शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८१० - जग्गा खिचोला

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८१०     ने.का.प. २०४३       अङ्क ८

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डलाल अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको दे.फु.नं. ८५

फैसला भएको मिति : २०४३।८।२०।६ मा

 

पुनरावेदक/वादी : का.प.जि.पाचखाल गा.पं.वडा नं.२ बस्ने बाबुलाल श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने कूलबहादुर श्रेष्ठ मरी मु.स.गर्ने ऐ.को छोरा ऐ.ऐ.बस्ने अन्नबहादुर श्रेष्ठ

 

मुद्दा : जग्गा खिचोला

 

(१)         झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ सर्वोच्च अदालत नियमावली २०२१ बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ ।

२. भमरकोट मौजा कृष्णप्रसाद उपाध्याय जिम्माको ०८ सालको नम्वरी ०८।९।१२ को छापे र ०८।७।२९ को आदेश बमोजिमले ज.मदन सम्शेरका खान्गी १८५ नम्वर भमरकोट पाँचखाल खेत साविक १।३१ को खेत १।३१।१६ धान ५६।१२।३ घ्यू ३।३८।१ मध्ये मोही हेममानको हाल धिर्जमान समेत पाँचखाल खेत २५।१८ को धान १०।१५।६ घ्यू ६६।२ लागेको जग्गाको पूर्व विपक्षको १९३ नं. खेत ।१२।६।५।५ को पश्चिम योगलालका नाउँमा दर्ता भएको १८५ नं.को १४ को खेत उत्तर विपक्षले ३९३ नं. विर्ता खेत भनी पहिले दावा गरेको पछि १८५ नं.को खेत भनी दावा गरेको खेत, दक्षिण रामगोपालका नाउँमा भएको १८५ नं.को ।४९।५ को खेत यति ४ किल्ला भित्रको रामगोपालको ४९।५ को ब्यारेक र सो ब्यारेक देखि उत्तरतर्फको मेरो खेतको उत्तर भागमा वारपार राजकूलो भएको जग्गा दर्तावाला मेरा बाबु जीवित छउञ्जेल बाबुले र बाबुको मृत्युपछि  मैले भोग गरी आएको छु । विपक्षीले रु.७५०१ मा रामकृष्ण चौधरीबाट राजीनामा गरी लिएको पूर्व अर्यालको खेत पश्चिम धिर्जमान रामप्रसादको खेत उत्तर योगलाल श्रेष्ठको खेत दक्षिण सानुमाया श्रेष्ठनीको साँध यति ४ किल्ला भित्रको खेत, पूर्व योगलाल श्रेष्ठ, पश्चिम रामप्रसादको खेत, दक्षिण धिर्जमान उत्तर योगलालको खेत यति ४ किल्ला भित्रको कित्ता १ पूर्व १९३ नं. २४।३।३ को मेरो खेत पश्चिम अन्यायवाला धिर्जमानको खेत उत्तर रामप्रसादको खेत दक्षिण योगलालको खेत यति ४ किल्ला भित्रको कित्ता १ समेत ३ कित्ता जग्गामा ३९३ नं. को किल्ला जोडाएमा सो खेतको साँधमा खन्यो जग्गा नापजाँच गरी छुट्याई पाउँ भनी विपक्षीले मेरो बाबु धिर्जमानका नाउँमा नालेश गर्दा यो विपक्षीको ३९३ नं. को जग्गै नभएको भनी शुरु इन्साफ सदर गरी बा.अं.अ. बाट ०२४।५।२६ मा फैसला भई टुंगेको छ त्यसपछि यिनै विपक्षले मेरा नाउँमा पूर्व मेरो र योगलाल समेतको र पश्चिम विपक्षको र योगलालको उत्तर रामप्रसादको र विपक्षको साँध दक्षिण रामप्रसादको साँध यति ४ किल्ला भित्रको १८५ नं.पाँचखाल सीम खेत । ।४२।१३ मध्ये ।२८।१३ मा छोराहरूको अंश कट्टा गरी बाँकी जग्गाको दक्षिण किल्ला पछि खिचोला गर्‍यो भनी नालेश गरेको र हालको नालेशमा १८५ नं.को भनी दावा गरेको त्यसको सबूद केही नभएकोले ३९३ को जग्गा र १८५ नं.को जग्गा एउटै हो भन्न सकिँदैन भन्ने समेत भई ०२४।८।२१ मा फैसला भई टुंगिएको छ । यसरी विपक्षले २ पटकसम्म आफ्नो हक गरी लिन नसकेको जग्गाको माझको ४ गरा मोल रु.२००।जाने खेतमा ०२६ सालमा आषाढ २५ गतेका दिन मैले रोपाइँ गर्न लागेको मौका खिचोला गरेकोले विपक्षीलाई कानुन बमोजिम सजायँ गरी जग्गाको खिचोला मेटाई पाउँ भन्ने वादीको फिराद ।

३. वादीले साँधमा ४ गरा खिचोला गर्‍यो भन्ने सम्म लेखेका रहेछन् कहाँको कुन जग्गाको कुन साँधमा खिचोला गर्‍यो भनी लेख्‍नु भएको हो जमीनै यो यहाँको भनी लेख्न नसकी साथमा खिचोला गर्‍यो भनी विपक्षको दावा देखाएको जग्गा भित्र १८५ नं.मा कस कसको कता कता जग्गा पर्छ १८५ नं.पाँचखाल खेत माटो मुरी १३१।१६ मा मोही धिर्जमानको ।२५।१८ र मोही शिद्धिमानको माटा ।१४।६ र मोही करविर खत्रीको माटो ।४९।५८ र मोही मानवीर नेवारको माटो मुरी ।४२।१३ भई धिर्जमानको माटो मुरी ।२५।१८ मा माटो मुरी ।१० सुनमायाको हक भई निजबाट रामजीको हकमा गई माटो मुरी ।१५।१८ धिर्जमानको हक भई धिर्जमान परलोक भई विपक्षको हकमा बाँकी भएको माटो मुरी ।१५।१८ मात्र हो, मोही शिद्धिमानको हाल मोही योगलाल श्रेष्ठ हुनआएको माटो मुरी ।१४।६ को लगत र मोही करविर खत्रीको हाल मोही रामप्रसाद परलोक भई हक खाने छोरा स्वास्नी रामगोपाल समेतको हकमा माटो मुरी ।४९।५ र मोही मानवीरको हाल मोही सानुकाजी श्रेष्ठ बनेपाको र निजको भाइ रामकृष्णको हकमा गई उक्त सानुकाजी श्रेष्ठ बनेपा भनी दर्ता भएको माटो मुरी ।४२।१३ मेरा ०१५।४।३१ का राजीनामा भित्र परेको र राजीनामा १३५ नं.पाँचखाल समेत खेत लेखिएको भई ९३ नं. को भित्रको पनि नभएका भन्ने अर्थ पारी विपक्ष फिराद गर्न आउनु भयो विपक्ष के आधारमा के भन्दै आउनु भएको छ भन्ने प्रश्‍नलाई १८५ नं.पाँचखाल खेत १३१।१६ मध्ये माटो मुरी ।२५।१८ को खला भित्रको जग्गाखिचोला गरे भनी विपक्षले नै भन्न लेख्न हुन्न र उक्त माटो मुरी १३१।१६ भित्र मेरो राजीनामाको ४ किल्ला भित्रको जग्गा फिरादपत्रमा उल्लेख गर्नुभएको रहेछ । मेरो राजीनामा ४ किल्ला भित्रको जग्गामा मैले बाली लगाउँदा खाँदा खिचोला गर्‍यो भनी विपक्षलाई अधिकारै नभएको धिर्जमान दर्तामा माटो मुरी ।२५।१८ मध्ये माटो मुरी १० सानुमायातर्फ कट्टा भई बाँकी माटो मुरी ।१५।१८ सम्मको हकदार विपक्ष हुनु हुन्छ । मेरो उल्लेख गरिएअनुसार यो ।१३१।१६ के खलामा ।४२।१३ को कित्तातर्फको हकदार त्यसै साँधमा १९३ नं. कित्ताको १२।५।५। को अर्को हक प्राप्त व्यक्ति विपक्षले अरु उल्लेख गरिएका व्यक्तिका हक भई भोग गरेका छन्  विपक्षको माटो मुरी ।१५।१८ मा खिचोला गर्‍यो भन्ने हकलाई नापी नक्शा गरेमा प्रष्ट देखिन आउनेछ । माटो मुरी २५।१८ विपक्षको हक छैन झुठ्ठा उजूर गरेमा सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. १८५ नं.मध्ये ।१० सानुमायालाई बिक्री भएको हो कि भन्न मिसिल सामेल रहेको ०२९ सालको फैसला नक्कल र प्रमाणको यिनै वादी प्रतिवादीको जग्गाखिचोला मुद्दाको छिनुवा मिसिलको फैसलाबाट वादीको ।२५।१८ मध्येको जग्गा सानुमायाको राजीनामाको नठहरी ।४२।१३ भित्रको ठहरी फैसला भएको समेत देखिँदा ०२८।१।२५ को नक्शामा लेखिएको झगडा परेको भनेको रातो चिन्ह भएको जग्गा वादीको रहेछ भन्ने प्रष्ट देखिएको र प्र.कूलबहादुरको खेत जग्गा सो नक्शा नं. १६ मा छुट्टै देखिएकोले समेत मेरो जग्गा हो भन्ने प्र.जिकिर पुग्न सक्दैन आफ्नो हक नपुग्ने वादीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.प.जि.अ.को फैसला ।

५. उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६. शुरु का.प.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

७. उक्त बागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई म.क्षे.अ.मा पुनरावेदनको लागतमा दर्ता भएको ।

८. विवादीत जग्गा प्रतिवादीले राजीनामा गरी लिएको र सो वादीको भए वादीले उजूर गरी राजीनामा बदर गराउन सक्नु पर्ने सो नसकेको साथै सो विवादीत ४ गरा जग्गा माटो मुरी ।२५।१ को किल्ला यो हो भनी कुनै लिखत श्रेस्ताबाट समेत प्रमाणित हुन आएन । साथै न.नं.८ को जग्गा प्रतिवादीकै राजीनामाको ४ किल्लासंग भिड्न आएकोले सो समेत खिचोला गर्‍यो भन्ने वादी दावा पुग्न सक्तैन भन्ने समेतको ०३७।१२।११ को म.क्षे.अ.को फैसला ।

९. उक्त फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा निवेदन परेकोमा यिनैहरूको बीच जग्गाखिचोला मुद्दामा पर्दा ०२४।८।२१ को का.प.जि.अ.को अन्तिम फैसलाबाट विवादको कि.नं.१८५ मा कूलबहादुर श्रेष्ठको हक पुगेको प्रमाण नदेखिएको भनी निर्णय भई कूलबहादुरको हक नरहेकोमा म.क्षे.अ.ले निर्णय गर्दा कूलबहादुरको हक ठहराएको अ.बं.८६ नं. को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चबाट आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

१०. सो मुद्दा निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा वादीको बाबु धिर्जमानले २००७ सालमा माटो मुरी ।१० बिक्री गरी सुनमायाको हक हुनआएको पाइन्छ । ।४२।१३ को जग्गा धिर्जमानको दर्ता देखिन नआई मानवीरको दर्ता देखिन्छ । मानवीरबाट धिर्जमानले हक टुटाई लिएको प्रमाणपत्र वादीले देखाउन सकेको पाइन्न । प्रतिवादीको राजीनामा बदर भएको पाइन्न । वादीका बाबु धिर्जमानले आफ्नो खेत मुरी ।२५।१८ मध्येबाट खेत मुरी ।१० आशालाललाई बिक्री गरी आशालाल मरेपछि सुनमायाले रामजीलाई बिक्री गरी प्रतिवादीलाई भोगबन्धकी दिएकोमा धिर्जमानको कूलबहादुर समेत उपर जालसाजी मुद्दा पर्दा सो जग्गा सुनमायाको हक देखिँदा जालसाज भन्ने धिर्जमानको जिकिर पुग्न नसक्ने भनी स.अ.बाट ०३९।३।२९ मा फैसला भएको देखिँदा सो बिक्री भएको खेत छुटाउँदा खेत माटो मुरी ।१५।१८ मात्र वादीको बाँकी रहन आएकोमा ४ गरा जग्गामा खिचोला गरे भन्ने वादीको भनाई झुठ्ठा देखिन्छ । ०३७।९।२६ गते भएको नक्शामा झगडा जनिएको न.नं.८ को जग्गाको दर्ता किल्ला वादीबाट आउन सकेको छैन । उक्त न.नं.८ को ४ किल्लासंग प्रतिवादीको राजीनामाको किल्ला मिल्न आएकोले वादी दावी पुग्न नसक्ने ठहराएको म.क्षे.अ.को निर्णय मनासिब ठहर्छ (सविक पेज नं. ७५१) भन्ने समेत माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय ।

११. यस मुद्दाको प्रतिवादी कूलबहादुर श्रेष्ठको जग्गाखिचोला मुद्दा ०२४।८।२१ मा खारेज भई अन्तिम रुपमा देखिनुको साथै विवाद परेको जग्गा प्रतिवादीले आफ्नो हक गरी लिन सकेको देखिँदैन । यीनै वादी प्रतिवादीहरू भएको जग्गा मुद्दामा ।४२।१३ को जग्गा र ।२५।१८ को जग्गा नक्शा हुँदा ५० गज फरकमा छ भनी जनी आएको प्रमाण मिसिलबाट देखिन्छ । दुवै जग्गाको ४ किल्ला भिन्ना भिन्नै देखिन्छ । वादीका बाबु धिर्जमानले माटो मुरी ।१० माटो मुरी ।२५।१८ बाट दिएको नभई माटो मुरी ।४२।१३ बाट सुनमायाको लोग्नेमा गएको सुनमायाबाट रामजीमा र रामजीबाट प्रतिवादीलाई बिक्री हुँदा माटो मुरी ।२५।१८ जनिए पनि जग्गाको ४ किल्ला धिर्जमानले लेखेको माटो मुरी ।४२।१३ कै परेको र सो लिखत सौपुवास समेतबाट परेको झगडामा सर्वोच्च अदालतबाट नक्शा हुँदा माटो मुरी ।२५।१८ मा झगडा नजनिई माटो मुरी ।४२।१३ मा झगडा जनिई पछि प्रतिवादीको हक कायम भएको फैसलाबाट देखिएकोले ०२८।१।२५ को नक्शामा लेखिएको झगडा परेको भनेको रातो चिन्ह भएको जग्गा वादीको हो भन्ने प्रष्ट देखिएकोले वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ सदर ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।

१२. पुनरावेदक वादी बाबुलाल श्रेष्ठ तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले विवादको जग्गा वादीको बाबु धिर्जमान दर्ताको जग्गा हो । प्रतिवादी कूलबहादुरले वादीका बाबु धिर्जमान नाउँमा जग्गाखिचोला मुद्दाको फिराद दिएकोमा कूलबहादुरले हारी बा.अं.अ.बाट ०२४।५।२६ मा फैसला भई अन्तिम रुपमा रहको र फेरि विपक्षीको जग्गा खिचोलामा फिराद पर्दा वादी दावी पुग्न नसकी खारेज हुने ठहरी ०२४।८।२ मा का.प.जि.अं. बाट फैसला भई हारी सकेको छ । त्यस्तो फैसलाबाट हारी सकेको जग्गामा वादीको हक हुँदैन भन्न मिल्दैन । १८५ नं.को जग्गा वादीकै हो तसर्थ सो फैसला समेतको प्रमाणबाट वादी दावीको जग्गामा खिचोला गरेको ठहरिएको सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले वादीको माटो ।२५।१८ मध्ये माटो ।१० वादीको बाबुले बिक्री गरी सुनमायाको हक भई वादीको माटो ।१५।८ मात्र जग्गा बाँकी छ । प्रतिवादीले माटो मुरी ।४२।१३ को जग्गा राजीनामा गरी लिएकै राजीनामा भित्रको जग्गा हो । ०२४।८।२१ मा खारेज भएको मुद्दामा आफ्नो हकको आधार कित्ता खुलाई उजूर गर्न पाउने हक कायम राखेको हुँदा मुद्दा हारेको भन्न मिल्दैन । तसर्थ हाल नापी समेतको आधार प्रमाण समेतबाट वादी दावी नपुग्ने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्‍याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मिलेको हुँदा सो राय सदर हुन पर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१३. यसमा निर्णयतर्फ हेर्दा मौजे भमरकोटका जि.हरिप्रसादको छोरा कृष्णप्रसाद जिम्मा २००८ सालको नम्बरी २००८।९।१२ को छापे र ०८।७।२९ को आदेश बमोजिम ले.ज.मदन शम्शेरका खांगी २००८ सालदेखि बाली आउने १८५ नं.मौजे भमरकोट पाँचखाल खेत साविक १।३१ को खेत १।३१।१६ धान ५६।१२।३ घ्यू ३।३८।१ मध्ये मोही हेममानको हाल धिर्जमान नेवार समेत पाँचखाल खेत ।२५।१८ जग्गाको माझको ४ गरा खेतमा ०२६।३।२५ गते खिचोला गरे खिचोला मेटाई पाउँ भन्ने समेत वादीको दावी देखिन्छ ।  १८५ नं.माटो ।१३१।१६ मा धिर्जमान श्रेष्ठको २५।१८ र मोही सिद्धीमान नेवारको माटो ।१४।६ मोही करवीरको ।४९।५ मोही मनवीर नेवारको माटो ।४२।१३ भई धिर्जमानको माटो ।२५।१८ मा माटो मुरी ।१० सुनमायाको हक भई माटो १५।१८ मात्र विपक्षको हकमा बाँकी हो । मोही मनवीरको हाल मोही सानोकाजी श्रेष्ठ बनेपाको र निजका भाइ रामकृष्ण चौधरी समेतको अंशबण्डा भई माटो मुरी ।४२।१३ मेरा ०१५।४।३१।४ का राजीनामा भित्र परेको विपक्षीको माटो १५।१८ मा खिचोला गर्न गएको होइन भन्ने समेत प्रतिउत्तर जिकिरमा उल्लेख भएको पाइन्छ ।

१४. यही वादी बाबुलाल श्रेष्ठ उपर १८५ नं.पाँचखाल खेत ।४२।१३ मध्ये खेत ।२८।१३ छोराहरूको अंश खेत मुरी ।१० कट्टी हुँदा बाँकी खेत ।१८।१३ को खेतमा दक्षिण किल्ला पट्टि खिचोला गरे भन्ने प्रस्तुत मुद्दाका प्रतिवादी कूलबहादुरले उजूर गरेकोमा वादीको जग्गाखिचोला गरेको भए आफ्नु हक भएको आधार कित्ता समेत स्पष्ट खुलाई उजूर गरेको बखत ठहरे बमोजिम नहुने हुँदा हालको वादी फिराद कानुनबाट आफ्नो अधिकार प्राप्त भइसकेको उजूर नदेखिँदा वादी फिराद खारेज हुने ठहर्छ भनी निज प्रतिवादी कूलबहादुर श्रेष्ठले हारी ०२४।८।२१ मा काभ्रेपलाञ्चोक जि.अ.बाट फैसला भई अन्तिम रुपमा रहेको प्रमाण मिसिलबाट देखिन्छ । वादीको माटो मुरी ।२५।१८ मध्ये माटो मुरी ।१० सुनमायातर्फ गएको भन्ने प्रतिवादी जिकिरतर्फ हेर्दा प्रस्तुत मुद्दाका वादी बाबुलालको बाबु धिर्जमानले आशालाल श्रेष्ठलाई २००७।१२।२९ मा खेत माटो मुरी ।१० राजीनामा दिएको वादीतर्फबाट यस अदालतमा पेश गरेको राजीनामा नक्कलबाट देखिन्छ । तर सो राजीनामामा माटो मुरी ।४२। मध्येबाट माटो मुरी ।१०। राजीनामा दिएको भनी उल्लेख भएको पाइन्छ । माटो मुरी ।१० मा खिचोला गर्‍यो भनी रामजी श्रेष्ठ समेत उपर धिर्जमानको उजुर परेको सुनमायाबाट रामजीमा र रामजीबाट प्रतिवादी कूलबहादुरलाई बिक्री गरेको राजीनामा लिखत समेत पेश गरेको जग्गाखिचोला मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार ०२८।२।२८ मा नक्शा हुँदा माटो २५।१८ को जग्गामा झगडा नजनी माटो मुरी ।४२।१३ को कित्तामा झगडा जनिई आखिर सो झगडा परेको जग्गा प्रतिवादीको हकको कायम गरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२९।३।२९ मा अन्तिम फैसला भएको ०२५ सालको दे.वि.नं. ३५९ को प्रमाण मिसलबाट देखिन्छ । यसरी उक्त फैसलाको अध्ययन गर्दा साविकमा ।४२।१३ जग्गामा झगडा परी बाबुलाल हारेको देखिएको समेतबाट प्रतिवादी जिकिर अुनसार सुनमायाको लोग्ने आशालाललाई वादीको बाबु धिर्जमानले माटो मुरी २५।१८। बाट माटो मुरी ।१० को खेत बिक्री गरेको भन्ने प्रतिवादीको जिकिर सत्य देखिन आएन ।

१५. उक्त सर्वोच्च अदालतका आदेशानुसार भएको ०२८।२।२८ को नक्शाबाट वादी दावीको माटो मुरी ।२५।१८ को जग्गा र प्रतिवादीको माटो मुरी ।४२।१३ को जग्गा साँध जोडिएको नभई ५० गज फरकमा रहेको भनी जनिई ४ किल्ला समेत छुट्टाछुट्टै रहेको पाइन्छ । प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालत मार्फत भएको ०३७।९।२६ को नक्शा हेर्दा पनि न.नं.८ को जग्गामा झगडा जनिएको र प्रतिवादीको जग्गा न.नं.१६ मा छुट्टै रहेको र सो झगडा परेको जग्गा वादी दावीको किल्लासंग मिल्न भिड्न गएको देखिन्छ । उपरोक्त उल्लेख भए अनुसारको प्रमाणबाट सो झगडा परेको न.नं.८ (आठ) को जग्गा वादीको हकको रहेछ भन्ने प्रष्ट देखिन आयो । सो झगडा जनिएको जग्गा प्रतिवादीको साँधसंग जोडिएको देखिँदैन । सो न.नं.८ को झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन ।

१६. अतः उपर्युक्त उल्लेख भए अनुसार वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याई    काभ्रेपलाञ्चोक जिल्ला अदालतले गरेको इन्साफ बदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्‍याएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी पुनरावेदक बाबुलाल श्रेष्ठबाट प्रतिवादी कूलबहादुरलाई मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३७।१२।११ का फैसलाले कोर्टफी रु.३(तीन) भराउने गरेकोमा सो इन्साफ उल्टी भई भरी भराउ गर्न नपर्ने हुँदा सो लगत काटी दिनु भनी का.प.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु............१

वादी बाबुलाई प्र.कूलबहादुरबाट का.प.जि.अ.का ०३०।३।२६ का फैसलाले भराउने गरेको कोर्टफी अरु दस्तूर समेत जम्मा रु.१०।९९ प्र.कूलबहादुरले बा.अं.अ.मा पुनरावेदन गर्दा का.जि.अ.त.मा ०३०।४।२३ मा धरौटी राखेको सो धरौटीबाट वादीलाई भराई दिने गरी बागमती अञ्चल अदालतको ०३३।८।१५ को फैसला बमोजिम ०३३।९।१२ मा लगत दिएको सो लगत कायमै हुँदा केही गर्नु परेन........२ मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३७।१२।११ का फैसलाले उक्त धरौटी कोर्टफी रु.१०।९९ प्रतिवादी कूलबहादुरलाई फिर्ता दिने गरेकोमा माथि लेखिए बमोजिम बा.अं.अ. का फैसलाबाट वादीलाई भरी भराउ हुने भएकोले सो क्षेत्रीय अदालतको फैसला बमोजिम प्र.कूलबहादुरलाई फिर्ता गर्ने गरेको लगत काटी दिनु भनी का.प.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु........३

वादी बाबुलालले यस अदालतमा पुनरावेदन गर्दा राखेको केर्टफी रु.१।५० प्र.कूलबहादुरबाट भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नली प्रतिवादीबाट वादीलाई भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु.............४

मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३७।१२।११ का फैसलाले वादी बाबुलालबाट प्रतिवादी कूलबहादुरलाई भराउने गरेको कोर्ट फि रु.३(तीन) यस अदालतमा पुनरावेदन गर्दा मिति ०३८।६।२९ मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी वादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नली सो धरौटी वादीलाई फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु र वादीबाट प्रतिवादीलाई भराउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको लगत काटी दिनु भनी का.प.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...............५

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........६

 

उक्त रायमा हामीहरूको सहमत छ ।

न्या.प्रचण्डराज अनिल

न्या.रुद्रबहादुर सिंह

 

 

इतिसम्वत् २०४३ साल मार्ग २० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु