निर्णय नं. २१२३ - कर्तव्य ज्यान

निर्णय नं. २१२३ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४३४
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : हरिबहादुर राईको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. नुवाकोट नर्जा गणेश स्थान घर भै हाल के.का. कारागार शाखामा थुनामा बस्ने गोविन्द गिरी
फैसला भएको मिति : २०४१।९।१३।५ मा
§ प्रमाण सम्बन्धी ऐन, २०३१ को दफा २५(२) बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हुने ।
(प्रकरण नं. २०)
पुनरावेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : नुवाकोट जिल्ला अदालतले प्र.गोविन्द गिरीलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको फैसला उल्टी गरी सफाई पाउने ठहर्छ भनी गरेको फैसला न्यायसंगत नभएको हुँदा प्रहरी प्रतिवेदन बमोजिमको सजाय गरी इन्साफ पाउँ भनी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ :
२. ०३७ साल फाल्गुण ५ गते गाउँकै भरत राईको घरमा गई बेलुका साँझ सम्म काइँली आमा घर नफर्कदा निज डम्बरकुमारको नाबालक छोरा वर्ष १३ को धने र वर्ष ९ को छोरी सुवी समेत आमा भएको ठाउँमा गई बेलुका ८ बजे पुगेपछि छोराछोरीलाई माइतीमै सुताई घर जान्छु भनी घरमा आई ढोकामा ताला लगाई निस्कीछ । सो रात हामीलाई थाहा भएन गाउँलेहरू खोजी गर्दै थिए । फाल्गुण १० गतेको दिन बिहानको ७ बजेतिर बद्री गिरीको आमा घसिनी भन्ने ढुंगाको सिलोट लिन जाँदा वावियाको डोरीको पासो घाँटीमा लगाई डम्बरकुमारी राई झुण्डी मरिरहेको देखी जाहेर गर्न आएको छु भन्ने मिति २०३७।११।११।१ मा हरिबहादुर राईका प्रहरीमा परेको जाहेरी दर्खास्त ।
३. पूर्व जामुने कोर्ट जाने मूल बाटो, पश्चिम नर्जा फेदी जाने ठाडो बाटो उत्तर जामुनेबाट बेशी जाने बाटो दक्षिण बद्री गिरीको बारीको पाटाको डिलपट्टि ४ किल्लाभित्र ढुङ्गाको गारो खरको छाना भएको १ तल्ले २ नाले घरको चोटामा दुवै हात भूमिमा टेकी बाँया कान र नाकबाट रगत बगी रगत भूइँमा सुकी जिब्रो बाहिर निस्केको र दक्षिण झ्याल तर्फ दिसा लतपतिएको घटनास्थलको विवरण र लासप्रकृति मुचुल्का ।
४. सानुकान्छा गिरीको घरमा सत्यनारायणको पूजाको निम्तो आएको हुँदा अरु साथीहरू जान्छन् कि भनी हिंड्दा डम्बरकुमारी भरतको आँगनमा भाँडा माझ्दै थिई निजले फर्कदा मलाई भेट्नु भनिन् र म फर्किदा उनले बद्री गिरीको खाली घरमा जाउँ भनिन् र खाली घरको चोटामा पुग्दा भनिन् कि तेरो घरको काममा सधैं भरी आउने र तँ पनि मेरो घरमा आउने हुँदा गाउँलेहरूले तेरो र मेरो लसपस भएको शंका गरी सके म तँसँग जान्छु मलाई करणी गर भनिन् मैले आमा जस्तो मानिसलाई करणी गर्दिन भन्दा हामी दुईको कुस्ता कुस्ती पर्दा दाहिने हातले मृतकको कञ्चटमा मुक्काले हिर्काउँदा साँइली आंैलामा लाएको फलामको आंैठीले लागी कञ्चटबाट रगत आई भूइँमा पछारिन् तैपनि नछोडेकोले निजको घाँटी थिची रहँदा सास फेर्न नसकी हिक्क हिक्क भएपछि निजले मलाई समातेको हात छुटिन गयो त्यसपछि निजको प्राण गई मरिसकेकी थिईन् । आफू अपराधबाट बच्नको लागि वावियाको डोरीदेखि झुण्ड्याउँदा आफैं झुण्डी मरेको जस्तो गराएको हुँ भन्ने समेत गोविन्द गिरीले प्रहरीमा गरेको बयान ।
५. गोविन्द गिरी र डम्बरकुमारीको बीच अनुचित सम्बन्ध भएको हुँदा गोविन्द गिरीले कर्तव्य गरी मारेको शंका लाग्दछ भनी गोडे राई समेत जवान १४ ले गरेको मुचुल्का ।
६. मृतकलाई गोविन्द गिरीले मारेको आफ्नो आँखाले नदेखेको हुँदा खुलाउन सक्दिन भनी २०३७।११।१४ मा सुनकेशरी गिरीले प्रहरीमा गरेको बयान ।
७. दुईको बीचमा लसपस भएको मलाई पहिले देखि नै शंका लागेको हुँदा मृतक गोविन्द गिरीले नै मारी झुण्ड्याएको पूरा शंका लाग्दछ अरु मतियार भए नभएको खुलाउन सक्दिन भनी भरत राईले प्रहरीमा गरेको बयान ।
८. गोविन्द गिरी पहिले देखि नै मेरो घरमा आउने जाने भएको हुँदा मेरो आमालाई गोविन्द गिरीले मारेको शंका लाग्दछ भनी मृतकको छोरा वर्ष १३ को धनबहादुर राईले प्रहरीमा गरेको बयान ।
९. प्र.गोविन्द गिरीले मु.ऐन ज्यान सम्बन्धीको महलको १ नं. बिपरीत कार्य गरी ऐ. ऐनको १३ नं. को देहाय ३ को अपराध गरेको हुँदा सोही ऐनको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।
१०. मैले मृतक डम्बरकुमारीलाई मारेको होइन मैले हिर्काई मारेर डोरीले झुण्ड्याएको हो भनी प्रहरी समक्ष भनेको थिइन सही गर भनी धम्की दिएकोले सहीसम्म गरिदिएको हुँ भन्ने समेत व्यहोराको गोविन्द गिरीको अदालतको बयान ।
११. आमा डम्बरकुमारीलाई प्र.गोविन्द गिरीले गर्भ बोकाएको जस्तो लाग्दछ सोही कारणबाट मारेर झुण्ड्याएको शंकालाग्दछ भनी मृतकको छोरा धनबहादुरले अदालतमा गरेको बयान ।
१२. गोठमा मारेको ताल्चा नरही ढोका ढप्काएको रहेको ढोका खोली थुन्से ढोकामाथि राखेको र खोस्ता लिन भनी भर्याङको २।३ खुड्किलो उक्लेको मात्र थिएँ लुगा सुकाउँदा भनिरहेको डोरीको टुप्पा फुकाई सोही टुप्पामा पासो लगाई आईमाई मानिसको लास झुण्डेको देखे । लासलाई मैले चिनिन लास गन्हाई सकेको थियो । पछि डम्बरकुमारीको लास भन्ने थाहा पाएँ । मारेको मैले नदेखेको हुँदा यसैले मारेको हो भनी भन्न सक्दिन भनी सुनकेशरी गिरीले अदालतमा गरेको बयान ।
१३. लास धेरै सडी गलिसकेको हुँदा मृत्युको कारण यकीन गर्न नसकिने भन्ने लास जाँच प्रतिवेदन ।
१४. डम्बरकुमारी र गोविन्द गिरीको अनुचित सम्बन्ध बारेमा सरजमीनले सल्लाह गरेको र सो दिन डम्बरकुमारीले करणी गर्न प्रेरणा गरी गोविन्द गिरीलाई नछोड्ने अवस्था परेको प्रतिवादीको साविती बयानबाट देखियो । डम्बरकुमारीलाई आफूले घरमा लगी स्वास्नी राख्दा समाजमा घृणा हुने देखी तत्काल उठेको रिसबाट डम्बरकुमारीलाई मुक्का समेतले हानी कर्तव्य गरी प्र.गोविन्द गिरीले मारेको ठहर्छ । प्र.उपर ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने शुरु नुवाकोट जिल्ला अदालतको फैसला ।
१५. प्र.गोविन्द गिरी प्रहरी समक्ष सावित भएको र १३(३) को दावी भएकोमा ज्यानसम्बन्धीको १४ बमोजिम सजाय गरेको न्यायसंगत नहुँदा शुरु प्रहरी माग बमोजिमको सजाय गरिपाउँ भन्ने श्री ५ को सरकारको र प्रहरीले बलजफती सही गराएको कागजको आधारमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको न्यायसंगत भएकोले सफाई पाउँ भन्ने समेत गोविन्द गिरीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।
१६. प्र.गोविन्द गिरीले प्रहरीमा भएको साविती स्वेच्छाले भएको होइन भनी अदालतमा बयान गरेको र प्रहरीमा भएको बयान कागज बमोजिम मृतकको कञ्चटमा घाउ लागेको नदेखिएको र गोविन्द गिरीले मृतक डम्बरकुमारीलाई मार्नु पर्ने सम्मको कारण समर्थन हुन नआएको समेतबाट शुरु जि.अ.ले ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ मिलेको नहुँदा इन्साफ उल्टी भई सफाई पाउने ठहर्दछ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।
१७. म.क्षे.अ.ले प्र.गोविन्द गिरीलाई सफाई दिने ठहर्याएको इन्साफ गैरकानुनी हुँदा शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
१८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकार तर्फबाट खटिई आउनु भएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधानले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतः म.क्षे.अ.ले प्र.गोविन्द गिरीलाई सफाई दिई गरेको इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय गर्नुपर्ने हुन आयो ।
१९. निर्णय तर्फ विचार गर्दा यसमा प्र.गोविन्द गिरीले मृतक डम्बरकुमारीलाई आफूले कर्तव्य गरी मारेको भनी प्रहरीमा सावित भए पनि अदालतमा प्र.गोविन्द गिरीले मृतक डम्बर कुमारीलाई कर्तव्य गरी मारेमा इन्कार रहेको पाइन्छ । प्र.गोविन्द गिरीले डम्बरकुमारीलाई मारेको भनी खुद जाहेरवालाले आफ्नो जाहेरी दर्खास्तामा लेख्न सक्नु भएको देखिँदैन ।
२०. सरजमीनका व्यक्तिहरूले डम्बरकुमारीलाई प्र.गोविन्द गिरीले मारेको देखेँ भनी तथ्य साथ लेखी दिन नसकी शंकासम्म गरेको पाइन्छ । प्रमाण सम्बन्धी ऐन, २०३१ को दफा २५(२) बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हुन आउँदछ । तर वादी पक्षबाट वादी दावी प्रमाणित गर्ने तथ्ययुक्त सबूत आउन सकेको पाइँदैन । आंैठी लगाएको हातले कञ्चटमा डम्बरकुमारीलाई हान्दा कञ्चटबाट रगत आयो भन्ने प्र.गोविन्द गिरीको प्रहरीमा भएको साविती भनाई लास जाँच मुचुल्कासँग मिल्न आएको देखिँदैन । पोष्टमार्टम रिपोर्टबाट डम्बरकुमारी के भई मरेको हो सो खुल्न सकेको छैन । प्रहरीमा भएको प्र.गोविन्द गिरीको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन्न । सकार अनुमानबाट प्रतिवादी गोविन्द गिरीलाई दोषी ठहर्याउन मिल्ने देखिँदैन । अतएव प्र.गोविन्द गिरीलाई प्रहरी प्रतिवेदन अभियोग दावीबाट सफाई दिने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकार तर्फबाट पुनरावेदन परेको देखिँदा केही गरिरहन परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल पौष १३ गते रोज ५ शुभम् ।