निर्णय नं. २१३६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २१३६ ने.का.प. २०४१ अङ्क ९
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रिट नं. १७७४
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जि. झापा गा.पं. गारामुनी वार्ड नं. ४ बस्ने पदमलाल श्रेष्ठ
विरुद्ध
विपक्षी : जि. झापा भद्रपुर नगर पञ्चायत वार्ड नं. १ बस्ने बद्रीलाल श्रेष्ठ
भू.सु. का झापाको भू.सु. अधिकारी
आदेश भएको मिति : २०४१।९।१७।२ मा
§ वादीले तारिख गुजारी बसेमा अ.बं. १८५ क नं. ले मुद्दा डिसमिस हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ
उल्लेखित मुद्दा : x
आदेश
न्या. हरगोविन्द सिंह प्रधान : भू.सु.का.झापाको मिति ०४०।७।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ –
२. विपक्षी बद्रीलालका नाउँमा दर्ता रहेको जि.झापा गारामुनी गा.पं. वार्ड नं. ५ को कि.नं. ९ को ज.वि.२–७–० को म मोही हुँ सो जग्गाको ०३९ सालको कूत दिएन दिलाई मोही निष्कासन गरी पाउँ भनी विपक्षीले उजूर गर्नुभयो, उक्त सालको कूत बुझाउन बाँकी छैन । वादी दावाबाट फुर्सत पाउँ भन्ने मेरो प्रतिउत्तर परेकोमा विपक्षी बद्रीलालले तारिख गुजारी थमाउने म्याद समेत नभएको भन्दै प्रतिवादीका नाउँमा मोही नदेखिएकोले अ.बं.१८५क. बमोजिम डिसमिस हुने ठहर्छ भनी विपक्षी भू.सु.का.झापाबाट ०४०।७।१० मा निर्णय हुँदा के रहेछ भनी बुझ्दा उक्त जग्गामा मलाई बुझ्दै नबुझी इन्द्रप्रसाद उप्रेतीलाई मोही कायम गरी ०३६।१०।३ मा निर्णय भएको रहेछ नक्कल लिई थाहा पाई सो सम्बन्धमा आजै रिट गरी सकेको छु । ०४०।७।१० को डिसमिस गरेको निर्णय न्यायिक मनको अभाव भई कानुनी त्रुटिपूर्ण छ ।
३. मलाई मोही कबुल गर्दै ०३९ सालको कूतमा उजूर गर्नु भएपछि म निवेदक मोही स्वतः प्रमाणित हुँदाहुँदै सो जग्गामा म मोही नदेखिएको भनी गरिएको निर्णय न्यायिक मनको अभाव छ । विपक्षीले तारिख गुजारी थमाउने म्याद समेत नभए पछि मैले प्रतिवाद गरेको हक सम्म कायम राखी डिसमिस गर्नु पर्नेमा सो नगरी गरेको फैसला अ.बं.१८५ (क)(२) को प्रतिकूल निर्णय भएको हुँदा उक्त त्रुटिपूर्ण निर्णय बदर गरी उत्प्रेषण वा उपयुक्त आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन ।
४. विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश।
५. वादी दावीको कूत प्रतिवादीले स्वीकार नगरेको वादीले तारेख गुजारेको र मोही हक समेत नदेखिँदा डिसमिस हुने ठहरी फैसला भएको । प्रतिवादी साविक मोही देखिएको प्र.पदमलालले जोत्न छाडी इन्द्रप्रसादले जोतेकोमा ०३६।१०।३ का फैसलाबाट इन्द्रप्रसादका नाउँमा मोही हक कायम भइसकेकोले प्र.का नाउँमा मोही हक समाप्त भएको कानुनको परिधि भित्र रही भए गरेको फैसलाबाट हक हनन् नभएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भू.सु.का.झापाको लिखितजवाफ ।
६. विपक्षी बद्रिलाल श्रेष्ठले तामेल भएको सूचनाको म्यादमा लिखितजवाफ नदिई गुजारेको रहेछ ।
७. निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले जग्गाधनीले वादी दावी गर्दा मोही भनी स्वीकार गरेको छ । मोही नदेखिएको भनी डिसमिस गरेको न्यायिक मनको अभाव भई त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले वादीले तारिख गुजारेकोमा डिसमिस गरेकोमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा वादीले तारिख गुजारी थमाउने म्याद समेत नभएको, प्रतिवादीका नाउँमा मोही नदेखिएकोले अ.बं.१८५क.बमोजिम डिसमिस हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.का.झापाबाट निर्णय गरेको देखिन्छ ।
१०. वादीले तारिख गुजारी बसेमा अ.बं.१८५क.नं. ले मुद्दा डिसमिस हुने व्यवस्था गरेको पाइन्छ । त्यसरी वादीले तारिखै गुजारी बसेबाट मुद्दा डिसमिस हुने भएपछि प्रतिवादीका नाममा मोही नदेखिएको भनी सो डिसमिस निर्णयमा उल्लेख गर्नुपर्ने अवस्था देखिँदैन । तर प्रस्तुत मुद्दामा वादीले तारिख गुजारेकोबाट डिसमिस निर्णय गर्दा सो डिसमिस निर्णयमा “प्रतिवादीका नाममा मोही नदेखिएको” भनी उल्लेख गरेको शब्द त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उल्लिखित कारणबाट प्रत्यर्थी भू.सु.का.झापाको मिति ०४०।७।१० को डिसमिस निर्णयमा उल्लिखित “प्रतिवादीका नाममा मोही नदेखिएको” भन्ने शब्दसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपी प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बेमाजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०४१ साल पौष १७ गते रोज २ शुभम् ।