शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८१३ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: मंसिर अंक:

निर्णय नं. २८१३     ने.का.प. २०४३       अङ्क ८

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको रिट नम्बर २१६७

आदेश भएको मिति : २०४३।७।१४।६ मा

 

निवेदक : का.न.पं.वडा नं.थापाथलीस्थित सरस्वती होजियरी इण्डस्ट्रिजका प्रोप्राइटर सागरमान अग्रवाल

विरुद्ध

विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय काठमाडौं

 

विषय : उत्प्रेषण

 

(१)         घरेलु उद्योगको रुपमा दर्ता भई उत्पादन शुरु गरेको देखिन आएको उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइने ।

(प्रकरण नं. ८)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिराम कुमार

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ ।

२. घरेलु तथा ग्रामीण उद्योग विभागमा मिति २०४०।१।१६ मा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४२।९।१८ देखि उत्पादन शुरु गरेर औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) लगायत अन्य प्रचलित नेपाल कानुनले प्रदान गरेको अन्तःशुल्क सुविधा समेत रिट निवेदकले उपभोग गर्न पाउने हो तापनि अब ५ वर्ष नपुगेको घरेलु उद्योगलाई पनि अन्तःशुल्क लाग्छ भनी प्रत्यर्थीले जोड दिन थाल्दै ५ प्रतिशतको दरबन्दीले मिति ०४१।३।२६ को नेपाल राजपत्रको शिर्षक १५४  अन्तर्गत अन्तःशुल्कलाई भन्दै अन्तःशुल्क बुझाउनोस् भनी ताकिता गर्न थाल्नु भयो । उक्त ऐनको दफा १०(ग) को देहाय १ र ४ नं.को प्रतिबन्धात्मक वाक्यांशले रिट निवेदक घरेलु उद्योगलाई उत्पादन शुरु तथ्य सञ्चालन मिति २०४२।९।१८ देखि ५ वर्षको लागि अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था गरेको छ । अन्तःशुल्क छुट पाउने उद्योगले पनि दर्ता गरी सामाजिक प्रगति विवरण सबै स्थानीय अन्तःशुल्क कार्यालयमा राख्‍नु पर्ने माथि उल्लिखित मिति २०४१।३।२६ को सूचनाले तोकेकोले मात्र मिति २०४२।९।१८ प्रत्यर्थी कार्यालयबाट इजाजत लिनु परेको थियो । रिट निवेदकलाई अन्तःशुल्क बुझाउनु पदर्छ भन्न थाल्यो पछि सोको विरुद्ध तुरुन्तै प्रत्यर्थी कार्यालयमा सम्पर्क राखी यो उद्योगले हाल अन्तःशुल्क तिर्न पर्ने होइन भनी छलफल गर्दा यस्तै विषय बस्तु भएमा अन्य घरेलु उद्योगहरु रिट निवेदकहरु भएका कैयौं केशहरूमा उत्पादन शुरु मितिदेखि ठिक ५ वर्षको लागि अन्तःशुल्क छुट पाउने गरी रिट जारी भएको छँदा छँदै पनि म निवेदकलाई छुट दिई नाम उजूर गर्दै हुनुहुन्छ । अतः रिट निवेदकको उद्योगले ५ वर्षसम्म अन्तःशुल्क छुट पाउने कुरा निम्न जिकिरमा उल्लेख गरेको छु :

३. जिकिरः रिट निवेदकले उत्पादन शुरु तथा सञ्चालन मितिदेखि ठिक ५ वर्षको लागि अन्तःशुल्क सुविधा औद्योगिक व्यवसाय ऐन, ०३८ अन्तर्गत पाउने भन्ने निश्चित छ । औ.व्य.ऐन, ०३८ को सामुन्ने सूचित आदेश वा सूचनाको गौण स्थान रहन्छ । जबसम्म औ.व्य.ऐन, २०३८ को दफा १०(ग)(१) तथा (४) को प्रतिबन्धात्मक वाक्यांशमा अन्यथा अर्थ निस्कने गरी विधायिकाबाट संशोधन हुन सक्दैन तबसम्म रिट निवेदकले ५ वर्षसम्मको लागि निर्विवाद रुपमा अन्तःशुल्क छुट पाउन सुनिश्चित छ । मिति २०४१।३।२६ को नेपाल राजपत्रमा प्रकाशित सोही सूचनाको अन्तरिमले दिएको प्रतिबन्धात्मक वाक्यांशको देहाय खण्ड ४ समेत औद्योगिक व्यवसाय ऐन, ०३८ ले घरेलु उद्योगलाई दिएको पूरा अवधिको अन्तःशुल्क सुविधामा कुनै प्रतिकूल असर पुर्‍याएको छैन । मिति २०४०।१।६ मा मौजूदा ऐनको अधीनमा रही तदनुकूल सुविधा समेत उपभोग गर्न पाउने गरी योजना तथा कार्यक्रम अघि बढाई औद्योगिक लगानी गर्न थाली उत्पादन शुरु मिति २०४२।९।१८ गते देखि गर्नसकेको हो । तत्कालै शुरु हुनसक्ने व्यापारिक लगानी जस्तो औद्योगिक लगानी होइन । उपयुक्त प्रकरणहरूमा दर्साइए अनुसार प्रत्यर्थीहरूको मिलोमतो पूर्ण अवैध एवं दोषपूर्ण काम कारवाही सूचना प्रकाशित गराई तथा पत्र लेखाई समेतले निवेदकको संविधानको धारा १०(१) द्वारा अभिनिश्चित कानुनी समानताको हक धारा ११(२)(ङ) तथा धारा १५ को सम्पत्ति सम्बन्धी मौलिक हक लगायत धारा ५८ औ.व्य.ऐन, २०३८ को दफा १०(ग)(१) तथा (५) को प्रतिबन्धात्मक वाक्यांश लगायतका नागरिक अधिकार ऐन, २०१२ को प्रत्याभूत गरेको कानुनी हक समेतको प्रचलनमा आवश्यक भएकोले अन्य कानुनी उपचारको मार्ग समेत नभएको हुँदा धारा १६ तथा ७१ अन्तर्गत सविनय निवेदन गरेको छु । तसर्थ संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी संचालन मिति २०४२।९।१८ देखि ५ वर्षको लागि अन्तःशुल्क छुटको सुविधा पाउने गरी निवेदकको पूर्ववत कानुनी हकहरू संरक्षित र प्रचलित गरी पाउँ भन्ने रिट निवेदन ।

४. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश ।

५. अन्तःशुल्क ऐन, २०१५ को दफा ३ को दायरा भित्र परेका अन्तःशुल्क लाग्ने बस्तुहरू उत्पादन गर्ने औद्योगिक प्रतिष्ठानहरूले सोही ऐनको दफा ४ बमोजिम बाहेक अन्तःशुल्क लाग्ने पदार्थ बनाउन पैदा गर्न खरीद गर्न र थन्क्याई राख्‍न समेत नपाउने गरी बन्देज गरेको छ । यस ऐनको मर्यादानुकूल सरस्वती होजियारी इण्डष्ट्रिजले सो उद्योग सञ्चालनको लागि मिति २०४२।९।१७ गते दर्ता गराएको दर्खास्तको आधारमा यस अन्तःशुल्क कार्यालयबाट उक्त उद्योगलाई नाइलन वा कृत्रिम रेशमी सामान बनाउन वा पैदा गर्न पाउने गरी मिति २०४२।९।१८ गते इजाजत प्रदान गरिएको छ । यस अनुसार उक्त उद्योगले मिति २०४२।९।१८ गते इजाजत अनुसार उक्त उद्योगले मिति २०४२।९।१ गते इजाजत प्रदान भएको छ । यस अनुसार उक्त उद्योगले मिति २०४२।९।१८ गतेबाट मात्र आफ्नो उत्पादन शुरु गरी सर्वप्रथम सञ्चालन मिति किटानी गरेको देखिन्छ । औ.व्य.ऐन, २०३८ को दफा १०(ग) को उपखण्ड (१) अनुसार घरेलु उद्योगलाई सञ्चालन मितिदेखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन, भन्ने व्यवस्था भएको छ तर, सोही ऐनको दफा १० खण्ड (ग) को उपखण्ड (४) को प्रतिबन्धात्मक वाक्यांश अनुकूल नेपाल राजपत्र भाग ३ खण्ड ३३ अतिरिक्ताङ्क १०(च) मिति २०४०।३।२६ गते प्रकाशित अर्थ मन्त्रालयको सूचना र नेपाल राजपत्र भाग ३ खण्ड ३३ अतिरिक्ताङ्क १३(घ) मिति २०४०।४।१ गते उद्योग मन्त्रालयबाट प्रकाशित सूचना अनुसार सिन्थेटिक यार्न र सो मा आधारित उत्पादनमा औ.व्य.ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) अनुसार अन्तःशुल्क छुट नदिने गरी तोकेको छ । तसर्थ उपरोक्त प्रकरण (१) मा उल्लेख भए बमोजिम २०४२।९।१८ गते देखि आफ्नो उत्पादन प्रारम्भ गरेको सरस्वती होजियारी इण्डस्ट्रीजले औ.व्य.ऐन, २०३८ को दफा १० खण्ड (ग) को उपखण्ड (१) ले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनु पर्दछ भन्ने जिकिर सोही ऐनले मर्यादा विपरीत छ ।

६. उपरोक्त मौजूदा कानुनको मर्यादा र अन्तःशुल्क ऐन, २०१५ संशोधन सहितको दफा ३(१) ले प्रदत्त अधिकार अन्तर्गत नेपाल राजपत्र भाग ३ खण्ड ३४ अतिरिक्ताङ्क १८(क) मिति २०४१।३।२६ गतेको अर्थ मन्त्रालयबाट प्रकाशित सूचना अनुसार कृत्रिम रेशाबाट तयार गरिएको होजियारी सामानमा मो.प्र.श. ५ प्रतिशतका दरले मिति २०४१।३।२६ गते देखि अन्तःशुल्क लगाई असूल उपर गरिनेछ भन्ने प्रष्ट व्यवस्था भए प्रष्ट बमोजिम सिन्थेटिक यार्न (कृत्रिम रेशामा) आधारित होजियारी सामानको उत्पादनमा अन्तःशुल्क लगाई आएको हो । अन्तःशुल्क तिर्न बुझाउनु पर्छ भन्ने स्पष्ट ज्ञान भएका रिट निवेदकले राजश्व दुरुपयोग गर्ने प्रकृति लिएको स्पष्ट हुन आउँछ । उपरोक्त प्रकरणहरूमा उल्लेख भए बमोजिम मौजूदा कानुन बमोजिम सिन्थेटिक यार्न (नाइलन यार्न) समेतमा आधारित होजियारी सामान उत्पादनमा अन्तःशुल्क लागी आएकोले होजीयारी सामान उत्पादनमा अन्तःशुल्क नलाग्नु पर्ने भन्ने रिट निवेदकको निवेदनको जिकिर प्रचलित कानुनी मनसाय एवं मर्यादा अनुकूल नभई आधारित तथा अप्रासंगिक भएको सो रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको अन्तःशुल्क कार्यालय काठमाडौंको लिखितजवाफ ।

७. नियम बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री बलिराम कुमार समेतले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

८. यसमा निवेदकको सरस्वती होजियारी इण्डस्ट्रीज घरेलु तथा ग्रामीण उद्योग विभागमा मिति २०४०।१।१६ मा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४२।९।१८ देखि उत्पादन शुरु गरेको देखिन आएको छ । यस्तो उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्ष सम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइन्छ ।

९. निवेदकको उद्योग सम्बन्धमा पनि सोही औ.व्य.ऐन, २०३८ को दफा १२(ग) बमोजिम सञ्चालन मितिदेखि ५ वर्ष सम्मको लागि अन्तःशुल्क नलाग्ने नै  व्यवस्था भएको देखियो । साथै औ.व्य.ऐन, २०३८ को दफा १०(ग) को (४) को प्रतिबन्धात्मक वाक्याँशमा र खण्ड (१) (२) र (३) बमोजिम सुविधा पाएको उद्योगले यस्तो सुविधा पूर्ण अवधिभर पाउने छ, भन्ने उल्लेख भएको समेत देखिँदा निवेदकको होजियारी इण्डस्ट्रीजले पनि सो सम्बन्धमा वर्तमान प्रचलित औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम ५ वर्ष सम्मको लागि अन्तःशुल्क छुटको सुविधा पाउने नै देखिँदा रिट निवेदकको उद्योग सम्बन्धमा अन्तःशुल्क बारे लेखिएका विपक्षीका पत्र व्यवहार सम्पूर्ण उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४३ साल कार्तिक १४ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु