सुजित नेपालीले कुटपीट गरी मारेको थाहा हुन आएकोले निजहरूउपर कानूनबमोजिम कारवाही गरी पाऊँ भन्नेसमेत व्यहोराको दिलशोभा विश्वकर्माको निवेदन तथा कागज ।

      मिति २०६४।६।३० गतेका दिन सेती विश्वकर्मा र मृतक रामकाजी वि.क. बीचमा कोठामा झगडा भएको र झटकेलो छोरा सुजित नेपाली आई निजले बाँसको लाठीले कुटपीट गरेको र सेती वि.क.ले समेत कुटपीट गरी घाइते भएकोमा निजको उपचारको क्रममा सोही कुटपीटका कारण मृत्यु भएको हो भन्नेसमेत व्यहोराको पुष्पा नेपालीले गरिदिएको कागज ।

      मिति २०६४।६।३० गतेका दिन रामकाजी वि.क. र सेती वि.क. बीच झगडा भएपछि सेती वि.क.ले पानीखाने करूवाले रामकाजीको टाउकोमा हानेपछि अजित वि.क.ले बाँसको लाठीले टाउकोसमेतमा हानी घाइते भएकोले उपचारको क्रममा  निज रामकाजी वि.क.को सोही कुटपीटको कारण मृत्यु भएको हो भन्ने व्यहोराको राजन नेपालीको   कागज ।

      मेरो पहिलाको श्रीमान्‍ले मादक पदार्थ सेवन गरी कुटपीट गर्ने गरेकोले हालको श्रीमान् रामकाजी विश्वकर्मासँग दोस्रो विवाह गरेकोमा निजले समेत बराबर कुटपीट गर्ने गरेको र मिति २०६४।६।३० गते पनि मादक पदार्थ सेवन गरी मसँग झगडा गरी कुटपीट गरेकोले निजलाई मैले पानी खाने करूवाले र मेरो पहिलाको श्रीमान्‍तिरको छोरा सुजितले बाँसको लाठीले रामकाजीको टाउकोसमेतमा कुटपीट गरेकोमा घाइते भई उपचारको क्रममा मिति २०६४।७।२ गते निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सेती वि.क.ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

      मिति २०६४।६।३० गतेका दिन सेती वि.क. र मृतक रामकाजी वि.क. बीच झै-झगडा हुँदा झट्केलो छोरा सुजित वि.क. र निज सेती वि.क.ले बाँसको लाठीसमेतले टाउकोमा हानेका कारण घाइते भै निज रामकाजीको उपचारको क्रममा मुत्यु भएको हो भन्नेसमेत व्यहोराको बुझिएका सुरेन्द्र चित्रकारले गरी दिएको कागज ।

      मेरी आमा रामकाजी विश्वकर्मासँग पोइल गएकी र निजलाई कान्छो बुबा रामकाजी वि.क.ले मादक पदार्थ सेवन गरी बारम्बार कुटपीट गर्ने गरेकोमा मिति २०६४।६।३० गते पनि आमा सेती विश्वकर्मालाई रामकाजीले कुटपीट गरेकाले निज रामकाजीलाई मसमेतले कुटपीट गरी बाँसको लाठीसमेतले प्रहार गर्दा निज घाइते भई उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुजित वि.क. नेपालीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      मिति २०६४।६।३० गतेका दिन मेरो आमा सेती वि.क.सँग कान्छो बाबु रामकाजी वि.क.ले झगडा गरी कुटपीट गरकोले मैले छिमेकीहरूलाई बोलाएपछि र दाजु सुजित नेपालीसमेत आई कान्छो बाबु रामकाजीलाई बाँसको लाठीले हान्दा घाइते भई उपचारको क्रममा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको संगीता पुजारीको कागज ।

      घटनास्थल प्रकृति मुचुल्का, पुष्पा नेपालीको कागज, राजन नेपालीको कागज, प्रतिवादी सेती विश्वकर्माको अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, सुरेन्द्र चित्रकारको कागज, प्रतिवादी सुजित वि.क. नेपालीको बयान र संगीता पुजारीको कागजसमेतका आधार प्रमाणबाट मृतक रामकाजी वि.क.को प्रतिवादी सेती वि.क. र सुजित वि.क. नेपालीसमेतको कुटपीटबाट घाइते भई उपचारको क्रममा निज रामकाजी विश्वकर्माको मिति २०६४।७।२ गते सोही कुटपीटको चोटको कारण मृत्यु भएको देखिँदा निज प्रतिवादीहरूले मृतक रामकाजी वि.क.लाई टाउको जस्तो सम्बेदनशील भागमा प्रहार गरी मारेको मिसिल संलग्न प्रमाण कागजातहरूबाट पुष्टि भएकोले निज प्रतिवादीहरू सेती वि.क. र सुजित नेपाली वि.क.ले ज्यानसम्बन्धी महलको १ नं. विपरित १३(३) अनुसार सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको अभियोग दावी ।

      मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरा मैले भनेबमोजिम लेखिएको ठीक साँचो छ । म आमाको घरमा जाँदा बाबु र आमा झगडा गरी आमालाई पिटिरहेको देखी छुट्‍याउन खोज्दा उल्टै मलाई हानेको हुँदा नजिकै रहेको बाँसको लाठीले हान्दा रामकाजी वि.क.को मृत्यु भएको हो । सजायको हकमा कानूनबमोजिम होस् भन्नेसमेत व्यहोराको प्रतिवादी सुजित नेपालीले शुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान ।

      मिति २०६४।६।३० गते साँझ म र मृतक रामकाजी वि.क. झगडा गरी रहेको बेला मेरो छोरा सुजित पनि आई पुग्यो मलाई मृतक काजीले पिटेको देखी किन मेरो आमालाई सधैं कुटपीट गर्नुहुन्छ भनी मृतकलाई सम्झाउन खोज्दा मुख छोडी हातसमेत हाली कुटपीट गरेकोले प्रतिवादी सुजित नेपालीले मृतकलाई बाँसको लाठीले हानेको हो मैले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान व्यहोरा झूट्ठा हो । प्रहरी आफैंले व्यहोरा लेखाई मलाई हेर्न सुन्न नदिई सही गराएको हो । मैले पानी खाने करूवाले मृतकलाई हानेको होइन । मैले सुजित वि.क.लाई बोलाएर कुटपीट गर भनेर भनेको पनि छैन । तसर्थ मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सेती विश्वकर्माले शुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान ।

      मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू कसूरदार हुन् भन्ने देखिँदा प्रतिवादीहरू सुजित नेपाली र सेती वि.क.लाई अ.बं. ११८(२) नं. बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न कारागार शाखामा पठाई दिनु भन्ने शुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६४।७।२६ मा भएको थुनछेक आदेश ।

      बरामदी तथा घटनास्थल मुचुल्कामा सही गर्ने मनदेवी पोडे, रत्नमाया पोडे, जाहेरवाला राजु विश्वकर्मा र घटनास्थल मुचुल्काका साक्षी बेखानारायण पोडेले शुरू अदालतमा गरेको बकपत्र मिसिल संलग्न रहेको छ ।

      प्रतिवादी सुजितले तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई बाँसको लाठीले टाउकोमा हानेको चोटले मृतकको मृत्यु भएको देखिएको हुँदा प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ । प्रतिवादी सेती वि.क.ले आरोपित कसूर अपराध गरेको नदेखिएको हुँदा निजको हकमा वादी दावी पुग्न नसकी अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने शुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१।२२ को फैसला ।

      प्रहरीको साबितीलाई मात्र प्रमाणमा ग्रहण गरी ज्यान जस्तो अपराधमा सजाय गरेको शुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुजित नेपालीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

      प्रतिवादीहरूले नियोजितरूपमा मनसायपूर्वक गरेको कर्तव्यबाट निज रामकाजी वि.क.को मृत्यु भएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भई रहेको अवस्थामा प्रतिवादी सेती वि.क.लाई सफाइ दिई अर्का प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्ने गरी भएको फैसलामा आवेशप्रेरित हत्याको गलत व्याख्या भएको हुँदा त्रुटिपूर्ण फैसला बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरी न्याय पाऊँ भन्ने पुनरावेदन अदालत, पाटनमा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

      यसमा जाहेरी दरखास्त र अनुसन्धानबाट तयार भएको कागज एवं सेती कै बयानबाट कसूरदार देखिनेमा सेती वि.क.लाई सफाइ दिएको नमिलेको र प्रतिवादीको समेत पुनरावेदन परेको हुँदा सफाइ पाउने प्रतिवादी सेती विश्वकर्मालाई छलफलको लागि अ.बं. २०२ नं. बमोजिम झिकाउने र अरूमा दुबै पक्षको पुनरावेदनको प्रतिलिपि एक आपसमा उपलब्ध गराई निज प्रत्यर्थी आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।१० को आदेश ।

      प्रतिवादी सेती वि.क.ले मौकामा अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पानी खाने करूवाले हिर्काएको भनी बयान गरेकोमा अदालतसमक्ष बयान गर्दा करूवाले मृतकलाई हानेको छैन भनी आरोपित कसूरमा पूर्णरूपले इन्कार रही बयान गरेकी  छिन् । प्रहरीमा कागज गर्ने राजन नेपालीले मृतकलाई सेती वि.क.ले करूवाले हानेको भनी अनुसन्धानमा कागज गर्दा लेखाएकोमा अदालतमा उपस्थित भई बकपत्र नगरेबाट सो प्रहरीमा भएको कागजलाई प्रमाणमा ग्रहण गर्न मिल्ने देखिएन । जाहेरवालाले जाहेरी दिँदा र अदालतमा बकपत्र गर्दा प्रतिवादी सेती वि.क.ले करूवाले प्रहार गरेको भनी लेखाउन नसकेबाट जाहेरी पोल परेको पनि देखिँदैन । आरोपित कसूरमा साबित हुने सहअभियुक्त सुजित नेपालीले अदालतमा बयान गर्दा सेती वि.क.ले करूवाले हानेको देखिन भनी लेखाएबाट सहअभियुक्तको पोल परेको पनि देखिँदैन । प्रतिवादी सुजीत नेपालीको अदालतसमेतको बयानसमेतको आधारमा निज प्रतिवादी र मृतक रामकाजी वि.क.को बीचमा ज्यान लिनुपर्नेसम्मको रिसइबी तथा मनसाय पनि नभई लुकी चोरी हानेको पनि नभई आफ्नो आमालाई कुटपीट गरेको कारणले उत्तेजनामा आई तत्काल उठेको रिस थाम्न नसकी बाँसको लाठीले प्रहार गरेको कारणबाट मृतकको मृत्यु भएको देखिन आएकोले प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा वर्णित आवेशप्रेरित हत्याको कसूर देखिन आएकोले प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद गरी प्रतिवादी सेती वि.क.ले अभियोग दावीबाट सफाइ पाउने ठहर्‍याई काठमाडौं जिल्ला अदालतले मिति २०६५।१।२२ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।१२।२४ को फैसला ।

      मैले रामकाजी वि.क.लाई मार्नुपर्नेसम्मको कुनै रीसईबी नभएको र आफ्नो जन्म दिने आमालाई दैनिक कुटपीट गर्ने गरेको र मिति २०६४।६।३० गते म आमालाई भेट्न जाँदा आमालाई कुटपीट गरिरहेकोमा मैले छुट्‍याउँदा उल्टै मलाईसमेत कुटपीट गरेको हुँदा मैले रिस थाम्न नसकी उक्त नजिकै रहेको बाँसको लाठीले रामकाजीको टाउकोमा एक पटक प्रहार गर्दा रामकाजीको मृत्यु भएको हो तर प्रहरीले प्रहरी प्रतिवेदनमा जे जस्तो कुराहरू भए गरिएका छन् त्यो सरासर असत्य निराधार झूट्ठा प्रतिवेदन हो । त्यसैको आधारमा शुरू काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत, पाटनबाट मलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गरिएको हुँदा साह्रै मर्का पर्न गएकोले मलाई ज्यानसम्बन्धी महलको १७(३) नं.बमोजिम कैद सजाय गरिपाऊँ भन्ने प्रतिवादी सुजित नेपालीले यस अदालतमा लिएको पुनरावेदन  जिकीर ।

      रामकाजी वि.क. र सेती वि.क. बीच बारम्बार झै-झगडा हुने गरेको र मिति २०६४।६।३० मा झगडा हुँदा सेती वि.क.ले पानी खाने करूवाले तथा सुजित नेपालीले बाँसको लाठीले २।३ पटक हान्दा बाँस भाँचिएको भनी प्रतिवादीहरू सेती वि.क. र सुजित नेपालीले गरेको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयान, लास प्रकृति मुचुल्का र Autospy Report समेतबाट पुष्टि भई मनसायपूर्वक गरेको कर्तव्यबाट रामकाजी वि.क.को मृत्यु भएको तथ्य पुष्टि भै रहेको अवस्थामा प्रतिवादी सेती वि.क.लाई कसूर अभियोगबाट सफाइ दिने गरी र प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारले यस अदालतमा लिएको पुनरावेदन जिकीर ।

      नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता खगराज पौडेलले बाहिरबाट खोजी ल्याएको बाँसले टाउको जस्तो संवेदनशील अङ्गमा हिर्काएको र त्यसरी हिर्काउँदा बाँस नै तीन टुक्रा भई भाँचिएको अवस्था हुँदा मार्ने मनसाय देखिइरहेकोले प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम आवेशप्रेरित हत्या ठहर गरी सजाय गरेको फैसला कानूनसम्मत नहुँदा अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भनी गर्नु भएको बहस सुनियो ।

      प्रतिवादी सुजित नेपालीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शोषित अकेला बानियाले मिति २०६४।६।३० गते प्रतिवादी सुजित नेपाली आमालाई भेट्न जाँदा आमालाई मृतक रामकाजी वि.क.ले कुटपीट गरिरहेको देखी छुट्‍याउन खोज्दा उल्टै प्रतिवादी सुजित नेपालीलाई मृतकले कुटपीट गरेको हुँदा रिस थाम्न नसकी नजिकै रहेको बाँसको लाठीले छुट्‍याउन मृतकको टाउकोमा एक पटक प्रहार गर्दा भवितव्य परी मृत्यु भएको हो । रामकाजी र सेती वि.क. बीच भएको झगडा छुट्‍याउनलाई केही गर्दा भवितव्य परी मृतकको मृत्यु भएकोले प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला बदर उल्टी गरी न्याय पाऊँ भनी गर्नु भएको बहस  सुनियो ।

      यसमा प्रतिवादीहरूले मृतक रामकाजी वि.क.लाई टाउको जस्तो संवेदनशील भागमा प्रहार गरी कर्तव्य गरी मारेकोले निज प्रतिवादीहरू सेती वि.क. र सुजित वि.क.(नेपाली) ले ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसूर अपराध गरेकोले सोही महलको १३(३) नं. अनुसार सजाय गरी पाऊँ भन्ने अभियोग दावी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी सुजित वि.क. नेपालीले तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई बाँसको लाठीले टाउँकोमा हानेको चोटले मृतकको मृत्यु भएको देखिएको हुँदा प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने र प्रतिवादी सेती वि.क.ले आरोपित कसूर अपराध गरेको नदेखिएको हुँदा निजको हकमा वादी दावी पुग्न नसकी अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भनी शुरू काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा सोही फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी सुजित नेपालीको तर्फबाट दोहोरो पुनरावेदन पर्न आएको पाइयो ।

      अब काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।१२।२४ को फैसला मिलेको छ छैन । वादी तथा प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो होइन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

2. मेरा दाजु रामकाजी वि.क. र भाउजू सेती वि.क.को मिति २०६४।६।३० गते झगडा भएकोमा सेती वि.क.को पहिलो लोग्नेपट्टीको छोरा सुजित नेपाली आई ढोका खोली बाँसले दाजु रामकाजी वि.क.लाई शरीरको विभिन्न भागमा कुटपीट गरी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको भन्ने जाहेरवाला राजु वि.क.को जाहेरी देखिन्छ । मृतकको बायाँ आँखी भौं, कन्चटमा नीलडाम, गालामा खोस्रिएको जस्तो घाउ, बायाँ कानको लोती केही सुनिएको, बायाँ बङ्गाराको भाग केही सुनिएको, बायाँ घुँडामुनि चोट नीलडाम देखिएको भन्ने लासजाँच मुचुल्का देखिन्छ । शव परीक्षण प्रतिवेदनको Internal Examination मा Scalp haematoma over the top of the head and occipital area. Fracture of the frontal, both parietals  and occipital bones  with  suture diasthesis. भन्ने र Cause of Death  मा Blunt force Trauma to the head भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै अनुसन्धानमा बुझिएका व्यक्तिहरूले मृतकलाई प्रतिवादी सुजित नेपालीले कुटपीट गरी मृत्यु भएको हो भनी कागज गरिदिएको पाइन्छ । प्रतिवादी सुजित नेपाली स्वयंले अदालतमा बयान गर्दा मृतक रामकाजी वि.क. र आमा सेती वि.क. झगडा गरिरहेको अवस्थामा म पुगी यसो नगर भनी सम्झाउँदा मलाई पनि पिटेकोले बाँसको लाठीले हानेको हो भनी मृतकलाई चोट छाडेको कुरामा साबिती भई बयान गरेको देखिन्छ । साथै वारदातमा प्रयोग भएको बाँसको लाठी बरामद भएको बरामदी मुचुल्काबाट देखिई प्रतिवादी सुजित नेपालीको बयान समर्थित भइरहेकोले मृतकको मृत्यु सुजित नेपालीको कुटपीटबाट भएको कुरामा द्विविधा रहेको देखिएन ।

      3. अब प्रतिवादी सुजित नेपालीले मृतकको हत्या मनसायपूर्वक गरेको हो कि आवेशमा आई कुटपीट गरेको कारणबाट निजको मृत्यु भएको हो भन्ने कुरातर्फ विचार गर्दा, मृतकलाई प्रतिवादी सुजितले एकपटक टाउकोमा प्रहार गर्दा मृतक भूईंमा ढलेको र पातामा पनि एकचोटी हानेको भन्ने प्रत्यक्षदर्शीहरूको भनाई देखिन्छ । साथै टाउकोमा एकठाउँमा चोट लागेको र अन्य चिथोरिएका कोपारिएका बाहेक कुनै गम्भीर घाउचोट नरहेको भनी लासजाँच मुचुल्काको प्रतिवेदन रहेको परिप्रेक्ष्य्यमा मृतकले प्रतिवादी सुजित नेपालीको आमा प्रतिवादी सेती वि.क.लाई कुटपीट गरिरहेकोमा मृतकलाई सम्झाउँन खोज्दा मृतकले नै प्रतिवादी सुजित वि.क.लाई कुटपीट गरी सिंगल सिंगल खेल्ने हो भनी च्यालेञ्ज गरेको हुँदा रिस थाम्न नसकी सोही वारदातस्थलमै भएको लाठाले हानेको र सोही चोटले मृतकको मृत्यु भएको तथ्य मिसिल प्रमाणबाट पुष्टि भएकोले प्रस्तुत वारदात मनसायप्रेरित नदेखिई आवेशप्रेरित हत्या देखिन आउँछ ।

      4. प्रतिवादी सेती वि.क. र रामकाजी वि.क. लोग्ने स्वास्नी भएको र बेला बखतमा लोग्ने स्वास्नीबीच झगडा हुने गरेको देखिन्छ । मिति २०६४।०६।३० मा मृतक र सेती बि.क.का बीच झगडा भएको सन्दर्भमा प्रतिवादी सेती वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकलाई पानी खाने करूवाले हिर्काएको भनी बयान गरेकोमा अदालतसमक्ष बयान गर्दा पानी खाने करूवाले हिर्काएको होइन भनी आरोपित कसूरमा पूर्णरूपले इन्कार रही बयान गरेको देखियो । वारदातस्थलमा रहेको मृतकको छोरी संगिता पोडे र वारदातको कोठामा पुगेर झगडा छुट्‍याउने पुष्पा नेपाली, पवित्रा परियारले प्रहरीमा कागज गर्दा सेती वि.क.ले हानेको भनी लेखाउन सकेका छैनन्। प्रहरीमा कागज गर्ने राजन नेपालीले मृतकलाई सेती वि.क.ले करूवाले हानेको भनी अनुसन्धानमा कागज गर्दा लेखाएकोमा अदालतमा निज अनुपस्थित रही बयान नगरेबाट मौकामा भएको कागजलाई प्रमाणमा ग्रहण गर्न मिलेन । जाहेरवालाले जाहेरी दिँदा र अदालतमा बकपत्र गर्दा प्रतिवादी सेती वि.क.ले करूवाले प्रहार गरेको भनी लेखाउन सकेको पनि देखिएन । त्यस्तै सहअभियुक्त सुजित नेपालीले अदालतमा बयान गर्दा सेती वि.क.ले करूवाले हानेको देखिन भनी लेखाएबाट सहअभियुक्तको पोल परेको पनि देखिएन ।

      5. अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई ६ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ भन्ने ज्यानसम्बन्धी महलको १७(३) नं. अन्तर्गतको व्यवस्था रहेको सन्दर्भमा प्रस्तुत वारदातमा प्रतिवादी सुजित वि.क.ले मृतकलाई बाँसको लाठाले हानेको भनी स्वयं अदालतको बयानसमेतमा स्वीकारी रहेको देखिँदा प्रतिवादीको पुनरावेदन जिकीरबमोजिम ज्यानसम्बन्धी महलको १७(३) नं. पनि आकर्षित हुने देखिएन । त्यस्तै घटनास्थल प्रकृति मुचुल्का, लासजाँच प्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदन, राजन नेपालीको कागजसमेतको आधारमा मृतकको मृत्युको जरिया प्रतिवादी सुजित वि.क.को आवेशपूर्ण कार्यबाट भएको देखिएको र अर्का प्रतिवादी सेती वि.क.को संलग्नता पुष्टि नभएकोले पुनरावेदक वादी नेपाल सरकारको अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादीको पुनरावेदन जिकीरसमेत सान्दर्भिक देखिन आएन ।

      6. तसर्थ, माथि विवेचित आधार र कारणबाट प्रतिवादी सुजित नेपालीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद गरी प्रतिवादी सेती वि.क.ले अभियोग दावीबाट सफाइ पाउने ठहर्‍याई काठमाडौं जिल्ला अदालतले मिति २०६५।१।२२ मा गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।१२।२४ को फैसला मिलैकै देखिँदा सदर हुने ठहर्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने पुनरावेदक प्रतिवादी सुजित नेपाली र अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । यो मिसिलको दायरी लगत कट्टा गरी नियमानुसार बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ज्ञानेन्द्रबहादुर कार्की

 

इति संवत् २०७० साल मङ्‍सिर १० गते रोज २ शुभम् ।

इजलास अधिकृत : हर्कबहादुर क्षेत्री

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु