निर्णय नं. २८०७ - कर्तव्य ज्यान

निर्णय नं. २८०७ ने.का.प. २०४३ अङ्क ८
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४१ सालको फौ.फु.नं. २०
फैसला भएको मिति : २०४३।७।२८।६ मा
निवेदक/प्रतिवादी : जिल्ला सुनसरी सिगाया गा.पं.वार्ड नं. ८ बस्ने सन्नुलाल चौधरी
विरुद्ध
विपक्षी/वादी : सुरेन्द्रबहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. २५)
निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह
विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहराई पाउँ भनी प्रतिवादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।
२. ०३४।५।६ गते दिनको अं.४ बजे बेलुकी मेरी बहिनी वर्ष १७ की अविवाहिता गीता कार्की मेरो घरबाट पश्चिमपट्टि पिचरा खोला छेउमा सन्नु चौधरीको धान बाली लागेको खेतमा मेरा गाई गोरुले धान बाली खाई दिएछन् निज सन्नुले धान बाली खायो भनी कराएको उक्त गाई गोरु फर्काउन निज बहिनी गिता कार्की गएकी, गाई बस्तु मात्र केही बेरपछि आएको निज बहिनी फर्की नआएकीले के भयो भनी आसपासका गाउँ छिमेकी समेत भई रात रातमा खोजी गर्दा राती उक्त खोलाको छेउमा निज बहिनीले लगाउने गरेको लुड्डी र पढ्ने किताब समेत फेला पर्यो निज बहिनी फेला नपरेकीले खोजी गर्दा ०३४।५।७ गतेका दिन बिहान पनि खोजी गर्दै जाँदा सो खोला देखि अं.७०।८० हात पश्चिमपट्टि घुनी जड्डलमा उक्त बहिनी गीताको घोप्टो परेको लाश फेला परेकोले अहिले सम्मको घटनाक्रमबाट धान बाली खाएको विषयमा बाझा बाझी समेत भई धान बाली खाएको मात्र रिसले समेत के बाट हो निज बहिनीलाई उक्त सन्नु चौधरी थारुले कर्तव्य गरी मारेकोमा शंका, पूर्णरुपमा गुज्रन आएकाले यो जाहेरी दिन आएको छु । अपराधीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत सुरेन्द्रबहादुर कार्कीको ०३४।५।८ को जाहेरी दर्खास्त ।
३. पिचरा खोला पारी पश्चिम अं.१० गज भित्र बिरुवा बोटहरू माडिएको सो देखि ५ गज पश्चिम निलो लुड्डीको टुक्रा भई घिसारेको गोहो, सो देखि ३० गज पश्चिम गिता कार्कीको लाश, पश्चिम टाउको पूर्व खुट्टा भई घोप्टो परेको, दाहिने हातले सानो सखुवाको बिरुवा समाएको बायाँ हात र दाहिने खुट्टा खुम्चिएको बायाँ खुट्टा तन्कीएको घाँटीमा निलो लुड्डी कपडा बाँधेको मुखबाट रगत आएको दाहिने कन्चटमा निलो डाम भएको दायाँ बाँया चाक र सो माथि घिसारी सेतो भई छाला खुइलिएको जिभ्रो निस्कीएको नाकबाट रगत आइरहेको दुवै आँखा चिम्लीएको घाँटीमा निलो डाम परेको योनीबाट विर्य निक्सेको भन्ने समेत ०३४।५।८ को लाश प्रकृति मुचुल्का ।
४. ०३४।५।६ गते देखि हराएकी गीता कार्कीलाई सो दिन खोज्दा नभेटी भोलिपल्ट खोज्न जाँदा र खोलामा खोज्दै गरेको अवस्थामा पानीमा नखोजौं तिलविक्रमको पंपिसेट दक्षिण मेरो खेत उत्तरको घारीमा खोजौं भनी सन्नुलालले भनेकाले सोही स्थानमा गीता कार्कीको लाश भेटिएकोले निज सन्नुलाल चौधरीले नै कर्तव्य गरी गीता कार्कीलाई मारेमा शंका लाग्छ भन्ने समेत पुरुषोत्तम लम्सालले प्रहरीमा गरेको कागज ।
५. ०३४।५।६ गते सधै झैं आफ्नो खेतको धान खेत हेरचाह गर्न गएको पिचरा खोलामा माछा मारी रहेको मौका जाहेरवालाका गाई बस्तुले मेरो धान चर्न लागेको देखि धपार्ई दिए अं.४–५ बजे गीता कार्की आई मेरो गाई बस्तु देखेउ भनी सोधीन् मैले किन यसरी बाली चराएकी भनी गाली गर्दा मलाई नराम्रो बचनले गाली दिएको सुन्दा रिस उठी हातले एक थप्पड दिनासाथ अरु गाली दिएकोले सोही मौकाको रिसको आवेशले लडाई घुस्सी मुड्कीले कुटी घाँटी थिच्दा हात खुट्टा मात्र चलाउन थालेकीले मर्ने रहिछ, नजिकमा मरी भने मलाई लाउलान भन्ने सम्झी घाँटीमा लुगा बाँधी घिसाई घारीमा छाडी आएको हुँ । तर मैले निज मृतक गीता कार्कीलाई मार्ने नै नियतले कुटपिट गरेको थिइन यो मेरो धोतीमा लागेको रगतको छिटा घिस्याउँदा र मुखबाट निस्केको रगत लागेको हुनुपर्छ याद गरेको थिइन गीता कार्कीलाई मैले करणी गर्न खोजेको र करणी समेत गरेको होइन भन्ने समेत अभियुक्त सन्नुलाल चौधरीले प्रहरी समक्ष गरेको ठाडो कागज ।
६. ०३४।५।६ गते मेरा बस्तु प्रतिवादी सन्नुलालको खेतमा पसी धान खान लागेको देखिई छोरी गीतालाई फर्काउन पठाउँदा, बस्तु फर्काई सन्नुसंग के के भन्दै थिइन् । वास्ता गरिन, पछि जाँदा खोला छेउमा सन्नु बसेको रहेछ, मेरी छोरी कता गइछ भन्दा देखिन भने, बस्तु आएपछि छोरी नआएकोले खोज्दा चप्पल लुड्डी समेतको पोको भेटी पानीमा खोज्दा पनि नभेटीएकोले रातमा घरमा सबै जना गयौं । भोलिपल्ट सन्नुलाल समेत खोज्न जाँदा पानीमा नखोजौं भनी निजले देखाएका ठाउँ तीर खोज्दै जाँदा गीता कार्कीको लाश फेला परेकाले अरु कसै उपर शंका छैन सन्नुलाल उपर शंका छ भन्ने सरजमीनका दफा १ का पुष्पबहादुर, र जाहेरवालाका बाबुले गीतालाई सन्नुका खेतमा चर्दै गरेका बस्तु फर्काउन पठाएका बस्तु आई सक्दा पनि मृतक गीता कार्की नआएकीले खोज तलाश गर्दै जाँदा सन्नुसंग भेट भई गीतालाई देखेनौं भनी सोद्धा यहि ठुटामा थिइन, भनी भनेको, त्यसदिन फेला पार्न नसकेकोले भोलिपल्ट खोज्न जाँदा सन्नुलालले भनेकै स्थानमा गीता कार्कीको लाश फेला परेको र सन्नुलालले लगाएको धोतीमा रगतको छिटा समेत लागेकोले निज सन्नुलाल उपर शंका लाग्छ भन्ने दफा २ का २ जना दफा ४ का १३ जना, दफा ५ का १ जना, दफा ६ का १ जना, ७ दफाका ४ जना, ८ दफाको ९ जना, ९ दफाका १ जना, १० दफाका ५ जना, दफा १२ का १ जना , दफा १९ का १० जना र ०३४।५।६ गते दिनको ५ बजे भोर्लाको पाटा काट्न आएको पाटा काटी लिई हिड्ने बखतमा १ जना मानिसले हातमा मानिस बोकी ल्याएको देखि हेर्दा निज सन्नुलाल चौधरीले गीता कार्कीको लाश बोकी ल्याएको देखे । निजले मलाई देख्नासाथ लाश भुइँमा राखी सोही ठाउँमा घोप्टो परी मुख लुकायो त्यसको कर्तव्य देख्दा म एक्लै भएकाले भागी गएँ, खौरीया गाउँको दुर्गाबहादुर राईकी श्रीमतीलाई भनें, अरुलाई भनिन भन्ने दफा ३ का १ जना, गीता कार्कीलाई कसैले कर्तव्य गरी मारेको हो कर्तव्यमा कसै उपर शंका लाग्दैन भन्ने दफा ११ का ३ जना, दफा १३ का २ जना दफा १६ का १ जना, दफा १८ का १४ जना र म विरामी भई बसेकाले को कसले मारे भन्ने थाहा छैन भन्ने दफा १४ को १ जना, गीता कार्कीलाई के कसले कर्तव्य गरी मारे थाहा छैन भन्ने दफा १५ का १ जना र के कसले कर्तव्य गरी मारे कसै उपर शंका लाग्दैन भन्ने दफा १७ का १२ जना, दफा २० का १३ जना समेत सरजमीनका मानिसहरूले ०३४।५।२४ गतेमा गरी दिएको सरजमीन मुचुल्का रहेछ ।
७. पक्राउ परेका अभियुक्त सन्नुलाल चौधरी अधिकार प्राप्त अधिकारी समक्ष बाली खाएको रिसमा तत्काल उठेको रिसबाट हिर्काउँदा गीता कार्की मरेकी हुन भनी साविती बयान गरेको मृतकको शरीरमा कुनै जख्मी हतियार तथा विष खुवाएको कुनै लक्षण देखा पर्न नआएको, बुझिएको धेरै जसो सरजमीनका व्यक्तिहरूले पनी गीता कार्कीलाई सन्नुलालले मार्नु पर्ने सम्मको रिस ईवि नभई जाहेरी दर्खास्तमा लेखिएको मिति समयमा प्र.सन्नुलालको धान गाई बस्तुले नोक्सान पारी दिएको निउमा भनाभन भई सोही इविबाट सन्नुलालले गीता कार्कीलाई मारेको होला भन्ने सरजमीनका मानिसहरूले बकी लेखी दिएको, निज सन्नुलालले गीता कार्कीलाई मार्नु पर्ने सम्मको इवि पनि नदेखिएको भनाभन हुँदा तत्काल उठेको रिसले कुटपिट गर्दा गीता कार्कीको मृत्यु हुन गएकोले अभियुक्त सन्नुलाल चौधरीले ज्यानसम्बन्धी १ नं.को अपराध गरेको देखिएकोले सोही अभियोगमा मुद्दा चलाई ऐ.महलको १४ नं.अनुसार सजायँ हुने माग गरिएको स.अ. तथा स.अ. र प्रहरी समेतको संयुक्त प्रतिवेदन ।
८. ०३४।५।६ गते बेलुकी अं.४ बजेको समयमा पुलाहा खोलामा बल्छी खेलाउँदै थिएँ, म पूर्व तर्फबाट बल्छी खेल्दै थिएँ खोलाको पश्चिमपट्टि टिकाप्रसादको सालो कान्छो बाहुन उभिई रहेका थिए, पछि कता लागे मलाई थाहा भएन म माछा बल्छी खेलाई केही माछा मारी घरतर्फ फिर्दा काठको मुडोमा गीता कार्की बसेकी थिइन के गर्दैछौ भन्दा गोरु चराउँदै छु भनिन् गोरु कहाँ छन् भन्दा पारी छन् भनिन् म सरासर आफ्नो घरमा आएँ, साँझ परेको अवस्था गोरुले धान खायो भनी तिलबिक्रमले कराएको आवाज सुनें, हेर्दा कसैलाई पनि देखिन, तर धान खाएको पनि देखिन केही बेरपछि मेरा खेतमा गीताका बाबु सहितका धेरै मानिस थिए केही समय पछि सुरेन्द्रको बाबु आई छोरी गीता कता गइन तिम्रो खेतको छेउमा चप्पल, लुड्डी भेटिए पनि तिमीले देखेनौं भनी सोधे मुढामा बसी रहेको कुरा बताएँ, अब के गरौं भन्दा खोज्ने सल्लाहा भई भोलिपल्ट विहान म र अरु धेरै मानिस भई खोज्न लाग्यौं तिलविक्रमको दमकलसम्म खोज्न जाने कुरा भएकाले खोज्दै जाँदा दमकलमा नपुग्दै विचबाटो नजिकको जड्डलमा नै गीता कार्कीको लाश फेला परेको हो, मैले गीता कार्कीलाई बाली खुवाएको निउमा मारी त्यस ठाउँमा लगी फालेको होइन । धोतीमा लागेको रगत गीता कार्कीलाई खोज्न जाँदाका अवस्था जुकाले खाई लागेको रगत हो गीता कार्कीलाई मार्दा लागेको लगाएको रगत होइन, मैले प्रहरीमा ज्यान मारेको भनी बयान दिएको छैन, मैले यसै बमोजिमको बयान भनेको थिएँ प्रहरीले नै के के लेखी सहिछाप गर भनी भन्दा पढेर सुनाई दिनुहोस् भन्दा मलाई कुटपिट गरी डर धाक देखाई सहिछाप गराएका हुन् खुसीराजीले गरेको कागज होइन, घा जाँच गराई पाउँ भन्ने र म माछा मार्दाका अवस्था मसंग साथै रहेका साक्षी समेत बुझी झुठ्ठा जाहेरी दर्खास्तबाट अलग फुर्सद गरी पाउँ भन्ने प्रतिवादी सन्नुलाल चौधरीले ०३४।५।३० मा अदालत समक्ष गरेको इन्कारी बयान रहेछ ।
९. प्रतिवादी सन्नुलाल चौधरीले गीता कार्कीलाई मारेको हो भनी प्रहरी समक्ष साविती बयान कागज गरेकोले बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अ.बं.११८ को दफा १२ बमोजिम पुर्पक्ष निमित्त थुनामा राख्ने र निजको घा जाँच केश फाराम गराई, जाहेरवाला, सरजमीनका मानिस स.स.अ.मार्फत झिकाई सोही दिन प्रतिवादीको साक्षी समेत बुझी पेश गर्नु भन्ने ०३४।५।३० को आदेश ।
१०. ०३४।५।६ गतेका दिन नोकर कुसुमले गाई बस्तु जड्डलपारी पुर्याएर, सेरा खोलामा बुबासंग पटूवा धुन गएँ, सोही दिन बेलुकी ४ बजे गाई बस्तु आई सन्नुलालको खेतमा पसे, मर्ने गीतालाई बाबाले गाई बस्तु फर्काउन पठाउनु भयो । सन्नुलाल लाठी र छाता लिएर खेततर्फ आउँदै थिए, बहिनी गीता चप्पल, कलम र किताब बोकेर खेततर्फ गइन म धनपतीका घरतर्फ गएँ बेलुकी घरमा आउँदा १०।१५ जना मानिस जम्मा भएका रहेछन् । सोद्धा गीता हराइन् भनी खोज्न जान लागेको रहेछन् सबैजना खोज्दै जाँदा सन्नुलालको पिंडालु बारीमा लुड्डीको पोको भेटियो गीतालाई खोज्न जाने सिलसिलामा सन्नुलाललाई मैले २।३ पटक र बुबाले समेत बोलाउँदा आएन, पछि खोजी गर्दै गर्दाका अवस्था सन्नुलाल पछि देखापरे । गीता कता गइन भन्दा निजले जवाफ दिएनन् उनको अनुहार विकृत रुपमा थियो, पछि अरुले सोद्धा यही मुडोमा बसेकी थिइन् भन्दथे, भोलीपल्ट पनि खोज्न जाने सिलसिलामा सबै जना गयौं, सन्नुलाल पनि केही बेरपछि आए पानीमा नखोजौं अब तिलविक्रमको पंपिसेटतर्फ खोजौं भने त्यसतर्फ नै खोज्दै जाँदा गीता कार्कीको मृतक लाश फेला पर्यो, लाश फेला परेपछि सन्नुलाल थरर कामे उनी माथि नजर लगाउँदा उनले लगाएको धोतीमा खुनको छिटाको साथै धोती समेत च्यातीएको र उनको पाखुरामा चिथरे जस्तो देखिन्थ्यो र प्रत्यक्षदर्शि रामबहादुर राई समेतको कारण समेतबाट मर्ने गीता कार्कीलाई प्र.सन्नुलालले नै कर्तव्य गरी मारेको हो भन्ने बकाइलाई जिरह समेत भएको जाहेरवाला सुरेन्द्रबहादुर कार्कीको बकपत्र ।
११. प्रतिवादी सन्नुलालले गीता कार्कीलाई कर्तव्य गरी मारी उल्लिखित स्थानमा लगी फालेको होइन, धानको बीउ सन्नुलालसंग छ कि भनी हामी सोधनी लिन गएको, निज सन्नुलाल पुलाहा खोलामा बल्छी खेली रहेका थिए, हामी पुग्दा भुटल, ढोदन, झलठ र किसन समेत बल्छी खेल्दै त्यहीं आए, तमाखु सबै जनाले खाई सबै व्यक्ति सहित सन्नुलाल आफ्नो घरमा आएका हौं, सन्नुलालसंग हामी निजको घरतर्फ आउँदा बाटामा कोही कसैलाई देखेनौं भन्ने मु.स.हरु शुकर, बुधनकोर, उक्त सन्नुलाल पुलाहा खोलामा माछा मारी रहेका थिए हामी पनि माछा मार्दै सन्नु र मुसहरू, शुकर र बुधन समेत सोही ठाउँमा धानको बीउ खोज्न गएका रहेछन् हामी सबै आठै जना त्यहीं बसी तमाखु खाई सबै एकैसाथ सन्नुलालकै घर बाटो गरी सन्नुलालको घरबाट साँझ आफ्नो घरमा फर्केका हौं गीता कार्कीलाई कसले मारे, प्र.सन्नुलालले बालिको निउमा मारे मराएको होइन भन्ने ढोदन, झूल्टु, किसनलाल र झपट चौधरी समेत प्रतिवादीको साक्षी जवान ७ ले अदालत समक्ष गरेको बकपत्र ।
१२. आदेश अनुसार सरजमीनका साक्षीहरूलाई स.स.अ.कार्यालय मार्फत झिकाई बकपत्रमै मिसिल सामेल रहेको ।
१३. प्र.सन्नुलाल चौधरीको अदालतमा भएको बयान र निजको साक्षीहरूको बकपत्रबाट प्र.सन्नुलाल ०३४।५।६ गते माछा मारी साक्षीहरूसंगै घर फर्किदा बाटामा गीता कार्कीलाई भेटी के गर्दैछौ भनी सोद्धा गाई चराउँदै छु भनी जवाफ पाएको र उक्त दिन माछा मारी घर फर्की घरमै बसेको कुरा सरजमीन तथा साक्षीहरूबाट खुल्न आएको र घर फर्की सकेपछि पनि गीता जीवितै छन् भन्ने कुराको पुष्टि हुनआएको देखिन्छ । अतः उपरोक्त कारणहरूबाट प्रहरीमा एकमात्र हचुवा किसिमको साविती कागज शंकाको आधारमा प्र.सन्नुलालले गीता कार्कीलाई कर्तव्य गरी मार्यो भनी ठहर्याउन न्यायोचित नदेखिएकोले प्र.सन्नुलालले गीता कार्कीलाई कर्तव्य गरी मारेको ठहर्दैन झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको ०३५।४।१७ गतेको सुनसरी जिल्ला अदालतको फैसला ।
१४. सो फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार तर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१५. दावी बमोजिम आरोपित कसूर गरेको ठहर गर्नु पर्नेमा सफाई दिने गरेको सुनसरी जिल्ला अदालतको फैसलासंग सहमत हुन सकिएन अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३६।११।५ को आदेश ।
१६. सरजमीनका धनबहादुर न्यौपाने जैसी र प्रहरीमा बयान गर्ने पुरुषोत्तम लम्साललाई बुझ्ने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३७।६।१४ को आदेश ।
१७. गाई खोजी गर्दै पिचरा खोला छेउ आई पुग्दा मर्ने गीता कार्कीलाई प्र.सन्नुलालले कुट्दै गरेको देखेको हुँ सो अवस्थामा ४ बजेको हुँदो हो सारे के हाम मार्दैवे भनी सन्नुलालले गीताको कपालमा देब्रे हातले समातेको थियो । गीता मलाई छाडीदे भनी कराउँदै थिइन्, म गाई हराएको तासीरमा जड्डलतर्फ गइरहेको अवस्था कुटपिट गरेको ठाउँ देखि पश्चिमतर्फ निज सन्नुलालले घिस्याउँदै लाँदै गरेको देखें मानिस हो वा ठूटो हो घारी जड्डलको बीच भएकोले प्रष्ट देख्न सकिन गीता हराइन् भन्ने हल्ला भई भोलिपल्ट खोज्न जाँदा पिथरा खोला छेउ सन्नुलाल पनि भएको निजले मेरा खेतदेखि उत्तर तीलविक्रमको पम्पसेट दक्षिणको बीचमा फेला पर्छ भनेकाले खोज्दै जाँदा जड्डल बूटा माडिएको घिस्याएको गोही भेटी खोज्दै जाँदा लाश भेटेको हो प्र.सन्नुले गीता कार्कीलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत धनबहादुर न्यौपाने जैसीको बकपत्र ।
१८. जाहेरवालाको गाई सन्नुको खेत धानमा निस्कीए जाहेरवालाको बाबु पुष्पबहादुरले सो गाई धपाउन छोरी मर्ने गीतालाई पठाएको सन्नु लौरो टेकी कराउँदै आई गीता र सन्नुका बीच बाझाबाझ भयो । पछि गीता घर आइनन् भनी खोजी गर्दै जाँदा ठूटादेखि तलतिर लुड्डी, चप्पल, किताब भेटियो । गीता फेला नपरेबाट भोलिपल्ट खोजी गर्दै जाँदा नभेटी सन्नुका भनाई अनुसार खोज्दै जाँदा जड्डलमा गीता मरिरहेको लाश फेला पर्यो । गीतालाई सन्नुले नै कर्तव्य गरी मारेको भन्ने लाग्छ भन्ने समेत पुरुषोत्तमलालको बकपत्र ।
१९. सुनसरी जिल्ला अदालतले सफाई दिएको मिल्ने देखिएन । वादी दावी बमोजिम प्रतिवादी सन्नुलाल चौधरीले गीता कार्कीको बस्तुले सन्नुलालको धान चराई दिएको जरीयाबाट बाझाबाझ भई मौकैमा उठेको रिसबाट सन्नुलालले गीता कार्कीलाई कुटपिट समेत कर्तव्य गरी ज्यान मारेको ठहर्छ । ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद वर्ष १० हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३७।१०।२४ को फैसला ।
२०. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।११।१३ को आदेश ।
२१. प्र.सन्नुलाललाई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.अनुसार कैद वर्ष १० दश गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४०।३।२० को फैसला ।
२२. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।४।३० मा तोक लागी आएको रहेछ ।
२३. निवेदक प्रतिवादी सन्नुलाल चौधरीतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहले सबै प्रमाण संकलन भइसकेपछि अभियुक्तको प्रहरीमा कागज भएको छ । गाई धपाउन जाँदा कुटपिट गर्दा मारेको भन्ने भएकोले लाश झगडा भएको ठाउँमा हुनुपर्ने तर लाशले बुटा समातेको स्थितिमा पिचरा खोलाको पश्चिम भेटिएको छ । लाशको स्थितिबाट ज्यानसम्बन्धीको १४ नं.को अवस्था अभियुक्तले मारेको भन्ने समर्थन हुन आउँदैन । अभियुक्त प्रहरीमा मारेकोमा सावित भएको छ । तर जबरजस्ती करणी गरेमा इन्कार गरेको छ । अदालतमा इन्कार रही डर त्रासमा सावित गराएको जिकिर छ । जाँचबाट ठाउँ ठाउँमा सुनिएको देखाएकोले स्वेच्छाले सावित भएको भन्न नमिल्ने । सो साविती कतैबाट समर्थन भएको छैन । लाश पिचरा नदी पारी भेटिएकोबाट समेत प्रहरी दावी समर्थन नभएको । साक्षीहरूको भनाई पत्यार लायक छैन । पुष्पबहादुरको सिकायतमा भनेको देखिन्छ । धोतीमा लागेको रगत जाँच गरी यकीन गराइएको छैन । लगाएको अभियोग साँचो भए लाशले सखुवाको बोट समाएको स्थितिमा पिचरा नदी पारी पश्चिममा भेटिनु पर्ने होइन । खेतमा मारी त्यहाँ पुर्याएको सबूद पाउन सकेको छैन । तसर्थ शुरुले सफाई दिएको इन्साफ सदर हुनुपर्दछ । पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी श्री ५ को सरकारतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्कीले सन्नु चौधरीको खेतमा लुड्डी, किताब, चप्पल, देखेपछि शंका देखिई लाश खोजी गर्दै जाँदा लाश भेटिएको छ । लाश जाँचको व्यहोराबाट कर्तव्य देखिएको छ । सरजमीनमा र अदालतमा बकपत्र गर्ने समेतका व्यक्तिहरूले बस्तु धपाउन आएको गीता कार्कीसँगबाट विवाद भएको भनी देखाएको र मरेको मानिसको लाश बोकी लगेको समेत देखेको भनी लेखाइएकोबाट निजको कर्तव्यबाट मरेको भन्ने स्पष्ट हुन्छ । अभियुक्तको साक्षीहरूको भनाइमा अभियुक्तले नै भन्न र जिकिर लिन नसकेको आफूले मौका सरजमीनमा भनी देखाउन नसकेको कुरा देखाई बकपत्र गरेको पत्यार लायक नदेखिने हुँदा निज प्रतिवादीलाई आरोपित कसूर गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
२४. प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
२५. यसमा निर्णयतर्फ हेर्दा मेरो गाई गोरुले पिचरा खोला छेउमा सन्नु चौधरीको धान बाली खायो भनी कराएकीले गाई गोरु फर्काउन बहिनी गिता कार्की गएकी फर्की नआएकोले खोजी गर्दा धुनी जड्डलमा बहिनीको लाश फेला परेकोले निज बहिनीलाई सन्नु चौधरी थारुले कर्तव्य गरी मारेकोमा पूर्ण शंका हुनआएको भन्ने जाहेर परी प्रस्तुत मुद्दाको अनुसन्धान कारवाहीमै निज प्रतिवादी अभियुक्त सन्नुलाल चौधरीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी देखिन्छ । अभियुक्त प्रतिवादी सन्नुलाल चौधरीले प्रहरी समक्ष गाई बस्तुले धान बाली चराएकोमा गीता कार्कीलाई गाली गर्दा मलाई नराम्रो बचनले गाली गरेकीले रिस उठी रिसको आवेशले लडाई घुस्सी मुड्कीले कुटी घाँटी थिच्दा हातखुट्टा मात्र चलाउन थालेकीले मेरो खेत नजिकमा मरी भने अवश्य मलाई लगाउलान् भन्ने सम्झी घाँटीमा लुगा बाँधी घिस्याई घारीमा छाडी आएको हुँ भनी सावित भई कागज गरेको पाइन्छ । अदालतमा बयान गर्दा पुलाहा खोलामा माछाको बल्छी खेली घर फर्के गीता कार्कीलाई बाली खुवाएको निउमा मारी फालेको होइन । प्रहरीमा कुटपिट गरी डर त्राश देखाई सहिछाप गराएका हुन् खुसीराजीले गरेको होइन भनी आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । जाहेरवाला सुरेन्द्रबहादुर कार्कीले मर्ने गीतालाई बाबाले गाई बस्तु फर्काउन पठाउनु भयो, बेलुकी गीता हराइन भनी सबैजना खोज्दै जाँदा सन्नुलालको बारीमा लुगाको पोको भेटीयो, तीलविक्रमको पंपिङसेटतिर खोज्दै जाँदा मृतक लाश फेला परेपछि सन्नुलाल थारु कामेको समेतबाट मर्ने गीतालाई प्र.सन्नुलालले नै कर्तव्य गरी मारेको हो भनी अदालतमा बकपत्र गर्दा किटान गरेको पाइन्छ । मौकामा प्रहरीमा बयान कागज गर्ने पुरुषोत्तम लम्सालले ठुटादेखि तलतिर लुड्डी, चप्पल, किताब भेटिए, गीतालाई खोजी गर्दा नभेटेपछि सन्नुले मेरै खेतको उत्तर खोजौं भनेकोले खोज्न जड्डलमा पुग्दा गीता मरिरहेको लाश फेला पर्यो गीता र सन्नुका बीच बाझाबाझ भएको सुनेको र सन्नुले देखाएको ठाउँमा लाश फेला परेकोले सन्नुले नै कर्तव्य गरी मारेको लाग्छ भनी अदालतमा बकपत्र गरेको देखिन्छ । सरजमीनका धनबहादुर न्यौपाने जैसीले गीता कार्कीलाई सन्नुलाल चौधरीले कपालमा समाई लडाई कुटपिट गरी घिस्याउँदै लगेको देखेको हुँ भनी किटानीसाथ अदालतमा बकपत्र गरेको पाइन्छ । त्यस्तै इन्दिरा कटेलले सन्नु र गीता बाझाबाझ गर्दै खोलातर्फ गएको भन्ने र सन्नुले गीतालाई कर्तव्य गरी मारेको हो भन्ने गम्भीरमान दमाई, सन्नु र गीता कराउँदै झगडा गरेकोले गीतालाई सन्नुले मारेको भन्ने देउमाया दर्जी, सन्नु हातमा लठ्ठी लिई गीतासंग कराउँदै थिए गीतालाई सन्नुले मारेको हो भन्ने पूर्णमाया बुढाथोकी, सन्नुलाल र गीता खस्याङ मस्याङ गर्दै थिए एकछिन पछि सन्नुलालले तान्दै थिए घिसारेको चिज चिनिन गीतालाई सन्नुलालले नै मारेछन् भन्ने धनमाया दमिनी, सन्नुलाल र गीता बाझेको आवाज सुनेको र सन्नुले देखाएकै ठाउँमा गीताको लाश भेटिएकोले गीतालाई सन्नुले नै मारेको भनी तीलविक्रम, सन्नुलालले गीतालाई कर्तव्य गरी मारेको हो भन्ने कर्णबहादुर खड्का, सन्नुलाल र गीताको झगडा भएको सुनेको हो गीतालाई सन्नुले नै मारेको हो भन्ने जगतबहादुर कार्की, सन्नुले देखाएको ठाउँमा गीताको लाश भेटिएकोले कर्तव्य सन्नुकै हो भन्ने मानबहादुर कार्की, श्रीबहादुर कार्की, राजेश्वर दर्जी समेतले अदालतमा बकपत्र गरेको पाइन्छ । सरजमीनमा रामबहादुर राईले म भोर्लाको पात टिप्दै हिंड्न लागेको बखत सन्नुलाल चौधरीले गीता कार्कीको लाश बोकी ल्याएको देखें सन्नुले मलाई देख्नासाथ लाश भुइँमा राखी आफू घोप्टो परी मुख लुकाए गीतालाई सन्नुले नै कर्तव्य गरी मारी लाश लुकाएको हो भनी किटानीसाथ अदालतमा समेत बकपत्र गरेको देखिन्छ । यसबाट गाईले बाली चरेको कुरामा मर्ने गीता कार्कीको प्रतिवादी निवेदकसंग झगडा भई कुटपिट गर्दै मारी खोला पारी जड्डलमा लाश लुकाएको भन्ने देखिन्छ । निज निवेदक प्रतिवादी सन्नुलाल चौधरीले मर्ने गीता कार्कीलाई कर्तव्य गरी नमारेको भए उपरोक्त उल्लिखित जाहेरवाला प्रहरीमा बुझिएका पुरुषोत्तम लम्साल मौका सरजमीनका रामबहादुर राई समेतका अधिकांश व्यक्तिहरूले अदालतमा समेत आई किटान गरी बकपत्र गर्नु पर्ने अवस्था थिएन । साथै निजहरूको बकाइलाई आधार एवं विश्वास लिनु नपर्ने तथ्ययुक्त आधार प्रतिवादीले दिनसकेको छैन । सो बकपत्रहरूबाट निज प्रतिवादी सन्नुलाल चौधरीको प्रहरीमा भएको साविति समर्थित भएको समेत देखिन्छ । प्रतिवादी सन्नुलाल चौधरीका साक्षी बुधन चौधरी थारु समेत ७ जनाले सन्नुलाल समेत माछा मार्न गएको हाम्रो साथ थिए सन्नुलालले गीता कार्कीलाई कर्तव्य गरी मारेको होइन भनी अदालतमा बकपत्र गरेको पाइन्छ । निजहरूले मौका सरजमीन हुँदा सो सरजमीन मुचुल्कामा हामीलाई केही थाहा छैन कसै उपर शंका लाग्दैन भनी लेखाएको छ । तर माछा मार्न गएको हाम्रो साथमा थिए भन्ने व्यहोरा सरजमीन मुचुल्कामा लेखाउन सकेको छैन । सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन । निज निवेदक प्रतिवादी सन्नुलाल चौधरीले प्रहरी प्रतिवेदन दावी अनुसारको आरोपित कसूर गरेको होइन भन्ने अरु तथ्ययुक्त आधार दिनसकेको छैन । यस स्थितिमा निज निवेदक प्रतिवादी सन्नुलाल चौधरी आरोपित कसूरमा निर्दोष रहेछ भन्न सकिने अवस्था नहुँदा आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने निजको निवेदन जिकिर पुग्न सक्ने देखिएन । तसर्थ उपरोक्त उल्लिखित आधारमा र अरु क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत गीता कार्कीको बस्तुले सन्नुलालको धान चराई दिएको जरियाबाट बाझाबाझ भई मौकैमा उठेको रिसबाट सन्नुलालले गीता कार्कीलाई कुटपिट समेत गरी कर्तव्य गरी ज्यान मारेको ठहर्याई ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद वर्ष १० गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी सन्नुलाल चौधरी थारुके मुद्दा दोहर्याई इन्साफ सदर भएकोले शुरु कैद वर्ष १० को अ.बं.२०४ नं.ले सो कैदको सयकडा दशले कैद वर्ष १ थप कैद हुन्छ बेरुजू हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि.मा लगत दिनु.............१
निवेदक प्र.सन्नुलाल चौधरीके निजलाई सर्वोच्च अदालत डिभिजनबेञ्चका ०४०।३।२० को फैसलाले गर्ने गरेको कैद वर्ष १ अ.बं.१९४ नं.बमोजिम हुने ५४०।— पाँचसय चालिस रुपैयाँ, सर्वोच्च अदालत ल.न.शाखा मार्फत ०४१।६।२९ मा का.जि.अ.त.मा धरौट रहेको देखिँदा उक्त फैसला बमोजिम लागेको कैद असुल भएपछि निज प्रतिवादी सन्नुलाल चौधरीलाई उक्त धरौटी कानुनको रीत पुर्याई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु.........२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु...........३
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.हिरण्येश्वरमान प्रधान,
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल कार्तिक २८ गते रोज ६ शुभम् ।