निर्णय नं. २८२४ - कर्तव्य ज्यान

निर्णय नं. २८२४ ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् ०४२ सालको फौ.पु.नं.३८७।४२३।३६५
सम्वत् ०४२ सालको फौ.सा.नं. ७५
फैसला भएको मिति : ०४३।८।१७।३ मा
पुनरावेदक/वादी : भनी आले मगर्नीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
पुनरावेदक/विपक्षी : जि.दाङ ल्वाहारपानी गा.पं.वा.नं.२ बस्ने लिलाबहादुर राउतसमेत
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं.२ बस्ने गुमा आले मगर्नी
मुद्दा : कर्तव्य ज्यान
(१) टाउको तथा छाती जस्तो संवेदनशील अड्डमा प्रहार गरेको कारणबाट मृत्यु भएको देखिएकोले निज प्रतिवादीहरूलाई पुनरावेदन जिकिर अनुसार अभियोगबाट सफाई दिनु कानुनसंगत नदेखिने ।
(प्रकरण नं. ३१)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
विपक्षी/वादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री नरहरि आचार्य
फैसला
न्या.पृथ्वीबहादुर सिंह : म.प.क्षे.अ.को फैसला उपर गुमा आले मगर्नीको हकमा श्री ५ को सरकारको र प्र.लिलाबहादुर राउतको समेत पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।
२. यही ०३९ साल मंसिर १८ गतेका दिन अं.१२ बजे मेरो लोग्ने पृथ्वीबहादुर गाउँ घुमी मादक पदार्थ सेवन गरी आइरहेको अवस्था घरबाट अं.१०० हात दक्षिण खरबारीमा आई पुग्दा देवर चोचे भन्ने दलसिंह आलेले पनि मादक पदार्थ सेवन गरेको हुँदा निजले लोग्ने पृथबहादुरलाई गाली गरेकोले देवर र लोग्नेको झगडा हुन लागेकोले म छुट्याउन पुगी सो अवस्था कुटुरे कामी, बिदरे भन्ने दले कामी १, लोटे भन्ने बलसिंह कामी १, नमे कामी १, र साइँला देवर बेदे आले १, समेत आई छुट्याएपछि हुकुमबहादुर राउत १, लिलाधर राउत क्षेत्री १, खिमबहादुर बली १, समेत आई लोग्नेलाई कुटपिट गरेको र खिमबहादुर वलीले लोग्नेको अण्डकोश समाती मुटुमा हानेको थिए सासु गुमाले पनि डण्डाले प्रहार गरेपछि लोग्ने मुर्छा परे । सोही चोट पिरले लोग्ने पुथबहादुर २०३९।८।२३ गते परलोक हुनुभएकोले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने आले मगर्नीको जाहेरी दर्खास्त ।
३. लाशको निधारमा लाठी ढुड्डाले हिर्काएको घाउ भएको दायाँ कोखामा निलडाम भई सुन्निएको, बायाँ अण्डकोषमा घाउ भई सुन्निएको भन्ने समेत ०३९।८।२४ को लाश प्रकृति मुचुल्का ।
४. चोट पिरले मरेको भन्ने पोष्टमार्टम रिपोर्ट ।
५. गते बार थाहा छैन भैलोको भोज खाने दिनमा हो, सौतेनी छोरा पुथबहादुर मेरो छोरा चोदे भन्ने दलसिं आलेको साबुन विषयमा भनाभन झगडा हुँदा कुुटुरे कामी, नमे कामी, लेन्टे कामी र छोरा वेदप्रसाद समेत भई झगडा छुट्याई दिएका थिए । पृथबहादुरले मादक पदार्थ सेवन गरेकोले जथाभावी बोली खुकुरी ल्या भन्दा खिमेबहादुर, लिलाधर, हुकुमबहादुर आई पृथबहादुरलाई धकेल पकेल गरी कुटपिट गरेका थिए त्यही चोटले थलापरी ६ दिन पछि मरेको हो । झगडा नगर भनी मैले आँगन बडारने सिपकीनाले पृथबहादुरको खुट्टामा हिर्काएकी हुँ भन्ने समेत गुमा आले मगर्नीको प्रहरीमा गरेको बयान ।
६. ०३९ साल मंसीर १८ गते भैलोको भोज खाई म र मेरो साथमा लिलाधर राउत, खिमबहादुर वली समेत फर्किरहेको अवस्थामा पृथबहादुर निजको भाइ चोचे, सौतेनी आमा गुमा र श्रीमती गुमा समेत वादविवाद गरी झगडा गरी रहेकोले हामी तीनै जना त्यस ठाउँमा गयौं, पृथबहादुरले आफ्नो स्वास्नीको कपाल घाँटी समातेकोले खिमबहादुरले अण्डकोष ताने लिलाधरले टाउकोमा हिर्काए मैले छातीमा हिर्काए र झगडा छुट्याई हामी घर गयौं, पृथबहादुरको सौतेनी आमा गुमाले पनि लौराले खुट्टामा हिर्काएकी थिइन, हामीले कुटेको चोट पीरले पृथबहादुरको मृत्यु भएको हो भन्ने हुकुमबहादुर राउतले प्रहरीमा गरेको बयान ।
७. मृतक पृथबहादुर र निजको भाइ चोचेको साबुन विषय झगडा हुँदा पृथबहादुरले रिसको आवेशमा आफ्नी स्वास्नीलाई कुटपिट गर्न लाग्दा झगडा छुट्याउन भनी गएको मैले मृतकको अण्डकोष समाती ताने हुकुमबहादुरले छातीमा हाने लिलाधरले टाउकोमा हाने, मृतककी सौतेनी आमा गुमाले झगडा किन गर्छौ भनी लौराले खुट्टामा हिर्काएकी थिइन भन्ने समेत खिमबहादुर वलीले प्रहरीमा गरेको बयान ।
८. ०३९।८।१८ गते भैलोको भोज खाई खिमबहादुर, हुकुमबहादुर म समेत घरतिर गइरहेको अवस्था मृतक पृथबहादुर, निजको भाइ चोचेको साबुन विषयमा झगडा भएकोले छुट्याउन भनी हामी तीनजना गयौं, पृथबहादुरले आफ्नो स्वास्नीको घाँटी समातेकोले खिमबहादुरले अण्डकोष समाती ताने, मैले टाउकोमा हानें, हुकुमबहादुरले छातीमा मुड्कीले प्रहार गरी लोग्ने स्वास्नीको झगडा छुट्याई दिएपछि मृतककी आमाले पनि लौराले हिर्काएकी थिइन भन्ने समेत लिलाबहादुरले प्रहरीमा गरेको बयान ।
९. प्रतिवादी हुकुमबहादुर, खिमबहादुर, लिलाबहादुर र मर्नेकी श्रीमती मनी आले समेत भेला गराई सोधपुछ गर्दा निज ३ जना र गुमा आलेले हानेकी हुन भनी भन्थिन् सोही कुटपिटको चोटपीरले मरेका हुन् भन्ने समेत सरजमीन मुचुल्का ।
१०. ०३९ साल मार्ग १८ गते मर्ने पृथबहादुर निजको भाइको झगडा हुँदा हामीले छुट्याई आफ्नो घर गयौं, भोलिपल्ट निजको श्रीमतीले हुकुमबहादुर, लिलाधर, खिमबहादुरले लोग्नेलाई कुटपिट गरी घाइते बनाई दिएका छन् भन्ने कुरा गरेकोले सुनेका हौं भन्ने समेत देवीराम समेत जना ४ ले प्रहरीमा गरेको कागज ।
११. संकलित सबूद प्रमाणबाट पृथबहादुरलाई प्र.हुकुमबहादुर, खिमबहादुर, लिलाधर भन्ने लिलाबहादुर र गुमा आले मगर्नी समेतले कुटपिट गरेपछि थला परी सोही चोट पीरले मृत्यु भएको देखिन आएकाले निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएको ।
१२. ०३९।८।१८ गते मृतक पृथबहादुरले चोचेलाई कुटपिट गरेपछि हामीले छुट्याई चोचेलाई घरभित्र लगी ढोका बन्द गरी राखेको अवस्था पृथबहादुर आई चोचेलाई कुट्छु भनी ढोका उघार्न लाग्दा नमे, कुटुरे, बेदे समेत आई झगडा गर्न हुँदैन भनी पृथबहादुरलाई समाते पछि किन झगडा गर्छस् भनी मैले भन्दा निज पृथबहादुरले मलाई धक्का दिई लडायो, म उठी आँगन बडार्ने मेलको औंला बराबर मोटो लाठीले खुट्टाको तिघ्रामा २ चोट हानेको हुँ, त्यसपछि झगडा नगर भनी स्वास्नीले सम्झाउँदा स्वास्नीलाई नै हान्न लागेको अवस्था हुकुमबहादुर, लिलाबहादुर, खिमबहादुर आई यसो गर्न हुँदैन भनी हुकुमबहादुरले पृथबहादुरलाई समायो खिमबहादुरले पृथबहादुरको सन्नी पक्रेको थियो सन्नी सुन्निएको कारणबाट मृत्यु भएको हो भन्ने गुमा आलेले अदालतमा गरेको बयान ।
१३. ०३९।८।१८ गतेका दिन मर्ने पृथबहादुर निजको भाइ चोचेको झगडा हुँदा लेन्टे, कुटुरे समेतले झगडा छुट्याई चोचेलाई भगाएछन् भैलो खेली म समेत घर जान लाग्दा चोचेलाई काट्छु मार्छु भनी पृथबहादुरले भन्ने र यसो गर्न हुँदैन भनी निजको स्वास्नीले भनी ताना तान गर्दा हामी त्यहाँ पुगी यसो गर्न हुँदैन भनी हामीले छुट्याई आफ्ना आफ्ना घर गएका हौं, मैले पृथबहादुरलाई कुटपिट गरेको होइन, अरुले कुटपिट गरेको देखिन भन्ने समेत प्र.लिलाबहादुरले अदालतमा गरेको बयान ।
१४. ०३९।८।१८ गते गुमाको घरमा झगडा भएको सुनी लिलाबहादुर, खिमबहादुर, म समेत त्यहाँ जाँदा पृथबहादुरले आफ्नो स्वास्नीको घाँटीमा समाई रहेको थियो यस्तो गर्न हुँदैन भनी हामी तीनै जनाले छुट्याई दिएका हौं, पृथबहादुरलाई मैले कुटपिट गरेको होइन, निज पृथबहादुरको के भई मृत्यु भएको हो मलाई थाहा छैन भन्ने समेत प्र.हुकुमबहादुरले अदालतमा गरेको बयान ।
१५. ०३९।८।१८ गतेको दिन पृथबहादुर र चोचेले झगडा गर्न लागेका थिए, हुकुमबहादुर र लिलाबहादुर, म समेत भई झगडा गर्न हुँदैन भनी छट्याई दिएका हौं गुमा मगर्नीले मेलको लठ्ठीले खुट्टा टाउकोमा कुटपिट गरेको देखेको हुँ । निज पृथबहादुरको कुनै अंगमा मैले छोएको छैन, निजको अण्डकोष के भई सुन्निएको हो मलाई थाहा छैन भन्ने समेत प्र.खिमबहादुर वलीले अदालतमा गरेको बयान ।
१६. ०३९।८।१८ गतेका दिन लोग्ने पृथबहादुरको साबुन विषयमा देवर चोचेसंग झगडा हुँदा नमे, बेदप्रसाद, कुटुरे, लेन्टे समेतले छुट्याई चोचेलाई गाउँमा भगाएपछि प्र.हुकुमबहादुर, लिलाबहादुर, खिमबहादुर, आई खिमबहादुरले सन्नी तानी पेटमा कुटपिट गरेका, हुकुमबहादुरले टाउकोमा र लिलाबहादुरले मुड्कीले कुटपिट गरेका थिए, गुमाले मेलको सिपकीनाले कुटपिट गरेकी हुन् भन्ने समेत जाहेरवाली भनी आले मगर्नीले गरेको बकपत्र ।
१७. मर्ने पृथबहादुरको भाइ चोचेसंग झगडा हुँदा प्रतिवादी खिमबहादुर हुकुमबहादुर, लिलाबहादुर समेत गएको भन्ने सुनेका हौं निजहरूले र गुमाले पृथीबहादुरलाई कुटपिट गरेको भन्ने भनी आलेबाट सुनेका हौं भन्ने समेत सरजमीनका मानिस टेकबहादुर घर्ती समेतको बकपत्र ।
१८. मर्ने पृथबहादुरलाई प्र.गुमाले लौरीले हानेको र प्र.लिलाबहादुर, हुकुमबहादुर खिमबहादुर समेतले मुड्कीले हानेको देखेको हुँ भन्ने नमे कामी, ३ दिन पछि म पृथबहादुरलाई भेट्न जाँदा गुमाले सानो सिपकिनाले हानेको र प्र.लिलाबहादुर, हुकुमबहादुर, खिमबहादुर समेतले कुटपिट गरे भनी नीज पृथबहादुरले भन्थे भन्ने प्र.गुमाको साक्षी गोरे कामी, झगडा हुँदा प्र.खिमबहादुर, हुकुमबहादुर र लिलाबहादुर झगडा छुट्याउन गएको भन्ने सुनेको हुँ भन्ने प्र.खिमबहादुरको साक्षी तिलबहादुर, हुकुमबहादुर, झगडा छुट्याउन गएको कुटपिट गरेको होइन भन्ने सुनेको हुँ भन्ने समेत प्र.हुकुमबहादुरको साक्षी जोगबहादुर प्र.लिलाबहादुर समेत गई झगडा छुट्याई दिएको भन्ने सुनेको हुँ भन्ने समेत प्र.लिलाबहादुरको साक्षी कटुरे कामीको बकपत्र ।
१९. दाज्यू पृथबहादुर र चोचेको साबुन विषयमा झगडा हुँदा पृथबहादुरलाई आमा गुमाले आँगन बढार्ने खरको कुचाले हानेको र प्रतिवादी हुकुमबहादुर, खिमबहादुर र लिलाबहादुर समेतले पनि कुटपिट गरेको मैले देखेको हुँ भन्ने समेत वेद आलेले गरेको बकपत्र ।
२०. जाहेरवाला र सरजमीनको व्यक्तिको प्रत्यक्ष प्रमाणको रुपमा स्वतन्त्र रुपबाट शंकारहित ढड्डबाट प्रमाणित हुनआएको, प्र.हरूले मृतकलाई कुटपिट गरी मर्ने पृथबहादुर थला परी २१ दिनभित्र मरेको देखिएको हुँदा निज प्र.हरू खिमबहादुर, लिलाबहादुर, हुकुमबहादुर एवं गुमा आलेलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार जन्मकैद हुन्छ भन्ने दाड्ड देउखुरी जि.अ.को ०४१।१।२१ को फैसला ।
२१. मृतकको स्वास्नी र भाइ नाताका व्यक्ति जाहेरवाली भनी आले र बेद आलेको भनाइलाई प्रमाणमा लिन नहुनेमा निजहरूको भनाइलाई मात्र प्रमाणमा लिई हामीलाई हराई शुरुबाट भएको इन्साफ न्यायसंगत नहुँदा सो फैसला बदर गरी ज्यानमाराको कसूरबाट सफाई पाउँ भन्ने प्र.लिलाबहादुर राउत १, हुकुम राउत १, समेतको संयुक्त पुनरावेदन ।
२२. झगडा नगर भनी मैले मेलको सिपकिनाले हानी छुट्याई दिएकोमा मलाई जन्मकैदको सजायँ गर्ने ठहर्याएको शुरु जि.अ.को फैसला कानुन र न्यायसंगत भएन, हक इन्साफ गरी पाउँ भन्ने प्र.गुमा आले मगर्नीको पुनरावेदनपत्र ।
२३. ज्यान मार्नु पर्ने ईवी र मनसाय नभएको र जोखिम हतियारले नहानी लाठी, ढुड्डा लात, मुक्काले हानेको चोट पीरले ज्यान मर्न गएको देखिन आएपछि ज्यानसम्बन्धीको १४ नं.को विचार गर्नु पर्नेमा सो व्यवस्थाको विचार नगरी शुरु जि.अ.ले गरेको फैसला कानुन र न्यायसंगत भएन भन्ने खिमबहादुर वलीको पुनरावेदनपत्र ।
२४. मर्ने पृथबहादुर र चोचेको बीचमा पहिले भएको झगडाको अवस्थामा पुनरावेदक गुमावली मगर्नीले मृतकको खुट्टामा आँगन बडार्ने खरखचाले हानेको देखिन आएको र पछि पुनरावेदक लिलाबहादुर राउत, हुकुमबहादुर र खिमबहादुरले गरेको वारदातको सन्दर्भमा प्र.गुमा मगर्नीले मृतकलाई प्रहार गरी वारदात संलग्न देखिन नआएकोले प्र.गुमा मगर्नीलाई जन्मकैद गर्ने गरेको शुरुको फैसला मिलेको नदेखिँदा छलफलको निमित्त अ.बं.२०२ नं.र क्षे.अ. नियमावली बमोजिम पेशीको सूचना म.प.क्षे.स.अ.को कार्यालयलाई दिई नियम बमोजिम पेश गर्नु भन्ने डिभिजनबेञ्चको ०४१।१२।५ को आदेश ।
२५. प्र.लिलाबहादुर, प्र.हुकुमबहादुर र प्र.खीमबहादुरको हकमा शुरु इन्साफ सदर हुन्छ प्र.गुमा मगर्नीले सफाई पाउने ठहर्छ भन्ने समेत म.प.क्षे.अ.को फैसला ।
२६. उक्त फैसला उपर श्री ५ को सरकार तथा प्र.लिलाबहादुर रावत समेतको पुनरावेदन परेको ।
२७. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र प्र.खिमबहादुर ओलीका तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री नरहरी आचार्यले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
२८. अब क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो को निर्णय दिन परेको छ ।
२९. निर्णयतर्फ विचार गर्दा यसमा मृतक पृथबहादुरको मृत्यु कुटपिटको चोटको पीरबाट भएको भन्ने कुरा लाश प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदन समेतबाट प्रमाणित भएको देखिन्छ । मिति ०३९।८।१८ का दिन कुटपिटका वारदात भएको कुरामा विवाद देखिँदैन । प्रतिवादीहरू लिलाबहादुर रावत, खिमबहादुर ओली, हुकुमबहादुर रावत र गुमा आले मगर्नी समेत उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) को दावी लिई प्रहरी प्रतिवेदन परेको प्रस्तुत मुद्दा देखिन्छ । प्रहरी प्रतिवेदन माग बमोजिम यी प्रतिवादीहरूलाई सजायँ हुने ठहर्याई शुरु जिल्ला अदालतले फैसला गरेकोमा प्र.मध्ये गुमा आले मगर्नीलाई कसूरबाट सफाई हुने ठहर्याई अन्य ३ जना प्रतिवादीहरूका हकमा शुरुको इन्साफ मनासिब ठहर्याई क्षेत्रीय अदालतबाट फैसला भएकोमा प्र.गुमा आले मगर्नीको हकमा श्री ५ को सरकारको र अन्य प्रतिवादीहरूको पुनरावेदन पर्न आएको रहेछ ।
३०. प्र.गुमा आले मगर्नीको हकमा परेको श्री ५ को सरकारको पुनरावेदनको सम्बन्धमा विचार गर्दा प्र.गुमा आले मगर्नी मृतक पृथबहादुरका सौतेनी आमा नाताले व्यक्ति देखिन्छिन् । मृतक पृथबहादुर र निजका भाइ चोचे भन्ने दलसिं दुबैले मादक पदार्थ सेवन गरेका र साबनको बारेमा वादविवाद गरी झगडा गर्न लागेको बखत यी प्र.गुमा आले मगर्नीले पात भएको मेलको सिप्कनाले झगडा नगर भनी मृतकको खृट्टामा हिर्काएकी हुँ । त्यसपछि अन्य प्रतिवादीहरू आई कुटपिट गरेका र सोही कुटपिटको चोटको पीरले मृतकको मृत्यु भएको हो भनी प्रहरी तथा अदालतमा बयान गरेकी देखिन आउँछ । प्रथमतः निजले कुनै सांघातिक हातहतियार तथा लाठी मुंग्रोले हिर्काएको देखिँदैन र झगडा नगर भनी सिप्कनाले हिर्काएको भन्ने देखिएकोले त्यस्तो सिप्कनाले हिर्काएको कारणबाट मानिसको मृत्यु हुन्छ भनी सम्झन मिल्ने होइन । पछि अन्य प्रतिवादीहरू आई कुटपिट गरेको बखत प्र.गुमा आलेको पनि संलग्नता थियो भन्ने कतैबाट प्रमाणित भएको देखिँदैन । निजले पिटेकै भए पनि निजले कुटे पछि अन्य प्रतिवादीहरूले कुटपिट गरेका र सोही कुटपिटको कारणले मृत्यु भएको भन्ने समेत शव परीक्षण प्रतिवेदन समेतबाट प्रमाणित भइसकेको हुँदा निज प्र.गुमा आले मगर्नी समेतको कुटाइको कारणले पृथबहादुरको मृत्यु भएको भन्नु कानुन एवं न्यायसंगत देखिन्न । तसर्थ निज प्र.गुमा आले मगर्नीलाई कसूरबाट सफाई दिने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
३१. कसूरबाट सफाई पाउनु पर्छ भन्ने अन्य प्रतिवादीहरू लिलाबहादुर रावत, हुकुमबहादुर रावत र खिमबहादुर ओलीको पुनरावेदन जिकिरको हकमा विचार गर्दा वारदातमा आफ्नो संलग्नता रहेको कुरालाई यी प्रतिवादीहरूले स्वीकार गरेका हुन् । मृतक पृथबहादुर र निजका भाइ चोचे भन्ने दलसिंह बीच झगडा भइरहेको र झगडा मिलाई दिएका हौं, कुटपिट गरेका होइनौं भनी आफ्नो सफाई पेश गर्ने प्रयास गरेको देखिन्छ । तर प्र. मध्ये खिमबहादुर ओलीले मृतकको अण्डकोषमा समातेर तानेको कुरामा मौकामा प्रहरीमा सावित रहेको र सो कुरालाई समर्थन गरी चस्मदिद देवप्रसाद आले र जाहेरवालनीले बकपत्र गरेका, लाश प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदनमा अण्डकोष सुनिएको भनी लेखिएको समेतबाट निज प्रतिवादी खिमबहादुरको मौकाको सावित समर्थित रहेको देखिन्छ । तसर्थ निज खिमबहादुरले झगडा गरी रहेका मृतक समेतलाई छुट्याउन प्रयास मात्र गरेका हुन् भन्न मिल्ने स्थिति देखिएन । अण्डकोष जस्तो सांघातित अंगमा समाती तानेको प्रमाणित हुनआएकोले निजलाई अभियोगबाट मुक्त गर्न मिल्ने देखिँदैन । निज प्र.खिमबहादुर आलेलाई अन्य २ जना प्रतिवादी सरह जन्मकैदको सजायँ हुने ठहर्याएको शुरुको फैसला सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ अभियोगबाट सफाई पाउँ भन्ने निजको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३२. अर्का प्रतिवादी लिलाबहादुर रावतले मृतकको टाउकोमा र प्र.हुकुमबहादुरले छातीमा हिर्काएको भन्ने कुरामा मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविति बयानलाई शव परीक्षण प्रतिवेदन तथा लाश प्रकृति मुचुल्का समेतले प्रमाणित गरेको जाहेरवालाले पनि निजहरूले कुटपिट गरेको देखेको हुँ भनी बकपत्र गरेको समेत देखिँदा कुटपिट गरेको होइनौं, झगडा मिलाई दिएका मात्र हौं भन्ने निजहरूको अदालतमा भएको इन्कारी बयान विश्वास लायक देखिएन टाउको तथा छाती जस्तो संवेदनशील अंगमा प्रहार गरेको कारणबाट मृत्यु भएको देखिएकोले निज प्रतिवादीहरू लिलाबहादुर रावत र हुकुमबहादुर रावतलाई पुनरावेदन जिकिर अनुसार अभियोगबाट सफाई दिनु कानुनसंगत नदेखिँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्याएको शुरु जि.अ.को इन्साफ सदर गरेको म.प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ निजहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । पुनरावेदन तहबाट निर्णय भइसकेको हुँदा साधकको लगत कट्टा गरिदिनु मिसिल नियम बामेजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल मार्ग १७ गते रोज ३ शुभम् ।