निर्णय नं. २८१४ - सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते

निर्णय नं. २८१४ ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको फौ.पु.नं. ६६६, ६६५
फैसला भएको मिति : २०४३।७।२४।२ मा
पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला सपही गा.पं.वडा नं.५ बस्ने महावीरप्रसाद सुडी
विरुद्ध
विपक्षी/वादी : बासुदेव सुडीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते
(१) पुनरावेदकले कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था नभएकोले पुनरावेदकलाई बिगो बमोजिम जरिवाना र कैद गर्ने गरेको इन्साफ मिलेको देखिएन । कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद गर्ने गरेको सम्म इन्साफ नमिलेको ।
(प्रकरण नं. २५)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ ।
२. महावीर शाह, विन्देश्वर शाहसंग धर्मपुत्र बकसपत्रको कागज कीर्ते मुद्दा र सियाशरण ठाकुरसंग लिखत पारित मुद्दाको पुनरावेदन तथा म.क्षे.अ.मा कारवाही चलिराखेको भुल्ली सुडीनको ल्याप्चे सहिछाप जचाँउने अदालतको आदेशानुसार विपक्षीहरूले धनी जनक शाह, ऋणी भुल्ली सुडीन भएको मिति २०२१।१२।२३ मा पास भएको लिखत कागज महोत्तरी मालबाट कीर्ते गरी पठाउनु सफल भए बमोजिम निजहरूले मालपोत कार्यालयका हाकिम जगन्नाथ ठाकुर ख.वैद्यनाथ मिश्र अर्दली जानकीलाल कायस्थलाई मिलाई रामचन्द्र बहडी धनी ऋणी भुल्ली सुडीन भएको मिति २०२१।१२।२३ को पास भएको रजिष्ट्रेशन लिखत कीर्ते गरी मिति २०३५।९।२५ गते मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाएकोले कानुन बमोजिम गरी पाउँ भनी बासुदवेले हुलाकद्वारा पठाएको जाहेरी दर्खास्त ।
३. तीनै वटा लिखतहरूमा हाकिम कारिन्दाको छाप दस्तखत हरफ लिपी समेत मिल्दैन फरक देखिन्छ भन्ने प्रहरी प्रधान कार्यालय रेखा संग्रहालय शाखाको मिति २०३६।७।२० को जवाफपत्र ।
४. अभियुक्त शिवाशरणको कागज गराउँदा मैले आफ्नो मुद्दामा विन्देश्वरलाई वारिश राखेको थिएँ । विन्देश्वरले लिखतको नक्कल लिए लिएनन्, सक्कल कागज निजले गरेको हो, होइन मलाई थाहा छैन भन्ने समेत व्यहोराको शियाशरण ठाकुर बडहीको कागज ।
५. जनक शाहु तथा रामचन्द्र बडहीवाला कागजको नक्कल दिएको याद छैन सक्कल कागज मध्यमाञ्चल क्षत्रीय अदालतमा पठाएको श्रेस्ता नहेरी मिति बताउन सक्दिन, मैले कीर्ते काम गरे गराएको छैन, भन्ने समेत व्यहोराको शियाशरण बहडीको कागज ।
६. जनक शाहु तथा रामचन्द्र बडहीवाला कागजको नक्कल दिएको मात्र छैन । सक्कल कागज मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाएको श्रेस्ता नहेरी मिति म बताउन सक्दिन मैले कीर्ते कागज गरे गराएको छैन भन्ने समेत व्यहोराको वैद्यनाथ मिश्रले गरेको कागज ।
७. जनक शाहुवाला लिखत म.क्षे.अ.मा मैले पठाएको हुँ । रामचन्द्रवाला कागज पठाएको वा नक्कल दिएको मलाई थाहा छैन मैले कीर्ते गरे गराएको पनि छैन भन्ने समेत व्यहोरा अ.जानकीलालले गरेको कागज ।
८. ख.वैद्यनाथलाई आफ्नो जिम्माको कागज मिति २०३५।८।४ गते बुझाएको छ । रामचरित्र पण्डित र वैद्यनाथ मिश्रको बरबुझारथमा मद्दत गर्न गएको हुँ । कसले कीर्ते गरे मलाई थाहा छैन भन्ने समते व्यहोराको युनुस अनुसारीले गरेको कागज ।
९. हाकिम रामनाथ कोइराला र हाकिम मानध्वज खड्काको बीच बरबुझारथ हुँदा म नाममात्रको फाँटवाला भएको र अर्दली जानकीलालले नै सम्पूर्ण कामको जिम्मा लिएको हुँदा नक्कल सक्कल पठाउने सबै काम जानकीलाललाई नै थाहा होला, कसले कीर्ते गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको ख.गंगाप्रसाद ठाकुरले गरेको कागज ।
१०. लिखतहरूको छाप दस्तखत किन फरक भयो, सो २०२१ सालको कुरा हुँदा मलाई कुनै जानकारी छैन, मैले कीर्ते गरेको छैन, भन्ने समेत व्यहोराको मालपोत अधिकृत जगन्नाथ ठाकुरको लिखितजवाफ ।
११. मैले २०३० सालदेखि २०३४ सालसम्म तामेली फाँटमा रही काम गरेको छु, मेरो अवधिको कागज ख.वैद्यनाथ मिश्रलाई बुझाएको छु । कसले कीर्ते गरे मलाई थाहा छैन, भन्ने समेत व्यहोराको रामविलास शाहले गरेको कागज ।
१२. तामेली फाँटमा ख.वैद्यनाथले बरबुझारथ गरी काम गरेको सम्म थाहा छ । लिखतको नक्कल कसले लिए, कसले चलान गरे के परिबन्दबाट कीर्ते गरे सो केही थाहा छैन भन्ने समेत व्यहोराको मिति २०३७।६।२१।३ को सरजमीन मुचुल्का ।
१३. शियाशरण ठाकुर, वैद्यनाथ मिश्र जानकीलाल र हाल पक्राउ हुन नसकेका महावीर साहू विन्देश्वर साहूले उल्लिखित रामचन्द्र बडही र जनक साहू सुडिवाला लिखत कीर्ते गरेको पूर्णरुपमा देखिन आएकाले उनीहरूले कीर्ते कागजको १ नं.ले अपराध गरेको देखिन आउँदा सोही ऐनको ७ नं. अनुसार सजायँ र ख.वैद्यनाथ मिश्र र अर्दली जानकीलाल सोही कार्यालयका कर्मचारी हुँदा कीर्ते गर्न लगाउने महावीर सियाराज र कीर्ते गर्ने ख.वैद्यनाथ मिश्र अ.जानकीलाललाई सोही ऐनको १२ नं.बोजिम थप सजायँको दावी लिई मालपोत अधिकृत जगन्नाथ ठाकुरको हकमा प्रयाप्त सबूदको अभावमा मुद्दा चलाउन नमिल्ने भएकोले, निजको विरुद्ध मुद्दा चलाउन नपर्ने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१४. सुनसरीबाट महोत्तरी माल कार्यालयमा सरुवा भई आएपछि मैले तामेली फाँटमा काम गरेको थिएँ । पुरानो कागज खोज्ने काम अ.जानकीले गरेको थियो । भुल्ली सुडीनले गरी दिएको राजीनामाको नक्कल कसले दिए तथा म.क्षे.अ.मा सक्कल रजिष्ट्ररी कसले पठाए म भन्दा पहिलेको कुरा हुनाले मलाई थाहा छैन मैले कीर्ते गरेको छैन, भन्ने समेत व्यहोराको वैद्यनाथ मिश्रले ज.अं.अ मा गरेको बयान ।
१५. २०१३ सालदेखि अर्दलीमा काम गर्दै आएको छु । जुन फाँटमा भीड हुन्छ त्यही काम गर्दछु । महावीर, विन्देश्वर, शियाशरण ठाकुर भुल्ली सुडीनलाई मैले चिनेको छैन । धनी जनक साहू ऋणी भुल्ली सुडीन भएको २०२१।१२।२३ को रजिष्टरी म.क्षे.अ. बाट प्रमाणको लागि पठाई दिनु भनेकाले मैले खरिदार तथा हाकिमको सहिछाप गराई पठाएको हुँ, धनी ऋणी नचिनेको हुँदा सहिछाप निजको हो, होइन थाहा छैन, मैले कीर्ते गरेको छैन, भन्ने समेत व्यहोराको अर्दली जानकीलालको जनकपुर अञ्चल अदालतमा गरेको बयान ।
१६. २०२१।१२।२३ को रजिष्टरी मैले कीर्ते गरे गराएको नहुनाले सजायँको भागी हुन नपर्ने भन्ने समेत व्यहोराको शियाशरण ठाकुरले जनकपुर अञ्चल अदालतमा गरेको बयान कागज ।
१७. जनक साहु तथा रामचन्द्र बहडी भएको लिखत मैले कीर्ते गरेको छैन । जगन्नाथ ठाकुर वैद्यनाथ मिश्र जानकीलाल कायस्थलाई मैले चिनेको छैन, भन्ने समेत व्यहोराको विन्देश्वर साहू सूडीले जनकपुर अञ्चल अदालतमा गरेको बयान ।
१८. जनक साहू भुल्ली सुडीन भएको मिति २०२१।१२।२३ को लिखत यस महोत्तरी मालबाट पास भएको होइन । कीर्ते क–कसले गरेका हुन मलाई थाहा छैन भन्ने समेत व्यहोराको महावीर साहू सुडीनले जनकपुर अञ्चल अदालतमा गरेको बयान ।
१९. जाहेरवालाले दाखिल गरेको लिखत मैले लेखेको हुँ । सो लिखतमा भए परेको सहिछाप ठीक छ धनी जनक साहु र रामचन्द्र ठाकुर भएको लिखतको कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको विष्णुदेवलाल कायस्थले जनकपुर अञ्चल अदालतमा गरेको बयान ।
२०. जनक साहु भुल्ली सुडीन भएको लिखत ख.वैद्यनाथ मिश्र बाहेक अरु शियाशरण ठाकुर विन्देश्वर साहू, अर्दली जानकीलाल कायस्थ महावीर साहू, समेत मिली कीर्ते गरेका हुन भन्ने समेत व्यहोराको जाहेरवाला बासुदेव साहु सुडीले जनकपुर अञ्चल अदालतमा गरेको बयान ।
२१. विवादीत धनी रामचन्द्र ऋणी भुल्ली सुडीन भएको रु.३०००।– मिति २०२१।१२।२३ को लिखत १ धनी जनक साहू, ऋणी भुल्ली सुडीन भएको र रु.२०००।– मिति २०२१।१२।२० को लिखत १ समेत लिखत थान दुई २ मालपोत कार्यालय महोत्तरीको तामेली फाँटमा रहे भएको लिखत समेत बुझिएसम्मको सबुद प्रमाणबाट ख.वैद्यनाथ मिश्र बाहेकका अन्य प्रतिवादीहरूले सरकारी कार्यालयमा रहेको लिखत र छाप दस्तखत समेत कीर्ते गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३९।४।१८ को जनकपुर अञ्चल अदालतले गरेको फैसला ।
२२. जनकपुर अञ्चल अदालतको फैसलामा चित्त बुझेन भनी शियाशरण ठाकुर महावीर साहू सुडी विन्देश्वर शाह सुडी समेतको छुट्टाछुट्टै मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको । कीर्ते गरेको होइन भन्ने प्रमाण पेश गर्नु पर्ने कानुनी दायित्व नभए पनि आफ्नो विपरीत वादी पक्षको सबूदले संकेत गरेको अवस्थामा आफूले कसूर गर्दै नगरेको इंगीत गर्ने प्रमाण पेश गर्न असमर्थ हुनाले सफाई पाउने स्थिति नदेखिँदा पुनरावेदक शियाशरण, विन्देश्वर, महावीर साहूले सरकारी अड्डाको छाप दस्तखत कीर्ते गरेको अपराधमा शरीक भएको ठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनसिव हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०४१।६।२०।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२३. उपरोक्त फैसलामा चित्त बुझेन सफाई पाउँ भनी प्रतिवादीहरू मध्ये महावीरप्रसादको र विन्देश्वरको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा कीर्ते कागजको ७ र १२ नं.ले त्रुटि देखिन आएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्यायप्रशासन सुधार ऐन, २०१३ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ, भनी यस अदालतको डिभिजनबेञ्चबाट मिति २०४२।२।१७।५ मा आदेश भई अनुमति प्रदान गरिएको छ, भन्ने डिभिजनबेञ्चको आदेश ।
२४. पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले र विपक्षी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिले के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
२५. यसमा मालपोत कार्यालय जनकपुरमा रहेको साहू रामचन्द्र र ऋणी भुल्ली सुडीन भएको रु.३०००।– को २०२१।१२।२३ को लिखत र साहू जनक भएको रु.२०००।– को २०२१।१२।२० को लिखत १ पारित भएको सच्याई लिखत गायव भई त्यसको ठाउँमा कीर्ते नक्कली लिखत रहेको भन्ने मुख्य उजूरी परेको र सो कुरामा पुनरावेदकले पनि स्वीकार गरेको पाइन्छ । केवल सो अपराधमा सम्मिलित छैन भन्ने मात्र जिकिर गरेको पाइन्छ । विवादीत लिखत गायव भएमा पुनरावेदकलाई फाइदा हुने कुरामा विवाद छैन र गायव भए गरेको कुरामा पुनरावेदकले आफू सहमत नभएको भनी सो कार्यमा आफू नभए नरहेको भरपर्दो प्रमाण पेश गर्नसकेको पनि पाइँदैन । तर उल्लिखित कार्यबाट फाइदा लिई खाइसकेको देखिँदैन । सम्बन्धित मुलुकी ऐन कीर्ते कागजको ७ नं.मा हेर्दा काम भइसकेको रहेनछ भने लेखिएको सजायँको आधा सजायँ गर्नु भनी किटानी कानुनी व्यवस्था भएको र ऐ.१२ नं.मा उसै अड्डाको कर्मचारीले कीर्ते गरेमा दुई वर्ष थप कैद हुन्छ भन्ने व्यवस्था भएको पाइन्छ । पुनरावेदक उसै अड्डाको जागिरदार कर्मचारी नभएको कुरा प्रष्ट देखिएको छ । प्रतिवादी पुनरावेदकले सो कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था पनि नभएकोले पुनरावेदकलाई बिगो बमोजिम रु.१२५०।– जरिवाना र कैद महीना ।४ गर्ने गरेको इन्साफ मिलेको देखिएन । उक्त उल्लिखित कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा रु.६२५।– मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद महीना गर्ने गरेकोसम्म इन्साफ नमिलेकोले क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी विन्देश्वर साहू सुडी १ महावीरप्रसाद १ समेतके माथि इन्साफ खण्डमा लेखिए बमोजिम ०२१।१२।२३ को रु.३०००।– र २०२१।१२।२० को रु.२०००।– समेत जम्मा बिगो रु.५०००।– हुने लिखत ४ जनाले कीर्ते गरेको ठहराई बिगो बमोजिम पुनरावेदकलाई जनही रु.१२५०।– जरिवाना र कैद महीना ।४ गर्ने गरेको शुरु जनकपुर अञ्चल अदालतले गरेको सदर गरी म.क्षे.अ.ले सयकडा १० ले रु.१२५।– र कैद दिन । ।१२ बार्ह गर्ने गरेको दुबै फैसलाको को लगत काटी दिनु भनी शुरु जनकपुर अञ्चल अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु............१
पुनरावेदक विन्देश्वर साहू सुडी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम किर्ते काम गरेको र लिई खाई नसकेको अवस्था देखिएकोले निजलाई कीर्ते कागजको ७ नं. बमोजिम जम्मा बिगो रु.५०००।– को बिगो बमोजिम ४ जना मध्ये एक जना पुनरावेदकलाई जरिवाना रु.१२५०।– गर्ने गरेकोमा अब सो बमोजिम नभई बिगोको आधा ६२५।– शुरु जरिवाना र म.क्षे.अ.ले पुरै बिगोको सयकडा १० ले लिने गरेको रु.१२५।– को आधा रु.६२।५० समेत जम्मा रु.६८७।५० र यस अदालतमा निज प्रतिवादीले पुनरावेदन गरे बापत अ.बं.२०३ नं. बमोजिम दोश्रो पुनरावेदन हुँदा शुरुमा लाग्ने ठहरेको जरिवाना रु.६२५।– को सयकडा ५ ले रु.३१।२५ थप जरिवाना समेत माथि उल्लिखित तिनै कलमको लाग्ने जरिवानाको जम्मा रु.७१८।७५ सातसय अठार रुपैयाँ पचहत्तर पैसाका दरले दुवै जना पुनरावेदकलाई लाग्नेमा निज प्रतिवादीहरूले बुझाएको रु.१३७५।– का दरले २ जनाले बुझाएको रु.२७५०।– मध्येबाट उक्त उल्लिखित लाग्ने जम्मा रु.७१८।७५ कट्टा गरी लिई बाँकी रु.६५६।२५ का दरले दुवै जना पुनरावेदकहरूले म्यादमा फिर्ता पाउँ भनी पुनरावेदक प्रतिवादीहरूको दर्खास्त परे जनही रु.६५६।२५ कानुनको रित पुर्याई पुनरावेदक प्रतिवादी विन्देश्वर एक र महावीरप्रसाद एक समेत जना दुईलाई फिर्ता दिनु भनी जनकपुर अञ्चल अदालतमा लेखी पठाउन भनी का.जि.अ. मा लगत दिनु.......२
नियमानुसार गरी मिसिल बुझाई दिनु.................................३
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल कार्तिक २४ गते रोज २ शुभम् ।