निर्णय नं. २१२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २१२९ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको रिट नं. २१७४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : भ.पु. जि.न.पं. वडा नं. ६ गोलमढी टोल चरेचा बस्ने सिद्धीनारायण गोर्खाली
विरुद्ध
विपक्षी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत धनेन्द्रराज शर्मा
आदेश भएको मिति : २०४१।९।१०।२ मा
§ बाली बुझाई पाउँ भनी दर्खास्त परेपछि सो अनुसार कानुन बमोजिमको म्याद जारी गर्नुपर्ने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
आदेश
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : भूमिसुधार शाखा भक्तपुरको ०४०।१।१३ को निर्णय पर्चा बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. भक्तपुर जिल्ला नंखेल गा.पं. वा.नं. २(क) कि.नं. १०० को अ रोपनी ०–१४–० ऐ.ऐ. कि.नं. ६७ को दोयम रोपनी ४–६–० कित्ता ३ को रोपनी ५–४–० मेरो नाममा जोताहा जनाई दर्ता भएको जग्गा हो । उक्त जग्गाको ०१५ सालदेखि ०३७ सालसम्मको बाली भ.पु.न.पं. वा.नं. ५ याछे टोल बस्ने रामकाजी तालचा भडेललाई बुझाई आएकोमा ऐ. वा.नं. ८ तिबुछे टोल बस्ने जयभक्तलाल मूलले उक्त जग्गाको बाली भराई पाउँ भनी वर्षै पिच्छे निज रामकाजी र म समेतका नाउँमा फिराद दायर गरी मुद्दा परेको थियो । रामकाजी र जयभक्तलाल बीच मुद्दा परेकोले ज.ध.झिकाई बुझाई पाउँ भनी ०३८ सालको बाली भूमिसुधार शाखा भक्तपुरमा धरौट राखेको थिएँ । पछि बाली लिन आउनु भनी दुवैलाई म्याद जारी गर्नुपर्नेमा रामकाजीका नाउँमा सम्म म्याद जारी गरी निज रामकाजीले ०३८।११।६ गते बाली बुझी लिएको, अदालतको फैसलाबाट जयभक्तलाई बाली बुझाउन पर्ने भएको र रामकाजीको बाली लिने अधिकार नहुँदा सम्पूर्ण कुरा दर्शाई जयभक्तलाई बाली बुझाउन लगाई पाउँ भनी भू.सु.शाखा भक्तपुरमा ०३९।४।२९ मा दर्खास्त गरेको थिएँ । जयभक्तलाई म्यादै नपठाई मैले धरौट राखेको रु.८२०।१० भू.सं.ऐन, ०२१ को दफा ३६–२–१ बमोजिम हुने ठहर्छ भनी ०४०।१।१३ गते विपक्षी सा.अ.धनेन्द्रराज शर्माले निर्णय गर्नुभयो ।
३. अदालतको फैसला समेतबाट उक्त जग्गाको जग्गाधनी जयभक्तलाल भइसकेको हुँदा मेरो दर्खास्त बमोजिम निज जयभक्तलाललाई सूचना म्याद जारी गरी झिकाई निर्णय गर्नुपर्नेमा सो कार्य नगरी धरौटी रकम सर्वसंचित कोषमा दाखिल गर्ने गरी गरेको निर्णय न्यायसंगत भएन । यसबाट नेपालको संविधान धारा ११ को उपधारा २(ङ) द्वारा प्राप्त हकमा आघात परेकोले भू.सु.शाखाको ०३०।१।१३ को निर्णय बदर गरी अधिकार प्राप्त ज.ध.जयभक्तलाल मुललाई सूचना म्याद दिई झिकाई कानुन बमोजिम निर्णय गर्नुपर्ने आदेश जारी गरिपाउँ भन्ने समेत ०४१।१।१९ को सिद्धीनारायण गोर्खालीको रिट निवेदन ।
४. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४१।१।२० को आदेश ।
५. निवेदक सिद्धीनारायण गोर्खालीले धरौटी राखी जग्गावालालाई बुझाई पाउँ भन्ने निवेदनबाट कारवाही चली आएकोमा यस कार्यालयबाट जारी भएको म्याद बुझी लिई सो को लिएको म्याद भित्र धरौटी उठाउन नआएबाट र कारवाही समेत माग हुन नआएकोले कानुनको परिधिमा रही मिति ०४०।१।१३ मा धरौटी रकम भू.सं.ऐन, ०२१ को ०३६।२।१ बमोजिम हुने ठहर्छ भनी फैसला भएको हो । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.शाखा भक्तपुरको लिखितजवाफ ।
६. प्रस्तुत मुद्दामा रिट निवेदक सिद्धीनारायण गोर्खालीलाई रोहवरमा राखी रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
७. यसमा निर्णयतर्फ हेर्दा पहिले रामजीलाई जग्गाधनी देखाई ०३८ सालको बाली धरौट राखेपनि अदालतको फैसला समेतबाट जितेको जयभक्तलाललाई नै उक्त धरौटी दिलाई पाउँ भनी रिट निवेदकले ०३९।४।२९ मा दर्खास्त दिएकोमा रामजीले धरौटी बुझ्न नआएको भनी सो धरौटी सर्वसञ्चित कोषमा दाखिला गर्ने भनी भू.सु.शाखा भक्तपुरबाट निर्णय भएको देखिन्छ ।
८. अदालतको फैसलाबाट समेत जितेको भनी जयभक्तलाई बाली बुझाई पाउँ भनी दर्खास्त परेपछि सो अनुसार जयभक्तलाई पनि कानुन बमोजिमको म्याद जारी गर्नुपर्ने हुन्छ तर प्रत्यर्थी भू.सु.शाखाबाट निज जयभक्तलाई समेत म्याद जारी गरेको भन्ने देखिँदैन । तसर्थ मोहीले जग्गाधनी मानेको व्यक्तिलाई म्यादै जारी नगरी रामजीले धरौट बुझ्न नआएको भनी सो धरौटी रकम सर्वसञ्चित कोषमा दाखिल गर्ने गरी प्रत्यर्थी भू.सु.शाखा भक्तपुरबाट भएको मिति ०४०।१।१३ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
९. अतः उपयुक्त बमोजिमको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम गर्नु भनी प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरका नाउँमा यो परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि यो निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालय कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०४१ साल पौष १० गते रोज २ शुभम् ।