शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१४५ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१४५   ने.का.प. २०४१                   अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.पु.नं. ४४६

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/वादी : नरबहादुर लावतीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : पाँचथर, यासोक गा.पं. वार्ड नं. ३ बस्ने भू.पू.मन्त्री नरेन्द्रकुमार प्रधान

ऐ ऐ वार्ड नं. ट बस्ने चन्द्रध्वज फेवदीन

ऐ गा.पं. नवनी डाँडा वार्ड नं. ८ बस्ने भू.पू. मन्त्री प्रेमराज आङदम्वे

जि. ऐ. गा. पं. रानी गा.पं. वार्ड नं. ६ बस्ने दल बहादुर साम्वाहाम्फे

जि. ऐ गा.पं. माङ्गजादुङ वार्ड नं. १ बस्ने राजमाल शेर्पा

जि. ऐ गा.पं. नबमी डाँडा वार्ड नं. ६ बस्ने धनेन्द्रराज आ`ङदम्बे

ऐ गा.पं. माङ्गाजाबुङ वार्ड नं. १ बस्ने लक्ष्मी प्रसाद शर्मा

ऐ ऐ वार्ड नं. २ बस्ने महेन्द्रराज शर्मा

ऐ पौवा सायताप्प वार्ड नं. ६ बस्ने भूवनी विक्रम नेवाङ

ऐ बस्ने कृष्ण विक्रम नेवाङ

ऐ गा.पं. नवमी डाँडा वार्ड नं. ६ बस्ने जगत मान आङदम्बे

ऐ गा.पं. पौवा साथ ताप्प वार्ड नं. ६ बस्ने गणेश विक्रम नेवाङ

ऐ मेहल बोटे वार्ड नं. १ बस्ने गणेश प्रसाद रिसाल

ऐ बस्ने तेज प्रसाद रिजाल

ऐ वस्ने उमेश रिजाल

ऐ वार्ड नं ७ बस्ने सुरेनराज आङदम्बे

गा.पं. भेमङ् वार्ड नं. ८ बस्ने मच्छेन्द्र करुङ

गा.पं. नवमी डाँडा वार्ड नं. ८ बस्ने नारायण आङदम्वे

ऐ गा.पं. फिदिम वार्ड नं. १ बस्ने श्याम प्रसाद पराजुली

ऐ यासोक वार्ड नं. ३ बस्ने दिपक प्रधान

ऐ गा.पं. मेहलबोटे वार्ड नं. ज्ञ बस्ने मनोरथ रिजाल

फैसला भएको मिति :  २०४१।१०।८ मा

§  एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन ।

(प्रकरण नं. ४५)

पुनरावेदक तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

विपक्षी/प्रतिवादी तर्फबाट: x 

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : पू.क्षे.अ.ले मिति ०४० आश्विन ३ गते गरेको फैसलाउपर चित्तनबुझी वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् ।

          २.  मिति ०३७।१।१६ गतेका दिन ४ बजे समय यासोक रानी गाउँ स्यामरुम्बा पञ्चायतको निर्दलीय पक्षको त्रिभुवन नगर यासोकमा भेला भई श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानी सरकारको जय जय मनाउँदै पञ्चायती व्यवस्था अमर रहोस् भन्ने नारा जुलुसले बजार परिक्रमा गरी रहेको समयमा विपक्षीहरूले निर्दलीय पक्षलाई मार्न पर्छ भनी विपक्षी चन्द्रध्वजले मेरो काका कर्णबहादुर लावतीलाई यासोक त्रिभुवन नगर बीचमा पक्री नरेन्द्रकुमार प्रधानले आफैंले भिरेको चुप्पी झिकी मुटुमा प्रहार गरी सो पिडाले काका कर्णबहादुर लावतीको मृत्यु भएकोले विपक्षीहरूलाई पक्राउ गरिपाउँ भन्ने व्यहोराको नरबहादुर लावतीको मिति ०३७।१।२७ को जाहेरी दर्खास्त रहेछ ।

          ३.  मृतकको बायाँ पट्टि कोखा माथि ४ इञ्च जति गोलाई भएको काटिएको धारिलो हतियारको चोट देखिएको भन्ने मिति ०३७।१।१८ को लासप्रकृति मुचुल्का रहेछ ।

          ४.  मिति ०३७।१।१६ का दिन यासोक बजारमा बहुदल पक्षको आमसभामा भवानी नेवाङ समेतले भाषण गरी सभा विसर्जन भएपछि निर्दल पक्षका प्र.पं.रामप्रसाद फेबदीन समेतले १०१५ जना बहुदलको भिड भित्र पसी खुकुरी झिकी उफ्रिई बहुदल पक्षको जगतमानलाई काटेपछि उत्तेजित भिडले प्रत्याक्रमण गर्दा मृतक कर्णबहादुर लावतीलाई नमालुम कुन व्यक्तिको के कस्तो हतियारको प्रहारबाट मृत्यु हुन गएछ ठूलो आतङ्क र भिडको अवस्था हुँदा थाहा भएन मर्ने कर्णबहादुरसँग मेरो कुनै रिस इवी पनि छैन मृतक कर्णबहादुरलाई मैले चन्द्रध्वज फेवदीनले छुरी रोपी मारेको होइन अभियोग केवल राजनैतिक षड्यन्त्रबाट मात्र लगाइएको हो भन्ने ०३७।१।१८ मा प्र.नरेन्द्रकुमार प्रधानले प्रहरीमा गरेको कागज ।

          ५.  ०३७।१।१६ मा बहुदलको प्रचार प्रसार हुँदा निर्दल पक्षबाट विरोध भई ठूलो कुटमार हुन थाल्यो । सबैको हातमा नाङ्गो खुकुरी देखेपछि डरलागि म नरेन्द्रकुमार प्रधानको साथ लागी निजकै घरमा गएँ, मृतक कर्णबहादुरलाई कसले के कस्तो हतियार प्रयोग गरी कसले मार्‍यो म भन्न सक्तिन मर्ने कर्णबहादुरसँग मेरो रिसइवी थिएन । म बहुदल पक्षमा लागेको हुँदा मलाई फसाउन झुठ्ठा अभियोग लगाएको मात्र हो भन्ने ०३७।१।१८ मा प्र.चन्द्रध्वज फेवदीनले प्रहरीमा गरेको कागज ।

          ६.  ०३७।१।१६ गते मेरो लोग्ने र म यासोक बजारमा सौदा गर्न आएका थियौँ बजारमा निर्दल र बहुदल पक्षका मानिसहरू थुप्रै थिए त्यसै बखत जोहरीमा लेखिएका सबै विपक्षहरूले निर्दललाई मार्नुपर्छ भनी बचन दिनासाथ मेरो लोग्ने कर्णबहादुर लावतीलाई चन्द्रध्वज फेवदिनले पक्री नरेन्द्रकुमारले चुप्पी झिकी मुटुमा रोपी कर्तव्य गरी मारेको देखेको हुँ भन्ने ०३७।१।१८ मा मृतकको श्रीमती शिवमाया लिम्बुनीले प्रहरीमा गरेको कागज ।

          ७.  ०३७।१।१६ गतेका दिन यासोक बजारमा बहुदल पक्षका नरेन्द्रकुमार प्रधान समेत २१ जना र विदेशी दार्जलिङ्गे ५०० जनाले निर्दल पक्षलाई मार्नुपर्छ भनी कर्णबहादुर लावतीलाई चन्द्रध्वजले पक्री नरेन्द्रकुमार प्रधानले चुप्पी कोखमा प्रहार गरी मारेका हुन् भन्ने दिलबहादुर कार्की समेत ३ जना र निजहरूको व्यहोरा ठीक छ भन्ने चैनबहादुर लावती समेत ३५ जना र मृतक कर्णबहादुर लावतीलाई बहुदल पक्षकाले मारेका हुन् आँखाले नदेखेको हुँदा यसले मार्‍यो भन्न सक्तैनौं भन्ने दिलबहादुर समेत २१ जनाको व्यहोरा भएको ०३७।१।१८ को सरजमीन मुचुल्का ।

          ८.  ०३७।१।१६ गते यासोक बजारमा शान्ति सुरक्षाको लागि खटिएका थियौँ बहुदल पक्षको ८।९ सय जति लाठी खुकुरीवाला उत्तेजित भिडले ढुंगा लाठी हान्दै निर्दल पक्षलाई आक्रमण गर्दै गए प्रहरीले भिड नियन्त्रण गर्न नसकी नामालुम कसको प्रहारबाट हो कर्णबहादुर लावती मृत्यु अवस्थामा पाइएको हुँदा ठूलो भिडमा यसले मार्‍यो भन्न नसकिए तापनि बहुदल पक्षकै मानिसको चुप्पी प्रहारबाट मारेको व्यहोरा पेश गर्दछौं भन्ने यासोक बजारमा सुरक्षामा खटी आएका प्र.ना.नि. दिव्यराज ओझा प्र.स.नि.बखतबहादुर, वृषबहादुर, मुक्ति श्रेष्ठ समेतको ०३७।१।२६ को प्रतिवेदन ।

          ९.  मौकाको घटना हुँदा देख्ने चन्द्रगोपाल आचार्य शिवमाया लिम्बुनी दिलबहादुरका समेतको बयान र सरजमीन समेतबाट विरुद्ध खण्डमा २१ जनाले नै मृतक कर्णबहादुर लावतीलाई कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले प्र.नरेन्द्रकुमारलाई ज्यान सम्बन्धीको १३(३) प्र.चन्द्रध्वज समेत २० जनालाई ऐ. को १३(४) बमोजिम सजाय हुनुपर्ने भन्ने ०३७।१।२७ को प्रहरी प्रतिवेदन ।

          १०. प्र.नरेन्द्रकुमार प्रधान घटनास्थल मै पक्राउ हुँदा गोली लागि भरेको पेस्तोल बरामद भएको निजले मार्ने नियत गरेको भए पेस्तोल फायर हुनु पर्ने र चुप्पी बरामद नभएकोले सो कुरा पत्यार लायक देखिएन । लासजाँचको कार्य सम्पन्न गरी अन्य अभियुक्त पक्राउ गर्ने कार्य जारी राखी अनुसन्धान गरी तत्पश्चातमात्र सरजमीन गरी मुद्दा अदालतमा पेश गर्न पर्ने कार्यविधि अपनाउनु पर्नेमा सो केही नगरी एकैदिन लास जाँच सरजमीन समेतको सम्पूर्ण कार्य गरेकोबाट पनि प्र.नरेन्द्रकुमार प्रधान र चन्द्रध्वजको बयानकागज अनुसार राजनैतिक उद्देश्यबाट गराएको कुरा प्रष्ट देखिनआउँछ । शान्तिसुरक्षाको लागि खटिएका प्रहरी अधिकृतका प्रतिवेदनबाट पनि पुष्ट्याई हुन आएकोले प्र.नरेन्द्रकुमार, चन्द्रध्वजलाई मुद्दा चलाउन उल्लिखित कारणबाट अन्य कुनै ठोसप्रमाण संकलन हुन आएको नदेखिँदा सबूतको अभावमा शंकाको सुविधा प्रतिवादीले नै पाउने हुँदा शंकाको आधारमा ज्यान जस्तो अपराधमा मुद्दा चलाउन उपयुक्त नलागेकोले निज हरूका हकमा मुद्दा नचलाउने अन्य प्रतिवादीका हकमा पछि कर्तव्यवाला खुल्न आएका अवस्थामा ज्यान सम्बन्धिको १३(३) अनुसार सजाय हुन र फिरादीका हकमा म्याद जारी भई कानुनबमोजिम कारवाही हुन अनुरोधगर्दछु भन्ने ०३७।१।२७ को स.स.अ. तथा स.स.अ. को छुट्टै राय रहेछ ।

          ११.  ०३७।१।१६ गते कर्णबहादुर लावती कर्तव्य भई गरे सम्बन्धिमा निर्दल पक्षका व्यक्तिहरूले पहिलेदेखि राजनैतिक षडयन्त्र हुँदा आफ्नो अघिदेखिकै इवी पूरा गर्ने मौका छोपेका हुन् मर्ने कर्णबहादुलाई भिडमा निर्दल कै षडयन्त्रबाट मारी मराई मलाई अभियोग लगाएको मात्र हो, मैले अभियोग अनुसार कुनै कसूर अपराध गरेको छैन भन्ने व्यहोराको ०३७।१।२७ मा प्र.नरेन्द्रकुमार प्रधानले अदालतमा गरेको बयान ।

          १२. ०३७।१।१६ गते यासोक बजारमा निर्दल र बहुदल पक्षको बीच राजनैतिक कुरालाई दिई भिडन्त भयो निर्दल पक्षकाले खुकुरीले आक्रमण गरेकोले म भागी नरेन्द्रकुमार प्रधानको घरमा गई मैले मृतक कर्णबहादुरलाई पक्रे समातेको होइन मृतकलाई को कसले के कस्तो हतियार प्रहार गरी मार्‍यो म जान्दिन म बहुदल वादी भएकोले निर्दल वादीहरूले मलाई फसाउन षडयन्त्र गरी पोल गरेको मात्र हो भन्ने ०३७।१।२७ को प्र.चन्द्रध्वज फेवदीनले अदालतमा गरेको बयान ।

          १३. ०३७।१।१६ गते म यासोक बजारमा गएको थिए । त्यहाँ निर्दल पक्षको व्यक्तिहरूले बहुदल पक्षलाई मार्नुपर्छ भनी हातमा खुकुरी लिई बहुदल तर्फ आएकाले त्यहाँ बस्न ठीक छैन भनी घरतर्फ हिंडे मृतकसँग मेरो कुनै रिसइवी छैन मैले निर्दल पक्षको प्रचार प्रसार नगरेको रिस इवीबाट प्र.पं.रामप्रसाद फेवदिन समेतको षडयन्त्रबाट मलाई फसाउन झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२७ मा प्र.मनोरथ रिजालले अदालतमा गरेको बयान ।

          १४. ०३७।१।१६ गते बहुदल प्रसार गर्न यासोक बजार गएको थिएँ, मर्ने कर्णबहादुर लावतीको कसको कर्तव्यबाट के भई मरे मलाई थाहा छैन । मैले बहुदल पक्षको तर्फबाट प्रसार गरेको हुँदा निर्दल वादीहरू माननीय रा.प.स. पदमसुन्दर लावती समेत मिली मलाई फसाउने उद्देश्यले झुठ्ठा पोल पोलाएको मात्र हो म समेतले पौवाली सारतोप अभिदड भनी बचन दिएको होइन भन्ने ०३७।२।२७ को प्र.प्रेमराज आङदेम्बेले अदालतमा गरेको बयान ।

          १५. ०३७।१।१६ गते घटना भएको ठाउँ बजार आएको छैन, म आफ्नो घर गाउँमा छु माननीय रा.प.स.पदमसुन्दर लावती समेतले आज यासोक बजारमा बहुदलको आमसभा गर्न नदिई हटाउनु पर्छ जाउँ भनी कुरा गर्दा मैले निजहरूको भनाई इन्कार गरी दिएको थिएँ । सो इवीबाट निजहरूले मलाई समेत झुठ्ठा पोल लगाएका हुन् मैले मर्ने कर्णबहादुरलाई मार्ने मराउने कुनै सहयोग समेत दिएको होइन भन्ने ०३७।२।२८ को प्र.सहेन्द्रराज शेर्पाले अदालतमा गरेको बयान ।

          १६. ०३७।१।१६ गते कृष्णविक्रम समेत हामी बसेको बजारमा गई मैले पनि बहुदल तर्फबाट आफ्नो विचार व्यक्त गरिएमा विसर्जन भएपछि साप्ताए तर्फ आयौं । मृतक कर्णबहादुरलाई मैले मार्ने मराउनेमा सहयोग गरेको समेत होइन म बहुदलवादी कार्यकर्ता भएकोले माननीय रा.प.स.पदमसुन्दर लावती समेतले जाल षडयन्त्र गरी मलाई फसाउनु झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२८ को महेन्द्रबहादुर केरुङ्गले अदालतमा गरेको बयान ।

          १७. ०३७।१।१६ गते म यासोक बजारको आमसभामा गएको छैन । घरमै बसेको छु, म बहुदलवादी कार्यकर्ता भएकोले मलाई ज्यानमा फसाउन निर्दलीय नेता माननीय रा.प.स.पदमसुन्दर लावती समेतले झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२८ को प्र.गणेशविक्रम नेमाङले अदालतमा गरेको बयान ।

          १८. ०३७।१।१६ गते यासोक बजारमा बहुदल पक्षको आमसभामा म समेतले भाग लिई आफ्नो विचार व्यक्त गरी सो दिन घर फक्र्यौं । मैले अभियोग अनुसारको कसूर गरेको छैन म बहुदल वादी कार्यकर्ता हुँदा निर्दलीय नेता मा.पदमसुन्दर लावतीले समेत मलाई जाल षडयन्त्र गरी झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२८ को कृष्णविक्रम नेमाङले अदालतमा गरेको बयान ।

          १९. ०३७।१।१६ गते यासोक बजारमा बहुदल पक्षको आमसभामा मैले पनि आफ्नो विचार व्यक्त गरी घर फर्केर मर्ने कर्णबहादुरलाई मार्ने मराउनेमा मैले सहमत दिएको समेत होइन म बहुदल पक्षको हुँदा निर्दल नेता माननीय पदमसुन्दर लावती समेतले मलाई फसाउन झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२८ को प्र.भवानीविक्रम नेमाङले अदातलमा गरेको बयान ।

          २०. ०३७।१।१६ गते म यासोक बजार गएको हैन, म आफ्नो गाउँघरमा छु, मृतक कर्णबहादुरलाई मार्न मराउनमा मेरो कुनै किसिमको सहमत छैन । ०३७।१।१५ गते बेलुका मेरै गाउँका माननीय रा.प.स. पदमसुन्दर लावतीले मलाई भोलि १६ गते यासोक बजारमा बहुदललाई आमसभा गर्न दिनु हुँदैन हटाउनु पर्छ भन्नु भएको थियो । मैले जान पाउँदिन भनेको थिए सोही रिसइवीबाट मलाई फसाउन झुठ्ठा पोल पोलाएको मात्र हुन मैले कुनै कसूर गरेको छैन भन्ने ०३७।२।२८ को राजमाल शेर्पाले अदालतमा गरेको बयान ।

          २१. ०३७।१।१६ गते म यासोक बजार नगाई गाउँकै कृष्णबहादुर लिम्बुसँग सिमरातर्फ गई बेलुका ८ बजे मात्र घर फर्की आए मृतक कर्णबहादुरलाई मार्ने मराउनेमा सहयोग गरी मारे मराएको होइन, म बहुदल पक्षको हुँदा निर्दलका नेता, माननीय रा.प.स.पदसुन्दर लावतीले समेत मलाई फसाउन झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२९ को प्र.दलबहादुर तमाङले अदालतमा गरेको बयान ।

          २२. ३७।१।१६ गते म यस पाँचथर जिल्लाको यासोक बजारमा नभई झापा जिल्लामा बसेको हुँदा निज मृतक कर्णबहादुरलाई कसले के कसरी मार्‍यो मलाई केही थाहा छैन । म बहुदल समर्थक हुँदा निर्दल नेता माननीय पदमसुन्दर लावती समेतले मलाई फसाउने पोल झुठ्ठा पोलाएको हो भन्ने ०३७।२।२९ को प्र.नारायणप्रसाद आङदम्बेले अदालतमा गरेको बयान ।

          २३. ०३७।१।१६ गते म यासोक बजारमा नगई आफ्नै गाउँ घरमा हुँदा मृतक कर्णबहादुरलाई कसले के कसरी मारे मराए मलाई केही थाहा छैन रा.प.स. पदमसुन्दर लावतीले मेरो घरमा आई आज यासोक बजारमा बहुदलको आमसभा छ आमसभा गर्न नदिई हराउनु पर्छ जाउँ भन्दा मैले जान्न भन्दा सोही इवीबाट मलाई झुठ्ठा आरोप लगाई पोले पोलाएको हो भन्ने समेत ०३७।२।२९ को प्र.लक्ष्मीप्रसाद शर्माले अदालतमा गरेको बयान ।

          २४. ०३७।१।१६ गते पितासँगै यासोक बजारमा गएको थिएँ । आमसभा विसर्जन भएपछि पिता गणेशप्रसाद रिजालसँग घर फर्किए मृतक कर्णबहादुर मरे सम्बन्धमा के भई मरेका हुन् थाहा भएन म बहुदल विचारको मानिस हुँदा ज्यानको अपराधमा फसाउन निर्दल नेता माननीय पदमसुन्दर लावती समेतले जाल रची झुठ्ठा पोल पोलाएको मात्र हो भन्ने ०३७।२।२९ को प्र.उमेश रिजालले अदालतमा गरेको बयान ।

          २५. ०३७।१।१६ गते यासोक बजारमा बहुदलको आमसभा हुँदा म पनि गएको थिएँ । दिनको अन्दाजी ३ बजे समाप्त भएकोले म घर फर्की आए । मृतक कर्णबहादुलाई मार्ने म गराउने कुनै सहमत छैन । मैले पटक पटक यासोकमा गई बहुदलको प्रचार प्रसार गर्दा निर्दल नेता माननीय पदमसुन्दर लावती, बमबहादुर सावाङफे, समेतले रीस इवी लिई मलाई फसाउन निजहरूले पोले पोलाएको मात्र हो भन्ने ०३७।२।२९ को प्र.धनेन्द्रराज आडमयले अदालतमा गरेको बयान ।

          २६. ०३७।१।१६ गते म आफ्नो घर गाउँमा छु सो दिन यासोक बजारमा भएको आमसभामा म नगएको हुँदा मृतक कर्णबहादुर मरे सम्बन्धमा मलाई केही थाहा छैन म बहुदलवादी कार्यकर्ता भएकोले मलाई फसाउन मा.रा.प.स. पदमसुन्दर लावतीले मलाई फसाउन झुठ्ठा आरोप लगाई पोले पोलाएको हो भन्ने ०३७।२।२९ को प्र.सुरेन्द्रराज आङदम्बेले अदालतमा गरेको बयान ।

          २७. ०३७।१।१६ गते बहुदलको आमसभामा म छोरो उमेशचन्द्र समेत गयौं । मैले पनि बहुदल पक्षबाट आफ्नो विचार व्यक्त गरी सो दिन घर फक्र्यौं । मृतक कर्णबहादुरलाई कुन समयमा के कसरी मारे मलाई थाहा भएन मैले बहुदल पक्षको प्रचार प्रसार गरी हिंडेकोले निर्दल नेता पदमसुन्दर लावती समेतले झुठ्ठा अभियोगमा फसाउन पोले पोलाएका हुन् । मैले कर्णबहादुर मारे मराएको समेत होइन भन्ने ०३७।२।३० को प्र.गणेशप्रसाद रिजालले अदालतमा गरेको बयान।

          २८. ०३७।१।१६ गते यासोक बजारमा बहुदलको आमसभा हुँदा सो सभामा म पनि गएको थिएँ, सभा विसर्जन भएकोले म सोही दिन घरतर्फ फर्के, मृतक कर्णबहादुर लावती भवितव्य वा कर्तव्य के भई मरे मलाई थाहा भएन मैले पक्षबाट प्रचार प्रसार गरेको हुँदा निर्दल नेता माननीय रा.प.स. पदमसुन्दर लावती समेतले मलाई फसाउन झुठ्ठा अभियोग लगाई पोले पोलाएको मात्र हो । मैले कर्णबहादुरलाई मार्ने मराउनेमा कोही कसैलाई बचन दिई मारे मराएको समेत होइन भन्ने ०३७।२।३० को प्र.जगतमान आङदम्बेले अदालतमा गरेको बयान ।

          २९. ०३७।१।१६ गते यासोक बजारमा बहुदल पक्षको आमसभा भएकोले म पनि गएको थिएँ । आमसभामा म समेतले आफ्नो विचार व्यक्त गरी सोही दिन घर फर्के, मैले मृतक कर्णबहादुर लावतीलाई मार्नमा बचन दिएको र कर्तव्यबाट मारे मराएको समेत होइन मैले बहुदल पक्षमा प्रचार प्रसार गरी आएकोमा निर्दल नेता रा.प.स. पदमसुन्दर लावतीले समेत फसाउन मलाई झुठ्ठा आरोप लगाई पोल पोलाएको मात्र हो मैले कुनै अपराध गरेको छैन भन्ने ०३७।२।३० को तेजप्रकाश रिजालले अदालतमा गरेको बयान ।

          ३०. ०३७।१।१६ गते म घर फिदिममा छु । सो दिन म यासोक बजार गएको छैन । मृतक कर्णबहादुर भवितव्य हो वा कर्तव्य के बाट मरेको हो मलाई थाहा छैन । म बहुदलको कार्यकर्ता भएकोबाट निर्दल नेता रा.प.स.पदमसुन्दर लावती समेतले मलाई फसाउन झुठ्ठा आरोप लगाई पोल पोलाएका मात्र हुन् मैले कुनै कसूर अपराध गरेको छैन भन्ने व्यहोराको ०३७।२।३० को प्र.श्यामविक्रम पराजुलीले अदालतमा गरेको बयान ।

          ३१. ०३७।१।१६ गते मृतक कर्णबहादुर लावती र म समेत घटनास्थल यासोक त्रिभुवन नगरमा भेला भई नारा जुलुस लगाई पश्चिमबाट पूर्वतर्फ आउँदा बहुदल पक्षका मानिसले मेरा काका कर्णबहादुर लावतीलाई कर्तव्य गरी प्र.नरेन्द्रकुमार प्रधान र चन्द्रध्वज फेवदिनले चुप्पीले रोपी मारेका हुन् निज दुई जना बाहेक प्र.लक्ष्मीप्रसाद समेत १९ जनाले मार्न वचन दिएको हुन् भनी प्र.पं.रामप्रसाद, बमबहादुर सेवाम्फेले, मलाई चिनाएका हुन भन्ने समेत व्यहोराको ०३७।८।४ को जाहेरवाला नरबहादुर लावतीले अदालतमा गरेको बयान ।

          ३२. ०३७।१।१६ गतेका दिन म बहुदलको भाषण सुन्न यासोक बजार गएको थिएँ अं.चार (४) बजेतिर सभा समाप्त भएपछि बहुदल र निर्दल पक्षका नेता बीच लाठी तथा ढुंगा हानाहान हुन थाल्यो सो अवस्थामा म लक्ष्मी निरौलाको घर अगाडि फलैंचामा गएर उभिएँ त्यसैबखत कर्णबहादुर लावतीले नरेन्द्रबहादुरको खुट्टामा हिर्काउनु भयो । त्यसपछि चन्द्रध्वज फेवादिनले कर्णबहादुरलाई पछाडि कम्मरमा समात्यो त्यसै अवस्थामा नरेन्द्र प्रधानले आफैंले भिरेको चुप्पी झिकी छातीमा प्रहार गरेको मैले देखें वारदात भएको बेला त्यस ठाउँमा उक्त दुई जना बाहेक उमेश रिजाल र नचिनेका धेरै थिए भन्ने समेत व्यहोराको ०३८।६।१ को सरजमीनका चन्द्रबहादुर लावतीले अदालतमा गरेको बयान ।

          ३३. ०३७।१।१६ गते यासोक बजार गएको थिएँ, त्यस दिन त्यहाँ बहुदल पक्षको आससभा थियो म आमसभा भएको ठाउँदेखि अलि तलतिर बसेर सभा सुनिरहेको थिएँ । सोही अवस्थामा बहुदलका मानिसले माथिबाट लठ्ठी र ढुंगा छोडे त्यसबेला मर्ने कर्णबहादुर परेवा गुँड भएको छेउ आई पुगेको रहेछ निजको हातमा लठ्ठी थियो सो लठ्ठीले नरेन्द्रकुमारलाई हिर्कायो त्यसपछि चन्द्रध्वजले कर्णबहादुरलाई पछिाडिबाट समात्यो, नरेन्द्रकुमार प्रधानले चुप्पी झिकेर कर्णबहादुरलाई हाने त्यसपछि बहुदलहरूले पनि छोए । कर्णबहादुर दोकान अगाडि लड्यो वारदातको अवस्था अन्य प्र.हरू कहाँ थिए । मैले देखिन भन्ने समेत व्यहोराको ०३८।६।१ को सरजमीनका दिलबहादुर कार्कीले अदालतमा गरेको बयान ।

          ३४. ०३७।१।१६ गते यासोक बजारमा जनमतको सल्लाह गर्न गएको थिए । सोही बहुदलवादीहरू आफ्नो आमसभा समाप्त गरी सकेपछि विपक्षलाई मार्नैपर्छ भनी चन्द्रध्वज फेवदिन समेतले हामी माथि ढुंङ्गा मुढा बर्साउन थाले । त्यसै बखत मृतक कर्णबहादुर लावती हामी भन्दा केही अघि बढी नरेन्द्रकुमार प्रधानको खुट्टामा लौराले हिर्काएको थियो । त्यही अवस्थामा चन्द्रध्वज फेवदिनले कर्णबहादुलाई पछाडि पट्टिबाट समाएर नरेन्द्रकुमार प्रधानले आफ्नो बाँयाबाट चुप्पी निकाली हिर्काएको मैले देखेको हुँ भन्ने समेत व्यहोराको ०३८।६।१ को रामप्रसाद फेवदिनले अदालतमा गरेको बयान ।

          ३५. ०३७।१।१६ गते मेरो श्रीमान कर्णबहादुर लावती गाउँका साथीहरूसँग यासोक बजार तर्फ जानु भयो, म पनि यासोक बजार सामानहरू किन्न गएँ, म सामान किन्न देवी बोहोराको पसलमा बसेकी थिएँ । म पसलमा बसेको अवस्था निर्दल र बहुदल दुवै पक्ष बीच मतभेद भएको ठाउँ तर्फ मेरो श्रीमान जाँदै गरेको देखें, धेरै मानिस मुठभेड भइरहेको बेला प्र.चन्द्रध्वज फेवदिनले मेरो श्रीमानलाई समाएको र नरेन्द्रकुमार प्रधानले चुप्पीले रोपेको देखें त्यसपछि मेरो श्रीमान दगुर्दै आई चन्द्रगोपालको पसलमा लड्नु भयो भन्ने व्यहोराको ०३७।७।४ को मर्नेका श्रीमती शिवमाया लिम्बुनीले अदालतमा दिएको बयान ।

          ३६. ०३७।१।१६ गतेका दिन म मेरो यासोक बजार स्थिति दोकानमा थिएँ, सो दिन मैले आफ्नो पसल बन्द गरे । दिउँसो अं.३ बजेतिर बहुदल र निर्दल पक्षका हुलहरू मेरो पसल आई जम्मा भइरहेका थिए । दुवै तर्फका मानिस जम्मा भएपछि चन्द्रध्वज फेवदिनले कर्णबहादुर लावतीलाई समाउनु भयो । नरेन्द्रकुमार प्रधानले चुप्पी निकाली हान्नु भयो । चुप्पी प्रहार भएपछि कर्णबहादुर दगुर्दै आई मेरो पसलको सिकुवामा लडे भन्ने समेतको व्यहोराको ३८।७।४ को सरजमीनका चन्द्रगोपाल आचार्यले अदालत समक्ष गरेको बयान ।

          ३७. शंकारहित स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादीहरूलाई दोषी ठहराउन न्यायोचित नहुने, शंकाको सुविधा प्रतिवादीहरूले नपाउने फौज्दारी न्यायको सर्वमान्य र सर्वोच्च अदालतले कायम गरेको मध्य परम्परा समेत भएको शंकाको सुविधा प्रधान भई वादी श्री ५ को सरकारले दावी गरेको आरोपित कसूरबाट प्र.नरेन्द्रकुमार प्रधान समेतका सबै प्रतिवादीहरूले सफाई पाउनेठहर्छ भन्नेसमेत व्यहोराको शुरु जि.अदालतको ०३८।८।९ को जाहेरी फैसला ।

          ३८. शुरु पाँचथर जिल्ला अदालतको फैसला उपर चित्त नबुझेको हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय होस भन्ने पु.क्षे.अ.का धनकुटाको ०३८।११।१२ को पुनरावेदन पत्र ।

          ३९. तथ्ययुक्त सबूत प्रमाणको अभावमा शंकाको सुविधा दिई प्रतिवादीहरूलाई सफाई दिने ठहराएको शुरु पाँचथर जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्नेसमेतको ०४०।६।३ को पू.क्षे.अ.को फैसला ।

          ४०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले जाहेरवाला नरबहादुर लावतीले यी प्रतिवादीहरू उपर मौकैमा किटानी जाहेरी दर्खास्त दिएको छ । सरजमीन चस्मदिद व्यक्ति दिलबहादुर, रामप्रसाद, चन्द्रबहादुर समेतका व्यक्तिहरूले कर्णबहादुरलाई मनोरथ रिजाल समेतका २१ जना व्यक्तिहरूले मार्नुपर्छ भनी वचन दिएका र चन्द्रध्वज फेवदिनले कर्णबहादुरलाई समातेको र प्र.नरेन्द्रकुमार प्रधानले छुराले हानेको र कर्णबहादुरको मृत्यु भएको कुरा लेखिदिएका छन् । यस्तो अवस्थामा देख्ने प्रत्यक्षदर्शी, घटनाक्रम घटनास्थलमा भएको लास जाँच आदि प्रमाणको मूल्यांकन नगरी प्रतिवादीहरूलाई सफाई दिएको शुरु जि.अ.को इन्साफ सदर गरेको पू. क्षे.अ.को फैसला मिलेको छैन । प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बहस गर्नुभयो ।

          ४१. प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको शुरु जि.अ.को इन्साफ सदर गरेको पू.क्षे.अ.को निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।

          ४२. यसमा इन्साफ तर्फ विचार गर्दा मिति ०३७।१।१६ का दिन त्रिभुवन यासोक बजारमा निर्दलीय पक्षका व्यक्तिहरू नारा जुलस साथ नगर परिक्रमा गरिरहेको अवस्थामा मनोरथ रिजाल समेतका २१ जना र नचिनेका विदेश दार्जलिङ तर्फबाट ल्याइएका अन्दाजी ५०० जति मानिस समेतले निर्दलीय पक्षलाई मार्नुपर्छ भनी आज्ञा बचन दिएका र सो बचनलाई मानी विपक्षी मध्येको चन्द्रध्वज फेवदिनले कर्णबहादुरलाई पक्री भू.पू.मन्त्री नरेन्द्रकुमार प्रधानले आफैंले भिरेको चुप्पी प्रहार गरेर सो प्रहारबाट कर्णबहादुरको मृत्यु भएको भन्ने कुरा नरबहादुर लावतीको ०३७।१।१७ को शुरु जाहेरी दर्खास्तबाट देखिन्छ ।

          ४३. जाहेरी दर्खास्त प्रतिवादीहरूको बयान एवं सरजमीनका चस्मदिद व्यक्तिहरूको बकाईबाट समेत ३७।१।१६ मा दिनको ४ बजे निर्दल र बहुदल दुई पक्षको बीच भएको संघर्षमा उक्त वारदात घटित भएको कुरामा र उक्त जुलुस भेलामा सयकडौं मानिसहरूको भेला रहे भएको कुरामा समेत विवाद देखिन्न ।

          ४४. जाहेरी दर्खास्त र ०३७।१।१७ को सरजमीन मुचुल्काबाट समेत प्र.नरेन्द्रकुमारको साथमा चुप्पी सम्म रहेको देखिन्छ र अन्य प्रतिवादीहरूको हातमा कुनै हातहतियारहरू रहे भएको देखिन्न । उक्त जुलुस भेलामा सयकडौं निर्दल पक्षका व्यक्तिहरू रहे भएको पाइन्छ । तर पनि यी प्रतिवादीहरू मौकामा छुरी सहित पक्राउ भएको वा निजहरूलाई पक्रने प्रयास भएको समेत जाहेरी दर्खास्तबाट देखिन्न । सयकडौं निर्दल पक्षका व्यक्तिहरूको भेला उपस्थितमा आफ्नो पक्षका व्यक्ति कर्णबहादुरलाई चन्द्रध्वजले पक्री मार्ने संयोग पारी दिने र नरेन्द्रकुमार प्रधानले आफूले भिरेको चुप्पीले प्रहार गरुन्जेल निर्दलले केही नगरी चूप लागी हेरी बस्ने अवस्था समेत पर्दैन । ०३७ साल बैशाख १८ गते भएको सरजमीनमा दिलबहादुर कार्की, रामप्रसाद फेवदिन र चन्द्रबहादुर लावतीले मनोरथ रिजाल समेत जना २१ र विदेशी ५०० जनाले निर्दललाई मार्न पर्छ भनी वचन दिई चन्द्रध्वज फेवदिनले कर्णबहादुरलाई पक्रे र भू.पू.मन्त्री नरेन्द्रकुमार प्रधानले आफैं भिरेको चुप्पीले प्रहार गरेर कर्णबहादुरको मृत्यु भयो भनी लेखि दिएको पाइन्छ । सयकडौं मानिसको भेला जताततै र नारा रहेको र जुलुस भएको अवस्थामा फलानो फलाना व्यक्तिहरूले बचन दिएको भनी छुटाउन सकिने स्थिति र त्यसरी वचन दिएको कुरा सुन्ने सम्भावना समेत रहँदैन ।

          ४५. उक्त सरजमीन मुचुल्का हेर्दा सरजमीनको चन्द्रबहादुर, दिलबहादुर र रामप्रसादले सम्म मनोरथ रिजाल समेतको २१ जना व्यक्तिको बचन मानी चन्द्रध्वज फेवीदिनले पक्री नरेन्द्रकुमार प्रधानले चुप्पीले हाने र सो को प्रहारबाट कर्णबहादुरको मृत्यु भएको भनी लेखी दिएका र सो बाहेक महेन्द्रप्रसाद समेत जना ३५ ले माथि १, , ३ दफामा लेखिएको व्यहोरा ठीक हो भनी सहीछाप गरेको पाइन्छ । सरजमीन गर्दा गराउँदा सरजमीनमा लेख्ने सम्पूर्ण व्यक्तिले सो वारदात घटनामा आफूले देखे जानेको कुरा लेख्ने हो वारदात भएको हो वा होइन वारदात भए कसरी भयो यी सबै कुराको जानकारी गर्न पत्ता लगाउने नै सरजमीनको मुख्य उद्देश्य हुन्छ । माथि १, , ३ दफामा बाहेक अन्य दफामा सरजमीनको छुट्टाछुट्टै व्यहोरा लेखिएको नदेखिँदा त्यस्तो सरजमीनबाट वस्तुस्थिति कतिसम्म साँचो हो यकीन गर्न गाह्रो पर्छ । यस्तो अवस्थामा सरजमीनको १, , ३ दफामा लेखिएका बाहेक अन्य ३५ जना सरजमीनको लेखाईलाई भर गर्न सकिने भएन । अब सरजमीनमा वारदात घटेको देखेँ भन्ने सरजमीन मुचुल्काको १, , ३ दफामा उल्लेख भएको चन्द्रबहादुर समेतका व्यक्तिहरूले सरजमीनमा आफ्नो पृथकपृथक व्यहोरा लेखी दिएको पाइन्छ । अब ती चन्द्रबहादुरसमेत जना ३ को सरजमीनको लेखाई एवं बकाईको विवेचना गर्नु परेकोछ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ मा जाहेरवालाले आफूले देखे जाने सम्मको सबूत खुलाउनु पर्छ भनी लेखेको पाइन्छ । तर जाहेरवाला नरबहादुरले आफ्नो जाहेरी दर्खास्तमा उक्त वारदात देख्ने चस्मदिद यी चन्द्र बहादुर, दिलबहादुर, रामप्रसादको नाम लेखिदिएको पाइन्न । यी चस्मदिद व्यक्तिहरूका सरजमीनको लेखाई र अदालतको बकाईलाई हेर्दा सरजमीनको चस्मदिद दिलबहादुरले अदालतमा बकपत्र गर्दा कर्णबहादुरका हातमा लठ्ठी थियो उक्त लठ्ठीले नरेन्द्रकुमारलाई मर्ने कर्णबहादुरले हान्यो त्यसपछि चन्द्रध्वजले एकाएक दौडी गएर कर्णबहादुरलाई पछाडिबाट समात्यो र नरेन्द्रकुमारले चुप्पी झिकेर कर्णबहादुरलाई हान्यो भनी बकेको र चन्द्रबहादुर रामप्रसादले नरेन्द्रकुमारलाई कर्णबहादुरले लठ्ठीले खुट्टामा हिर्कायो भन्दै अरु दिलबहादुरको कुरालाई समर्थन गर्दै अदालतमा बकपत्र गरेको पाइन्छ । तर सरजमीनका यी चस्मदिद व्यक्तिहरूले लठ्ठीले हानेको कुरा सरजमीनमा लेखिदिएको पाइन्न । अर्को चस्मदिद शिवमाया लिम्बुले मर्ने कर्णबहादुरले नरेन्द्रकुमारलाई लठ्ठीले हानेको भनी अदालतमा लेख्न सकेको देखिन्न । एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन । जाहेरवाला नरबहादुर मर्नेकी श्रीमती शिवमाया लिम्बुनी र चस्मदिद दिलबहादुर चन्द्रबहादुर र रामप्रसादको बकाईमा भिन्नता देखिँदा यस्तो बकाईलाई भर गर्ने स्थिति हुँदैन । मर्ने कर्णबहादुरकी श्रीमती शिवमाया लिम्बुनीको अदालतमा भएको बकपत्र हेर्दा उक्त वारदात घटित भएको अवस्थामा उक्त घटना स्थलमा प्रहरी जवानहरू निकै संख्यामा रहे भएको देखिन्छ । तर उक्त घटनास्थल त्रिभुवन नगर यासोकमा मौजुद रहेका शान्ति सुरक्षाको लागि खटिएको प्र.ना.नि.दिव्यराज ओझा, प्र.स.नि.बखतबहादुर आङदम्बे प्र.स.नि.कर्णबहादुर भुजेल र प्र.स.नि.मुक्ति विष्टले मर्ने कर्णबहादुरलाई नरेन्द्र प्रधानले छुरा हानेको र चन्द्रध्वजले पक्रेको र मनोरथ रिजाल समेत जना २१ ले मार्न बचन दिएको भनी लेखिदिएको पाइन्न । कर्णबहादुर कसको प्रहारबाट मर्‍यो थाहा छैन भनी यी प्रहरीहरूले आफ्नो ०३७।१।२६ को प्रतिवेदनमा लेखी दिएको पाइन्छ ।

          ४६. जाहेरवाला र यी चस्मदिद व्यक्तिहरूले बके लेखे बमोजिम यी प्रतिवादीहरूले उक्त वारदात गरेको भए शान्ति सुरक्षामा खटिएको ती प्रहरी जवानले पनि उक्त कुरा आफ्नो प्रतिवेदनमा लेखिदिनु पर्ने थियो तर सो भएको देखिन्न । यस्तो अवस्थामा यी जाहेरवाला एवं चस्मदिद व्यक्तिहरूको लेखाई बकाई अजमाइसी रहेछ भन्ने स्थितिको देखिन्छ । जाहेरवालाको अदालतमा भएको बकपत्र हेर्दा निजलाई प्र.धनेन्द्रराजले लठ्ठीले हानेको सो चोट सहन नसकी निज भाग्दा भाग्दै निजको काका कर्णबहादुरलाई मारेको हो भनी भन्नु भएको पाइन्छ । तर धनेन्द्रराज निजलाई लठ्ठीले हानेको र दौडेको कुरालाई जाहेरवालाले आफ्नो शुरु मौकाको जाहेरीमा लेखी दिन सकेको पाइन्न । यसै गरी प्र.धनेन्द्रराजले कुटेको कुरा अरु चस्मदिद व्यक्तिहरूले लेखेको एवं बकेको समेत पाइँदैन ।

          ४७. मुख्य गवाह जाहेरवाला र सरजमीन चस्मदिद व्यक्तिहरूको लेखाई बकाईमा नै फरक देखी यो जाहेरवाला र चस्मदिद व्यक्तिहरूको बकाईलाई साँचो रहेछ भन्न मिलेन ।

          ४८. प्र.नरेन्द्रकुमार प्रधानबाट प्रयोग भएको भनिएको चुप्पीको आकार प्रकार विभिन्न चस्मदिद व्यक्तिहरूले वर्णित गरेको आकार प्रकारसँग मेल खाँदैन । बर्णित गरिएको चुप्पीको एकै प्रयोगबाट करङको ३ हड्डी एकै पटक काटिन सक्ने अवस्था समेत पर्दैन । अतः शंकारहित सबूत प्रमाणको अभाव देखिँदा शंकाको सुविधा दिई प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको शुरु जि.अ.को इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव छ । वादी पुनरावेदन जिकिर पुग्न सक्दैन । श्री ५ को सरकार तर्फको पुनरावेदन परेको हुँदा पुनरावेदन गरे बापत केही गरी रहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल माघ ८ गते रोज शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु