निर्णय नं. २१३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २१३५ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रिट नं. १६३७
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : चितवन जिल्ला मघौला गा.पं. वा.नं. ७ घर भइ हाल बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने अम्बिकादेवी पौडेल
विरुद्ध
विपक्षी : मालपोत अधिकृत मालपोत कार्यालय, बर्दिया
बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने जायश्वर शर्मा पौडेल भन्ने जायश्वार पौडेल
चितवन जिल्ला भरतपुर नगर पञ्चायत वा.नं. १२ बस्ने शालीग्राम पौडेल
बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ बस्ने तुलसी देवी देवकोटा
आदेश भएको मिति : २०४१।९।१४।५ मा
§ एकाको नाउँमा लालपूर्जा प्राप्त भइसकेकोलाई बदर गरी सो कि.नं. को लालपूर्जा अन्य व्यक्तिलाई दिनु पर्ने भएमा पहिले लालपुर्जा पाउने व्यक्तिलाई पनि बुझी निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार र विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल
उल्लेखित मुद्दा : x
आदेश
न्या. हरगोविन्द सिंह प्रधान : मिति २०३९।१२।१८ को मालपोत कार्यालयको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :
२. बर्दिया जिल्ला सोरहवा गा.पं. वा.नं. २ नं. साविक कि.नं. ५४४ को कित्ताकाट भई कायम भएको कि.नं. ५९७ को ३–०–० तीन विगहा जग्गा निवेदकले घनश्याम बरालबाट मिति ०३९।२।२४ को बकसपत्रबाट आर्जन गरी मैले भोग चलन गरी आएको छु । पोत समेत सालसालै बुझाई आएको छु । मेरा दाता घनश्याम बरालले उक्त जग्गा जयश्वर शर्माबाट ०३८।८।२३ मा प्राप्त गर्न अघि निज जयश्वर शर्माले जग्गाधनीको प्रमाणपूर्जा पाउँ भनी दिनु भएको मिति ०३४।१२।२८ को निवेदनमा मेन्टिनेन्स नापी शाखा बर्दियाबाट साविक कि.नं. ५४४ बदर भई कि.नं. ५९७ को ३–०–० जयश्वर शर्माको नाउँमा कित्ताकाट भएको प्लट रजिष्टर देखिन्छ भनी मिति ०३५।४।१८ मा उल्लेख गरेका आधारमा जयश्वर शर्माले पूर्जा प्राप्त गरी प्राप्त हाल कायमी ५९७ कै जग्गामा तिरो भरो गर्दै आउनु भएको थियो । उक्त कि.नं. ५९७ को जग्गा दाताहरूको पालामा निजहरूको र हाल म निवेदकको हक भोग चलनमा छ । कि.नं. ५४४ को कित्ताकाट भई कायम भएको विधित कित्ता जग्गा मध्ये कि.नं. ५९५ को ३–०–० जग्गाको ज.ध.प्र.पू.पाउँ भनी प्रत्यर्थी मध्येका जयश्वर पौडेलले भूमिसुधार कार्यालय बर्दिया समक्ष ०३५।४।२२ मा निवेदन चढाउनु भई सोही बमोजिम कि.नं. ५९५ जग्गाको तिरो समेत तिर्दै आउनु भएको थियो । सो बिपरीत गई ०३९।१२।१७।५ मा कि.नं. ५९५ को सट्टा म निवेदकको हकभोग दर्ता तिरोको कि.नं. ५९७ कायम गरी संशोधन गरी पाउँ भनी मालपोत कार्यालय बर्दिया समक्ष जयश्वर शर्मा पौडेलले निवेदन दिई सनाखत समेत गरेका थिए । मालपोत कार्यालयले जग्गाधनी दर्ता प्रमाणपूर्जामा समेत कि.नं. ५९५ लाई ५९७ र जयश्वर शर्मा पौडेल कायम गरी संशोधन गर्न मनासिव देखी पेश गरेकोछु भनी टिप्पणीं उठाई मा.पो.अधिकृतबाट ०३९।१२।१८ मा टिप्पणीं आदेश सदर गरिएको कुरा ०४०।६।१८ मा नक्कल सारी लिँदा थाहा पाएको छु ।
३. मालपोत कार्यालयको आदेश त्रुटिपूर्ण छ । कि.नं. ५९७ को मेरो हकको जग्गा अकारण संशोधन गर्ने गरी टिप्पणीं सदर गरेको अ.बं.३५ नं. समेत प्रतिकूल छ । मालपोत ऐन, ०३४ को दफा ७ (३) अनुसार कि.नं. ५९५ लाई ५९७ मा संशोधन गर्ने भनी उल्लेख गरिएको छ तर सो दफा आकर्षित हुने अवस्था नै छैन । आफ्ना कार्यालयको श्रेस्तामा टिप्पणीं आदेश गर्दाको अवस्थामा कि.नं. ५९७ को जग्गामा को जग्गाधनी रहेको हो भन्ने सम्म पत्ता नलगाई गरिएको आदेशले आवश्यक जाँचबुझ गर्नुपर्ने दफा ७(३) को पूर्वावस्था समेत पूरा नगरेको स्पष्टै छ । म निवेदकको हकमा असर पर्ने गरी निर्णय गर्दा मलाई नबुझी प्राकृतिक न्यायको सिद्धान्त बिपरीत गरिएको टिप्पणीं बदरभागी छ । जयश्वर पौडेलको शर्मा उपनाम कहिल्यै नरहेको कुरा निजले बुझाएको रसिद र जग्गा सम्बन्धी पूर्जाबाट स्पष्ट हुन्छ । कि.नं. ५९७ को जग्गाको जग्गाधनी जयश्वर नभई जयश्वर (म निवेदकको हालको दाता) शर्मा रहेको तथ्य मेन्टिनेन्स नापी शाखाको पत्र समेतबाट देखिन्छ । ‘शर्मा’ थप्ने कुरो टिप्पणीं आदेशमा उल्लेख नगरी जग्गाधनी दर्ता प्रमाण पूर्जामा सच्याउने क्रियाबाट मा.पो.अधिकृतको आदेश कानुन प्रतिकूल छ । आवश्यक जाँचबुझ नगरी एकाको दर्ताको जग्गा अर्काको दर्ता भनी ठहर गर्ने कार्य आत्मनिष्ठ भई बदरभागी छ । म निवेदकको दाताको दाता जयश्वर शर्माको मिति ०३५।४।१८ को श्रेस्ताबाट ०३५।४।२२ मा कि.नं. ५९७ को जग्गाधनी दर्ता प्रमाणपूर्जा पाएको र विपक्षी मध्येका जयश्वरले सो पश्चात ०३५।७।१२ मा ज.ध.प्र.पू.पाएकोबाट मेरो दर्ता अघिको रहेको प्रष्ट छ । अतः उपयुक्त बमोजिमको मालपोत कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकको कि.नं. ५९७ को दर्ता कायम राखिपाउँ भन्ने समेत ०४०।७।११ को अम्बिकादेवी पौडेलको रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको मिति ०४०।७।२९।३ को आदेश ।
५. श्रेस्ता खडा गर्ने अड्डाले श्रेस्ता शुद्ध बनाई टिप्पणीं सदर गरेबाट श्रेस्ता शुद्ध भएको हुनाले निवेदन जिकिर गलत छ । त्यसरी संशोधन गर्दा नापी शाखा समेत बुझी सो को जवाफ बमोजिम काम भएकोले, ७.३ ले प्रष्ट गरेको प्रकृया अपनाइएको हो, शुरु कित्ताकाटमा खडा भएको कित्ता नं. कायम नराखी १८ नं. अनुसूचीको भूल सुधार नगर्दा श्रेस्ता नमिल्ने भई ज.ध.प्र.पू.मा मालपोत ऐन, ०३४ को परिच्छेद ३ को दफा ७ को उपदफा (३) मा व्यवस्था भई अनुरुप नै कित्ता संशोधन गरेको र जग्गा संशोधन अर्थात् द साट्ने काम र नाम संशोधन गर्ने काम गरेको नभई नाम एकै मिलान भए पनि थरबाट कित्ता फरक पर्न आएको स्पष्ट भएपछि श्रेस्ता अड्डाले टिप्पणीं नउठाई फैसला निर्णय गर्ने अवस्था नै नपर्ने भएकोले रिट खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय, बर्दियाको ०४०।१०।५।५ को लिखितजवाफ ।
६. श्रेस्ता सच्याउनु पर्दा श्रेस्ता अड्डालाई बुझी सच्याइएको छ । फिल्डबुक सच्यायो भन्न विपक्षीले सक्नु भएको छैन । फिल्डबुकमा भएको दर्ता श्रेस्ता बिपरीत विपक्षीको कसरी कि.नं. ५९७ को जग्गामाथि स्वामित्व कायम हुन्छ त्यो कुरा निवेदनबाट खुल्दैन । मालपोतले दर्ता श्रेस्ता सच्याएको सम्म हो यस्तो अवस्थामा विपक्षीलाई बुझ्न पर्ने अवस्था छैन । जयश्वर शर्माले ०३५।४।२ मा कुनै पनि निवेदन मालपोत कार्यालयमा दिनु भएको छैन कि.नं. ५९७ को जग्गा ज. वि.वि.का.आ.ले जफत गरे उपर ०३४ सालमा रिट दिई ०३५ सालमा रिट जारी भएको हुँदा निवेदन दिने आवश्यकता नै छैन । अधिकार प्राप्त अधिकारीले गरेको आदेशमा कुनै त्रुटिपूर्ण छैन । रिट खारेज गरिपाउँ भन्ने समेत तुल्सीदेवी देवकोटाको ०४०।१२।५ को लिखितजवाफ ।
७. नापीशाखा समेतलाई बुझी श्रेस्ता सच्याउने सम्म गरेको मालपोत कार्यालयको निर्णयमा कुनै त्रुटि छैन । रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत शालिग्राम पौडेलको ०४०।१२।६ को लिखितजवाफ ।
८. विपक्षी जयश्वर शर्मा पौडेल भन्ने जायश्वर पौडेलको नाउँमा म्याद ०४०।१०।१३ मा तामेल भएका लिखितजवाफ प्राप्त हुन नआएको ।
९. रिट निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दमन ढुंगानाले निवेदकलाई बुझ्दै नबुझी निवेदकले पाइसकेको लालपूर्जा अन्य व्यक्तिलाई दिने गरी प्राकृतिक न्यायको सिद्धान्त बिपरीत गरेको प्रत्यर्थी कार्यालयको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत र प्रत्यर्थी कार्यालयको तर्फबाट रहनु भएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले अड्डामा रहेको श्रेस्तामा भूल सुधार सम्म गरेको हुँदा मालपोत कार्यालयको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत र प्रत्यर्थी सालिग्राम पौडेल समेत तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री जगनाथ पौडेलले भूलसुधारसम्म गरेकोमा रिट निवेदकलाई बुझी रहनु आवश्यक छैन । कार्यालयको निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
१०. प्रस्तुत मुद्दामा रिट निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा म निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त बिपरीत मेरो नाउँमा जग्गाधनी प्रमाणपूर्जा प्राप्त भइसकेको कि.नं. ५९७ को जग्गाको कि.नं. ५९५ लाई संशोधन गरी अर्कैको नाममा प्रमाणपत्र दिने गरी गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने मुख्य जिकिर देखिन्छ ।
१२. प्रत्यर्थी मालपोत कार्यालयको निर्णय हेरिएमा कि.नं. ५९५ मा जग्गाधनी जायश्वर बराल र कि.नं. ५९७ मा जायश्वर शर्मा कायम भएको प्लट रजिष्टरबाट देखिन्छ भनी मेन्टिनेन्स नापी शाखाबाट पत्र प्राप्त भएको हुँदा श्रेस्ता र ज.ध.द.प्र.पू.मा समेत कि.नं. ५९५ लाई ५९७ र जायश्वर शर्मा पौडेल कायम गरी संशोधन गरी दिने भनी टिप्पणीं सदर गरेको देखिन्छ । प्रत्यर्थी मालपोत कार्यालयको लिखितजवाफबाट अघि ज.ध.प्र.पू.वितरण हुँदा ५९७ जायश्वर बरालका नाउँबाट र कि.नं. ५९५ जायश्वर शर्मा पौडेलका नामबाट गएको भन्ने देखिन्छ । यसबाट सर्भे मोठ किताबमा कि.नं. ५४४ को कित्ताकाट भई कि.नं. ५९५ जायश्वर बराल र कि.नं. ५९७ जायश्वर शर्मा पौडेलको नाममा दर्ता भएकोमा जग्गाधनी प्रमाणपूर्जा दिँदा कि.नं. ५९७ जायश्वर बराल र कि.नं. ५९५ जायश्वर शर्मा पौडेलको नामबाट दिइएको रहेछ भन्ने देखिन आयो । हक हस्तान्तरणबाट हाल उक्त कि.नं. ५९७ को लालपूर्जा रिट निवेदकले प्राप्त गरेको देखिन्छ । त्यसरी एकाको नाउँमा लालपूर्जा प्राप्त भइसकेकोलाई बदर गरी सो कि.नं. को लालपूर्जा अन्य व्यक्तिलाई दिनुपर्ने भएमा पहिले लालपूर्जा पाउने व्यक्तिलाई पनि बुझी निजको कथनलाई समेत विचार गरी निर्णय गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा पहिले यी रिट निवेदकले लालपूर्जा पाइसकेको बदर गरी सोही कि.नं. को लालपूर्जा अन्य व्यक्ति जायश्वर शर्मा पौडेललाई दिने गरी प्रत्यर्थी मालपोत कार्यालयले निर्णय गर्दा यी निवेदकलाई समेत बुझी निजको कथनलाई समेत विचाराधीन राखी निर्णय गरेको भन्ने देखिँदैन । तसर्थ रिट निवेदकलाई बुझ्दै नबुझी गरेको प्रत्यर्थी मालपोत कार्यालयको मिति ०३९।१२।१८ को निर्णय प्राकृतिक न्यायको सिद्धान्त बिपरीत त्रुटिपूर्ण देखिन आयो ।
१३. अतः उपर्युक्त बमोजिम प्रत्यर्थी मालपोत कार्यालय बर्दियाको मिति ०३९।१२।१८ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा यो परमादेशको आदेश समेत जारी गरिएको छ । जनकारीको निमित्त यो निर्णयको प्रतिलिपी प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०४१ साल पौष १४ गते रोज ५ शुभम् ।