निर्णय नं. २८१२ - कर्तव्य ज्यान

निर्णय नं. २८१२ ने.का.प. २०४३ अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको फौ.फु.नं. ४४५, ४४६
सम्वत् २०४१ सालको फौ.सा.नं. २०१
फैसला भएको मिति : २०४३।७।५।४ मा
पुनरावेदक/प्रतिवादी : ताप्लेजुड्ड कारागारमा थुनामा रहेको धर्मानन्द अधिकारीसमेत
विरुद्ध
प्रत्यर्थी/वादी : टेकनाथ अधिकारीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष कैद हुने ।
(प्रकरण नं. ३३)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डाना विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी प्रतिवादी पुनरावेदकहरूको पुनरावेदन पर्न आई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ ।
२. मिति २०३८।४।१५ गतेका दिन ११ बजेको समयमा बुबा श्रीप्रसाद अधिकारी आफ्नै घर पछाडि गाई, भैंसी चराउँदै हुनुहुन्थ्यो । म १०।१२ गज पर गोरु जोद्दै थिएँ । सोही समय तेल्लोक गा.पं.को प्रधानपञ्च धर्मानन्द अधिकारी, बलराम, जीवनाथ, मनप्रसाद षडानन्द, जीतबहादुर थापा समेत छ जवान हातमा लाठी भाला लिई बुबा भएको ठाउँ आई विपक्षी मध्ये धर्मानन्द अधिकारी र जीतबहादुर बुबादेखि १५–२० गज पश्चिमपट्टि मकै बारीमा उभिएका र बलराम, जीवनाथ, षडानन्द, मनप्रसाद समेतलाई जा ठोक परे म व्यहोर्दछु भनी धर्मानन्दले वचन दिनासाथ उक्त ४ जना बुबा भएको पट्टि ढुंगा हान्न आक्रमण गरेपछि बुबाले ज्यान बचाउन खोज्दा षडानन्द अधिकारी र जीवनाथ २ जनाले बुबालाई पछाडिबाट च्याप्प समाते र मनप्रसादले भालाले हिर्काउँदै भुइँमा बसाए । बुबालाई त्यसो नगर भन्दै कराउँदै गर्दा बलराम अधिकारीले बायाँपट्टि कमरमा भिरेको अं.१ लामो चुपी निकाली किलकिलेमुनी रोपी बुबालाई भुइँमा लडाइदिए । मैले कराउँदा मानिसहरू आए । घटनास्थलमै बुबाको निर्मम तरिकाले हत्या भएको हुनाले ज्यानसम्बन्धीको कार्यवाही तथा सजायँ गरी पाउँ भन्ने समेतको व्यहोराको रामबहादुर अधिकारीको जाहेरी दर्खास्त ।
३. रुद्रघण्टीदेखि ३ इन्च मुनि घाँटीमा १½ इन्च लामो १ इन्च चौडा ६½ इन्च गहिराई धारिलो हतियारले रोपेको घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
४. किलकिले देखि ३ इन्च मुनि डेढ इन्च लम्बाई एक इन्च चौडाई र ६ इन्च गहिराई भएको र निलो रंगको रगत बगिरहेको भन्ने हेल्थ पोष्टको पोष्टमार्टम रिपोर्ट ।
५. मृतक श्रीप्रसादकी जेठी श्रीमती हिमादेवी भतिजी पार्वती कान्छी श्रीमती लक्ष्मीदेवी छोरा ऋषिराम भतिजा इन्द्रमणि पुष्पलाल समेतले २०३४ साल पूर्णिमा देखि एक अर्कोका इर्ष्या रहेको सोही कारणबाट यी प्रतिवादीहरूले बचन दिई कुटपिट गरी मारेका हुन भन्ने हिमादेवीले गरेको कागज ।
६. मिति २०३८।४।१४ गते अं.११ बजेको समयमा दाजु जीवनाथ, बलराम, षडानन्दको घर मुनि झरे । बुबा धर्मानन्द र जीतबहादुरले चुठुवासिरेलाई मारमार भन्दै थिए । षडानन्द र जीवनाथले च्याप्प समातेछन् म घटनास्थलमा नै हुँदै दाजुले कुट कुट भनेपछि भाटाले कुट्न लागे । दाजु बलरामले चुपीले रोपेछ । सोही चोटबाट मुत्यु भयो भन्ने समेत व्यहोराको मदनप्रसाद अधिकारीले प्रहरीमा गरेको कागज ।
७. मिति २०३८।४।१५ गते अं.११ बजे प्रधानपञ्च धर्मानन्द, जीतबहादुरले दिएको आदेश बमोजिम म र जीवनाथले पछाडिबाट समाई मनप्रसादले भाटाले हिर्काई बलरामले चुपीले रोपेबाट जि.पं.स.को हत्या भएको हो भन्ने समेत व्यहोराको षडानन्द अधिकारीले प्रहरीमा गरेको कागज ।
८. श्रीप्रसाद अधिकारी आफ्नै घर पछाडि भैंसी चराउँदै गरेको अवस्थामा म र जीतबहादुरले जि.पं.स. लाई ठोक परे म व्यहोर्छु भन्नासाथ जीवनाथ र षडानन्दले समाते मदनप्रसादले कुट्दै गर्दा बलरामले बाँयापट्टि कम्मरको चुपी झिकी मृतकको किलकिले मुनि रोपी मारे भन्ने व्यहोराको धर्मानन्द अधिकारीको प्रहरीमा गरेको कागज ।
९. धर्मानन्दले श्रीप्रसादलाई मार भनी बचन दिँदा म पनि साथै छु । षडानन्द र जीवनाथले मृतक जि.पं.स. लाई पछाडिबाट च्याप्प समाते पछि मदनप्रसादले भाटाले पिटे त्यत्तिकैमा बलरामले बायाँपट्टि कम्मरमा भिरेको चुपी झिकी किलकिले मुनि रोपी मारेको हो भन्ने जीतबहादुर थापाले प्रहरीमा गरेको कागज ।
१०. धर्मानन्दले जीतबहादुरको आदेशबाट बलराम समेतका प्रतिवादीहरू लिई मृतक जि.पं.स.लाई चुपीले रोपी मारे । सो अवस्थामा मृतकको जेठी श्रीमती रगतपक्ष भइराखेको देखेको छु । यसमा शिवशंकर समेतको सहमत छ भनी जिमदार टेकबहादुर लिम्बुको सरजमीनमा गरेको कागज ।
११. श्रीप्रसादलाई मार्ने षडयन्त्रमा मेरो केही सहमत छैन । म निर्दोष छु । जाहेरीमा उल्लिखित व्यक्तिहरूकै मात्र षडयन्त्रबाट निज मृतकको मृत्यु भएको हो भनी शिवशंकर नेपालले प्रहरीमा गरेको कागज ।
१२. घटनास्थलमा जाँदा मृतकको किलकिले मुनी भूल भूल रगत बगिरहेको थियो । मृतकको मृत्यु जाहेरीमा उल्लिखित व्यक्तिहरूको षडयन्त्रबाटै भएको हुनसक्छ भन्ने समेत व्यहोराको डिल्लीराम बानियाँ क्षेत्री समेतको सरजमीन मुचुल्का ।
१३. मृतक श्रीप्रसाद धर्मानन्द समेतकै षडयन्त्रबाट कर्तव्य परी मरेका हुन भन्ने समेत व्यहोराको खगीमाया, हेमराज, प्रकाश, बलराम, राधा, पूर्णमाया, मनमाया र लक्ष्मीप्रसाद समेतको प्रहरीमा भएको कागज ।
१४. जि.पं.स. उपर प्रतिवादीहरूले प्रतिशोधको भावना लिई कुटपिट गरी बलरामले मृतकको किलकिले मुनि चुपी रोपी मृतक श्रीप्रसादको हत्या गरेको प्रमाणित हुनआएकोले मुख्य हत्यारा प्रतिवादी बलराम उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय १ अनुसार र भाटाले कुटपिट गर्ने प्रतिवादी मनप्रसाद उपर ऐ.को १३ नं. को देहाय ३ अनुसार षडयन्त्रकारी प्र.पं.धर्मानन्द अधिकारी, जीतबहादुर थापा ज्यान मार्नमा मुख्य भई वचन दिने मार्नलाई सहयोग पुर्याउने प्रतिवादी षडानन्द र जीवनाथ समेत ४ जना उपर ऐ.१३ को देहाय (४) बमोजिम कारवाही भई सजायँ हुन र मुख्य हत्यारा बलराम, जीवनाथ समेत गाउँ घर छाडी बेपत्ता भएकोले निजहरूको हकमा समेत कानुन बमोजिम हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१५. मिति २०३८।४।१५ गतेको दिन म.प.क्षे.अ. धनकुटामा तारिखमा जानु भनी ताप्लेजुड्डतर्फ गई बाबु भट्टराईको घरमा बसेको हुँ । जि.पं.स.लाई बलरामले मारेको भन्ने कुरा षडानन्दबाट सुनें । प्रहरीको कागज इच्छा विरुद्धको हो भन्ने व्यहोराको अभियुक्त धर्मानन्द अधिकारीले अदालतमा गरेको बयान ।
१६. मिति २०३८।४।१५ गते मृतक श्रीप्रसादलाई दाजु बलरामले घाँटीमा चुपीले रोपी मारेको हो । प्रतिवादी धर्मानन्द र जीतबहादुर घटनास्थलमा थिएनछ भन्ने समेत व्यहोराको मनप्रसादले अदालतमा गरेको बयान ।
१७. मृतक श्रीप्रसादलाई मार भनी कसले वचन दिएको हो मैले सुनिन । मृतकलाई प्रहरी प्रतिवेदन दावी अनुसार मैले हात समाई मार्नलाई सहयोग पुर्याएको र मद्दत गरेको समेत होइन भन्ने समेत व्यहोराको षडानन्द अधिकारीको अदालतमा बयान ।
१८. मिति २०३८।४।१५ गते म घटनास्थलमा थिइन । साउन १४ गते म ताप्लेजुङ्तर्फ आएको हुँ । मृतकलाई मार्न मेरो कुनै षडयन्त्र छैन । प्रहरीमा गरेको कागज मैले नसुनि सही गरेको हुँ भन्ने समेतको व्यहोराको जीतबहादुर थापाले अदालतमा गरेको बयान ।
१९. मिति २०३८।४।१५ गते म मेरो बारीमा गोरु जोतिरहेको अवस्था बलराम समेत ६ जना प्रतिवादीहरू मध्ये जीतबहादुर र धर्मानन्दले मेरो बुबा श्रीप्रसादलाई मार भन्ने बचन दिनासाथ षडानन्द, जीवनाथ, मदनप्रसाद र बलराम समेतले समाती हिर्काई चुपीले रोपी मारे, मैले गुहार भनी कराउँदा बलरामले चुपी लिई मलाई पनि खेदे । निज प्रतिवादीहरूले बुबालाई निर्मम पूर्वक हत्या गरिसकेपछि चदुवा मुख्यलाई मार्यौ भन्दै दक्षिणतिर भागे भन्ने समेत व्यहोराको जाहेरवाला टेकनाथ अधिकारीले अदालतमा गरेको बयान ।
२०. मिति २०३८।४।१४ गते १० बजे म शिकैजा कामीको घरमा थिएँ । मृतकको जेठी श्रीमतीले मृतकको टाउको समातेकी थिइन भन्ने समेत व्यहोराको इन्द्रमणी अधिकारीले अदालतमा गरेको बयान ।
२१. म मकै भाँच्दै थिएँ । टेकनाथले गुहार गुहार भनी कराएको सुनी म पनि घटनास्थलमा गएँ । बलरामले श्रीप्रसादको घाँटीमा छुरीले रोपी मृतक श्रीप्रसादको हत्या गरी बलराम समेत घटनास्थलबाट भागे । धर्मानन्द, जीतबहादुर, षडानन्द, मनप्रसाद, बलराम, जीवनाथ समेत भई मेरो स्वामी श्रीप्रसादलाई मारेका हुन भन्ने समेत व्यहोराको लक्ष्मी अधिकारीले अदालतमा गरेको बयान ।
२२. प्रतिवादी मध्येका बलराम अधिकारी र जीवनाथ अधिकारीका हकमा मुलतवी रहने र निश्चित सबूदको अभावमा शंकाको भरले बचन दिएको पुग्न नसकी यो अभियोगबाट प्रतिवादी धर्मानन्द अधिकारी, जीतबहादुर थापाले सफाई पाउने ठहर्छ । प्रतिवादी षडानन्द अधिकारी १ मदनप्रसाद अधिकारी १ समेतले ज्यानसम्बन्धीको १७(२) को अपराध गरेको मिसिलबाट प्रमाणित हुनआएकोले जनही कैद वर्ष ५ को हुने ठहर्छ भन्ने समेत व्यहोराको ताप्लेजुड्ड जिल्ला अदालतको जाहेरी फैसला ।
२३. प्रतिवादी धर्मानन्द अधिकारी र जीतबहादुर थापाका हकमा सफाई दिने गरी र अरु प्रतिवादीहरूका हकमा घटी सजायँ गर्ने गरी गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारतर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
२४. अ.बं. २०२ नं.बमोजिम प्रतिवादीहरूलाई सूचना दिई पेश गर्नु भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको आदेश ।
२५. अभियुक्त मदनप्रसाद अधिकारीले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र षडानन्द अधिकारीलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद र धर्मानन्द अधिकारीलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम र जीतबहादुर थापाको हकमा जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।५।१३।२ को फैसला ।
२६. अधिकांश सरजमीनमा व्यक्तिहरूले अदालत समक्ष बकपत्र गर्दा सरजमीनमा इच्छा विरुद्ध पोल गर्न लगाएको हो वारदात स्थलमा प्रतिवादी धर्मानन्द, जीतबहादुर देखिनु अगाडि नै ताप्लेजुड्ड गएको थिएँ भनी लेखी दिएको पाइन्छ । साथै प्रतिवादी जीतबहादुर तथा धर्मानन्द अधिकारीले मृतक श्रीप्रसादलाई मार्ने बचन दिएको भन्ने समेत शंकारहित तवरबाट पुष्टि भएको नदेखिँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयसंग सहमत हुन नसकिएबाट छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालत डिभिजनबेञ्चको आदेश ।
२७. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकहरू तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना विद्वान अधिवक्ता श्री शम्भू थापा समेतले र श्री ५ को सरकारतर्फबाट बहसको लागि खटिई आउनु भएको विद्वान समकारको सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्यतया पू.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
२८. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०३८।४।१५ गतेको दिन मेरो बुबा श्रीप्रसाद अधिकारी आफ्नै घर पछाडि गई गाई भैंसी चराउँदै हुनुहुन्थ्यो । म अन्दाजी १०–१२ गज पर गोरु जोत्दै थिएँ सोही समयमा तेल्लोक गाउँ पञ्चायतको प्रधानपञ्च धर्मानन्द अधिकारी, बलराम, जीवनाथ, मोहनप्रसाद, षडानन्द, जीतबहादुर थापा समेतले हातमा लठ्ठी भाटा लिई मेरो बुबा भएको ठाउँमा आई विपक्षी मध्येको धर्मानन्द र जीतबहादुर बुबा देखि १५–२० गज पश्चिमपट्टी मकैवारीमा उभिएका थिए । धर्मानन्दले बलराम, जीवनाथ, षडानन्द, मोहनप्रसाद समेतलाई मार भन्ने बचन दिनासाथ निज ४ जनाले ढुड्डा लठ्ठीले प्रहार गर्न थाले त्यसपछि षडानन्द अधिकारी र जीवनाथ २ जनाले मृतक बुबालाई पछाडिबाट समाती सकेपछि मोहनप्रसादले भाटाले हिर्काए बलराम अधिकारीले १ बित्ता जति लामो चुपी निकाली किलकिलेमा रोपिदिएपछि बुबा लड्नु भयो । यसरी निर्मम तरिकाले विपक्षी जीवनाथ, षडानन्द, मोहनप्रसाद, धर्मानन्द र जीतबहादुरले मेरो बुबाको हत्या गरेको हुँदा ज्यानसम्बन्धी महल बमोजिम सजायँ गरी पाउँ भन्ने जाहेरी दर्खास्तको आधारमा प्रस्तुत मुद्दाको कारवाही उठेको पाइन्छ ।
२९. रुद्रघण्टी देखि ३ इन्च मुनि घाँटीमा १½ इन्च लामो १ इन्च चौडा ६½ गहिराई धारिलो हतियारले रोपेको घाउ भएको भन्ने मिति २०३८।४।१८ को लाश प्रकृति मुचुल्का र किलकिले देखि ३ इन्च मुनी डेढ इन्च लम्बाई १ इन्च चौडाई र ६ इन्च गहिराई साथै उक्त घाउको छेउ प्रष्ट भएको र नीलो रंगको रगत बगिरहेको भन्ने मिति २०३८।४।१८ को तेल्लोक हेल्थ पोष्टको पोष्टमार्टम रिपोर्ट भएको कुरा मिसिल संलग्न प्रमाणपत्रबाट देखिन आएको छ ।
३०. लाश प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टको आधारबाट मृतक श्रीप्रसादको मृत्यु कर्तव्यबाट भएको रहेछ भन्ने कुरामा शंका देखिन आउँदैन । अब कस कसको कर्तव्यबाट निजको मृत्यु भएको रहेछ भन्नेतर्फ हेर्दा मृतकको सहोदर छोरा घटना घटेको केवल १५–२० गज पर रहेको अवस्थामा धर्मानन्द अधिकारी मृतकलाई मार भन्ने वचन दिएको र यी प्रतिवादीहरूले ढुड्डा र चुपी समेत प्रहार गरी मारेको कुरा किटानी रुपमा उल्लेख गरिएको पाइन्छ । अभियुक्त मध्ये बलराम अधिकारी र जीवनाथ अधिकारी फरार रहेको हुँदा निजहरूको सम्बन्धमा जिल्ला अदालतले मुलतबी राखेको हुँदा केही गरी रहन परेन ।
३१. अब अन्य अभियुक्त षडानन्द अधिकारी मोहनप्रसाद अधिकारी, धर्मानन्द अधिकारी र जीतबहादुर थापाको हकमा हेर्दा निज अभियुक्तहरू प्रहरी समक्ष आफू वारदातमा समेत रहेको र सो वारदातमा संलग्न थिए भन्ने कुरा आफैंले पूर्णरुपमा स्वीकार गरेका छन् भने अदालतमा बयान गर्दा आफू सो वारदातमा नरहेको र अन्य ठाउँमा थियौं भनी इन्कारी रहेको पाइन्छ । अभियुक्तहरूको केवल अदालतमा इन्कारी रहेको मात्र पनि कतिसम्म सद्दे रहेको छ सो कुरा मुख्य रुपमा हेर्नु पर्ने हुनआएको छ । सर्वप्रथम अभियुक्त मध्येका षडानन्द अधिकारीको हकमा हेर्दा निज प्रहरीमा आफू वारदातमा संलग्न भएको कुरामा पूर्णरुपमा मृतकलाई पछाडिबाट समाएकोमा साविति छन् जाहेरवालाले किटानी रुपमा निजको नाम उल्लेख गरेको निजको छोरा लगायत छातामा लागेको रगत समेतले निज वारदातमा संलग्न रहे भएको कुरा पुष्टि हुनआएको छ । मृतक र निज अभियुक्तको बीचमा ईवीलाग रहेको भन्ने कुरा सार्वजनिक अपराध र गाली बेइज्जती मुद्दा समेतबाट पुष्टि हुनआएको छ । अतः प्रहरीमा निजको साविति डर धाक त्रासबाट गरेको हुँ भन्ने निजको भनाई समेत नहुँदा निजलाई ज्यानसम्बन्धी महलको १३(४) अन्तर्गत सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब नै देखिन्छ ।
३२. मोहनप्रसाद र धर्मानन्द अधिकारीको हकमा हेर्दा निजहरू उपर पनि जाहेरवालाको प्रष्टरुपमा उल्लेख गरेको र निजहरू प्रहरी समक्ष पूर्णरुपमा साविति रहेका छन् । मोहनप्रसाद अधिकारीले धर्मानन्दले मार भन्नासाथ मैले भाटाले कुटेको हुँ भनी प्रहरीमा पूर्ण रुपले साविति छन् भने अदालतमा बयान गर्दा मृतकलाई दाजु बलरामले घाँटीमा छुरा हानेका हुन भनी किटानी प्रष्ट भनेकोबाट निज वारदातमा संलग्न रहे भएको कुरालाई अदालतमा समेत स्वीकार गरेकोबाट पनि सावितै देखिन्छ, लाशको पोष्टमार्टम रिपोर्ट हेर्दा मृतकको जिउमा अनेक निलडाम भएको प्रष्टरुपमा देखिई रहेकै छ । अतः निज वारदातमा संलग्न थिएन भनेर भन्न सकिने स्थितिको छैन । त्यस्तै अर्को अभियुक्त धर्मानन्द अधिकारीले आफू मुख्य भई मृतकलाई मार भनी बचन दिएको कुरा प्रहरी समक्ष पूर्णरुपमा साविति भएका छन् तर अदालतमा बयान गर्दा भने कहिले आफू ताप्लेजुड्डतर्फ रहेको र कहिले सो वारदात घटेको दिन २।। कोष परको माथिल्लो घरमा थिएँ भनी असमानजस्य बयान गरेका छन् । निजले वचन दिएको कुरा जाहेरवालाले प्रष्टरुपमा किटानी उल्लेख गरेका छन् भने अन्य अभियुक्तहरूले प्रहरीमा बयान गर्दा सो कुराको पुष्टि गरेको मिसिलमा उल्लेख भएको पाइन्छ । मृतक र निज धर्मानन्द अधिकारी एउटै दाजु भाइ भए तापनि निजहरूमा पहिला देखि नै बैमनस्य रहेको र यिनै धर्मानन्द समेत उपर शंका देखाई पहिल्यै आफ्नो ज्यानको सुरक्षा गरी पाउँ भनी मृतकले निवेदन गरेको र मिसिल संलग्न प्रमाणको लागि दाखिल भएको मृतकको नोटबुकबाट समेत देखिई नै रहेको छ । यिनी धर्मानन्दको आफ्नै श्रीमती र मोहनप्रसादको आमा मनमायाले पनि लोग्ने धर्मानन्दलाई शुरु कागजमा अपराधी देखाएको पाइन्छ । वारदात घटेपछि धर्मानन्द भाग्दै गरेको कुरा पुष्पलाल समेतले अदालतमा आई बकपत्र गर्दा समेत लेखाई दिएका छन् । तसर्थ धर्मानन्द अधिकारी वारदातमा संलग्न थिएन भन्ने कुरा देखिन आउँदैन । अतः प्रतिवादी धर्मानन्द अधिकारी र मोहनप्रसाद समेतलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैदको सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएकोले सदर हुने ठहर्छ ।
३३. अब अर्को अभियुक्त जीतबहादुर थापाको हकमा विचार गर्दा धर्मानन्द अधिकारीले मृतकलाई मार भन्ने बचन दिँदा साथैमा थिएँ भन्ने कुरा जाहेरी दर्खास्तबाट प्रष्टरुपमा देखिन आएको छ, निजले प्रहरीमा बयान गर्दा समेत आफू घटनामा साथै रहेको भन्ने कुरा प्रष्टरुपमा उल्लेख गरेका छन् । अदालतमा बयान गर्दा भने आफू वारदातमा नभएको र आफू ताप्लेजुड्डतर्फ गएको थिएँ भनी भनेको पाइन्छ तापनि प्रहरीमा गरेको कागज नसुनी गरेको हुँ भनी इन्कार रहे पनि निजको इन्कारी बाहेक सो इन्कारीको प्रमाण पुर्याउन सकेको पाइँदैन । मृतक र निज अभियुक्तको पहिला देखिको रीसइवी थियो भन्ने कुरा मिसिल प्रमाणबाट देखिन आएको छ । निजले मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट निज समेत ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा निज जीतबहादुरलाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ कैद वर्ष हुने ठहर्छ । निज जीतबहादुरलाई ज्यान मार्नमा बचन दिई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद हुने सम्म ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्यती हदसम्म केही उल्टी हुन्छ । अभियुक्तहरूको पुनरावेदन परी फैसला भएको हुँदा साधक नं. २०१ नं.लगत कट्टा गरी तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
अभियुक्त जितबहादुर थापाले यस्मा माथि इन्साफ खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धी महलको १३(४) नम्बर बमोजिम जन्मकैद हुने सम्म ठहराएको फैसला केही उल्टी भई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष मात्र हुने भई फैसला भएको हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाले जन्मकैद गर्ने गरेको फैसलाको लगत कट्टा गरी यस अदालतको फैसला बमोजिम ५ वर्ष कैदको मात्र लगत राख्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...........१
पुनरावेदक प्रतिवादी जीतबहादुर थापाले माथि इन्साफ खण्डमा लेखिए बमोजिम ज्यानसम्बन्धीको १६ नं. बमोजिम जन्मकैद वर्ष ५ पाँच हुने ठहरेको र निज २०३८।४।२० देखि थुनामा रहेको देखिँदा ५ वर्ष भन्दा बढी नै कैदमा बसी सकेको देखिन आएकोले निजलाई यस मुद्दामा बाहेक अरु मुद्दामा थुनामा राख्न नपर्ने भए थुनाबाट मुक्त गरी दिनु भनी निज थुनामा रहेको कारागारलाई लेखी पठाई दिनु भनी शुरु ताप्लेजुड्ड जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु............२
मिसिल नियमानुसार गरी बुझाई दिनु.................................३
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४३ साल कार्तिक ५ गते रोज ४ शुभम् ।