शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१२८ - जग्गा खिचोला

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २१२८ ने.का.प. २०४१             अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको दे.वि.नं. १००

मुद्दा : जग्गा खिचोला

निवेदक/वादी :  नु.जि.बेलकोट गा.पं. वडा नं. ५ तल्लो ती गाउँ बस्ने तोरणबहादुर पाण्डे क्षेत्री

विरुद्ध

विपक्षी/प्रतिवादी : नु.जि.दाङ भैकालीका गा.पं. वडा नं. ६ पाखुरे बस्ने देवनाथ पनेरु

फैसला भएको मिति : २०४१।९।१३।५ मा

§  एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने ।

(प्रकरण नं. ११)

निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दा : x

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : म.क्षे.अदालतको मिति ०३९।१।१६।५ को निर्णय फैसला उपर वादीको श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

          २.   पातलेखेत माटो ।५० मध्ये हाल खोली कट्टी ।१० बुद्धिनाथले खाएको ।१० कटाई पूर्व खोल्सी पश्चिम खोलो उत्तर टिकाप्रसाद दक्षिण कुलो यति ४ किल्लाभित्रको माटो ।३० को जग्गा शेरजंग समेतको विर्ता तिरो दपोटमा हरिदत्तको उजूर परी सो जग्गा समेत मैले भोगी आएको भनी मेरो समेत बयान भई ०२४।७।२१ मा फैसला भएको विर्ता उन्मूलन ऐन, ०१६ बमोजिम विर्तावारहरूले रैकरमा परिणत पनि नगरेको भू.सु.ऐन लागू भएपछि हदभन्दा बढीको जग्गा भएकोले ०१६ सालदेखि ०२९ साल तकको तिरो बुझाई रैकरमा परिणत गरी दर्ता गरेको मूल्य रु.६००। जाने माटो ।३० जग्गामा ०३०।८।१५ गते विपक्षहरूले खिचोला गरेको मेटाई पाउँ भन्ने समेत व्यहोराको मिति ०३०।११।६ को तोरणबहादुरको फिरादपत्र ।

          ३.   हामीहरूको हकको पातले खेत ०२४।६।१९ मा पूर्व कूलो पश्चिम खोलो उत्तर खोल्सो जाई पाण्डेको खेत, दक्षिण कूलो यति ४ किल्लाभित्रको जग्गा रोपनी ६ विर्ता उन्मूलन ऐन, ०१६ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयको ०२४।५।५ को संख्या १९ को राजपत्रमा प्रकाशित सूचना अनुसारको म्यादभित्र रैकरमा परिणत गराई ०१६ सालदेखि ०२३ सालतकको मालपोत बुझाई आमा भद्रकुमारीका नामबाट ०२३।१।१० मा जोताहा अस्थायी निस्सा पाएको वादीले जोताहा निस्सा छ भन्न सकेको छैन । विपक्षले परिणत गराए उपर बदर गरिपाउँ भनी आजै फिराद दिएको छु । शेरजंगको विर्ता भन्ने वादीको भनाई छ । ०२४ सालमा हामीले परिणत गरेको कुरामा कानुनको म्यादभित्र विर्तावालाको उजूर नपरेको समेतबाट हामीहरूको कुश बिर्तालाई वादीले झुठ्ठाउजूर गरेको हो भन्नेसमेत व्यहोराको ०३१।१।२६ को देवनाथको प्रतिउत्तरपत्र।

          ४.   वादीले दावी लिएको पातले भन्ने खेत परस्पर आफ्नो आफ्नो दर्ताको भन्ने वादी र प्रतिवादीको भनाई भएको परिणत दर्ता उपर परेको परिणत दर्ता बदर मुद्दाहरूमा वादी तोरणबहादुरको दर्ता कायम ठहरी यिनै वादी प्रतिवादीको परिणत दर्ता बदर मुद्दा आजै किनारा भएकोले जग्गा मेरो भन्ने देवनाथले म्यादै गुजारी बसेको जग्गा मेरो कुस विर्ता हो भन्ने प्रतिवादीले खिचोला गरेन होला भन्न नमिल्ने हुनाले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको र.त.नु.जि.मा.क्षे.अ.को फैसला रहेछ ।

          ५.  हामीहरूको कुस विर्तालाई खिचोला ठहराएको चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी देवनाथ पनेरुको ०३३।३।७ मा वा.अं.अ.मा पुनरावेदन परेको ।

          ६.   मुद्दा परेको जग्गा कुस विर्ता हो भनी प्रतिवादीहरूले दर्ता गराए तापनि सो दर्ता दुषित नै देखिन आयो र त्यस्तो दुषित दर्ताको आधारमा भएको तिरो तिरानको आधारमा जग्गाको स्वामित्व प्रतिवादीहरूलाई प्राप्त हुन सक्ने स्थिति छैन । विर्ता जग्गा विर्तावालले दर्ता गराए नगराएको स्पष्ट छैन वादीले दर्ता गराई लिएको देखिँदैन र कुस विर्ताको प्रमाण प्रतिवादीले पेश गर्न नसकेको स्थितिमा विवादग्रस्त जग्गामा प्रतिवादी पुनरावेदनको हक कायम नहुने ठहराएको र.त.नु.जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोरको बा.अं.अ.को मिति ०३५।१।१ को फैसला रहेछ ।

          ७.  उक्त फैसला उपर प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          ८.   वादीले आफ्नो फिरादपत्रमा मिति ०३०।७।२१ मा नुवाकोट मालमा परिणत दर्ता गराएको भन्ने उल्लेख गरेको र प्रतिवादी पुनरावेदकहरूले अर्थ मन्त्रालयको मिति ०२४।५।४ को सूचना अनुसार मौकैमा म्यादभित्र रैकरमा परिणत गराई भोगी आएका छौं भन्ने जिकिर लिएको देखिन्छ । विवादको जग्गाको जोताहा अस्थायी निस्सा प्रतिवादीहरुले मिति ०२३।१।१० मा र ०२३।१।१६।५ मा समेत प्राप्त गरेको र नुवाकोट मालबाट आएको दर्ता उतार हेर्दा प्रतिवादी विष्णुप्रसादको नाउँमा मिति ०३०।७।१७ मा प्रतिवादी इन्द्रप्रसादको बाबु देवदत्त पनेरुको नाममा ०३०।७।१५ मा दर्ता भएको दर्ता उतारबाट देखिन आयो जोताहा अस्थायी निस्सा मौकामै परिणत गराउन दिएको दर्खास्त तिरो तिरेको रसिद समेतका प्रमाणहरूबाट जग्गामा भोग प्रतिवादीकै भएको पुष्टि हुन आयो । विर्तावालाले रैकरमा परिणत नगरेका यस प्रकारको अवस्था यस्तो जग्गा भोगी आउने प्रतिवादीहरूले अघि गराएको दर्तालाई कानुनी मान्यता नदिई यस मुद्दामा निर्णय गर्नुपर्ने प्रश्न देखी बाहिर गई बिना दुषित दर्तालाई मान्यता दिन नमिल्ने भनी बा.अं.अ.ले ठहर गरेको कानुनी त्रुटिपूर्ण देखिन्छ । यसको अतिरिक्त यिनै वादी होमनाथ समेत भएको प्रतिवादी विष्णुप्रसाद, इन्द्रप्रसाद भवनाथ समेत प्रतिवादी भएको दर्ता परिणत बदर मुद्दामा बा.अं.अ.बाट ०३४।११।१२।५ मा यिनै प्रतिवादीहरूको दर्ता बदर गराउन दावी भएको वादी समेतको फिराद खारेज भएको र सो मुद्दा अन्तिम भइरहेको देखिनाले प्रतिवादीहरूको दर्तालाई कुनै पनि कारण अन्यथा मान्नु पर्ने देखिन आएन । प्रमाणको निमित्त आएको दपोट मुद्दाको फैसला हेर्दा प्रतिवादीहरू समेत संलग्न भई मुद्दा चलेको नदेखिएको र विर्ता उन्मूलन ऐन, ०१६ अनुसार कानुनको रीत पुर्‍याई भएको दर्ता अनुसार प्रतिवादीले जग्गा भोग चलन गर्न पाउने देखियो । उपरोक्त उल्लेख गरिए अनुसार प्रतिवादीको दर्ता पहिलो र कानुनसंगत देखिनाले विवादको जग्गामा प्रतिवादीको हक नपुग्ने भन्ने बागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुनाले शुरु जि.अ. र बा.अं.अ.को दुवै फैसला बदर हुने ठहर्छ । विवादको एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने र जग्गामा प्रतिवादीहरुकै हक देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मध्यमाञ्चल क्षे.अदालतको ०३९।१।१६ को फैसला ।

          ९.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै त्रुटि नहुँदा सोही फैसला सदर कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नभयो ।

          १०.  प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ सो तर्फ नै मुख्य निर्णय दिनुपर्ने हुन आएको छ ।

          ११.  यसमा विवादको जग्गा विर्ता जग्गा भएको दुवै पक्षले स्वीकारेको विर्ता उन्मूलन ऐन, २०१६ प्रचलनमा आएपछि रैकरमा परिणत दर्ता नगराई जग्गामा कानुनी स्वामित्व प्राप्त नहुने हुनाले वादी प्रतिवादी मध्ये कस्को दर्ताको कानुनी मर्यादा र मान्यता छन् भनी विचार गर्दा वादीले आफ्नो फिरादपत्रमा ०३०।७।२१ मा नुवाकोट मालमा परिणत दर्ता गराएको भन्ने उल्लेख गरेको प्रतिवादीहरूले अर्थ मन्त्रालयको ०२४।५।५ को सूचना अनुसार म्यादभित्रै रैकरमा परिणत गराई भोगी आएको भन्ने जिकिर लिएको देखिन्छ । जो.अ.नि.०२३।१।१० मा र ०२३।१।१६।५ मा प्रतिवादीहरूले प्राप्त गरेको र नुवाकोट मालबाट आएको दर्ता उतार हेर्दा ०३०।७।१५ मा विष्णुप्रसाद र ०३०।७।१५ मा देवदत्त पनेरुको नाउँमा दर्ता भएको देखिन आउँछ आवश्यक प्रमाणहरूबाट समेत जग्गामा भोग प्रतिवादीहरूकै भएको देखिन आयो । विर्तावालले रैकरमा परिणत नगरेको यस्तो अवस्था जग्गा भोगी आउने प्रतिवादीले दर्ता अघि गराएको देखिनुको साथै वादी होमनाथ प्रतिवादी इन्द्रप्रसाद समेत भएको दर्ता परिणत बदर मुद्दामा ०३४।११।१२।५ मा दर्ता बदर गराउन दावी गरेको फिराद खारेज भएको देखिनाले समेत प्रतिवादीहरूको दर्तालाई कुनै पनि कारणले अन्यथा मान्नु पर्ने देखिन आएन । दपोट मुद्दाको फैसला हेर्दा प्रतिवादीहरू समेत संलग्न भई मुद्दा चलेको नदेखिएको र विर्ता उन्मूलन ऐन, २०१६ अनुसार कानुनको रीत पुर्‍याई भएको दर्ता प्रतिवादीहरूले जग्गा भोग चलन गर्न पाउने नै देखियो । विवादको एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने र जग्गामा प्रतिवादीहरूकै हक देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भनी २०३९।१।१६।५ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा कुनै कानुनी त्रुटि देखिन आएन । तसर्थ मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा कसैलाई केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

इति सम्वत् २०४१ साल पौष १३ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु