शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१४४ - लेनदेन

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१४४  ने.का.प. २०४१               अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

सम्वत् २०४० सालको दे.पु.नं. ६४४

मुद्दा : लेनदेन

पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला सुनखानी गा.पं. वार्ड नं. ३ थापागाउँ बस्ने सन्तकुमारी थपलिया

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने चुडाराज उपाध्याय थपलिया

फैसला भएको मिति : २०४१।९।७।१ मा

§  दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन ।

(प्रकरण नं. १५)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिबक्ता श्री लोकभक्त राणा

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना

उल्लेखित मुद्दा : x

फैसला

       न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१।१४ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी सन्तकुमारी थपलियाको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

       २. विपक्षीको लोग्ने इन्द्रबहादुरले घर खर्च र साहू तिर्न भनी मागी लिएको रुपैयाँ नतिर्दा मेरो नालिस परी विपक्षीले रु.१४७८। मलाई बुझाउनु पर्ने ठहरी फैसला भएको सो बुझाउन नसक्दा सावाँ ब्याज मासिक कट्टा हुने गरी विपक्षको ०२६ सालदेखि ३ वर्षको बाली खान पाउने गरी लिखत गरी दिएको लिखत बमोजिमको खेतमा मैले लगाएको बाली मलाई उपभोग गर्न नदिई विपक्षीहरूले नै लुटी लगेकोले मैले मुद्दा दायर गरेपछि लिखत पास नभएको अवस्थामा बालीमा दावा नलाग्ने लिखत पास हुने ठहरी अन्तिम फैसला भएको र जग्गामा भोग गर्न नदिएकोले मेरो लुटपीटमा उजूर परी कारवाही हुँदा वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भनी फैसला भएको भए तापनि मैले बाली खान पाएको छैन । ब्याज रु.१४५७।७६ समेत जम्मा सावाँ ब्याज रु.२९२७।७५ विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत चुडाराजको फिराद दावी ।

       ३. लिखत ३ वर्षको बाली दर कट्टी गरी कमाउन सम्म दिने शर्तमा लिखत भएको हो जग्गा कमाए बापत साँवा ब्याज कट्टा गर्ने गरी शर्त राखिएको छ । विपक्षीसँग रुपैयाँ लिनु दिनु गरी गरेको लिखत होइन व्यवहार मिलाउन मात्र लिखत गराएको छ । उक्त लिखत लेनदेन व्यवहारको २ नं. को परिभाषाभित्र पर्दैन । ०१३ साल पौष १ गतेको रुपैयाँबाटै लिखत गराएको देखिन्छ । लिखतको हदम्याद गइसकेको छ । म्याद नाघी दायर भएको फिराद खारेज गरिपाउँ झुट्ठा उजूर गरेमा विपक्षलाई सजाय गरिपाउँ भन्नेसमेत सन्तकुमारीको व्यहोराको प्रतिउत्तर जिकिर ।

       ४. वादी दावी मनासिव नदेखिँदा दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०३६।५।५ को फैसला ।

       ५. मलाई हराई गरेको इन्साफमा चित्त बुझेन उक्त इन्साफ बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी चुडाराजको बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

       ६. वादी दावी पुग्न सक्दैन । शुरु जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिएको हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ.को ०३८।२।३२ को फैसला ।

       ७. बागमती अञ्चल अदालतको कानुनी त्रुटिपूर्ण फैसला उल्टाई पाउन पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको चुडाराजको म.क्षे.अ.मा परेको निवेदन ।

       ८. गलत रुपमा प्रमाणलाई वादीको दावी पुग्न सक्ने ठहराएको वा.अं.अ.बाट भएको फैसला त्रुटिपूर्णलाई उल्टिने देखिएबाट अनुमति दिइएकोछ भन्ने म.क्षे.अ.को आदेश ।

       ९. लिखत अनुसारको बाली वादीले खान नपाउने अवस्थामा प्रतिवादीले तिर्नुपर्ने सावाँ ब्याजको रकम कट्टा भइसकेको भन्न नमिल्ने हुनाले सो लिखत अनुसार बुझाउनु पर्ने सावाँ व्याज बुझाई सकेको प्रमाण प्रतिवादीबाट भन्ने आउन नसकेको यस किसिमको अवस्थामा वादीले सावाँ ब्याज प्रतिवादीबाट नपाउने भन्न न्यायोचित नहुनाले वादीले दावी अनुसारको साँवा ब्याज भरी भराउ हुँदाको मिति सम्मको ब्याज समेत भरी पाउने ठहर्छ । शुरु जि.अ. र वा.अं.अ.को इन्साफ बदर हुन्छ भन्ने समेतको म.क्षे.अ.को फैसला ।

       १०. म.क्षे.अ.का उक्त इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भनी सन्तकुमारीको यस अदालतमा परेको निवेदन पत्र ।

       ११. प्रस्तुत मुद्दा म्याद नघाई नालिस परेको र ०३३।७।२७ को डिसमिस फैसलालाई प्रमाणमा नलाएकोबाट म.क्षे.अ.को फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदकको अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालतको ०४०।१२।८ को आदेश ।

       १२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री लोकभक्त राणा द्वयले फिराद दावी लिखतको व्यहोरा हेरिएमा २०१३ साल पौष १ गते लिएको भनिएको रुपैयाँमा भरी पाउने फैसला भई भरी भराउ गर्न नसकी म्याद गइसकेको विषयमा ०२६, ०२७ र ०२८ सालको बाली खाने शर्त करार भएको तथा हदम्याद गई निष्कृय भइसकेको रुपैयाँको बारेमा गैर कानुनी लिखत गरिएको प्रष्ट । रुपैयाँ लिएकै मितिबाट १० वर्ष भित्रको यो फिराद छैन । बीचमा ब्याज असूल भएको भाखापत्र गराएको पनि छैन । यसरी लेनदेन व्यवहारको ४० नं. को हदम्याद नाघी सकेको फिरादबाट लाग्नै नसक्ने ऐ. को २ को हदम्याद नघाई दिएको फिराद खारेज हुनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस र विपक्ष चुडाराजको तर्फबाट हुनु भएका विद्वान अधिवक्ता श्री कुलराज गुरुघरानाले मिति ०१३।९।१ को लिखत गरेको होइन भने विपक्षले भन्न सक्नु भएको छैन । सोही लिखत अनुसारको रुपैयाँ भराउने गरी अदालतबाट समेत फैसला भइसकेको छ । यस्तो अवस्थामा सो फैसला अनुसार ०२६, ०२७ र ०२८ सालको बाली खान पाउने गरी गरेको लिखत अनुसार वादी दावी बमोजिम सावाँ ब्याज भराउने गरेको क्षेत्रीय अदालतको इन्साफ कानुन अनुरुप नै हुँदा सोही सदर गरिपाउँ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

       १३. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ सो को निर्णय दिनुपर्ने देखिन्छ ।

       १४. निर्णयतर्फ विचार गर्दा यसमा वादीले दावी गर्दा मिति ०२५।११।३० को लिखतको आधारमा लेनदेन व्यवहारको २ नं. र २३ नं. समेतलाई अँगाली सावाँ, ब्याज भरी पाउँ भनी दावी गरेको पाइन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही ब्याज असूल पनि नभएको भाखापत्र पनि नगराएको सो म्यादपछि नालिस लाग्न सक्दैन । दश वर्षको बीचमा भाखापत्र भराएको वा केही ब्याज असूल गरेको रहेछ भने सो मितिले फेरि १० वर्षको म्याद पाउँछ । भोग वा दुष्टि बन्धकको हकमा यसै महलको ३ नम्बर बमोजिम हुन्छभन्ने लेखिएको पाइन्छ । तर मिति ०२५।११।३० को लिखत हेर्दा सापट लिनु दिनु गरेको व्यहोरा पारी लिखत भएको देखिन्न तमसुक गरी कर्जा लिएको पनि लिखतबाट देखिन्न । यस्तो अवस्थामा प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २ नं. हदम्याद आकर्षित हुन सक्ने देखिन्न ।

       १५. लेनदेन व्यवहारको २३ नं. मा चल अचल गैर राजीनामा दृष्टि भोगबन्धक लिई भोग गरे पछि थोरै वा घटी रहेछ भनी वा बिग्रे नासिएमा समेत थैलीमा टण्टा गर्न हुँदैन । भोग गर्न पाउने केही कुरा लेखिएको कुरा कच्चा ठहर्न गयो भने लिखत भए लिखत बमोजिम हुन्छ । लिखत नभए पनि सावाँ र ऐन बमोजिम ब्याज समेतमा साहुले दावी गरी लिन पाउँछभन्ने लेखिएको पाइन्छ । विवादको मिति ०२५।११।३० को लिखत दृष्टि भोगबन्धकी देखिन्न । दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन । अतएवः वादीको नालिस खारेज गरी दिनुपर्नेमा इन्साफ तहकिकात गरी सावाँ ब्याज भराउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । वादी दावी खारेज हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भएकोले म.क्षे.अ.को ०४०।१।१४।४ को फैसलाले प्रतिवादीबाट वादी चुडाराज थपलियाले भरी पाउने बिगो रु.२९५६। अब नलाग्ने हुँदा सो सम्पूर्णको लगत कट्टा गरी दिनु भनी का.जि.अ.मा लगत दिनु....................१

पुनरावेदक प्रतिवादी शान्तकुमारी थपलिया के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२०।५७ वादी चुडाराजको यसै सरहदको जेथा देखाई भरी पाउँ भनी प्रतिवादीको म्यादमा दर्खास्त परे दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.मा लगत दिनु...................२

मिसिल नियमानुसार गरी बुझाई दिनु...................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल पौष ७ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु