शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: पौस अंक:

निर्णय नं. २१३४  ने.का.प. २०४१               अङ्क ९

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रिट नं. २२२३

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदक : सर्लाही जिल्ला ब्रम्हापुरी गा.पं. वार्ड नं. ४ बस्ने रामएकवाल साह कलवार

विरुद्ध

विपक्षी : भू.सु. अधिकारी, भूमिसुधार कार्यालय सर्लाही

सर्लाही जिल्ला ब्रम्हपुरी गा.पं. वार्ड नं. ८ बस्ने राम असिस अघोरी

आदेश भएको मिति : २०४१।९।१३।५ मा

§  पछिल्लो सालको बाली बुझाएको भनी लिएको त्यस्तो आधारलाई न्यायिक आधार भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दा : x

आदेश

        न्या. हरगोविन्द सिंह प्रधान :  भू.सु.का.सर्लाहीको मिति २०४०।१२।२० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ :

        २.  सर्लाही जिल्ला ववरगंज गा.पं. वार्ड नं. ४क. को कि.नं. ८८ को २२ जग्गाको मोही विपक्षीले ०३३ सालको कूत बाली नबुझाएकोले कूत धान २७ मन ३ शेर ५ कनवाको हुने रु.१८९५।८० दिलाई भराई मोहीबाट निष्कासन गरी पाउँ भनी म निवेदकले दावी लिएकोमा कूत बुझी जग्गाधनीले भरापाई समेत दिनु भएको छ भनी प्रतिवादी झिकाउनु भएको भर्पाई सद्धे कीर्तेमा अदालतबाट छुट्याई ल्याएका बखत कारवाही गर्ने गरी ०३४।९।३ मा मुलतवी रहेको भर्पाई कीर्ते तर्फ मेरो फिराद परी जनकपुर अं.अ.समेतबाट कीर्ते ठहरी ०४०।३।२९ मा फैसला भएपछि मुलतवी जगाई पाउँ भनी निवेदन चढाएकोमा बाली बुझाएको सबूत प्रमाणको अभावमा बाली भराई पाउने ठहर्छ । ०३३ साल भन्दा पछि पछि सालको बाली जग्गाधनीलाई बुझाई सकेको हुँदा मोही निष्कासन नहुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीबाट २०४०।१२।२० मा निर्णय भएको छ ।

        ३.  विपक्षीले कीर्ते भर्पाई खडा गरी तिरेको बुझाएको भनी लिएको जिकिर जनकपुर अञ्चल अदालत समेतबाट भएको फैसलाले खण्डित गरेको छ । यस अवस्थामा भूमिसम्बन्धी ऐनको दफा २९(१) बमोजिम मोही निष्कासन गरिनु पर्नेमा बाली मात्र भराई दिने निर्णय त्रुटिपूर्ण छ । साथै न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी आधार देखाई निश्चित ठहरमा पुग्नु पर्छ भनी सम्मानित सर्वोच्च अदालत फुल बेञ्चबाट भएको सिद्धान्तको प्रतिकूल हुँदा बदरभागी छ । ०३३ साल पछि धनीले बाली बुझाइसकेको आधारमा मोहीबाट निष्कासन नगर्ने निर्णय न्यायिक मनको अभावमा आत्मनिष्ठ तरीकाले अ.बं.१९४क, १८५नं. , १८९ नं. समेतको त्रुटि हुँदा उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर ।

        ४.  विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश।

        ५.  ०३३ साल भन्दा पछिल्ला सालहरूको कूत मोहीले निवेदकलाई बुझाएको हुँदा यस्तो अवस्थामा मोही निष्कासन गर्दा भू.सु.कार्यक्रम बिपरीत हुन जाने हुँदा मोही निष्कासन हुने नठहराई कूतवाली भरी पाउने ठहराई भएको निर्णयबाट कुनै हक हनन् नभएको हुँदा रिट खारेज गरिपाउँ भन्ने भू.सु.का.सर्लाहीको लिखितजवाफ ।

        ६.  मोही र जग्गाधनी बीचको सामञ्जस्यपूर्ण वातावरण माथि आघात पुराई जग्गाको एकाधिकारी बन्न खोज्ने उद्देश्यले रिट निवेदन दिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत रामअशिस अघोरीको लिखितजवाफ ।

        ७.  निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुंगानाले बाली भरी पाउने मोही निष्कासन नहुने भनी निर्णय गरेको छ । तर मोही निष्कासन नहुने भनिएकोमा कानुनी आधार छैन सो निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले ०३३ साल भन्दा पछि साल सालको बाली जग्गाधनीलाई बुझाई सकेको हुँदा मोही निष्कासन नगरेकोमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो ।

        ८.  प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

        ९.  यसमा निर्णयतर्फ हेर्दा ०३३ सालको बाली भराई मोही निष्कासन गरिपाउँ भन्ने उजूरी परेकोमा ०३३ सालको बाली बुझाएको सबूत प्रमाणको अभाव देखिएकोले बाली भरी पाउने ठहर्छ । दावीवाला ०३३ साल भन्दा पछि पछि सालको समेत बाली विपक्षीले निवेदक जग्गाधनीलाई बुझाई सकेको हुँदा मोही निष्कासन नहुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीबाट निर्णय भएको देखिन्छ ।

        १०. बाली भराई मोही निष्कासन गरिपाउँ भन्ने उजूरी परेकोमा जुन सालको बालीको लागि मुद्दा परेको हो सोही अवस्थाका प्रमाणहरूको आधारमा मोही निष्कासन हुने नहुने निर्णय गर्नुपर्ने हुन्छ । मुद्दा परेको सालभन्दा पछिको बाली बुझेको कुरा मुद्दा परेको सालको मोही निष्कासन हुने नहुने भन्ने विषयको आधार हुन सक्दैन । प्रस्तुत मुद्दामा ०३३ सालको बाली भराई मोही निष्कासन गरिपाउँ भन्ने परेको उजूरीमा त्यसभन्दा पछिल्लो सालको बाली बुझाएकोलाई आधार लिई मोही निष्कासन नहुने भनी ठहर गरेको देखिन्छ । पछिल्लो सालको बाली बुझाएको भनी लिएको त्यस्तो आधारलाई न्यायिक आधार भन्न मिल्ने देखिँदैन । तसर्थ न्यायिक आधार प्रयोग नगरी गरेको प्रत्यर्थी भू.सु.का.सर्लाहीको मिति ०४०।१२।२० को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

        ११.  अतः उपयुक्त उल्लेख भएबमोजिम प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीको ०४०।१२।२० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपी प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल पौष १३ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु