शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१२२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २१२२   ने.का.प. २०४१          अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०४० सालको रिट नं. २०२५

विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

निवेदक : जिल्ला धनुषा, गोविन्दपुर गा.पं. वा.नं. ९ मगुराहा बस्ने पञ्चुव्याहुत सुँडी

विरुद्ध

विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय धनुषा

जि. धनुषा, गोविन्दपुर गा.पं. ९ वा.नं. मगुराहा बस्ने लक्ष्मेश्वर साहु व्याहुत सुँडी

आदेश भएको मिति :  २०४१।९।११।३ मा

§  अंश नछुट्टिएको अवस्थामा नै विवादित जग्गाको मोही प्रत्यर्थी भएकोलाई निज उपर्युक्त बमोजिमको मोहीको परिभाषाभित्र परेको भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

उल्लेखित मुद्दा : x

आदेश

       न्या. बब्बरप्रसाद सिंह : भू.सु.का.बाट ०४०।८।९ मा भएको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :

       २. विपक्षीसमेत उपर मैले दिएको अंश मुद्दामा अंश पाउने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३३।७।२४ मा अन्तिम फैसला भएको र ०३९।८।८ मा बण्डा मुचुल्का भई आफ्नो घरजग्गा मैले पाएको हुँ । त्यसको अतिरिक्त जि.ध.गोविन्दपुर गा.पं. वा.नं. ९ कि.नं. २५८ को जग्गा विगहा ११२१८ मध्ये ज.वि.०१५, ऐ. कि.नं. १२ को ज.वि.०१२४ जिल्ला धनुषा, तेजनगर गा.पं. वा.नं. ५ को कि.नं. २ को ज.वि.०१ समेत गरी ज.वि.१११५ जग्गा मैले अंश भागमा पाएको हुँ । उपरोक्त तिनै कित्ता जग्गा अघि हामी सगोलमै छँदा सर्भे नापीका बखत बाबु रामजी साहुकै नामबाट नापी दर्ता भएको थियो । तर मोहीमा भने विपक्षी लक्ष्मेश्वरको नाउँ जनिन गएको रहेछ । एका सगोलको अंशियारमा सगोलको जग्गामा मोही नलाग्ने हुँदा लगत कट्टा गरिपाउँ भनी मैले विपक्षी कार्यालयमा निवेदन गरेको थिएँ । विपक्षी कार्यालयबाट विपक्षीले लक्ष्मेश्वरलाई झिकाई बयान गराउन उक्त जग्गा फैसला र बण्डाबाट मेरो भागमा परेको कुरालाई स्वीकारै गरेका थिए । जग्गाधनी रामजी साहु मोही लक्ष्मेश्वर साहु भई १ नं. अनुसूची भरेको, प्रतिवादी लक्ष्मेश्वर साहु र निवेदक पञ्चुसाहु भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को देहाय ४ को खण्ड (ग) बमोजिम एउटै परिवार भित्र नपर्ने हुँदा लगत कट्टाको निवेदनबाट कारवाही गर्न नमिल्ने भनी तामेलीमा राख्ने भनी भू.सु.का.बाट ०४०।८।९ मा निर्णय भयो ।

       ३. भूमिसम्बन्धी ऐनको दफा २ को देहाय (ख) मा अरुको जग्गा कमाउने व्यक्तिमात्र मोही हुन सक्ने व्यवस्था छ । आफ्नो सगोलको जग्गा कमाउने व्यक्ति मोही हुन नसक्ने प्रष्ट छ । सगोलमा रहेको अवस्थामा नै मोही देखाई भरेको अनुसूचीको आधार प्रमाण लिन मिल्ने अवस्था आउँदैन । अनुसूची विपक्षी समेतको अंश हक लाग्ने अवस्थामा भरेको हो भिन्न भए पछि भरेको होइन । मोही लगत कट्टा गर्ने उजूरीमा लाग्दै नलाग्ने ऐन भू.सु.ऐनको दफा २(ग) लगाई निर्णय गर्न समेत नमिल्ने हुँदा उक्त गैरकानुनी निर्णयबाट सम्पत्ति सम्बन्धी हकमा आघात पर्न गएकोले उक्त निर्णय बदर गरी उक्त जग्गाको मोहियानीको लगत कट्टा गरी दिनु भन्ने विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत ०४०।११।२५ को पञ्चु साहुको रिट निवेदन ।

       ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४०।११।२६ को आदेश ।

       ५. प्रतिवादी लक्ष्मेश्वर साहु निवेदक पञ्चु साहु एउटा परिवारभित्र नपर्ने हुँदा र ५ परिवार बालिग गर्दा मोही हद मुनी नै देखिएकोले १ नं. अनुसूची समेतको आधारमा लगत कट्टाको निवेदनबाट कारवाही नहुने गरी यस कार्यालयबाट भएको आदेशले कुनै प्रकारको हक हनन् भएको व्यहोरा अनुरोध छ भन्ने समेत ०४१।१।३१ को भू.सु.का. धनुषाको लिखितजवाफ ।

       ६.  यो जग्गा मैले अलग परिवारको हैसियतबाट साविकदेखि कमाई आएको हुँ र ०२२ सालदेखि नै भिन्दै व्यवहार गरी आएको अदालतबाट बण्डा हुँदा कागजमा मेरो मोहियानी कायम राखिएको छ । भूमिसम्बन्धी ऐन अनुसार हामी अलग परिवारको हैसियतले मोहियानीमा कमाई आएको हुँदा भू.सु.का.बाट निर्णय हुँदा एका सगोलमा समेत नरहेबाट यी सम्पूर्ण कुराको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीबाट भएको निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज गरिपाउँ भन्ने समेत लक्ष्मेश्वर व्याहुत सुँडीको लिखितजवाफ ।

       ७. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले सगोलमा रहँदैको अवस्थामा मोही उल्लेख भई अनुसूची भरेको भन्ने आधारमा सगोलको जग्गामा पछि भिन्न भएपछि पनि मोही कायम हुन नसक्ने हुँदा मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदन तामेलीमा राख्ने गरेको भू.सु.का. धनुषाको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट रहनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले अनुसूची समेतको आधारमा मोही देखिएको अलग परिवारको लक्ष्मेश्वर मोही होइन भन्न नमिल्ने हुँदा विपक्षीको निवेदन तामेलीमा राख्ने गरेको कुनै त्रुटि छैन भन्ने समेत प्रत्यर्थी लक्ष्मेश्वर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले पछि अंशबण्डा भए पनि ०२२ सालदेखि नै अलग व्यवहार गरी आएको हो । भू.सं.ऐनको परिवारको परिभाषाभित्र नपर्ने हुँदा लक्ष्मेश्वर उक्त जग्गाको मोही हुन सक्ने हुँदा भू.सु.का.को निर्णयमा त्रुटि छैन । रिट खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

       ८. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो होइन सो को निर्णय दिनुपर्ने हुन आएको छ ।

       ९.  यसमा निर्णयतर्फ हेर्दा सगोलको अवस्थामा सगोलको जग्गामा विपक्षी मोही जनिएको हुँदा मोही लगत कट्टा गरिपाउँ भनी यो रिट निवेदकको भू.सु.का.मा उजूर परेकोमा तामेलीमा राख्ने गरी गरेको प्रत्यर्थी भू.सु.का. धनुषाको निर्णय उपर प्रस्तुत रिट निवेदन पर्न आएको देखिन्छ ।

       १०. बाबुसँग अंश नभई सगोलमा नै बसेको अवस्थामा प्रत्यर्थी लक्ष्मेश्वर साहु विवादित जग्गाको मोही भएको भन्ने देखिन्छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को देहाय (ख) हेरिएमा अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउने व्यक्ति मोही हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अंश नछुट्टिएको अवस्थामा नै विवादित जग्गाको मोही प्रत्यर्थी लक्ष्मेश्वर साहु भएकोलाई निज उपर्युक्त बमोजिमको मोहीको परिभाषाभित्र परेको भन्न मिल्ने देखिएन । त्यसरी मोही लगत कट्टा गरिपाउँ भन्ने उजूर परेपछि उक्त ऐन बमोजिम निर्णय गर्नुपर्नेमा तामेलीमा राख्ने गरेको प्रत्यर्थी भू.सु.का. धनुषाको निर्णय त्रुटिपूर्ण देखिन आयो ।

       ११. अतः उपर्युक्त बमोजिमको मिति ०४०।८।९ को प्रत्यर्थी भू.सु.का. धनुषाको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा यो परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि यो निर्णयको प्रतिलिपी प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल पौष ११ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु