निर्णय नं. २१३३ - उत्प्रेषण

निर्णय नं. २१३३ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको रिट नं. ८८९
विषय : उत्प्रेषण समेत
निवेदक : जिल्ला झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ बस्ने नन्दलाल पाण्डे
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय झापा चन्द्रगढी
जि. धनुषा यज्ञभूमि गा.पं. वार्ड नं. ४ बस्ने खेच बहादुर शाही
ऐ ऐ बस्ने धावा मोक्तान
जि. धनुषा भरतपुर गा.पं. वार्ड नं. ८ घर भर्इ हाल जि. झापा सुरुङ्गा
गा.पं. वार्ड नं. ४ बस्ने सूर्य बहादुर मल्ल ठकुरी
आदेश भएको मिति : २०४१।९।३०।१ मा
§ एकै विषयमा पहिले पर्न आएको निवेदनमा कुनै कारवाही नगरी पछि पर्न आएमा विपक्षीहरूका निवेदनबाट बिक्री वितरणमा विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरेको निर्णय बदर हुने।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
उल्लेखित मुद्दा : x
आदेश
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ ।
२. साविकमा कुलप्रसाद राजवंशी र हरिप्रसाद राजवंशीका नाममा दर्ता रहेको जि.झापा सुरुङ्गा गा.पं. वार्ड नं. ४ स्थित कि.नं. २३९ मध्ये ०–१६–० कि.नं. २४४ मध्ये ०–१–० र कि.नं. २४० मध्ये ०–१८–० समेत जम्मा ज.वि.१–१५–१० जग्गा साविक मोहीले जोत्न छोडेकोले ठेक्का शर्त कबुलियत गरी २०२३ सालदेखि अद्यपर्यन्त कमाई आएको छु । सो जग्गा हदबन्दी भन्दा बेसी भएको कारण श्री ५ को सरकारले २०३१ सालमा प्राप्त गरेको रहेछ । तर जग्गा मैले नै कमाई पञ्चायत तथा स्थानीय विकास कर समेत तिरी आएको थिएँ । भू.सु.का.को सूचना अनुसार जग्गा माग गरी ०३६।१।३१ मा निवेदन दर्ता गरेको थिएँ । यसैबीच २०३९ सालको वर्षायामतिर विपक्षी धावा मोक्तान समेतले उक्त जग्गा हामीले पाएका छौं जग्गा जोत्न देउ भनेकाले विपक्षी कार्यालयमा बुझ्न जाँदा ०३८।४।२० मा उक्त जग्गा विपक्षीहरूलाई प्रदान गर्ने निर्णय भएको भन्ने सम्म थाहा भयो । निर्णयको सक्कल विभागमा पठाएको भन्ने जवाफ प्राप्त भएकोले नक्कल लिन पाइन । पछि बुझ्दा विपक्षीहरूले सुकुम्वासीको रुपबाट जग्गा पाएको रहेछ।
३. उपरोक्त जग्गामा म मोही हुँ भन्ने निर्विवाद छ । सो को पुष्टिको लागि कूत कबुलियतनामा, कर तिरेको रसिद पेश गरेको छु । गा.पं.को सिफारिशले एवं सरजमीन विवादित जग्गाको मोही म निवेदक हुँ भन्ने प्रष्ट गरेको ज.वि.४–०–० सम्म पाउने पहिलो प्राथमिकताको हक भू.सं. नियम, २०२१ को नियम २३(१)(क) ले गरेकोमा सो बिपरीत विपक्षीहरूलाई जग्गा वितरण गरिएको छ । भू.सु.का.मा मैले पहिले निवेदन दर्ता गरेकोमा सो उपर कुनै कारवाही नगरी मलाई नबुझी म भन्दा पछि निवेदन गर्ने विपक्षीहरूलाई जग्गा वितरण गरेको त्रुटिपूर्ण छ । तसर्थ भू.सु.का.झापाको उक्त ०३८।४।२० को निर्णय र सो सम्बन्धी कारवाही समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम निर्णय गर्नुपर्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।
५. मिति ०३०।११।६ मा फेचादास (हरिप्रसाद) राजवंशीबाट प्राप्त र जफत भएको कि.नं. २४०, २४५, २४४ समेतबाट मध्ये गरी ज.वि.२–०–० धावा मोक्तानलाई ०३८।४।२२ मा कि.नं. २४९, २७०, २४०, २४४ समेतबाट गरी २–१–० खेतबहादुर साहीलाई ०३८।४।२० मा र कि.नं. २६९, २६५, २३९ समेत मध्ये गरी २–०–०मिति २०३८।४।२० सूर्यबहादुर शाही ठकुरीलाई ०३८।४।२० मा भू.सु.मन्त्रीज्यूका आदेशले सुकुम्वासी बसोवास गराउने उद्देश्यले वि.वि.मा जग्गा दिएको हो । रिट निवेदक मोही भए जफत नहुँदै मोहियानी हकको प्रमाणपत्र दिनु पर्ने । प्राप्त जफत भई स्वामित्व श्री ५ को सरकारमा गई सकेपछि साविक ज.ध.ले कबुलियत गरी दिई मोही कायम हुन नसक्ने हुँदा समेत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.झापाको लिखितजवाफ ।
६. अन्य विपक्षीहरूको तामेली सूचनाको म्याद गुजारी लिखितजवाफ पेश दाखिल नगरेको ।
७. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्षले मोहीको हैसियतले पहिले दर्ता गरेको निवेदनमा कुनै कारवाही नगरी पछि परेको विपक्षीहरूको निवेदनबाट जग्गा विक्री वितरण गर्ने गरेको निर्णय त्रुटिपूर्ण भई बदरभागी छ भन्ने समेत र विपक्षी कार्यालयका तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले रिट निवेदक मोही भएको कुनै प्रमाण पेश दाखिल छैन । विपक्षीहरू सुकुम्वासी भएकाले नियमानुसार नै हदबन्दीबाट प्राप्त भई जफत हुन आएका उल्लिखित जग्गाहरु विक्रीवितरणमा दिइएकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुत विवादमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न पर्ने हो होइन सो कुरामा निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा सरकारी अधिवक्ताले देखाउनु भएको सक्कल फायलबाट विवादित जग्गा बिक्री वितरणमा पाउँ भनी मोहीको हैसियतले रिट निवेदकले भूमिसुधार कार्यालय झापामा मिति २०३६।१।३१ मा निवेदन दर्ता गरेको देखिन्छ । सो भन्दा पछि विपक्षीहरूले सोही विषयमा सुकुम्वासीको हैसियतले जग्गा बिक्री वितरणमा पाउँ भनी माननीय भूमिसुधार मन्त्री समक्ष दिएको निवेदनमा आदेश भई मिति ०३७।१०।१२ मा मात्र भू.सु.का.झापामा दर्ता हुन आएको देखिन्छ । यस्तो अवस्थामा एकै विषयमा पहिले पर्न आएको रिट निवेदकको निवेदनमा कुनै कारवाही नै नगरी पछि पर्न आएको विपक्षीहरूको निवेदन माथि कारवाही गरी सुकुम्वासीको नाताबाट विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरी भू.सु.का. झापाबाट निर्णय भएको देखिन्छ । यसरी एकै विषयमा पहिले पर्न आएको रिट निवेदकको निवेदनमा कुनै कारवाही नगरी पछि पर्न आएका विपक्षीहरूका निवेदनबाट बिक्री वितरणमा विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरेको भूमिसुधार कार्यालयको मिति ०३८।४।२० का तत्सम्बन्धी करवाहीहरू त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब रिट निवेदकको निवेदन माथि समेत करवाही गरी कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालयका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४१ साल पौष ३० गते रोज १ शुभम् ।