निर्णय नं. २८११ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २८११ ने.का.प. २०४३ अङ्क ८
पूर्णइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको रि.फु.नं. ४०
आदेश भएको मिति : २०४३।७।२८।६ मा
निवेदक : इञ्जिनियरङ कन्ट्रयाक्टर, बागबजार, काठमाडौंका प्रो.काठमाडौं नगर पञ्चायत वडा नं.३१ बस्ने दिब्यमान श्रेष्ठ
विरुद्ध
विपक्षी : खोटो व्यवस्थापन आयोजना, वन पैदावार विकास समिति श्री ५ को सरकार वन मन्त्रालय, बबरमहल, काठमाडौंसमेत
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) निवेदकको माग बमोजिमको आदेश जारी गर्न निष्प्रयोजित हुन जाने देखिएकोले जिकिर लिएको कुरामा विचार गर्न मिलेन ।
(प्रकरण नं. १५)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री इशवरीचन्द्र शर्मा
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ
उल्लिखित मुद्दा : निवेदक विद्यानन्दप्रसाद शाह कलवार विरुद्ध बारा जिल्ला पञ्चायत समेत भएको रिट निवेदनमा नि.नं.५११ ने.का.प.२०२६ पृ.३३४ मा प्रतिपादित सिद्धान्त
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षी आयोजनाले कैलाली जिल्लाको अतरिया गाउँमा खोटो व्यवस्थापन आयोजनाको दोश्रो चरणको निर्माणको लागि २०३९ सालमा पूर्व योग्यता दर्खास्त आव्हान गरेको थियो । निवेदकको टेक्नोफेव इञ्जिनियरिड्ड प्रा.लि. नयाँ दिल्ली भारतसंग भएको सम्झौता अनुरुप निवेदक र टेक्नोफेव इञ्जिनियरिड्ड प्रा.लि.को संयुक्त लगानी र प्रयासमा उक्त काम गर्नको लागि निवेदकले तोकिएको म्यादभित्र पूर्व योग्यता दर्खास्त प्रस्तुत गरेको थिएँ । पूर्व योग्यता छनौट कार्यमा बोलपत्र प्रस्तुत गर्न निवेदक योग्य पनि छनौट भएकोले ०४०।२।८ सम्ममा विपक्षी आयोजनाले निवेदकलाई ०३९।१२।८ को पत्रद्वारा जानकारी गराएकोले म्यादभित्र निवेदक मुख्य बोलपत्र प्रस्तुत कर्ता र टेक्नोफेव इन्जिनियरिङ प्रा.लि. सह बोलपत्र प्रस्तुत कर्ता भई बोलपत्र प्रस्तुत गरेको थिएँ । आयोजनाले उक्त टेण्डर आव्हान बदर गरी पुनः टेण्डर गर्ने निर्णय भएको हुँदा डिसेम्बर २६ तारिख सम्म टेण्डर बुझाउनु होला भनी आयोजनाले निवेदकलाई जानकारी मिति ०४०।८।१२ मा दिई दोश्रोपटक निवेदक मुख्य बोलपत्र प्रस्तुतकर्ता र टेक्नोफेव इन्जिनियरीङ प्रा.लि. सह बोलपत्र प्रस्तुतकर्ता भई रु.९०,३४,७०७।७२ को बोलपत्र प्रस्तुत गरेको थिएँ । विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.ले रु.९४,८८,३७७।९६ गरी सो रकममा ९ प्रतिशतको छुट वा सबभन्दा कम अंकको बोलपत्र भन्दा रु.२५,०००।– कम गर्न १ विकल्पको समेत टेण्डर गरी जसबाट कुनै निश्चित रकम उल्लेख हुन नसक्ने जस्तो अर्थहिन अस्पष्ट रीत नपुगेको र अनुचित प्रभावयुक्त स्वतः बदरभागी बोलपत्र प्रस्तुत गरेको र अर्को बोलपत्र प्रोक्ट कन्सट्रक्सनले रु.९७,१०,८३४।– को पेश गरेकोमा टेण्डर खोलिँदा विजय कन्सट्रक्सनको टेण्डर शर्त राखेको कारणबाट गैरकानुनी छ भनी विरोध जनाएको थिएँ, ती कुरा उपर विचार नगरी विजय कन्सट्रक्सनको बोलपत्र स्वीकृत गरिएको जानकारी प्राप्त गर्नासाथ वन तथा भू–संरक्षण मन्त्रीज्यू समक्ष ०४१।१।२५ मा निवेदन गरेकोमा पनुः मूल्याङ्कनतर्फ (साविका पेज नं. ७५५) कारवाही हुँदै गरेको जानकारी निवेदकलाई दिइएको थियो । तर उक्त टेण्डरलाई रद्द गर्नुको बदला उल्टै स्वीकृत गरिएको मात्र नभई निजलाई टेण्डर प्रदान गर्न निर्णय भए अनुसार मिति ०४१।६।५ मा विपक्षी विजय कन्सट्रक्सनको नाउँमा सम्झौता गर्न आउनु भनी सोही मितिको पत्रद्वारा विपक्षी आयोजनाले सूचना गरेको र उक्त पत्र मिति ०४१।६।७।१ मा विपक्षी विजय कन्सट्रक्सनले विपक्षी आयोजनाबाट बुझी लियो ।
३. विपक्षी विजय कन्सट्रक्सनको बोलपत्र रीतपूर्वक छैन । बोलपत्र ठोस र स्पष्ट हुनुपर्छ । बोलपत्र प्रस्तुत कर्ताले एउटै बोलपत्रमा उही कामको लागि विभिन्न रकमहरू उल्लेख गर्न सक्दैन विजय कन्सट्रक्सनको बोलपत्रमा विभिन्न रकम उल्लेख भएको कारणले बोलपत्रमा कुनै खास रकम किटान नभएको मान्नु पर्छ । रकम उल्लेख नभएको अर्थहिन बोलपत्र स्वतः बदर हुनुपर्छ न्यूनतम बोलपत्र भन्दा रु.२५,०००।– कममा काम गर्नेछु भनेर दिइने बोलपत्र तोकिएको ढाँचा तथा ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २ ग, दफा ५ र दफा ७ प्रतिकूल छ । विजय कन्सट्रक्सन प्रा.लि.को बोलपत्रमा उल्लेख गरेको रकम भन्दा ९ प्रतिशत कम रकम पाएमा समेत काम गर्न मञ्जूर भएको कुराले ९ प्रतिशत सम्मको रकम निज बोलपत्रवाला जुनसुकै प्रयोजनका लागि खर्च गर्न तयार रहेको तर्फ संकेत गर्दछ । न्यूनतम अंक अरुको रहेमा सो भन्दा पनि २५,०००।– कम गर्ने कुरा उल्लेख भएबाट समेत बोलपत्रले दबाव र अनुचित प्रभाव पारेको स्पष्ट छ । यस्तो बोलपत्र अमान्य हुने कुरा आर्थिक प्रशासन सम्बन्धी नियम २७ क. मा उल्लेख छ । त्रुटिपूर्ण बोलपत्र स्वीकृत भई मेरो मौलिक हक हनन् भएकोले निवेदन गरेको छु । विपक्षी आयोजनाले विपक्षी विजय कन्सट्रक्सन प्रा.लि. को बोलपत्र सहमति स्वीकृत गरेको सम्पूर्ण कारवाही र तत्सम्बन्धी निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी बाँकी रहेको बोलपत्रहरूमा मात्र कारवाही गर्नु भनी विपक्षी आयोजनाको नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ र यो रिटको टुंगो नलागेसम्म विपक्षी विजय कन्सट्रक्सन कं.प्रा.लि. लाई उक्त खोटो व्यवस्थापन आयोजनाको दोश्रो चरणको बोलपत्र सम्झौता समेतको कुनै पनि काम वा कारवाही नगर्नु गर्न नदिनु भनी विपक्षी आयोजना र विपक्षी विजय कन्सट्रक्सन कं.प्रा.लि.का नाउँमा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत दिब्यमान श्रेष्ठको मिति ०४१।६।९ को रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४१।३।११ को आदेश ।
५. यस आयोजना अन्तर्गत निर्माण गर्नु पर्ने दोश्रो चरणको कामको लागि टेण्डर लिई टेण्डर स्वीकृत गर्ने अधिकार वन पैदावार विकास समितिको भएको र सोही समितिबाटै सम्पूर्ण कार्य भइरहेको हुँदा यस आयोजनाले निज निवेदकको हकमा कुनै असर नपारेको हुँदा यस आयोजनालाई विपक्षी बनाउनु भएको निराधार छ । अतः रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत श्री ५ को सरकार वन पैदावार विकास समिति खोटो व्यवस्थापन आयोजनाको मिति ०४१।६।३० को लिखितजवाफ ।
६. यस समिति अन्तर्गत निर्माणाधिन खोटो व्यवस्थापन आयोजना कैलालीको लागि दोश्रो चरणको कामको लागि योग्यता प्राप्त ठेकेदारबाट टेण्डर माग गर्दा पर्न आएका टेण्डरहरूको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गराई सबै भन्दा घटी रकम विजय कन्सट्रक्सन प्रा.लि.को देखिन आएकोले ठेकेदारले उल्लेख गरेको कुनै शर्तलाई मान्यता नदिने गरी सोही टेण्डरलाई ०४१।१।३० गते समितिबाट स्वीकृति गरिएको थियो त्यसमा विपक्षी निवेदकको उजूरी अनुसार वन तथा भू–संरक्षण मन्त्रालयबाट कारवाही हुँदा पनि पुनः वोर्डमा राखी निर्णय गर्ने भन्ने निर्णय भई आए अनुसार पुनः समितिमा पेश हुँदा समितिबाट २०४१।१।२० मा भएको निर्णय नै नियम कानुनको परिधि भित्र रही उचित तरिकाबाट भएको देखिएकोले पूर्व निर्णय अनुसार यस सम्बन्धित कानुन बमोजिम गर्नु पर्ने कार्यहरू यथाशिघ्र पूरा गर्ने भनी ०४१।५।२८ को बैठकबाट निर्णय गरी विजय कन्सट्रक्सन प्रा.लि. को नाममा ठेक्का स्वीकृत भएको हो विजय कन्सट्रक्सन कं.प्रा.लि.ले यस कामको प्रथम चरणको ठेक्का लिई काम गरेको र निजको टेण्डर रीतपूर्वक भएको र सबै भन्दा कम देखिएकोले समितिले निजको टेण्डर स्वीकृत गरेको हो । ९ प्रतिशत कम गरी काम गर्न मञ्जूर छु भनी लेखेको ठेक्काकै रकमको अभिन्न अंग हुन्छ । त्यसलाई शर्त मान्न मिल्दैन । विजय कन्सट्रक्सन प्रा.लि. मिति ०४१।६।१२ मा सम्झौता भई कार्यादेश समेत दिई ठेकेदारले आयोजना स्थलमा प्रारम्भिक कार्य शुरु पनि भइसकेको हुँदा निवेदकको हकमा कुनै असर नपरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत श्री ५ को सरकार वन पैदावार विकास समितिको मिति ०४१।६।३० को लिखितजवाफ ।
७. अन्तरिम आदेश जारी गरिपाउँ भन्ने निवेदन सम्बन्धमा छलफलको लागि उपस्थित हुनु भनी विपक्षीहरूलाई सात दिनको सूचना पठाई आएपछि पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४१।७।२० को आदेश ।
८. रिट निवेदकले मेरो बोलपत्र उपर कुनै विरोध जनाएको छैन । प्रत्यर्थी बोलपत्रमा शुरुमा ९४,३४,७०७।७२ उल्लेख गरे तापनि सोही बोलपत्र नै उक्त रकमको ९ प्रतिशत कम हुने भनी ठेक अंक रु.८६,३८,३७९।९४ कायम हुनआएको कुरा निर्विवाद छ । हाम्रो प्रत्यर्थीको बोलपत्र पूर्णतः रीतपूर्वक निश्चित र स्पष्ट रहेको छ र त्यसमा कुनै अस्पष्टता बेरित र अनुचित प्रभावजन्य रहे भएको छैन । प्रत्यर्थीको बोलपत्र रकम सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २ ग, दफा ५ र ७ तथा आर्थिक प्रशासन सम्बन्धी नियम २७ क को प्रतिकूल रहेको छैन । वन पैदावार विकास समिति, विकास समिति ऐन अन्तर्गत दर्ता भएकोले उक्त ऐनको दफा ४ अनुसार छुट्टै व्यक्तित्व प्राप्त व्यक्ति भएकोले उक्त कानुनहरू समितिलाई लागू हुन्न प्रत्यर्थीको बोलपत्र रीतपूर्वकको हुँदा बोलपत्र बदर हुनुपर्ने नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विजय कन्सट्रक्सन कम्पनी प्रा.लि.को मिति ०४१।७।२ को लिखितजवाफ ।
९. अन्तरिम आदेश जारी गर्नु पर्ने स्थिति देखिन नआएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४१।११।२ गतेको आदेश ।
१०. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा विजय कन्सट्रक्सन प्रा.लि.ले दिएको टेण्डरमा स्पष्ट शब्दमा टेण्डरमा उल्लेख भएको गरेको अंकमा ९ प्रतिशत छुट दिने भनी लेखेको पाइन्छ । ९ प्रतिशत छुट दिने भन्ने कुराले टेण्डरको अन्तिम अंक कायम गरेको स्पष्ट हुन्छ र सो कुरालाई टेण्डरको अभिन्न अंगको रुपमा रहेको मान्नु पर्ने हुन्छ । उक्त कुरा आफैंमा पूर्ण छ र यसमा सो भनेको कुरालाई अस्पष्ट तुल्याउने कुनै कुरा उल्लेख गरेको भन्न सकिने स्थिति छैन । उक्त कुरा उल्लेख गरिसकेपछि सो टेण्डरमा कम अंक भएको टेण्डर भन्दा ०.२५ लाख घटाउन पनि मञ्जूर छु भनी लेखेको पाइन्छ । यसबाट उक्त टेण्डर दिँदाको अवस्था जो अस्पष्ट कुरा उल्लेख भएको थियो सो शर्तलाई विचार भई नलिई टेण्डर स्वीकृत गरेको स्पष्ट हुनआएकोले टेण्डर स्वीकृत गर्ने गरेको निर्णय तथा सम्झौता सम्बन्धी कारवाई रीतपूर्वक नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ।
११. प्रत्यर्थी आयोजना समिति समक्ष पर्न आएको प्रत्यर्थी विजय कन्सट्रक्सनको टेण्डर हेर्दा सर्वप्रथम रु.९४,३७,७०७।७२ अंक उल्लेख गरी त्यसमा नौ प्रतिशत कम गरी सो अंकमा काम गर्न मञ्जूर छु भन्दै पुनः सोही बोलपत्रमा अथवा राखी we are also of the opinon of agreeing to reduction of Rs.0.25 lacs from the lowest quoted figure on this tender भन्ने शब्दावली भएबाट टेण्डरको अंकको कति हो भन्ने कुरा अस्पष्ट रहेको र शर्त राखिएको देखिन आयो । विजय कन्सट्रक्सनको टेण्डरको शर्त स्पष्ट अनिश्चित संदिग्ध प्रकृतिको व्यवहार प्रचलनमा नचलेको ढाँचाको देखिएको, कानुनले मान्यता दिन मिल्ने अवस्थाको नदेखिएकोले प्रत्यर्थी खोटो व्यवस्थापन आयोजना समितिले विजय कन्सट्रक्सनको टेण्डर स्वीकृत गरेको निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय ।
१२. रिट निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री ईश्वरीचन्द्र शर्माले विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.ले ९४,७८,३७७।९६ को अङ्क उल्लेख गरी त्यसमा ९ प्रतिशतले छुट वा सबभन्दा कम अङ्कको बोलपत्र ०.२५ लाख कम गर्न राजी भएको कुरा उल्लेख गरी बोलपत्र प्रस्तुत गरेकोले विपक्षीको बोलपत्र शर्त सहितको थियो उक्त शर्त सहितको बोलपत्र अनुसार विपक्षी विजय कन्सट्रक्सनसंग सम्झौता भई काम भइसकेकै भएपछि यस्तो शर्त सहितको बोलपत्र स्वीकार गर्न कानुनले मिल्दैन । विपक्षीको कानुन विपरीतको बोलपत्र बदर गरी दुइवटा बोलपत्रमा विचार गर्नु पर्नेमा विपक्षीलाई सम्झौता गर्न आउनु भनी सूचना गरेको र सम्झौता गरेको विपक्षी खोटो व्यवस्थापन आयोजना तथा वन पैदावार विकास समितिको कारवाही तथा निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वन पैदावार विकास समितिको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विजय कन्सट्रक्सनसंग सम्झौता भई सम्झौता अनुसारको काम समाप्त समेत भई परीक्षण उत्पादन समेत शुरु भइसकेको छ तसर्थ अब रिट क्षेत्रबाट समितिको कारवाही तथा निर्णय बदर भएमा पनि निवेदकले ठेक्का प्राप्त गर्न सक्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विजय कन्सट्रक्सनको तर्फबाट उस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले समितिसंग गरेको सम्झौता अनुरुपको काम समेत समाप्त भइसकेको हुँदा निष्प्रयोजीत अवस्थामा रिट जारी हुन नसक्ने हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१३. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ हेर्दा वन पैदावार विकास समितिले खोटो व्यवस्थापन आयोजना, अतरिया, कैलालीको दोश्रो चरणको निर्माण कार्यको लागि टेण्डर आव्हान गरेकोमा जम्मा तीन वटा बोलपत्र प्रस्तुत भएको, त्यसमध्ये निवेदकतर्फबाट रु.९०,३४,७०७।७२, प्रोम्ट कन्सट्रक्सनले रु.९७,१०,८३४ र विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.ले रु.९४,७८,३७७।९६ बोल अङ्क लेखी त्यसमा ९ प्रतिशत कम गर्ने भनी १ कलम र अथवा भनी सबभन्दा कम अङ्कको बोलपत्र भन्दा रु.२५,०००।– कममा काम गर्नेछु भनी भन्ने शर्त राखि बोलपत्र प्रस्तुत गरेकोमा त्यस्तो शर्त राखि पेश गरेको बोलपत्र बदर गरी बाँकी दुइवटा बोलपत्रमा मात्र कारवाही गर्नु पर्नेमा विजय कन्सट्रक्सन प्रा.लि.को बोलपत्र ग्रहण गरी स्वीकृत गरेको सम्पूर्ण कारवाही र तत्सम्बन्धी निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी बाँकी रहेका बोलपत्रहरूमा मात्र कारवाही गर्नु भनी विपक्षी आयोजनाका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर देखिन्छ ।
१४. विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.को जुन बोलपत्रलाई स्वीकार गरी सम्झौता गरिएको हो सो सम्झौता बमोजिमको आयोजनाको निर्माण कार्य समाप्त भई परीक्षण उत्पादन समेत भइसकेको छ भन्ने कुरामा दुवै तर्फका विद्वान अधिवक्ताहरू सहमत भएको पाइयो । सम्झौता बमोजिम कार्य सम्पन्न भइसकेको स्थितिमा विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.को बोलपत्र बदर भए पनि निवेदकले निर्माण कार्यको ठेक्का प्राप्त गर्नसकेको अवस्था रहँदैन । उत्प्रेषणको आदेश जारी गर्दा निवेदकको हक प्रचलन गर्नमा कुनै खास परिणाम उपलब्ध हुन सक्दैन र त्यसबाट निजलाई वास्तविक लाभ पनि पुग्न सक्दैन भने त्यस्तो निरर्थक हुन जाने रिट निवेदनको औचित्यतर्फ हेरी कानुनी काम राखी छोड्न नहुने भन्ने अभिप्रायले मात्र उत्प्रेषणको रिट जारी गर्न नमिल्ने भन्ने निवेदक विद्यानन्दप्रसाद शाह कलवार विरुद्ध बारा जिल्ला पञ्चायत समेत भएको रिट निवेदन (नि.नं. ५११ ने.का.प.२०२६ पृ.३३४) मा सर्वोच्च अदालत फुलबेञ्चबाट सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत रिट निवेदनमा पनि खोटो व्यवस्थापन आयोजनाको दोश्रो चरणको निर्माण कार्य, जुन कार्यको लागि विपक्षी विजय कन्सट्रक्सन प्रा.लि.संग सम्झौता गरिएको थियो, सो कार्य समाप्त भइसकेकोबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु निष्प्रयोजीत हुन जाने देखिन्छ ।
१५. अतः उपर्युक्त कारणहरूबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न निष्प्रयोजीत हुन जाने देखिएकोले निवेदकले जिकिर लिएको कुरामा विचार गर्न मिलेन तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । रिट निवेदन मिति ०४२।४।२४ मा खारेज हुने ठहराएको सम्म माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.हरगोविन्द सिंह प्रधान
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल कात्तिक २८ गते रोज ६ शुभम् ।